काठमाडौंको एक कुनामा १८ वर्षअघि व्यावसायिक रूपमा सञ्चालनमा आएको ‘ग्रान्ड नोरलिङ होटल्स् रिसोर्ट’ आज पनि आफ्नै भिन्नतासहित उभिएको छ । सुरुमा गार्डेन, स्वीमिङ पुल र एउटा रेस्टुरेन्ट मात्रै सञ्चालनमा थियो । त्यतिबेला सुटिङ गर्नेहरू धेरै आउँथे ।
माओवादी द्वन्द्वकालीन अस्थिरताले टासी सालुका योजनाहरू अधूरै रहे । भिलाज बनाएर लिजमा दिने योजनासमेत आर्थिक अभावले थुनियो । सोही कारण आज नोरलिङ गार्डेन, स्वीमिङ पुल, रेस्टुरेन्ट र रुमसहितको होटलका रूपमा स्थापित छ । जहाँ कर्पोरेट इभेन्टदेखि विवाहका पार्टीसम्म र शुक्रबार र शनिबार परिवारसहित हरियालीको मज्जा उठाउन आन्तरिक पर्यटकको भीड नै हुन्छ ।
१९ रोपनी जग्गामा फैलिएको यो होटलमा अहिले १९ वटा कोठा छन् । ठूला र साना गरी तीनवटा हल छन् । टासीकी जेठी छोरी कुन्छाङले स्नातक अध्ययनकै क्रममा बिहान कलेज र दिउँसो बुवासँगै होटलमै काम गर्थिन् । लैनचौरको सिल्भर माउन्टेन कलेजबाट होटल म्यानेजमेन्टमा औपचारिक शिक्षा लिइन् । कोभिडअगावै सम्मेलन हलको योजना बनाइएको थियो तर कोभिड महामारी आयो । त्यसपछि बुवाको निधनसँगै उक्त योजना पछि सरेको कुन्छाङले बताइन् । अफसिजनमा कोठामा मात्र भर पर्न गाह्रो भएपछि विवाह, पार्टी र कर्पोरेट इभेन्टतर्फ ध्यान दिन थालिएको छ ।
केही वर्षअघिसम्म प्रायः विदेशी पर्यटक आउँथे । एक कोठाको भाडा ८०–९० डलरसम्म पर्थ्यो । तर पछिल्ला पाँच–छ वर्षमा काठमाडौंमा ठूला होटल खुले । प्रतिस्पर्धा बढ्यो । ‘उनीहरूले पनि हामीले जस्तै समान मूल्यमा सेवा दिन थालेपछि आम्दानी छरिएको छ । खर्च बढ्दो छ । दक्ष जनशक्ति टिकाउन झन् चुनौतीपूर्ण भएको छ,’ उनी भन्छिन्, ‘हामीले तालिम दिएर योग्य बनाउँछौं, तर उनीहरू लामो समय टिक्दैनन् ।’ दक्ष जनशक्ति विदेश पलायन भइरहेको उनले सुनाइन् । हाल ४० जना कर्मचारी छन्, जसमा २० प्रतिशत महिला छन् । महिलाहरू मुख्यतया सेल्स र सफाइ विभागमा छन् ।
कुन्छाङको व्यक्तिगत जीवनको बाटो पनि होटलसँगै गाभिएको छ । प्लस टु सकेपछि विदेशमा पढ्न जाने सोच बनाएको भए पनि घरको जिम्मेवारीले रोक्यो । साथीहरू सबै विदेश गए । तर जेठी भएकीले केही जिम्मेवारी थपियो । ‘जिम्मेवारी थपिएपछि केही परिवर्तन हुँदो रहेछ,’ उनी भन्छिन् ।
नोरलिङले दुई दशकको यात्रामा मुख्यतया स्थानीय ग्राहकलाई सेवा दिएको छ । विदेशी पर्यटकको चाप त्यति छैन । होटलको लोकेसनले त्यसमा ठूलो भूमिका खेल्यो । ‘यदि बौद्ध वा स्वयम्भू नजिक भएको भए विदेशीहरू पनि आउँथे होला । तर यहाँ भने स्थानीय परिवार नै मुख्य ग्राहक छन्,’ उनी भन्छिन् । कोभिडपछि पारिवारिक पाहुनाको चहलपहल झन् घटेको उनको अनुभव छ ।
महँगो हुँदै गएको काठमाडौंले पर्यटनलाई थप चुनौती दिएको उनको बुझाइ छ । खाद्यान्नदेखि श्रम खर्चसम्म बढ्दा होटल सञ्चालन महँगो बनेको छ । ‘आज पोखराभन्दा थाइल्यान्ड सस्तो छ । त्यो दुःखको कुरा हो । हिमाल हेर्न मात्रै पर्यटक आउँदैनन् । त्यसैले हामी आन्तरिक पर्यटकमै भर पर्न बाध्य छौं,’ उनी भन्छिन् ।
‘नोरलिङ’ नामको अर्थ नै अनमोल हो । होटलको आर्किटेक्चर न्यू–क्लासिकल शैलीमा बनेको छ । हरियालीले भरिएको गार्डेन, स्वीमिङ पुल र रमणीय परिसरका कारण फोटोसुटका लागि पनि यो लोकप्रिय भएको छ ।
