डरलाई जित्दै जोखिमसँग प्रत्यक्ष साक्षात्कार हुने खेल हो, साहसिक खेल । यो खेलको आनन्द तीव्र गतिमा बग्ने नदीमा र्र्याफटिङ गरेर, कहालीलाग्दो खोंचमा हाम फालेर, खुला आकाशमा चराजस्तै उडेर र डरलाई जित्दै हिमालको चुचुरो उक्लिएर लिन सकिन्छ ।
बेतोडले बग्ने पहाडी नदी, अत्यासलाग्दो पखेरा, कहालीलाग्दो खोंच । यही भौगोलिक विकटताले नै साहसिक पर्यटनका लागि विश्वसामु नेपाललाई चिनाएको छ । आश्चर्यजनक पहाडी क्षेत्र, विश्वको अग्लो चुचुरोका साथै अद्वितीय हिमाली पदयात्राका लागि नेपाल प्रख्यात मानिन्छ । बर्सेनि हजारौं विदेशी पर्यटक आङ सिरिङ्ग हुने साहसिक खेलको अनुभव संगाल्न नेपाल आउँछन् । त्यसैले त पर्यटनविज्ञ प्रचण्डमान श्रेष्ठ भन्छन्, ‘नेपालमा व्यवस्थित पर्यटनको आधार नै साहसिक पर्यटन हो ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत वर्षमात्र कुल पर्यटकको १० प्रतिशत पदयात्रा, पर्वतारोहणलगायत साहसिक कार्यका लागि नेपाल भित्रिएको देखिन्छ । यो कोभिडपछिको तथ्यांक हो । कोभिडका कारण सबै क्षेत्र प्रभावित भए, पर्यटकीय क्षेत्र पनि यसबाट अछुतो रहेन । सन् २०१९ मा लगभग १२ लाख पर्यटक नेपाल घुम्न आएकामा ४० प्रतिशत साहसिक खेलकै लागि आएको देखिन्छ । पदयात्रा, पर्वतारोहण, क्यानोनिङ, रक क्लाइम्बिङ, जंगल सफारी, स्किइडलगायतका साहसिक खेलका लागि बर्सेनि हजारौं पर्यटक नेपाल भित्रिन्छन् ।
पछिल्लो समय नेपालीहरूमा पनि साहसिक पर्यटनप्रतिको क्रेज बढेको देख्न सकिन्छ । बन्जी, प्याराग्लाइडिङ, जिपलाइन आदि साहसिक खेल देशव्यापी रूपमा फैलिएका छन् । साहसिक खेल व्यावसायिक रूपमा संचालन भएसँगै नेपालमा आन्तरिक पर्यटनको आकर्षण ह्वात्तै बढेको पर्यटन व्यवसायी विष्णुकान्त घिमिरे बताउँछन् ।
पर्वतारोहण
नेपाल हिमालै हिमालको देश हो । हिमाल आरोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य हो । विश्वकै सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला हिमाल १० वटा छन् । नेपाली पर्यटन पनि हिमाल आरोहणबाटै सुरुवात भएको हो । नेपाल सरकारले सन् १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुला गरेको हो । त्यसयता चार सय १४ हिमाल तथा पिकहरू खुला गरिएको छ । हिमाल आरोहण गर्न सजिलो छैन । यो निकै जोखिमपूर्ण हुन्छ । मौसम क्षणक्षणमै बदलिइरहने हुँदा २४ घण्टा सतर्क रहनुपर्छ । हिउँमाथि जित्न चाहने र आफूलाई साहस देखाउने पर्यटकका लागि पर्वतारोहण उपयुक्त हुनसक्छ ।
कुन ठाउँमा गर्ने ?
