Successfully Copied

बालबालिकाका जिज्ञासा बेवास्ता नगरौं

बालबालिकाहरू स्वभावैले जिज्ञासु हुन्छन् । नयाँ विषय जान्नका लागि उनीहरू सधैं उत्सुक हुन्छन् । हरेक स–साना विषयबारे उनीहरू अभिभावकबाट जान्ने चाहना राख्छन् ।

बालबालिकाहरू स्वभावैले जिज्ञासु हुन्छन् । नयाँ विषय जान्नका लागि उनीहरू सधैं उत्सुक हुन्छन् । हरेक स–साना विषयबारे उनीहरू अभिभावकबाट जान्ने चाहना राख्छन् । कतिपय अभिभावकहरूसँग बालबालिकाका केही जिज्ञासाको जवाफ हुँदैन, बेवास्ता गरिदिन्छन् । कतिपय अवस्थामा केहीले उनीहरूलाई हप्काउने गरेको पनि पाइन्छ । 
‘बालबालिकाले गर्ने प्रश्नको सही उत्तर दिनुपर्छ’ बाल मनोचिकित्सक डा.अरुण कुँवर भन्छन्, ‘अभिभावकले जे जवाफ दिन्छन् त्यही उनीहरूले सत्य मान्छन् ।’ आमाबुवाप्रति विश्वास हुने भएकाले धेरै बालबालिका अभिभावकसँग आफ्ना जिज्ञासा राख्ने गर्छन् । अभिभावकले गलत जवाफ दिए उनीहरू गलत सोचसँगै हुर्कन्छन् । उनीहरूमा त्यस्तै विचारको विकास हुन्छ । यसले भविष्यमा उनीहरूले गल्ती गर्न सक्ने सम्भावना रहने उनको भनाइ छ । 
अरुणका अनुसार बालबालिकाका प्रश्नको बेवास्ता गरिए उनीहरू जवाफ खोज्न साथीभाइ वा अन्यलाई माध्यम बनाउन पुग्छन् । यस्तोमा उनीहरूले अरुबाट गलत शिक्षा पाउने सम्भावना पनि हुन्छ । उनी भन्छन्, ‘बालबालिका र किशोरावस्थाका केटाकेटीहरूको जिज्ञासालाई बेवास्ता गर्दा गुगल वा अन्य माध्यमबाट जवाफ खोज्ने प्रयत्न गर्छन् ।’ त्यहाँ उपलब्ध हुने जानकारीहरू सही वा गलत भएको उनीहरूले छुट्याउन सक्दैनन् । यसले उनीहरू निराश र तनावमा पुग्न सक्ने अरुणको भनाइ छ । 

उमेरअनुसार जिज्ञासा 
पारिवारिक परामर्शदाता रमा कार्कीका अनुसार बालबालिकाले गर्ने प्रश्नहरू उमेरअनुसार फरक–फरक हुनसक्छन् । उनी भन्छिन्, ‘तीन बर्षका बालबालिकाले के, कसरी, किन जस्ता प्रश्नहरू गर्छन् ।’ सानो उमेरका वा बुझ्ने नभइसकेकाहरूमा कुनै पनि विषयबारे जान्ने उत्सुकता बढी हुने उनको भनाइ छ । एक अध्ययनअनुसार तीन वर्ष उमेरका बालबालिकाले एकदिनमा कम्तीमा ७३ वटा प्रश्न गर्छन् । 
सानो उमेर र बुझ्न सक्ने क्षमता विकसित नहुनाले बालबालिकामा हरेक विषयबारे जान्ने उत्सुकता हुनु स्वाभाविक हो । यो तीनदेखि आठ वर्षका बालबालिकामा बढी देख्न सकिन्छ । यी उमेर समूहका बालबालिकाहरू स–साना प्रश्न र जिज्ञासा राख्छन् । ती प्रश्नले कतिपय अवस्थामा अभिभावकलाई चिन्तित पनि बनाउँछन् । 

