Successfully Copied

पोखरामा नयाँ होटल

पोखरा पर्यटकीय नगरी हो जहाँ वर्षभरि आन्तरिक तथा बाह्य पर्यटकको भीड देखिन्छ । सुन्दर नगरी पोखरामा घुम्न एवं रमाइलो गर्न आउने पाहुना लेकसाइडमा पुग्छन् । व्यवसायी, सरकारी कर्मचारी, संघसंस्थामा आबद्धहरू भने लेकसाइडभन्दा बाहिर पृथ्वीचोक, न्यूरोड, महेन्द्रपुल, चिप्लेढुङ्गामा रहेका होटलमा बस्छन् ।

पोखरा पर्यटकीय नगरी हो जहाँ वर्षभरि आन्तरिक तथा बाह्य पर्यटकको भीड देखिन्छ । सुन्दर नगरी पोखरामा घुम्न एवं रमाइलो गर्न आउने पाहुना लेकसाइडमा पुग्छन् । व्यवसायी, सरकारी कर्मचारी, संघसंस्थामा आबद्धहरू भने लेकसाइडभन्दा बाहिर पृथ्वीचोक, न्यूरोड, महेन्द्रपुल, चिप्लेढुङ्गामा रहेका होटलमा बस्छन् ।

पोखरामा होटल तथा रेस्टुराँमा लगानी गर्न खोज्ने व्यवसायीहरूको दौडधूप बढी हुन्छ । कारण हो यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण व्यवसाय फस्टाउने आशा । पोखरा आउने पर्यटकलाई सुविधा प्रदान गर्नका लागि विभिन्न होटल, रिसोर्ट तथा रेस्टुराँ सञ्चालनमा आएका छन् । यस्ता होटल तथा रेस्टुराँको संख्या पोखराको लेकसाइड क्षेत्रमा बढी छन् । अन्य क्षेत्रमा पनि विस्तार भएका छन् । यो क्रम चलिरहेको छ ।

पोखरामा संचालित तारे, मझौला र साना होटल तथा रिसोर्टमा मात्र झन्डै १ खर्बभन्दा बढी लगानी पुगिसकेको छ भने लगानी गर्ने यो क्रम निरन्तर बढ्दैछ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दैछ । विमानस्थलको काम तीव्र गतिमा नभए पनि विमानस्थल बनेपछि पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनका अनुसार संघमा साना, मझौला तथा तारे होटल गरी ४ सय पर्यटक स्तरीय होटल संचालनमा छन् । २०७३ सालमा साना होटलमा भन्दा पनि मझौला तथा ठूला होटलमा लगानी गर्नेको संख्या बढेको उनले बताए । संघमा पोखराका पााच तारे होटल पोखरा ग्रान्ड र फूलबारी रिसोर्टदेखि साना प्रकृतिका होटल आबद्ध छन् । पोखरामा २०७३ सालमा मात्र १ दर्जन बढी होटल संचालनमा आए ।

हुन त २०७२ को तुलनामा केही सुधार आए पनि २०७३ साल व्यावसायिक हिसाबले त्यति राम्रो भने भएन । यसले साना लगानीमा कमी आयो तर मध्यम र ठूला लगानीका होटलहरू खुल्ने क्रम पोखरामा यो वर्ष बढ्यो । ठूलो संचालन गर्दा संचालन खर्च कम हुने र सस्तो पनि पर्ने भएकाले यसको आकर्षण बढेको रेवान अध्यक्ष तुलाचन बताउँछन् । सामान्यतया ३० कोठाभन्दा बढीका होटल तथा रिसोर्ट सञ्चालन भएका छन् । संस्थागत लगानी र संयुक्त लगानी गर्नेहरूको आकर्षण पोखरामा छ ।

