Successfully Copied

यात्रा सिङ्ल्हाको

मौसम खुलेको बेला यहाँदेखि लाङटाङ, पाविल, गणेश हिमाल, हिमालचुली, मनास्लु, अन्नपूर्णसम्मका हिमशृङ्खलाहरू देखिन्छन् । आँखै अगाडिझैं लहरै सेताम्मे देखिने यी हिमशृङ्खलाले जोकसैलाई मन्त्रमुग्ध पारिदिन्छन् ।


विद्या राई

राजधानी काठमाडौं नजिकै पदयात्रा जाने शान्त, मनोरम अनि नयाँ गन्तव्यको खोजीमा हुनुहुन्छ भने सिङ्ल्हा पास तपाईंको रोजाइमा पर्न सक्छ । समुद्री सतहदेखि ४,०४० मिटर उचाइमा पर्ने सिङ्ल्हा धादिङको रुबीभ्याली तथा खनियाबाँस गाउँपालिका, नुवाकोटको किस्पाङ र रसुवाको उत्तरगया गाउँपालिकाको शिरमा पर्छ । उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतसँगको नाका समेत हो यो ।
मौसम खुलेको बेला यहाँदेखि लाङटाङ, पाविल, गणेश हिमाल, हिमालचुली, मनास्लु, अन्नपूर्णसम्मका हिमशृङ्खलाहरू देखिन्छन् । आँखै अगाडिझैं लहरै सेताम्मे देखिने यी हिमशृङ्खलाले जोकसैलाई मन्त्रमुग्ध पारिदिन्छन् । करिब ३,७०० मिटरदेखि माथिको उचाइमा फैलिएका अग्ला चट्टानी डाँडाकाँडा, थुम्का र टाकुरामा फराकिला घाँसे मैदानी पाटन, खोंचदेखि पाटनसम्मका खर्कहरूमा भेडाच्याङ्ग्रा र चौंरी गोठहरू लावालस्कर यहाँका आकर्षण हुन् । सिङ्ल्हा आसपास बाक्लै बसोबास रहेको आदिवासी जनजाति तामाङ जातिको भाषा, संस्कार, संस्कृति, बोलीचाली, वेशभूषा र रीतिरिवाज अनुभूति गर्न पाउनु तथा स्थानीय मौलिक खानापानको स्वाद चाख्न पाउनु यो यात्राका ‘कम्प्लिमेन्टरी’ हुन् ।
मिथक तामाङ सभ्यता उत्पत्तिको
सिङ्ल्हाबारे लिखित दस्तावेज खासै भेटिँदैनन् । यसबारे मिथक र किंवदन्तीहरू गाउँपिच्छे, लामा, झाँक्री, अगुवा, अध्येतापिच्छे फरक भए पनि प्राचीन, ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरका मान्छन् । सिङ्ल्हालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्न तम्सिएका धादिङका स्थानीय होटल व्यवसायी तथा अगुवा मंगलबहादुर तामाङको भनाइमा धेरै पहिले तिब्बत भोटबाट पाँच भाइ तामाङ सिङ्ल्हा आइपुगेपछि आसपासका गाउँतिर छरिएर बसे । कृषि र पशुपालनमा लागे । उनीहरूकै सन्तानहरू फैलिएर तामाङको संख्या बढ्यो ।
जनगणनाअनुसार करिब ७५ प्रतिशत जनसंख्या तामाङ (मोक्तान, घिसिङ, व्लोन, वाइवा, पाख्रीन, लोप्चन, रुम्बा, वल, गोले, बम्जन, थोकर, थिङ, दोङ लगायत ४० भन्दा बढी थरका) छन् । उनीहरूले मुख्यगरी बुद्धजयन्ती, ल्होसार, दसैं, तिहार चाडपर्व मान्छन् । तामाङहरू बौद्ध धर्ममा आस्था राख्ने भएकाले सिङ्ल्हालाई बुद्धले बास बसेको ठाउँ तथा बोन धर्म (नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशअनुसार बुद्ध धर्मभन्दा पहिलेदेखि हिमाली क्षेत्र र तिब्बततिर चलेको प्रकृति र जीवनको सम्बन्धमा आधारित