Successfully Copied

डिजिटल क्रान्तिमा फेसन उभार

फेसन डिजाइनर, मोडल तथा इन्फ्लुएन्सरमार्फत मोबाइलबाट आफूले लगाएको पोसाक देखाएरै हजारौं, लाखौं दर्शकको ध्यान खिच्न सक्ने वातावरण बनेको छ ।



केही वर्षयता नेपाली समाजमा फेसनको अवधारणाले उल्लेखनीय रूपान्तरण भोगिरहेको छ । यो परिवर्तनको मूल प्रवाह भनेको सोसल मिडिया हो, जसले युवा मात्र होइन, विविध उमेर समूहका मानिसलाई फेसनप्रति सचेत, जागरुक र प्रेरित गराइरहेको छ ।
सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबले फेसनलाई केवल सौन्दर्यप्रति झुकावको विषय होइन पहिचान, अभिव्यक्ति र व्यवसायको माध्यमका रूपमा पुनर्परिभाषित गर्न थालेका छन् ।


डिजिटल युगमा फेसन–परिभाषा
डिजिटल प्रविधिको तीव्र विकाससँगै फेसनको परिभाषा मात्र होइन, त्यसलाई प्रस्तुत गर्ने तरिका पनि परिवर्तन भइरहेको छ । एक समय थियो, जब फेसन म्यागजिन र सोको सीमित वृत्तभित्र सीमित थियो । तर अहिलेको युगमा फेसन टिकटक, इन्स्टाग्राम र युट्युबजस्ता डिजिटल प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा फैलिएको छ ।
‘पहिले फेसन भन्नेबित्तिकै ठूला फेसन सो, फेसन म्यागजिन वा सीमित सहर केन्द्रित कुरा लाग्थ्यो’ भन्छिन् फेसन ब्लगर तथा इन्स्टाग्राम इन्फ्लुएन्सर सुहानी खड्का क्षेत्री । उनी थप्छिन्, ‘अहिले भने कोही गाउँमा बसेर पनि मोबाइलमार्फत आफ्नै फेसन स्टाइल देखाउन सक्छन् ।’ उनीजस्तै अहिले सयौं युवा, विशेषगरी किशोर र युवतीहरू फेसनलाई केवल लुगा लगाउने शैलीको सीमित परिभाषामा नराखी जीवनशैलीको अभिन्न अंगका रूपमा लिँदैछन् ।


फेसन डिजाइनर, मोडल तथा इन्फ्लुएन्सरहरूको माध्यमबाट अब फेसन सो वा म्यागजिनमा मात्र सीमित भएर बस्नुपर्दैन । मोबाइलबाटै आफूले लगाएको पोसाक देखाएर हजारौं, लाखौं दर्शकको ध्यान खिच्न सक्ने वातावरण बनेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि आफ्नै फेसन शैली प्रस्तुत गर्न थालेका छन् । यसले फेसनलाई मात्र ‘ट्रेन्ड’ को रूपमा होइन, व्यक्तित्वको अभिव्यक्तिका रूपमा समेत स्थापित गरेको छ ।


फेसन र ‘इन्फ्लुएन्सर’ संस्कृतिको उदय
नेपालमा ‘इन्फ्लुएन्सर’ संस्कृतिले फेसनमा उल्लेखनीय प्रभाव पारेको छ । फेसन इन्फ्लुएन्सरले विभिन्न ब्रान्डका कपडा, एक्सेसरी, मेकअप सामग्रीलगायतका वस्तुहरूको प्रयोग र प्रवर्द्धन गर्दै लाखौं दर्शकमा प्रभाव पारिरहेका छन् ।
सुहानी केही वर्षदेखि टिकटक र इन्स्टाग्राममा फेसन कन्टेन्ट बनाउँदै आएकी छन् । ‘सुरुमा रमाइलोका लागि बनाएकी थिएँ, अहिले विभिन्न ब्रान्डहरूबाट अफर आउँछ । फेसन मेरा लागि अब केवल सोख होइन, पेसा हो,’ उनी भन्छिन् ।
उता, मेन्स फेसनमा पनि यस्तै क्रान्ति देखिन्छ । पहिले पुरुषहरू फेसनमा खुल्न सक्दैनथे । अहिले मेन्स ग्रुमिङ, ड्रेसिङ र एक्सप्रेसन खुला रूपमा देख्न पाइन्छ । यसमा सोसल मिडियाको ठूलो भूमिका छ ।

सोसल मिडिया बन्यो फेसनको ‘ट्रिगर’
फेसन ट्रेन्डहरू पहिले केही महिना वा वर्षपछि मात्र आम मानिससम्म पुग्थे । तर, अहिले एक कन्टेन्ट क्रिएटरले प्रयोग गरेको पहिरन वा हेयरस्टाइल केही घण्टामै ट्रेन्ड बन्छ । यसले फेसन ट्रेन्डको चक्र छोटो बनाइदिएको छ ।
जस्तो, यो वर्षको गर्मीयाममा ‘कोरियन स्टाइल’ ड्रेसिङ शैली इन्स्टाग्राम र टिकटकमा निकै लोकप्रिय बन्यो । थोरै ओभरसाइज लुगा, न्यूट्रल कलर, मिनिमलिस्ट एक्सेसरिज यी शैलीहरू नेपाली युवापुस्तामा व्यापक रूपमा देखिए ।