यता पोखरामा आउने पर्यटकलाई विभिन्न परिकार ख्वाउन र मनोरञ्जन प्रदान गर्न रेस्टुराँ तथा बारसमेत खुल्ने क्रम जारी छ । रेस्टुराँ एन्ड बार एसोसिएसन (रेवान) पोखरामा आबद्ध रेस्टुराँ एन्ड बारको संख्या ८६ छ । केही नयाँ रेस्टुराँ एन्ड बार आबद्ध हुने क्रममा रहेको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । यो व्यवसायमा २०७३ सालमा केही सुधार भए पनि पुरानै अवस्था फर्कन सकेको छैन यद्यपि नयाँ स्तरीय रेस्टुराँ खुल्ने क्रम भने बढ्दै गएको छ । ‘पोखरामा लगानी गर्न खोज्नेहरू बढ्दैछन्’ गुरुङले भने ।

यसैगरी पोखराको लेकसाइडभन्दा बाहिर संचालित होटल, रेस्टुराँ, दोहोरी रेस्टुराँ, गजल रेस्टुराँ, क्याफे भने सिटी रेवानमा आबद्ध छन् । यसरी सिटी रेवानमा आबद्ध हुनेको संख्या १ सय २ रहेको अध्यक्ष केपी शर्मा पाध्याले बताए ।

उनी पनि आशा गरेजस्तो व्यावसायिक सुधार नभए पनि केही सकारात्मक संकेत देखिएको बताउँछन् । नयाँ खुल्ने क्रम जारी छ । यसरी खुलेका होटल सुरक्षित भए पनि रेस्टुराँको लगानी भने जोखिममा रहेको उनले बताए । ‘रेस्टुराँको व्यवसाय जोखिममा पर्नुको मुख्य कारण मापसे चेकिङ हो’ उनले भने । पोखरा घुम्न आउने आन्तरिक पर्यटकका लागि सिटी रेवानमा आबद्ध व्यवसायीले १० प्रतिशत छुुट दिएको उनले जनाए ।

कुटी रिसोर्ट एन्ड स्पा

कुटी रिसोर्ट एन्ड स्पा थ्री स्टार स्तरको होटल हो । यो होटल केही महिनाअघि लेकसाइडमा संचालनमा आएको हो । रिसोर्ट ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । ३० करोडको लगानी रिसोर्टमा रहेको संचालक देवेन्द्र केसीले बताए । यो रिसोर्टमा आकर्षक ढुङ्गा तथा स्थानीय काठ प्रयोग गरी नेपालीपन झल्काउने प्रयास गरिएको छ । ५० कोठाको यो रिसोर्टमा स्विट रुम र डिलक्स रुम उपलब्ध छन् ।

स्वीमिङ पुलमा इन्डोर हिटिङको व्यवस्था, विशेष लिफ्टिङ सिस्टमसहित अपाङ्गमैत्री, रिसोर्टका सबै रुमबाट हिमाली दृश्यावलोकन गर्न सकिन्छ । फाइभ स्टार तथा थ्री स्टार होटलमा लामो समय काम गरेका अनुभवी सेफ तथा कर्मचारी छन् । कन्टिनेन्टल, नेपाली, चाइनिज, इन्डियन, इटालियन आदि परिकार यहाँ उपलब्ध छन् । यहाँ नेपाली कला संस्कृति झल्कने सांगीतिक कार्यक्रम, टप वियर गार्डेन, मर्निङ योग, फिटनेस मसाजका लागि स्पाको सुविधा पनि यहाँ छ । १ सय जना क्षमताको हल पनि छ । नेपालीका लागि प्रतिरुम ५ हजारदेखि १५ हजारसम्म र विदेशीको हकमा ८० डलरदेखि १ सय ७५ डलरसम्म शुल्क लाग्छ । स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय सेवा दिने लक्ष्य रिसोर्टको छ ।

