Successfully Copied

उपत्यका नजिकका पिकनिक स्पट

जाडो मौसममा पिकनिक जाने चलन छ । हप्तामा हुने एक दिन छुट्टीमा आफ्ना साथीभाइ र परिवारसँग रमाइलो गर्न उपत्यका आसपासका क्षेत्रमा जान सकिन्छ ।


उपत्यका नजिकका पिकनिक स्पट
जाडो मौसममा पिकनिक जाने चलन छ । हप्तामा हुने एक दिन छुट्टीमा आफ्ना साथीभाइ र परिवारसँग रमाइलो गर्न उपत्यका आसपासका क्षेत्रमा जान सकिन्छ । यहाँ उपत्यका वरिपरिका पिकनिक स्पटहरूलाई समेटिएको छ ।


नगरकोट
नगरकोट उपत्यका नजिकको पर्यटकीय क्षेत्र हो । काठमाडौंबाट ३२ किलोमिटर दूरीमा रहेको नगरकोट जान करिब एक घण्टा लाग्छ । यहाँ धेरै राम्रा हिमचुचुराहरू देख्न सकिन्छ । यहाँ यतिबेला पिकनिक खानेहरूको भीड लाग्छ । यहाँ पिकनिकका लागि पिकनिक स्पटहरू छन् ।


गोकर्ण पार्क
गोकर्ण पार्क उपत्यकाबाट नजिकै पर्ने पिकनिक स्पट हो । ६ सय ५० रोपनीमा जमिनमा फैलिएकोयो पिकनिक स्पट ठूलो जंगल वरिपरि रहेको छ । यहाँ पुग्नलाई जोरपाटीबाट तीन किलोमिटरको दूरी छिचोल्नुपर्छ ।

ककनी
नुवाकोट जिल्लामा पर्ने ककनी पुग्न काठमाडौंबाट २० किलोमिटर दूरी छिचोले पुगिन्छ । ग्रामीण परिवेशमा रमाउँदै पिकनिक खानुको बेग्लै मजा हुनेछ । यहाँबाट लमजुङ, मनास्लु, गणेश, लाङटाङ र गौरीशंकर हिमाल देख्न सकिन्छ ।


गोदावरी
ललितपुरको गोदावरी नगरपालिकामा पर्ने गोदावरी काठमाडौंबाट नजिकको पिकनिक गन्तव्य हो । काठमाडौंबाट करिब ८ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न करिब आधा घण्टा लाग्छ । शान्त र हरियाली वातावरण रहेको यो ठाउँ पिकनिकका लागि उपयुक्त गन्तव्य हो । यहाँ धेरै पिकनिक स्पट छन् ।


सूर्यचौर
उपत्यकाबाट नजिक रहेको पिकनिक स्पटमध्ये एक हो, सूर्यचौर । नुवाकोट जिल्लामा पर्ने यो पिकनिक स्पटबाट हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । यहाँ पिकनिकका लागि प्रशस्त पिकनिक स्पट छन् । यहाँ पानीको पनि राम्रो सुविधा छ । सामाखुसीबाट १६ किलोमिटरको दूरीमा रहेको यो पिकनिक स्पट पुग्न त्यति गाह्रो छैन ।

त्रिभुवन पार्क
उपत्यकाबाट नजिकै जान चाहनेहरूका लागि त्रिभुवन पार्क उपयुक्त हुन्छ । कलंकीबाट ६ किलोमिटरको दूरीमा रहेको यो ठाउँ पुग्न २० मिनेट मात्रै लाग्छ । यो आवतजावतका लागि सजिलो ठाउँ हो । यहाँ थुप्रै पिकनिक स्पट छन् ।


घ्याम्पेडाँडा
काठमाडौंबाट नजिकै पर्ने पिकनिक स्पट घ्याम्पेडाँडा पनि हो । कोटेश्वरबाट १४ किलोमिटरको दूरीमा रहेको यो पुग्न धेरै समय लाग्दैन । यहाँ थुप्रै पिकनिक स्पट छन् । यहाँबाट काठमाडौं उपत्यकालाई नियाल्दै पिकनिक खान सकिन्छ ।