सन् १९९६ मा बुवा राजु तामाङले गोदावरीमा सुरु गरेको होटल भ्यू भृकुटी अहिले उनका छोरा समीर लामाको सक्रिय व्यवस्थापनमा छ । कोरोना महामारीले पर्यटन क्षेत्र नै प्रभावित पारेपछि लामाले होटलको वास्तविक अवस्थाबारे ध्यान दिन थाले । सुरुदेखि व्यवसाय राम्रो भए पनि अपेक्षित स्तरसम्म पुग्न सकिएको थिएन ।
होटलको सुरुमा मुख्य ग्राहक बाह्य पर्यटकहरू नै हुने गरेको लामालाई बुवाले सुनाउँछन् । तर अहिले आन्तरिक पर्यटकले नै धानिरहँदा उनलाई विदेशी पनि आउँथे र भन्ने लाग्छ । ‘सहरमा जस्तो पर्यटकहरू आउन सकेका छैनन् र आन्तरिक पर्यटकको रोजाइमा पनि गोदावरी नगरकोट जस्तो समेत बन्न सकेन,’ लामाले भने ।
वैशाख र जेठमा काठमाडौं छोडेर गोदावरी आइपुग्दा छुट्टै वातावरणको अनुभव हुन्छ । नगरकोट खोज्नेले गोदावरी पनि रुचाउन सक्थे । चराचुरुंगी हेर्ने, फुल्चोकी डाँडा, मार्बल डाँडा जस्ता छोटो दूरीका हाइकिङ यहाँ सम्भव छ । पोखरा घुमेर काठमाडौंमा एक रात बस्नुभन्दा नगरकोट उपयुक्त लाग्छ भने गोदावरी उनीहरू रुचाउँदैनन् । गोदावरीमा प्याराग्लाइडिङ जस्ता गतिविधि प्रयास भए पनि सफल हुन सकेनन् ।
लामा सन् २००९ मा पढाइका लागि बेलायत गएका थिए । तर पढाइ सकेपछि उनी नेपाल फर्के । लामाले बेलायतमै लगानी गरेर कुनै काम सुरु गरौं भन्दा पनि बुवाले नमानेपछि उनी फर्कन बाध्य भए । अझ छोरा बेलायतमै बस्छ भनेर बुवाले नै टिकट काटेर पठाएको लामा बताउँछन् । उनी २०१३ मा फर्किए पनि २०१६ पछि मात्रै विस्तारै होटल व्यवस्थापनमा लागे । त्यतिबेला लामाकी दिदी सीमाले होटल सम्हाल्थिन् । लामा आउने–जाने मात्रै गर्थे । तर सन् २०१९ देखि मात्रै लामा सक्रिय बने । कोरोना महामारीले पर्यटन क्षेत्र नै प्रभावित पारेपछि होटलको आर्थिक अवस्था बिग्रियो । अनि लामाले बुवाले सुरु गरेको होटल बन्द हुन दिनुहुँदैन भनी आफै खटे ।
अहिले होटलमा ६० कर्मचारी कार्यरत छन्, जसमा १५ महिला छन् । महिलाको सहभागिता बढाउने उनको योजना छ । ‘महिलाले नेतृत्व गर्दा नियम कडा हुन्छ । त्यसैले नेतृत्वमा महिला हुनु आवश्यक छ,’ उनी भन्छन् । कर्मचारी टिकाउन खाना, बस्ने सुविधा र सरकारले तोकेको तलब सुनिश्चित गरिएको छ । तर पनि कर्मचारीलाई टिकाउन गाह्रो छ । हस्पिटालिटी क्षेत्रको मुख्य चुनौती नै जनशक्ति टिकाउनु रहेको उनी स्वीकार गर्छन् ।
होटलमा अहिले ९१ कोठा र पाँच हल छन् । त्यसमध्ये दुई ठूला हल छन् । त्यो पनि अपुग रहेको उनी बताउँछन् । ९० प्रतिशत व्यवसाय सेमिनार र सम्मेलनबाट आउँछ । थप गोदावरी बोटानिकल गार्डेनबाट फर्किने र आउने सबैलाई होटलमै बस्न र छिर्न प्रेरित गर्ने रणनीति राखिएको छ ।
लामाका अनुसार सरकारी पहलबिना गोदावरी क्षेत्र पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्दैन । कि त नगरकोटमा जस्तो धेरै होटल विस्तार हुनुपर्छ । सातदोबाटो–सात किलोमिटरको छोटो दूरीमा नेवारी खाना, हाइकिङ, चराचुरुंगी र विभिन्न प्रजातिका पुतली अवलोकन सम्भव छ ।
ग्राहकको मागअनुसार बलरुम निर्माण र कोठा विस्तार गर्ने योजना छ । २७ वर्ष पुरानो होटललाई समयानुसार रेनोभेसन पनि गर्नुपर्नेछ । बलरुम निर्माण भएपछि ठूला कार्यक्रम आयोजना गर्न सकिनेछ । १३० कोठासम्म विस्तार र सार्वजनिक कार्यक्रम सञ्चालनका लागि तीन करोड रुपैयाँको लगानी आवश्यक पर्न सक्छ । बुवाको सपना जोगाउँदै लामाले गोदावरीलाई वैकल्पिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न र होटललाई नयाँ पुस्तासम्म लोकप्रिय बनाउने लक्ष्य राखेका छन् ।