मुल्कोट बजारमा तीन वर्षयता सबैलाई एउटा सुन्दर भवन र त्यसभित्र निर्माण गरिएका संरचनाले लोभ्याइरहेका छन्, त्यो हो क्वालिटी बीच रिसोर्ट । बीपी राजमार्ग भएर मुल्कोटबाट उकालो–ओरालो गर्ने क्रममा सुनकोशी किनारमा रहेको रिसोर्टले सबैको ध्यान खिच्छ ।
मुल्कोटमा करिब दुई दर्जन बढी होटल, रिसोर्ट तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । तिनै भीडमा पर्छ, क्वालिटी बीच रिसोर्ट । यो रिसोर्ट २०७८ चैत २ बाट सञ्चालनमा आएको हो । २५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट निर्माणमा ३० करोड रुपैयाँ लगानी भयो । तर, २०८१ असोजमा आएको बाढी बजार पस्यो । घर, होटल डुबे ।
यसबाट क्वालिटी बीच रिसोर्ट पनि अछुतो रहेन । बाढीपछि पहिलाकै अवस्थामा रिसोर्टलाई ल्याउन १० करोडभन्दा बढी खर्च भयो । काठमाडौंबाट पूर्व घुम्न जाने र फर्किनेहरूले यसलाई प्रायः गन्तव्य बनाउँछन् । पारिवारिक वातावरण रहेको रिसोर्टमा शुक्रबार र शनिबार युवापुस्ताको जमघट बाक्लै हुन्छ । रिसोर्टमा डिलक्स, स्ट्यान्डर्ड, स्वीटसहित १ सय १ वटा रुम छन् । स्विमिङ पुलसहितको रिसोर्टमा बस्न आउनेहरूले लोकल खानाको स्वाद चाख्न पाउने रिसोर्टका सञ्चालक एवं म्यानेजमेन्ट इन्चार्ज राजेश श्रेष्ठ बताउँछन् । रिसोर्टमा मुलतानी कवाफ, मखमली कवाफ, स्मोक चिकेन, लोकल फिस, चिकेन मिन्ट सस र बँदेल तावाको स्वाद लिन पाइन्छ । मसरुम गोल्डन फ्राई, कोथे मःम र मटन तासको स्वाद पाउनेगरी मेनुमा राखिएको छ । इन्डियन, कन्टिनेन्टल, नेपाली, चाइनिज, अमेरिकन, इटालियन परिकार पनि खान पाइन्छ ।
‘यहाँको स्पेशल खाना सेट हो, मकै, फापरको ढिँडो, स्थानीय जातका खसी, कुखुराको मासुको स्वाद चाख्न पाइन्छ,’ श्रेष्ठ भन्छन्, ‘बेकरीका आइटम यहीँ उत्पादन गर्छौं, दूध, दही, मोही र घिउ पनि गाउँघरकै खान पाइन्छ ।’