चित्लाङ
चित्लाङ उपत्यकाको दक्षिण–पश्चिम दिशामा छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण चित्लाङमा थुप्रै घुम्ने ठाउँ छन् । यो पिकनिक स्पट उपत्यकाबाट २२ किलोमिटरको दूरीमा छ ।

स्वीट्जरल्यान्ड पार्क
चन्द्रागिरि नगरपालिकामा पर्ने स्वीट्जरल्यान्ड पार्क उपत्यकाबाट नजिक रहेको पिकनिक स्पट हो । अग्लो ठाउँमा जंगलको बीचमा रहेको यो पार्कमा पिकनिक खानुको बेग्लै आनन्द छ । वरिपरि देखिने दृश्यले यो पार्कलाई थप आकर्षित बनाएको छ । कलंकीबाट ७ किलोमिटरको दूरीमा रहेको यो ठाउा पुग्न करिब २५ मिनेट लाग्छ ।


लाँकुरी भन्ज्याङ
ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लाँकुरी भन्ज्याङ पिकनिकका लागि प्रसिद्ध छ । उपत्यकाबाट नजिकै रहेको लाँकुरी भन्ज्याङबाट काठमाडौं उपत्यका मात्र होइन सगरमाथा, गणेश हिमाललगायतका हिमश्रृंखला देख्न सकिन्छ । यहा“बाट सूर्योदयको मनोरम दृश्य पनि देख्न सकिन्छ । ललितपुर ग्वार्काेबाट १६ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङमा पिकनिक खान जान सकिन्छ ।


नमोबुद्ध
उपत्यकाबाट नजिकै रहेको पिकनिक स्थल हो नमोबुद्ध । काभ्रे जिल्लाको धुलिखेल नजिकै रहेको नमोबुद्ध पुग्न काठमाडौंबाट करिब ४० किलोमिटरको दूरी छिचोल्नुपर्छ । शान्त र रमणीय स्थान नमोबुद्धमा गुम्बा, गुम्बाभित्रका मनमोहक बुद्धका मुर्तिहरू अवलोकन गर्न सकिन्छ ।

धुलिखेल
काठमाडौंको कोटेश्वरबाट २५ किलोमिटरको दूरीमा रहेको धुलिखेल पिकनिकका लागि राम्रो गन्तव्य हो । सिजनमा धुलिखेलको डाँडामा पिकनिकमा रमाउने थुप्रै भेटिन्छन् । कोटेश्वरबाट धुलिखेल पुग्न करिब ५५ मिनेट लाग्छ ।


गुन्डु
भक्तपुरको दक्षिणमा अवस्थित गुन्डु पिकनिकका लागि उपयुक्त ठाउँ हो । हरियाली डाँडाकाँडा रहेको गुन्डुमा विशेषगरी ड्राइ पिकनिकका लागि जान सकिन्छ । घाँसे मैदान र वरिपरि हरियालीले घेरिएको भएकाले यहाँको दृश्य एकदमै मनमोहक देखिन्छ । कोटेश्वरबाट करिब १२ किलोमिटरमा अवस्थित गुन्डु पुग्न आधा घण्टाजति लाग्छ ।


चोभार गल्छी
चोभार उपत्यकाबाट नजिकै रहेको अर्को पिकनिक स्पट हो–गल्छी । बल्खुबाट चार किलोमिटर टाढा रहेको चोभारमा थुप्रै पिकनिक स्पट छन् । चोभार पुग्न बल्खुबाट करिब १५ मिनेट लाग्छ ।


भोटेचौर
सिन्धुपाल्चोक जिल्लाको पश्चिमतिर पर्ने भोटेचौर पिकनिक स्पटका लागि चिनिन्छ । यसलाई ‘मिनी इलाम’ भनेर पनि चिनिन्छ । यहाँ सुविधायुक्त पिकनिक स्पटछन् । उपत्यकाबाट नजिकै रहेको यो पिकनिक स्पटको आकर्षण भनेको करिब १३ सय रोपनी क्षेत्रफलमा फैलिएको चिया बगान हो । यो चावहिलबाट ३८ किलोमिटरको दूरीमा रहेको छ ।


 Image