सगरमाथा, मनास्लु, अन्नपूर्ण, कन्चनजङ्घा, लाओत्से, मकालु, धौलागिरी, चो यू आदि ।
प्याराग्लाइडिङ
प्याराग्लाइडिङ रोमाञ्चक एवं साहसिक खेलमा सबैभन्दा लोकप्रिय हो र उत्तिकै चुनौतीपूर्ण पनि । चराजस्तै खुला आकाशमा उडेको अनुभव गर्न प्याराग्लाइडिङ उपयुक्त हुनसक्छ । कास्कीको सराङ्कोट प्याराग्लाइडिङका लागि दक्षिण एसियामै कहलिएको ठाउँ हो । पोखरा घुम्न आउने अधिकांश पर्यटकको आकर्षणको केन्द्र सराङ्कोट हो । यहीँबाट प्याराग्लाइडिङ सुरु भएको हो ।
प्याराग्लाइडिङबाट सुन्दर दृश्य, तराईका फाँट र वरपरका हिमशृंखलासमेत हेर्न सकिन्छ ।
सराङ्कोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा अवतरण गरिन्छ । यद्यपि पोखराको सराङ्कोट राम्रो मौसमको कारण वर्षैभरि उडान गर्न सकिने दक्षिण एसियामै सबैभन्दा सुरक्षित स्थान मानिन्छ । असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना प्याराग्लाइडिङ गर्ने उपयुक्त समय मानिन्छ । सामान्यतया एक हजार मिटरमाथि उडान हुँदै आएको छ ।
कुन ठाउँमा गर्ने ?
पोखरा, नुवाकोट, गोदावरी, इलामको कन्याम, धरान, काठमाडौंको शिवपुरी, काभ्रेको पनौती, सिन्धुपाल्चोकमा सञ्चालनको तयारी ।
क्यानोनिङ
कहाली लाग्ने चट्टानी छहरामा डोरीको माध्यमबाट तल झरिने खेल क्यानोनिङ हो । चिप्लिनु, हाम फाल्नु, पौडिनु र झर्नु यो खेलका विशेषता हुन् । यो निकै कठिन र जोखिमपूर्ण हुन्छ । यो खेलप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । यो विगत एक दशकदेखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा प्रशस्तमात्रामा पहाडी र हिमाली भेगमा झरना हुने भएकाले नयाँ साहसिक खेलका रूपमा विकसित हुँदै गएको छ ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मर्स्याङ्दी उपत्यका, भोटेकोशी नदी, सुनकोशी नदी, सुन्दरीजल, ककनीमा चट्टानी पहराबाट झर्ने झरना क्यानोनिङ गर्ने प्रमुख स्थल हुन् । त्यस्तै मनाङको फू गाविसमा पर्ने हिमालबाट झर्ने छाँगा क्यानोनिङका लागि विश्वकै सबैभन्दा उचाइको भनी पहिचान भएको छ । भोटेकोशी उपत्यकालाई क्यानोनिङप्रेमीका लागि अद्वितीय स्थलका रूपमा लिइन्छ । काभ्रे, हाडी, जम्बो, ग्यालुङ र फाङफुङ खोला क्यानोनिङ गर्ने प्रसिद्ध प्रमुख आकर्षकस्थल हुन् । लमजुङमा पर्ने मर्स्याङ्दी उपत्यका छेउछाउका खोला र झरना पनि क्यानोनिङप्रेमीको रोजाइमा पर्छन् ।
कुन ठाउँमा गर्ने ?
मर्स्याङ्दी उपत्यका, भोटेकोशी नदी, सुनकोशी नदी, सुन्दरीजल, ककनी, काभ्रे, हाडी, जम्बो, ग्यालुङ र फाङफुङ खोला ।
बन्जी जम्प
विश्वमै प्रसिद्ध बन्जी जम्प नेपालको भोटेकोशीमा सञ्चालित छ । ‘द लास्ट रिसोर्ट’ले उक्त साहसिक बन्जी सञ्चालन गर्दै आइरहेको छ । यहाँ बन्जी सन् १९९९ मा सुरु भएको हो । रिसोर्टले भोटेकोशीमाथि झोलुङ्गे पुल हालेको थियो । यही पुलबाट करिब एक सय ६० मिटर तलको खोंचमा छलाङ मार्न सकिन्छ । यो विश्वकै उत्कृष्ट बन्जी जम्पमध्येमा पर्छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटक बन्जीका लागि पुग्ने गरेका छन् । यहाँ हप्ताको चार दिन बन्जी गराइन्छ । त्यस्तै ‘द क्लिफ प्रालि’ले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुस्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काई साइक्लिङलगायत साहसिक खेल सञ्चालन गरिरहेको छ । यो विश्वको दोस्रो अग्लो बन्जी जम्प हो जुन २ सय २८ मिटर अग्लो छ । विश्वकै अग्लो बन्जी मकाउमा रहेको छ । भोटेकोशीमा बन्जी गरेको शुल्क ८ हजार लाग्छ जसमा यातायात र लन्चको समेत सुविधा छ । यातायातबाहेक बन्जी र लन्चको ६ हजार ८ सय शुल्क लाग्छ । बन्जी जम्प गर्नका लागि इच्छा मात्र भएर हुँदैन शारीरिक एवं मानसिक रूपमा स्वस्थ हुनुपर्छ ।
कुन ठाउँमा गर्ने ?