तन्त्रमन्त्र र झारफुकमा विश्वास गर्ने) उत्पत्ति भएको ठाउँ पनि मान्छन् । तामाङ भाषामा सिङ्ल्हालाई ‘सिङ्’ र ‘ल्हा’ शब्द मिलेर बनेको भनी अर्थ्याउने गरिन्छ । रुबी गाउँपालिका–३ का वडाध्यक्ष फेदोर्जे तामाङले ‘सिङ्’ भनेको भूमिदेवी आमाछोरी बस्ने र ‘ल्हा’ भनेको लेक अर्थात्् भूमिदेवी आमाछोरी बस्ने ठाउँ भन्छन् । सिङ्ल्हामा भएका दुई थुम्कालाई आमा र छोरीको संज्ञा दिइएको छ । यसमा आस्था राख्नेहरू सिङ्ल्हा पुगेर दुई थुम्कामा बत्ती बाल्ने, दर्ज्यु, लुङ्दा लाउने गर्छन् । ‘सिङ्ल्हाले धादिङ, नुवाकोट र रसुवालाई जोड्छ, यहाँको तामाङ सभ्यता र पहिचानलाई जोगाउँछ,’ वडाध्यक्ष तामाङले भने ।
जनविश्वास
सिङ्ल्हा डाँडाको टाकुरोमा माने छ । तिनै पाँच भाइले पितृलाई पूजा गर्न ढुंगा उठाएर माने बनाएको जनविश्वास छ । त्यही आसपास एक भेडागोठालाको सपनामा आध्यात्मिक शक्ति आएर मनोकांक्षाबारे सोधनी हुँदा उनले लामो कपालको टुप्पी मागेको पाएदेखि मनोकामना पूरा हुने भएकाले स्थानीयले मान्दै, पूजा गर्दै आएको पाइन्छ । बोन्बो अर्थात् बोन धर्मका अगुवाहरू सिङ्ल्हा पुगी माने घुम्दै गाउँमा राम्रो होस्, अन्नबाली सप्रियोस्, रोगव्याधी नफैलियोस् भनी सुख, शान्ति र समृद्धिको कामना गर्छन् ।
‘जिजुबाजेको पालादेखिको रीतिरिवाज हो यो,’ झार्लाङस्थित ७५ वर्षीया झाँक्री सुन्तुलाङ तामाङ भन्छन्, ‘युवा तथा वयस्कहरू सोचेको पूरा होस्, आर्यआर्जन होस् भनी माग्न आउँछन् । बालबालिका बाहेक ७५/७६ वर्षसम्मका वृद्धवृद्धाहरू आयु लामो होस् भनेर दर्शन गर्न पुग्छन् । सन्तान नभएकाहरू सन्तान होस् भनेर माग्न आउँछन् ।’
बौद्ध धर्म अध्येता तथा अनुसन्धानकर्ता अजितमान तामाङको दृष्टिकोण अलि भिन्न छ । उनले ‘सिङ्’ लाई ‘रेड माउन्टेन’ अर्थात् हल्का रातो रंगको पहाड र ‘ल्हा’ लाई लेक भन्छन् । अर्थात् रातो–रातो रंगको चट्टानी पहाड भएको ठाउँ भन्ने हुन्छ । अर्को देवीदेवताको बास भएको स्थल पनि भनिने उनले बताए । रुबी (रातो रंगको बहुमूल्य पत्थर) पाइने भएकाले भूगर्भवेत्ताहरू सिङ्ल्हा पासतिर अन्वेषण गर्न आइपुग्ने गरेको सुनाए । उनले यसलाई बौद्ध धर्मगुरु पद्मसंभव (रिम्पोछे) हिँडेको प्राचीन धार्मिक तीर्थस्थल रुटका रूपमा व्याख्या गर्छन् ।
‘बोन्बो, लामाहरूले, स्थानीय लोकभाकाका गीतमा नेपाल र चीनको नाकाका रूपमा सिङ्ल्हालाई वर्णन गरेको पाइन्छ,’ उनले भने, ‘गुरुपद्मसंभवको पालामा उहाँले नेपालबाट तिब्बत जाने क्रममा बाग्मतीको मुहान बागद्वारबाट सिङ्ल्हा, पाङसाङ, हुदै केरुङ माङयुल हुँदै तिब्बत पुगेको भनिन्छ, यसरी गुरुको यात्रावृत्तान्त, जीवनी र ऐतिहासिकतासँग जोडिएको छ ।’ सिङ्ल्हालाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूले मान्छन् ।


