कलाकार संगी श्रेष्ठको एकल कला प्रदर्शनी फागुन ७ गतेदेखि सुरु भई दर्शकको उत्साहजनक सहभागितापछि अवधि थप गर्दै मार्च महिनाभर सञ्चालनमा रहने भएको छ । प्रारम्भमा १५ दिनका लागि तय गरिएको प्रदर्शनीलाई पछि विस्तार गरिएको हो ।
प्रदर्शनी कलाकारकै सिर्जनामा आधारित एकल (सोलो) प्रदर्शनी हो, जसको क्युरेसन कलाकारका पुराना कला संकलक तथा कला–पृष्ठभूमि भएकी क्युरेटरले गरेकी हुन् । कलाकारका अनुसार आफूले धेरै प्रदर्शनी नगर्ने भए पनि महिलाद्वारा सञ्चालन गरिएको ग्यालरीबाट प्रस्ताव आएपछि प्रदर्शनी गर्न प्रेरणा मिलेको हो ।
‘महिलाले सञ्चालन गरेको ग्यालरीबाट प्रस्ताव आयो । महिलाको पहलमा हुने प्रदर्शनी अझ अर्थपूर्ण हुन्छ भन्ने लागेर स्वीकार गरेँ’ श्रेष्ठले भनिन् ।
सानैदेखि चित्र बनाउन सुरु गरेकी श्रेष्ठले व्यावसायिक रूपमा करिब ३१ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छन् । यो उनको चौथो एकल प्रदर्शनी हो भने संयुक्त प्रदर्शनीमा भने ३ सय भन्दा बढी सहभागिता जनाइसकेकी छन् ।
‘आफैलाई खोज्ने’ अवधारणामा आधारित कला श्रृंखला
यसपटकको प्रदर्शनी कलाकारको विशेष श्रृंखलामा आधारित छ, जसको मूल विषय ‘आफैलाई खोज्ने’ अवधारणा हो । आधुनिक जीवनको व्यस्तता, पारिवारिक जिम्मेवारी र सामाजिक भूमिकाबीच मानिसले आफ्नै अस्तित्व बिर्सादै जाने अवस्थालाई उनले कलामार्फत व्यक्त गरेकी छन् ।
‘हामी जीवनका अनेक जिम्मेवारीमा यति व्यस्त हुन्छौँ कि आफैलाई नै हराउाछौँ । यही अवस्थाबाट आफूलाई फेरि खोज्ने भावनाले यो काम जन्मिएको हो,’ उनले भनिन् ।
कलाकृतिमा स्मृति, अनुभव र आध्यात्मिक अनुभूतिको मिश्रण देख्न सकिन्छ । कलाकारका अनुसार ‘भगवान’ को रूप यहाँ धार्मिक अर्थमा मात्र नभई मानिसभित्रको शक्ति र सहाराको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।
व्यक्तिगत अनुभवबाट जन्मिएको सिर्जना
उनको अनुसार आमाको निधनपछि जीवन र अस्तित्वबारे गहिरो आत्मसंघर्षको अनुभवले उनको सिर्जनात्मक यात्रामा नयाँ मोड ल्यायो । ‘त्यो समय आफूलाई सम्हाल्न निकै गाह्रो भयो । काम गर्न नसक्ने अवस्था आयो । त्यसपछि माटोसँग काम गर्न थालेँ, जसले मानसिक रूपमा सन्तुलित हुन मद्दत गर्यो,’ उनले भनिन् ।
त्यसपछि उनले चित्रकलासँगै स्कल्प्चर निर्माणलाई पनि आफ्नो अभिव्यक्तिको माध्यम बनाइन् ।
‘कला’ भावना व्यक्त गर्ने माध्यम
श्रेष्ठका अनुसार कला केवल दृश्य अनुभव मात्र नभई भावनात्मक संवादको माध्यम पनि हो । अघिल्लो प्रदर्शनीमा दर्शकहरू कलाकृति हेरेर भावुक बनेको अनुभव उनले साझा गरिन् । ‘कसैले आफ्नो दबिएको भावना बाहिर ल्याउन सके, कसैले जीवनमा अगाडि बढ्ने साहस पाए । कलाकारका रूपमा त्यो नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भनिन् ।
विविध माध्यममा प्रस्तुति
प्रदर्शनीमा चित्रकला, ड्रइङ र स्कल्प्चरलाई एउटै अवधारणाभित्र प्रस्तुत गरिएको छ । कलाकारले सफ्ट तथा गहिरा रङ प्रयोग गर्दै दर्शकलाई कलाकृतिको भावनात्मक गहिराइमा प्रवेश गराउने प्रयास गरेको बताइन् ।
उनका अनुसार गहिरा रङहरूले दर्शकलाई आफ्नै भावना र अनुभवसँग जोडिन सहयोग पुर्याउँछन् ।
श्रेष्ठले आफ्नो प्रदर्शनीलाई व्यक्तिगत अभिव्यक्ति मात्र नभई दर्शकसँग साझा हुने अनुभवका रूपमा व्याख्या गरिन् ।
‘यो मेरो मात्र प्रदर्शनी होइन, दर्शकको पनि हो । हरेक मानिस जीवनको कुनै न कुनै चरणमा यस्तै भावनाबाट गुज्रिरहेको हुन्छ,’ उनले भनिन् ।
प्रदर्शनी मार्च महिनाभर सर्वसाधारणका लागि खुला रहनेछ ।