आत्मपहिचानको द्वन्द्व
ग्लोबलाइजेसन र डिजिटल प्रविधिको तीव्र विकाससँगै आजको पुस्ता तीव्र गतिमा अन्तर्राष्ट्रिय संस्कृति, फेसन, भाषा र जीवनशैलीतर्फ आकर्षित हुँदै गएको देखिन्छ । यद्यपि, यो प्रवृत्तिले सकारात्मक अवसरहरू खोलेको भए तापनि यसको असरले एक गहिरो सामाजिक द्वन्द्व जन्माइरहेको छ ।
टिकटक, इन्स्टाग्राम र युट्युबजस्ता सामाजिक सञ्जालले युवाहरूमा नयाँ फेसन, शैली र जीवनशैली अपनाउने उत्सुकता बढाइरहेका छन् । नयाँ ट्रेन्ड पछ्याउने होडमा कतिपयले आफ्नै मौलिकता, सांस्कृतिक पहिचान र मूल्य–मान्यता गुमाउँदै गएका छन् ।
काठमाडौंको एक निजी कलेजमा अध्ययनरत २० वर्षीया स्मृति श्रेष्ठ भन्छिन्, ‘हामी जतिसुकै फरक देखिन खोजे पनि ट्रेन्ड पछ्याउँदा सबै एउटै जस्तो देखिन्छौं । कहिलेकाहीँ आफ्नै स्टाइल, आफ्नै विचार हराइरहेको छ ।’
विदेशी शैलीको अन्धानुकरणले नेपाली मौलिक संस्कृतिमा प्रत्यक्ष असर पारिरहेको संस्कृति विज्ञहरू बताउँछन् । विशेषगरी भाषा, लुगा लगाउने तरिका, चाडपर्व मनाउने शैलीमा देखिएको परिवर्तनले परम्परागत मूल्य–मान्यतालाई चुनौती दिइरहेको छ ।
अन्य संस्कृतिबाट सिक्न समस्या छैन, तर अन्धानुकरणले हाम्रो मौलिक पहिचान मेटिने समाजशास्त्रीहरूको भनाइ छ । यद्यपि यो चुनौतीपूर्ण परिस्थिति हुँदाहुँदै पनि केही युवा भने आफ्नो मौलिकता बचाउन अग्रसर देखिन्छन् । सोसल मिडियामै केही इन्फ्लुएन्सरहरू परम्परागत पहिरन, भाषाशैली र जीवनशैलीलाई नयाँ शैलीमा प्रस्तुत गर्दै ‘नयाँमा पुरानाको सम्मान’ भन्ने सन्देश फैलाइरहेका छन् ।
सोसल मिडियाले फेसनमा सकारात्मक परिवर्तन मात्र ल्याएको छैन । कतिपय अवस्थामा अनावश्यक अनुकरण, खर्चिलो फेसन र आत्मपहिचान गुमाउने अवस्था पनि सिर्जना भइरहेको छ ।
मानसिक परामर्शदाताहरू फेसन ट्रेन्ड नअपनाउँदा ‘सोसल प्रेसर’ धेरै युवाले भोगिरहेको बताउँछन् । सोसल मिडियाले देखाएको सबै साँचो होइन भन्ने बुझ्न आवश्यक छ ।



मिडिया र मनोरञ्जन उद्योगको प्रभाव
सिनेमादेखि म्युजिक भिडियो र विज्ञापनसम्म, सबै क्षेत्रमा विदेशी प्रभावले स्थानीय सिर्जनालाई दबाइरहेको छ । नेपाली कलाकारहरू आफैंले पनि प्रायः बलिउड वा कोरियन स्टाइलमा प्रस्तुत हुने गरेको पाइन्छ । यसले मौलिक सिर्जना र पहिचानलाई ओझेलमा पार्न सक्छ ।


स्थानीय फेसन र मौलिकताको खोजी
सकारात्मक पक्ष यो पनि छ कि अहिले धेरै युवा आफ्नै संस्कृति र मौलिकतालाई फेसनमार्फत प्रस्तुत गर्न थालेका छन् । ‘न्यूनतम लुगा, बढी सन्देश’ भन्ने मूलमन्त्रका साथ ‘लोकल ब्रान्ड’ हरू पनि बढ्दैछन् । काठमाडौंको ‘अर्बान यात्रा’ ब्रान्डले कुमारी र ग्रामीण जीवनजस्ता नेपाली पहिचान झल्काउने डिजाइन समावेश गर्छ । नेपाली संस्कृति, मौलिकता र परम्परागत रंगहरूलाई आधुनिक फेसनमा मिसाएर प्रस्तुत गर्छ । यस्ता थुप्रै ब्रान्डहरूले नेपाली मौलिकता जोगाइरहेका छन् । 

 Image