घुम्ने सिजन
जुनसुकै याममा घुम्न सकिन्छ । मौसम खुल्ने र वर्षाको सास्ती नहुने भएकाले वसन्त ऋतु (चैत तथा वैशाख महिना) र शरद् ऋतु (असोज तथा कात्तिक) लाई उपयुक्त समय मानिन्छ । वर्षा ऋतु (साउन तथा भदौ) र शिशिर (माघ तथा फागुन) मा पनि जान सकिन्छ । वर्षामा हरियाली फाँटहरूमा भुइँकुहिरोको लुकामारीले स्वागत गर्छन् । पुस, माघ र फागुनमा हिउँफूलले स्वागत गर्छन् । यसपछि लालीगुराँस, चिमाल आदि विभिन्न प्रजातिका गुराँस र रंगीचंगी फूलले स्वागत गर्छन् । लेकाली सिरेटोले स्पर्श गरिरहन्छन् । औषधिजन्य गुण भएका जडीबुटी धेरै पाइन्छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटक घुम्न पुग्छन् । विदेशी पर्यटहरू रसुवातिर घुमेर सिङ्ल्हा पास भएर फर्किने गरेका छन् । मंगलबहादुर तामाङले केही वर्षअघि बंगलादेशी टोली भेटेका थिए । केही महिनाअघि कोरियन टोलीले पनि सिङ्ल्हाको यात्रा गरे ।
बाटामा सूचना केन्द्र र संकेतहरू पर्याप्त नरहेकाले अलमलिने डर हुने हुँदा सिङ्ल्हाको यात्रा तय गर्नुअघि स्थानीय गाइड लिनु उत्तम र सुरक्षित हुन्छ । खासगरी हिउँदमा जाँदा पानीको स्रोत र बस्ने ठाउँबारे थाहै पाइँदैन । अनकन्टार जंगलबीचमा बास बस्न पनि जंगली जनावरबाट असुरक्षा हुन्छ । यो रुटमा सुविधासम्पन्न होटल वा पसल पाइने कुरै भएन । आफैले न्याना कपडा, स्लिपिङ ब्याग, चाहिने बन्दोबस्तीका सामान बोकेर हिँड्नुपर्छ । पदयात्रा सामान्य, मध्यमदेखि जटिल खालको छ–खोचदेखि पहाड उक्लिने, पहाडको फेदैफेद हिँड्ने त कतै ९० डिग्री कोणका वल्लो र पल्लो पहाड उक्लिने–ओर्लिने गर्नुपर्छ ।
सिङ्ल्हा यात्राका लागि कम्तीमा पाँचदेखि एकहप्ताको समय छुट्याउनुपर्छ । काठमाडौंदेखि त्यहाँसम्म पुग्न तीनवटै जिल्लामध्ये जुन जिल्लाको रुट लिए पनि हुन्छ । धादिङ भएर जानेका लागि काठमाडौंदेखि धादिङबेसी हुँदै खनियाँबास–१ झार्लाङ गाउँसम्म सडक यात्राको पहुँच छ । झार्लाङको रुट भएर जानेले झन्डै ७० वर्षदेखि निरन्तर बगिरहेको पहिरो नियाल्न पाउँछन् । जसलाई ‘दक्षिण एसियाकै ठूलो पहिरो’ पनि भनिन्छ । यसैगरी गिलिन्जो गुम्बा, तातोपानीलगायत स्थलहरू छन् ।
समुद्री सतहदेखि करिब १,६०० मिटर उचाइमा रहेको झार्लाङबाट सिङ्ल्हाको पैदल यात्रा सुरु गर्दा गाउँबाटै ढुंगा बिच्छ्याइएका सिंढी उक्लिनुपर्छ । हरियाली जंगल, जंगली जनावर र डाँडाकाँडाको दृश्यमा रमाउँदै उचाइमा उक्लिँदै जाँदा कतै पोखरी त कतै खर्क भेटिन्छन् । हिँड्न सक्नेले एकैदिनमा झार्लाङबाट मचेत खर्क (३,७४० मिटर) पुग्न सक्छन् । विस्तारै हिँड्नेले दुई दिनको यात्रा तय गरे उपयुक्त हुन्छ । मचेतबाट दुईदेखि तीन घण्टा उकालो लागेपछि सिङ्ल्हा पुगिन्छ ।
सिङ्ल्हामा भने बिहानै उठेर जाँदा उपयुक्त हुन्छ । बिहान मौसम खुल्ने सम्भावना धेरै हुन्छ । पाटनै–पाटन सबेरै उकालो लाग्दा झुल्के घामको दृश्यपान गर्न पाइन्छ । सिङ्ल्हामा पुग्दासम्म हिमालहरू खुलिसकेका हुन्छन् । दिनभर घुमेर मचेत खर्कमा नै बास बस्न फर्के हुन्छ । नभए केही घण्टा घुमेर झार्लाङ फर्कन सकिन्छ । या त रुवीभ्याली, सेर्तुङ जान सकिन्छ । रसुवाको स्याफ्रुबेसी तथा नुवाकोट पनि जान सकिन्छ ।
सिङ्ल्हा जाँदा पदयात्रा सुरु हुने गाउँहरूमा परम्परागत रैथाने ज्ञानमा आधारित थुन्से, डोको, डालो बुन्ने कला पनि देख्न सकिन्छ । आगोमा पकाएको ढिँडो, आलु, मकै भटमासको स्थानीय स्वाद लिन पाइन्छ । ९९ प्रतिशतले खाना पकाउन काठ, दाउराकै प्रयोग गर्छन् । तामाङ पोशाक तथा वेशभूषामा सजिएर प्रस्तुत गरिने यो समुदायको लोकप्रिय मेन्दोमाया (तामाङ सेलो) हेर्न पाइन्छ । साविक दार्खा, सत्यदेवी र झार्लाङ गाविस गाभेर बनेको खनियाबाँस गाउँपालिकामा बहुधार्मिक तामाङहरूको बस्ती भए पनि धेरैजसोले मातृभाषामा कुराकानी गर्न रुचाउँछन् । यहाँ कुल जनसंख्या १३,९२२ मध्ये बौद्ध धर्म मान्नेहरू ७,०२० जना छन् । क्रिश्चियन धर्म मान्नेहरू ५,६४७ जना छन् । हिन्दू धर्म मान्नेहरू १,२५५ जना छन् ।
पर्यटन प्रवर्द्धनको थालनी
सिङ्ल्हालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय प्रयास भैरहेको छ । पालिकाहरूले सिङ्ल्हा जाने गोरेटोबाटो मर्मत गर्ने, ढुंगा छाप्ने, केही खर्कमा तीर्थयात्री, पर्यटक तथा बटुवाहरू बस्न मिल्ने पाहुनाघरहरू बनाएका छन् । जनैपूर्णिमाका दिन मात्रै मेला लाग्ने चलन थियो भने यस वर्षदेखि बुद्धजयन्तीका दिन पनि मेला, महोत्सव गर्न थालिएको छ । गत वैशाख २७ देखि २९ गतेसम्म सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजले ‘प्रथम सिङ्ल्हा पर्यटन मेला’ आयोजना गर्‍यो । नयाँ पुस्ताका धामी २१ वर्षीय मिलन पाख्रिनले धार्मिक महत्व बोकेको यो क्षेत्रलाई अब भने पर्यटनमा जोडेर युवाहरूलाई गाउँमा नै रोजगार सिर्जना गर्नुपर्ने बताए । यो पहिलो प्रयास भएकाले निरन्तरता दिन स्थानीय सरकारदेखि केन्द्र सरकारको सहयोग र समन्वय जरुरी रहेको बताए ।


नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य रहेका उक्त पर्यटन मेला आयोजकमध्येका दिनेश तामाङले आगामी वर्षदेखि पर्यटन प्रवर्द्धनका गतिविधिलाई बढाइने, अल्ट्रा म्याराथनसहित भव्य कार्यक्रम गर्ने महत्वाकांक्षी योजना सुनाए । तर, काठमाडौंसँग सीमा जोडिएको पदयात्रा गन्तव्य भए पनि सिङ्ल्हामा आधारभूत सेवा–सुविधाहरूकै समस्या छ । पदयात्रा सुरु हुने गाउँ छोडेपछि शौचालय कतै भेटिँदैन । धादिङबेसीबाट पहिलो पटक सिङ्ल्हा पुगेकी निर्माया तामाङले भनिन्, ‘पानी र ‘ शौचालय’ को भने व्यवस्था गर्नैपर्ने रहेछ, नभए हामी छोरी मान्छेहरूका लागि निकै समस्या हुने रहेछ ।’
शैक्षिक, आर्थिक तथा सामाजिक दृष्टिकोणले पछाडि नै रहेको यो क्षेत्रमा पहिले बढिजसो झैझगडा हुने गर्थ्यो । पर्यटकलाई सुरक्षाको डर थियो । सिङ्ल्हा पास थाहा पाएर पनि घुम्न जान पर्यटकहरू हिच्किचाउँथे । स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि यो दृष्टिकोण चिर्ने प्रयासरत छन् । तिब्बतसँग सीमामा पर्ने भएकाले केही समयअघि पिप्लिङमा बोर्डर आउट पोस्ट (बिओपी) को स्थापना गरिएको छ । ‘भौगोलिक कठिनाइ भए पनि धेरै भन्दा धेरै पर्यटक भित्राउने सहजताका लागि योजना, बजेट लगाउने र सिङ्ल्हालाई प्राकृतिक स्थितिमा नै जोगाएर राख्ने सोचेका छौं,’ रुबीभ्यालीका वडाध्यक्ष तामाङले भने ।

तस्बिरहरू: प्रविन कुलुङ राई

 Image