पोखराको महोतगौंडा, हेम्जा, सिन्धुपाल्चोकको भोटेकोशी र पर्वतको कुस्मा ।
र्र्याफटिङ
साहसिक खेलमा रुचि राख्नेहरूका लागि र्र्याफटिङ मुख्य रोजाइमा रहने गरेको छ । नदीको उर्लिएको छाललाई चिर्दै र्र्याफटिङ गुर्नको छुट्टै मज्जा छ । र्याफटिङका लागि प्राविधिक हिसाबले निकै जटिल र कठिन भनी विश्वमै कहलिएका छन्, नेपालका भोटेकोशी–सुनकोशी नदी । त्यसबाहेक त्रिशूली, तमोर, अरुण, कालीगण्डकी, मर्स्याङ्दीलगायत विभिन्न नदीहरूमा मज्जा लिन सकिन्छ । नेपालको र्र्याफटिङ दक्षिण एसियाकै आकर्षक मानिन्छ । यसको सुरुवात १९९६ मा भएको हो । जलयात्राका लागि विश्वका उत्कृष्ट १० मध्ये नेपालका तीन नदी सुनकोशी, भोटेकोशी र कर्णाली उत्कृष्ट मानिएका छन् । आकर्षक छाल र लामो भएकाले यी नदी विश्वमै उत्कृष्ट मानिएका हुन् । नेपालमा छ हजार नदीनाला छन् । तीमध्ये १६ वटा नदीमात्र सरकारले जलयात्राका लागि खुल्ला गरेको छ ।
र्याफटिङ गाइड राधा तामाङले छालसँग खेल्दा जति जोखिम हुन्छ, उत्तिकै रमाइलो हुने बताउँछिन् । र्याफटिङ रमाइलोका लागि मात्र गरिँदैन जोखिमसँग जुध्नका लागि पनि गरिन्छ । नेपाल एसोसिएसन अफ र्र्याफटिङ एजेन्सी (नारा) का अनुसार नेपालमा जलयात्राका लागि ७२ वटा कम्पनी दर्ता छन् । वर्षमा करिब ४० हजार पर्यटकले जलयात्राको मज्जा लिने गरेका छन् । र्याफटिङका लागि एकदेखि १२ दिनसम्मका प्याकेज उपलब्ध छन् ।
कुन ठाउँमा गर्ने ?
भोटेकोशी–सुनकोशी, त्रिशूली, सुनकोशी, तमोर, अरुण, कालीगण्डकी, मर्स्याङ्दी, कर्णाली ।
जिपलाइन
जिपलाइनमा डोरीमा घिर्नीको सहायताले झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा पुगिन्छ । नेपालमा जिपलाइनका लागि पोखरापछिको गन्तव्य हो, धुलिखेल । धुलिखेलको थाक्लेडाँडामा टेकअफ भएर पाँचखालको खावामा अवतरण हुन्छ । १ दशमलव १ किमि दूरी पार गर्न झन्डै एक मिनेट २० सेकेन्ड लाग्छ । जिपलाइनमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा रहेको हुन्छ ।
पर्वतको कुस्माकै चाक्ले डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण भएको छ । पर्वतका युवा व्यवसायीहरूको ११ करोड लगानीमा जिपलाइन निर्माण गरिएको हो । यो जिपलाइन सुपरम्यान शैलीमा निर्माण गर्न लागिएको हो। सुपरम्यान शैलीमा बनाउन लागिएको पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइन हुने सञ्चालक बताउँछन्। सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा छ। समुद्री सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको सराङ्कोटबाट हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर दूरीमा रहेको जिपलाइन विश्वमै अरु नभएकाले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो र अग्लो जिपलाइन’ का रूपमा दर्ता गर्न आवेदन दिइएको छ । साधारण जिपलाइन खेल्न चार हजार पाँच सय शुल्क लाग्छ, जुन ९० सेकेन्ड लाग्छ । त्यस्तै सुपरम्यान जिपलाइन एक मिनेटमा पार गरिन्छ । जसका लागि ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । फोटो, भिडियो र टिसर्टका लागि अतिरिक्त शुल्क तिर्नुपर्छ ।
कुन ठाउँमा गर्ने ?
