एसवाई इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित ‘फेस अफ एसवाई – ब्रान्ड एम्बेसडर हन्ट २०२५’ कार्यक्रम काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक र रोमाञ्चक छनोट प्रक्रियामार्फत आयोजित उक्त कार्यक्रममा मलाइशा आचार्य ‘फेस अफ एसवाई – ब्रान्ड एम्बेसडर हन्ट २०२५’ को उपाधि जित्न सफल भइन् ।
उपाधिसँगै उनले नगद रु. ५ लाख पुरस्कार प्राप्त गर्नुका साथै रु. १ करोड मूल्य बराबरको एक वर्षे ब्रान्ड कन्ट्र्याक्ट हात पारिन् । निर्णायकहरूका अनुसार उनको प्रभावशाली प्रस्तुति, सशक्त व्यक्तित्व र एसवाई ब्रान्डसँगको उपयुक्तता नै जितको मुख्य आधार बनेको थियो ।
त्यसैगरी, सारा लामा फस्र्ट रनर–अप घोषित भइन् । उनले नगद रु. ४ लाख तथा रु. ५० लाख मूल्य बराबरको ब्रान्ड कन्ट्र्याक्ट प्राप्त गरिन् । अपिल योञ्जन सेकेन्ड रनर–अप बन्दै नगद रु. ३ लाख र रु. ३० लाख बराबरको ब्रान्ड कन्ट्र्याक्ट जित्न सफल भए ।
कार्यक्रमअन्तर्गत प्रदान गरिएको लोकप्रियता पुरस्कार दिलीप नेपाली, जेनिया गुरुङ, रेचल शाही, रिया सुन्दास, समिर मगर, रेजिना के.सी. र इक्षा श्रेष्ठले प्राप्त गरे। सातै जना विजेताले जनही रु. १ लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।
फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यको कोरियोग्राफी र मेन्टरशिपमा सम्पन्न उक्त कार्यक्रमको निर्णायक मण्डलमा सुगारिका के.सी. (मिस नेपाल २००५ तथा मिडिया व्यक्तित्व), उषा रजक (मिसेस् नेपाल इन्टरनेशनल २०२१ तथा अभिनेत्री), फुपु तेन्जिङ शेर्पा (चेयरम्यान, आइआइएफटी ग्लोबल तथा शेर्पा ग्रुप), दिक्पाल कार्की (मोडल, अभिनेता तथा कोरियोग्राफर) र दाजान मुन (डाइरेक्टर, एसवाई बजार) रहेका थिए। निर्णायकहरूले सहभागीहरूको व्यक्तित्व, सञ्चार क्षमता, आत्मविश्वास र ब्रान्ड उपयुक्तताको आधारमा मूल्यांकन गरेका थिए ।
कार्यक्रममा निलम्सले आधिकारिक मेकअप पार्टनरको भूमिका निर्वाह गरेको थियो भने आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डिजाइन पार्टनरका रूपमा सहकार्य गरेको थियो। आत्मविश्वास, व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरमा एसवाई ब्रान्डको प्रतिनिधित्व गर्न सक्ने नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।