होटल ह्वाइट पर्ल

शंकर टण्डन, शिशिर भट्टराई तथा विमुक्ति चापागाईंको लगानीमा पोखराको लेकसाइडमा होटल ह्वाइट पर्ल संचालनमा आएको छ । गत डिसेम्बरबाट सुरु भएको यो होटलमा ४० वटा रुम छन् । यहाँबाट पोखरा उपत्यका तथा हिमालको दृश्य हेर्न सकिन्छ । होटलमा नेपालीलाई ४ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्ममा रुम उपलब्ध छन् । विदेशीको हकमा ७० डलर लाग्छ । नेपाली आन्तरिक पर्यटकका लागि १० प्रतिशत छुट प्रदान

गरिन्छ । होटलको आफ्नै रेस्टुराँ पनि छ । यहाँ परिवारसँग आउने बालबालिकालाई छुट उपलब्ध हुन्छ । प्याराग्लाइडिङ, हेलिकप्टर चढेर पोखरा साइड सिन गर्नेलाई होटलले व्यवस्था मिलाइदिनेछ । होटलको सुविधा अनलाइन बुकिङ गरेर लिन सकिन्छ । सबै प्रकारका स्वादिष्ट तथा गुणस्तरीय परिकार यहाँ पाइन्छन् ।

होटल रानीवन आर्केड

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित गौरीघाटमा सुविधा सम्पन्न होटल रानीवन आर्केड केही महिनाअघि संचालनमा आएको हो । युवा पर्यटन व्यवसायी हरि भुजेल तथा उनका परिवारले यो होटल संचालनमा ल्याएका हुन् ।

होटलमा करिब २० करोड रुपैयाँ लगानी छ । होटलमा ६० वटा सुविधा सम्पन्न कोठा छन् । २४ वटा सुपर, २० वटा डिलक्स, १४ वटा सुपर डिलक्स तथा २ वटा जुनियर सुइट कोठा रहेको हरि भुजेलले जानकारी दिए । यो होटलको प्रमुख विशेषता भनेकै सबै कोठाबाट पोखराको मुख्य आकर्षण मानिने फेवाताल, शान्ति स्तूप, रानीवन वरपरको हरियाली जंगलको दृश्यले सवैको मन लोभ्याउँछ । होटलको चौथो तल्लामा बनाइएको ‘माया गार्डेन’ अर्थात् रुफटप गार्डेन होटलको अर्को विशेषता हो । भिआइपी लन्चसहित १ सय जना क्षमताको सभाहल रानीवन आर्केडको अर्को महत्वपूर्ण विशेषता हो । ‘हामीले आधुनिकतासँगै वातावरणमैत्री र अपाङ्गमैत्री दुवै कुरालाई एकदमै महत्व दिएका छौं ।’ भुजेलले भने ।

होटल क्विन्स पार्क

चार महिना अघिबाट पोखराको लेकसाइडमा संचालनमा आएको हो होटल क्विन्स पार्क । यसमा सुरेश केसीको ३५ करोडको एकल लगानी छ । होटलमा ४० वटा रुम छन् । २ वटा स्विट रुम छन् । स्विट रुमको ८ हजार रुपैंयाँ लाग्छ । ४ वटा इकोनोमी डिलक्स फेमिली रुम छन् । जुन रुमको चार्ज ५५ सय रुपैयाँ छ । ३४ वटा डिलक्स रुमको ३५ सयभन्दा माथि शुल्क लाग्नेछ ।

यहाँ इन्डियन, चाइनिज, नेपाली कन्टिनेन्टल खानेकुरा पाइन्छ । लाइभ किचेन रहेको यो होटलमा ग्राहकले रेष्टुराँमा बन्ने परिकार हेर्न पाउँछन् । लिफ्ट सिस्टमको यो होटलमा आधुनिक सुविधा उपलब्ध गराइन्छ । २४ सै घन्टा तातोपानी, वाइफाइलगायतको सेवा पाइन्छ । लेकसाइडको सेन्टरमा रहेको यो होटलमा २ सय जना क्षमताको सेमिनार हल पनि छ । होटल पोखरा इन ड्यामसाइडमा सञ्चालन गरेका सुरेश केसीले व्यवसाय विस्तारका क्रममा लेकसाइडमा यो होटल संचालनमा ल्याएका हुन् ।