धुलिखेल, पोखराको सराङ्कोट, नगरकोट, पृथ्वीराजमार्गमा पर्ने रिभर फन रिसोर्ट र त्रिशूली रिभर साइड रिसोर्टमा, मकवानपुर गढी, भेंडेटार, कुस्मा, घ्याम्पेडाँडा, पाल्पाको भैरवस्थानमा सञ्चालनको तयारीमा ।
स्काई रोप साइक्लिङ
पृथ्वीराजमार्गमा पर्ने त्रिशूली रिभर साइड नदीमाथि वारपार गर्ने स्काई रोप साइक्लिङ सञ्चालनमा आएको छ । यसमा दुई जना एकैसाथ खेल्न सकिन्छ । यसरी दुवै जना खेल्न मिल्ने नेपालको पहिलो पनि हो । त्रिशूलीमै रिभर फन रिसोर्टले पनि यो खेल सञ्चालन गरिरहेको छ । दुई तर्फी दूरी तीन सय ५० मिटर रहेको छ । साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन थप पाँच सय शुल्क लाग्छ । द क्लिफले सबैभन्दा लामो र अग्लो ठाउँमा स्काई रोप साइक्लिङ गरेको छ । कालीगण्डकीमाथिको भीरमा रिसोर्ट परिसर स्काई साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुईतर्फी गरी छ सय मिटर रहेको छ । यसमा प्रतिव्यक्ति तीन हजार पाँच सय शुल्क तिर्नुपर्छ ।
कुन ठाउँमा गर्ने ?
कुस्माको द क्लिफ, पृथ्वीराजमार्गमा पर्ने रिभर फन रिसोर्ट र त्रिशूली रिभर साइड रिसोर्ट, भक्तपुरको घ्याम्पेडाँडा र नेपालगञ्ज ।
हट एयर बेलुन
साहसिक पर्यटनको नयाँ तथा सुरक्षित यात्राका रूपमा बेलुन नेपालले हट एयर बेलुन सञ्चालनमा ल्याएको हो । समुद्री सतहदेखि तीन–चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । एकपटकमा ८ जनासम्म उड्न मिल्ने यसमा आधा घण्टा र एक घण्टासम्म उड्न मिल्छ । यसको परव्यक्ति ९ हजार रुपैयाँ शुल्क लाग्छ । वर्षायामका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएका दिन उड्न सकिन्छ ।
पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु भएको हो । यो तातो हावा भरेर हावामा उड्नु हो । हट एयर बेलुन सूर्योदय र सूर्यास्तको समय गरी दिनको दुई पटक उड्छ ।
कुन ठाउँमा गर्ने ?
पोखरा ।
अल्ट्रालाइट
यो सानो हेलिकप्टरजस्तो देखिन्छ । जुन सिंगल इन्जिन क्राफ्ट भएको हुन्छ । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट अहिलेसम्म पोखरामा मात्रै सञ्चालित छ । पाइलट र अर्को एकजना गरी जम्मा दुई जनामात्र चड्न मिल्छ । अल्ट्रालाइटबाट हिमशृंखलालाई नजिकबाट नियाल्न सकिन्छ । साथै पोखराका प्रमुख आकर्षण फेवाताल, वनजंगल, पहाड तथा त्यहाँका ग्रामीण भेगको दृश्यावलोकन गर्न सकिन्छ । नेपालमा व्यावसायिक रूपमा यसको सुरुवात सन् १९९७ बाट सुरु भएको हो । पोखरा विमानस्थलबाट उडान गरिने अल्ट्रालाइट सोही ठाउँमा ल्याएर अवतरण गरिन्छ । अल्ट्रालाइटमा १५ मिनेटसम्मको उडान गरिन्छ । यसको शुल्क ७ हजारसम्म लाग्छ ।
कुन ठाउँमा गर्ने ?