जिज्ञासाको समाधान महत्वपूर्ण
‘बालबालिकाको मनमस्तिष्कमा प्रश्न आउनु भनेको ऊ स्वस्थ हुनुको संकेत पनि हो’ अरुण भन्छन्, ‘तपाईंका बालबालिकाले दिनमा धेरै प्रश्न सोध्छन् भने खुसी हुनुपर्छ ।’ उनीहरूको प्रश्न सुनेर झन्झट र दिक्क मानी बेवास्ता गर्नु हुँदैन । अभिभावकहरू बालबालिकाहरूका प्रश्नबाट जति भाग्छन् त्यति नै उनीहरूको मनमा शंका उब्जने उनको भनाइ छ । 
अझ अभिभावकहरूले किशोरावस्थाका बालबालिकाहरूको जिज्ञासा समाधान गर्नु जरुरी हुन्छ । उनी भन्छन्, ‘केही यस्ता साइट पनि छन्, जहाँ गोप्य तरिकाले प्रश्नहरू सोध्न सकिन्छ ।’ उनीहरू ती साइटहरूमा खोजेको जवाफबाट सन्तुष्ट नहुन सक्छन् । जसले अञ्जानमै गल्ती गर्न सक्छन् । यसबाट बचाउन उनीहरूको हरेक प्रश्नको जवाफ दिने प्रयास गर्नुपर्ने उनी बताउँछन् । आफ्नो जिज्ञासाको समाधान आमाबुवाबाट नहुँदा बालबालिकासँग दूरी बढ्न सक्छ । अभिभावकप्रतिको विश्वास घटेर भावनात्मक सम्बन्ध पनि बिग्रिन सक्छ । 
रमा भन्छिन्, ‘कतिपयले प्रश्नको गलत जवाफ दिन्छन् भने कतिपयले नसुनेझैं गरिदिन्छन् । यसले बालबालिकामा नकारात्मक असर पारिदिन्छ ।’ बालबालिकाहरूको मनमा यस्ता अनेकौं प्रश्न उब्जिन सक्छन्, जसको जवाफ उनीहरूका लागि अनिवार्य हुन्छ । उनी थप्छिन्, ‘यहाँ अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।’ अभिभावकको गलत जवाफले बालबालिकाहरू नराम्रो बाटोतिर लाग्न सक्ने सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ । 
बालबालिकाहरूको हरेक जिज्ञासा मेटाउन आवश्यक हुन्छ । कतिपय अनौठा प्रश्नहरूको शान्त भएर जवाफ दिई उनीहरूलाई शान्त पार्नुपर्छ । बालबालिकाको बाल्यावस्था सुरक्षित राख्ने जिम्मेवारी अभिभावकको हुन्छ । त्यसैले बालबालिकाहरूका अनौठा प्रश्नलाई गम्भीरतापूर्वक लिएर हरेक प्रश्नको जवाफ दिनुपर्छ । 

जिज्ञासाप्रति संयमता 
बालबालिकाहरूले प्रायः आफ्ना अभिभावकलाई ‘ऊ कहाँबाट, कसरी आएको’ जस्ता जिज्ञासा राख्छन् । यस्ता जिज्ञासाबाट कतिपय अभिभावकहरू असहज महसुस गर्छन्, सही जवाफ दिन सक्दैनन् । बालबालिकाहरूले गर्ने यस्ता प्रश्नलाई बेवास्ता गर्नुको सट्टा उनीहरूलाई उनकै भाषामा सहज तरिकाले बताइदिन सक्नुपर्छ । यस्तो अवस्थामा उनीहरूलाई भन्नुपर्छ, सजीवमा पाइने कोषहरूका विभिन्न अवयवबाट बालबालिकाको जन्म हुन्छ, जुन आमा र बुवाबाट आउँछ । केही समय आमाको पेटमा रहन्छ र पछि त्यही नवजात शिशुका रूपमा जन्मिन्छ । बालबालिकाहरूसँग चमत्कार वा भगवान्को उपहारजस्ता शब्दको प्रयोग गर्नुहुँदैन । 
अरुण भन्छन्, ‘बालबालिकाको प्रश्नको जवाफ दिँदा उनीहरूकै भाषामा वा उनीहरूको बुझ्न सक्ने क्षमतानुसार दिने प्रयास गर्नुपर्छ ।’ उनका अनुसार सातदेखि नौ वर्ष समूहका बालबालिकामा बुझ्न सक्ने क्षमता राम्रो हुन्छ । त्यसकारण यो उमेर समूहका बालबालिकाहरूलाई तर्कसंगत र तथ्यपूर्ण जवाफ दिनुपर्छ । यो उमेरकाहरूले धेरै प्रश्न गर्दैनन् बरु आफै जवाफ खोज्छन् । जतिबेला आफूलाई उनीहरूको प्रश्नको उत्तर दिन सक्दिन जस्तो लाग्छ, त्यतिबेला उनीहरूसँगै बसेर जानकारी खोज्न सकिन्छ । 
रमा भन्छिन्, ‘अभिभावकको उत्तरले नै उनीहरूको दृष्टिकोण प्रभावित हुन सक्छ ।’ प्रायःजसो बालबालिकाहरूले अन्य व्यक्तिहरूको व्यवहारबारे असन्तुष्टि व्यक्त गर्छन् । यस्तोमा उनीहरूको कुरा सुनेर ‘म कुरा गर्छु’ वा ‘उसको हिम्मत कसरी भयो’ भन्ने जस्ता अभिव्यक्ति बालबालिकाका सामु नदिनु नै राम्रो हुन्छ । उनका अनुसार यो उमेरमा बालबालिकाका प्रश्न उनीहरूको भावनासँग जोडिएका हुन्छन् । पहिले त्यस व्यक्तिको नजरबाट बुझ्ने प्रयास गरी सम्झाउनुपर्छ । बालबालिकालाई पनि त्यो व्यक्तिको भावना बुझ्नका लागि प्रेरित गर्नुपर्छ । जसले गर्दा उनीहरू पछि गएर आफ्ना कुरा अरूमाझ सही ढंगले राख्न सक्छन् । 