होटल सिटी पार्क

२०७३ सालको लक्ष्मीपूजाको दिनबाट पोखराको लेकसाइडमा संचालनमा आएको हो–होटल सिटी पार्क । यो होटल अशोक भण्डारीले सञ्चालन गरेका हुन् । होटलमा २५ वटा रुम छन् । सबै डिलक्स रुम हुन् । ३ हजारदेखि ४ हजारसम्ममा यहाँ रुम पाइन्छ । खानेकुराका लागि आफ्नै रेस्टुराँ एन्ड बार छ यहाँ । होटलले लजिङमा २० प्रतिशत र फुडिङमा १५ प्रतिशत छुट दिनेछ । यहाँ ५ वर्षमुनिका बालबालिकालाई शुल्क लाग्दैन । ५ वर्षमाथिका बालबालिकालाई विशेष छुट दिइन्छ । मिडियम खालको स्टान्डर्ड सुविधा यहाँ उपलब्ध छ । होटलमा लिफ्टको व्यवस्था छ । तातोपानीका लागि हिट पम्प भएकाले २४ घन्टा तातोपानी उपलब्ध हुन्छ ।

इन्फिनिटी रिसोर्ट

पोखरा लेखनाथ महानगरपालिकाको सेदीमा इन्फिनिटी रिसोर्ट संचालनमा आएको छ । यो पोखराका युवा व्यवसायी विनोद तिमिल्सिनाले गत मंसिरबाट संचालनमा ल्याएका हुन् । रिसोर्टमा २२ वटा डिलक्स रुम र २ वटा स्विट रुमसहित २४ रुम छन् । ६० जना क्षमताको सेमिनार हल रहेको रिसोर्टबाट फेवातालसहित, शान्ति स्तूपा, रानीवन, सराङ्गकोट, प्याराग्लाइडिङलगायतका सुन्दर दृश्य हेर्न सकिन्छ । डिलक्स रुमलाई ७ हजार ५ सय र स्विट रुमलाई १० हजार रुपैंयाँ शुल्क लाग्नेछ । यो शुल्कमा नेपालीले भने ३० प्रतिशत छुट प्राप्त गर्छन् । यो रिसोर्टमा २० जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

डोको रेस्टुराँ एन्ड बार

अध्ययनको सिलसिलामा अमेरिका पुगेका चितवनका युवा शिव प्रधानले नेपाल फर्किएर लेकसाइडमा करिब १ करोडको लागतमा डोको रेस्टुराँ एन्ड बार संचालनमा ल्याएका छन् । ६ वर्षको बसाइपछि नेपालमै त्यो पनि पोखरामै केही गर्छु भन्ने मनसायले स्वदेश फर्किएको र आफ्नो रुचिको क्षेत्र रेस्टुराँमा लगानी गरेको प्रधानले बताए ।

फाइन आट्र्समा एमबीए गरेका प्रधानले धेरै व्यक्तिको सपना अमेरिका हुने भए पनि आफू अमेरिकामा नबसी नेपालमै केही गरौं भन्ने मनसायले पोखरामा व्यवसाय सुरु गरेको बताए । प्रधानले पोखराका आफ्ना साथी प्रगत कायस्थसँग मिलेर सेन्टर प्वाइन्टमा रहेको साथीकै घरमा साझेदारीमा रेस्टुराँ व्यवसाय सुरु गरेका छन् ।

नेपाली समाजमा डोको विभिन्न सामान ओसार्ने वस्तुका रूपमा चिनिने बताउँदै प्रधानले गाउँघरमा पाइने अर्गानिक उत्पादनलाई सहरमा ओसारी ताजा सिजनल खानेकुराहरू रेस्टुराँमा उपलब्ध गराउने उद्देश्यले रेस्टुराँको नाम डोको राखेको प्रधानले बताए । प्रधानले नेपाली परम्परागत भान्साका सामग्रीहरूको लोप हुँदै गएको बताउँदै सामानहरू संगालेर आफूहरूले रेस्टुराँलाई संग्रहालयको रूप दिन लागेको बताए ।