बेवास्ताले गलत असर
बालबालिकाहरू निर्दोष र अबुझ हुन्छन्, उनीहरूलाई कहाँ र के प्रश्न गर्नुहुँदैन भन्ने थाहा हुँदैन । उनीहरूले गर्ने कतिपय प्रश्नको जवाफ नदिँदा तिनको मस्तिष्कमा त्यही विषय घुमिरहन्छ । कम उमेरमा बालबालिकाको मस्किष्कमा पर्ने लोड उनीहरूका लागि हानिकारक हुनसक्छ । त्यसबाहेक उनीहरूमा त्यही प्रश्नको जवाफ के होला भनी उत्सुक पनि भइरहन सक्छ । 
एक अध्ययनअनुसार ३७ प्रतिशतभन्दा बढी किशोर र ४६ प्रतिशतभन्दा बढी किशोरीले आ–आफ्ना आमाबुवासँग संवाद गर्न चाहन्छन् । प्रेम, सम्बन्ध र यौनका विषयमा उनीहरू जिज्ञासा गर्न चाहन्छन् । अध्ययनले ४४ प्रतिशत किशोर–किशोरी यी विषयहरूमा आफ्ना साथीहरूसँग संवाद गरी सन्तुष्ट नहुने देखाएको छ । 

जवाफ दिनुको फाइदा
अरुण भन्छन्, ‘बालबालिकाले प्रश्नै नगरेको अवस्थामा उनीहरू केही सिक्न सक्दैनन् ।’ उनीहरूले जति धेरै प्रश्न गर्छन् त्यति नै उनीहरूको सिकाइको क्षमता बढ्दै जान्छ । ‘बालबालिकाले अनौठा प्रश्नहरू गर्दैछन् भनेर आत्तिनु पर्दैन’ उनी थप्छन्, ‘यसले तपाईंका बालबालिका जिज्ञासु स्वभावका छन् भने पुष्टि हुन्छ ।’
बालबालिकाले गर्ने प्रश्नको सही जवाफले उनीहरूको जिज्ञासा शान्त हुन्छ र उनीहरूको सोच पनि त्यही किसिमले विकसित हुन्छ । उनीहरूको मानसिक र बौद्धिक विकासमा सहयोग पुग्छ । बालबालिकाले सोधेको प्रश्नको सही उत्तर दिँदा उनीहरू खुसी पनि हुन्छन् । कहिलेकाहीँ उनीहरूले सोधेका प्रश्नको जवाफ हामीसँग नहुन सक्छ । यस्तो समयमा पुस्तक वा इन्टरेटको माध्ययमबाट जवाफ खोज्दा अभिभावकको पनि जानकारी बढ्न सक्छ । 

 Image