एक पटकमा ७० जनालाई सेवा दिन सक्ने यो रेस्टुराँमा हाल १५ जनाले रोजगार पाएका छन् । यो रेस्टुराँ क्रिसमसदेखि संचालनमा आएको हो ।

लेकाली चुल्हो घर

पोखराको अमरसिंह चोक नजिकै लेकाली चुल्हो घर संचालनमा आएको छ । विशुद्ध अर्गानिक खाना ख्वाउने उद्देश्यका साथ लेकाली चुल्हो संचालनमा ल्याइएको रेस्टुराँ हो । लेकाली चुल्हो घरमा ग्रामीण भेगमा उत्पादन हुने मकै, कोदो, फापर, गहुँ लगायतका अन्नबाट निर्माण गरिने ढिँडोको परिकार, ढिँडोसँग लोकल कुखुरा, असला माछा, लोकल बोका र लोकल पाडोको सुकुटीका परिकारले ग्राहकको मन जित्न सफल भएको छ । त्यसका साथै खाजाका लागि भुटेको मकै र भटमास, भुटेको गहुँ, मोही, पोलेको माछा र लेकाली झिर ग्राहकको पहिलो रोजाइ बन्दै गएका छन् । यो रेष्टुराँ गुरुङको लगानीमा यो संचालनमा आएको हो । उनले आगामी असोजसम्ममा यही ठाउँमा होटल टास्क इन्टरनेसनल पनि संचालनमा ल्याउँदैछन् । ३२ वटा रुम क्षमताको होटलमा भ्यु टावर जहाँबाट पोखरा भ्याली र मनोरम हिमशृंखलाको अवलोकन गर्न सकिनेछ । रुफ टप रेस्टुराँ, २ वटा कन्फ्रेन्स हल, राउन्ड टेबलसहितको ३५ जना क्षमताको र ५० सीट क्षमताको सेमिनार हल हुनेछन् । त्यसैगरी १२ वटा डिलक्स, १६ वटा स्विट तथा २ वटा सुपर स्विट रुम हुनेछन् । यो होटलमा २ वटा अपार्टमेन्ट रहनेछन् भने अन्डर ग्राउन्ड पार्किङ र लिफ्टको सुविधा रहने गुरुङले जनाए ।

पोखरामा माइ होटल, होटल स्प्रिङ, माउन्ट भ्यु, टुकी रिसोर्टलगायतका अन्य होटल तथा रिसोर्ट २०७३ सालबाट संचालनमा आएका छन् । यसैगरी पोखरामा डुंगा, आर टु के, स्पोटर््स बार, मुनलाइटलगायतका रेस्टुराँ पनि २०७३ सालमै संचालनमा आए । होटल, रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम निरन्तर जारी छ । अहिले पोखरामा वार्षिक १ लाखभन्दा बढी संख्यामा विदेशी पर्यटक आउँछन् । पोखरा आउने आन्तरिक पर्यटकको संख्या त्यो भन्दा बढी छ ।

यति हुँदाहुँदै पनि पोखरामा अझै पनि विशिष्ट पर्यटकका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउने पाँचतारे होटलको आवश्यकता छ । पोखरामा ठूला व्यावसायिक घरानाका व्यक्तिले लगानी गर्न खोज्दैछन् । केही नेपालका ठूला होटलले पोखरामा लगानी थप्न खोज्दैछन् । अहिले पोखरा लेखनाथ महानगरपालिका घोषणा भएसागै पोखराको क्षेत्र विस्तार भएको छ । क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो महानगरपालिका हो पोखरा । पोखरा तथा यस आसपासका ग्रामीण भेगका विभिन्न ठाउामा व्यावसायिक घरानाले जग्गा किनेर राखेका छन् । ती ठाउँहरूमा नयाँ होटल तथा रिसोर्ट संचालन गर्ने तयारी उनीहरूको छ ।

 Image