पोखरा ।
स्काई डाइभ
साहसिक खेल स्काई डाइभमा स्वदेशी तथा विदेशी पर्यटक नेपालमा आकर्षित हुन थालेका छन् । यो ८ हजारभन्दा अग्लो उचाइबाट खेलिन्छ । पोखराको पामेबाट हेलिकप्टरले १३ हजार फिटको उडान भरेपछि स्काई डाइभ गराइन्छ । यो हिमालभन्दा माथिबाट खेलिने खेल हो । स्काई डाइभ प्याराग्लाइडिङसँग मिल्दोजुल्दो हुन्छ । यसमा हेलिकप्टरबाट जम्प गर्नुपर्ने हुन्छ । यो खेलमा नेपालीहरूले समेत रुचि देखाइरहेका छन् । यो वर्षको एकपटक मात्र गरिन्छ, त्यो पनि विदेशबाट पाइलट मगाउनुपर्छ ।उडानदेखि अवतरणसम्मको अवधि १४ मिनेटको हुन्छ । जसअन्तर्गत फोटो तथा भिडियो समावेश हुन्छ । मौसम प्रतिकूलता वा अन्य कारणले स्काई डाइभ हुन नसके कम्पनीले पैसा फिर्ता गर्छ । जेनजात्रा एडभेन्चर पोखराले स्काई डाइभ गराउँछ । कम्पनीले सहभागी खेलाडीको इन्स्युरेन्ससमेत गरिदिएको हुन्छ । यसको शुल्क ९५ हजार रुपैयाँ लाग्छ ।
कुन ठाउँमा गर्ने ?
एभरेस्ट क्षेत्र र पोखरा ।
पदयात्रा
नेपाल पदयात्राका लागि प्रमुख स्थान मानिन्छ । साहसिक पदयात्राका लागि विश्वमै नाम कहलिएको ‘ट्रेकिङ रुट’ यहाँ छ । पदयात्रा सबैभन्दा रोमाञ्चक साहसिक यात्रा हो । हिमाली सौन्दर्यलाई नजिकबाट नियाल्दै लामो पदयात्रा गर्ने धेरै पदमार्ग नेपालमा छन् । यात्रामा हिमतालको लोभलाग्दो दृश्य, साँघुरो गोरेटो बाटो, दुर्लभ बोटबिरुवा, पशुपंक्षी नजिकबाट नियाल्दै यात्रा गर्न सकिन्छ । नेपालमा ३५ वटा पदमार्ग चलनचल्तीमा छन् । तीमध्ये पर्यटकको बढी रोजाइमा पर्ने अन्नपूर्ण पदमार्ग र सगरमाथा बेस क्याम्प हुन् । अन्नपूर्ण क्षेत्र नेपालकै चर्चित पदयात्रा हो । पोखराबाट उत्तरपट्टि रहेको यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल पर्छन् । विश्वकै लामो पदमार्ग ‘ग्रेट हिमालयन ट्रेल’ नेपालमै छ । लमजुङको बेसीसहरदेखि मुस्ताङको जोमसोमसम्मको रुट संसारकै उत्कृष्ट पदयात्रा मार्गभित्र पर्छ । कान्तिपुर होलिडेज म्यानेजर समृद्धि मल्लका अनुसार नेपालको पदमार्गमा बाह्रै महिना निस्कन सकिन्छ । माघदेखि पदयात्रामा निस्कने उपयुक्त समय हो ।
कुन ठाउँमा गर्ने ?
पञ्चासे पदयात्रा (३–४ दिन), सिकलेस पदयात्रा (५ दिन), नर फू उपत्यका ट्रेक (१८ दिन), गोक्यो उपत्यका पदमार्ग (१२ दिन), मार्दी हिमाल (६ दिन), सगरमाथा बेस क्याम्प (१५ दिन), मनास्लु पदमार्ग (१४ दिन), उपल्लो मुस्ताङ (१४ दिन), उपल्लो डोल्पा ट्रेक (२१ दिन), पुनहिल (५–८ दिन) ।
अनुभव ‘डरलाई जित्ने खेल ।’
दीपा कार्की, फिटनेस ट्रेनर
मलाई उचाइसँग एकदमै डर लाग्थ्यो । त्यही डरलाई जित्नका लागि मैले बन्जी गर्ने सोंच बनाएँ । सुरुमा एकदमै डर लागेको थियो । तैपनि मनभित्र ‘म सक्छु’ भन्ने आवाज गुञ्जिरहेको थियो । त्यसपछि सबै कुरा बिर्सिएर मैले भोटेकोशीमा हाम फालें । मैले जीवनमा पहिलोपटक बन्जी गरें । त्यो क्षण मेरा लागि अविस्मरणीय रह्यो । त्यसपछि मैले कुस्मामा अर्कोपटक बन्जी गरें । जिपलाइन, स्वीङ, प्याराग्लाइडिङको अनुभव पनि छ । भोटेकोशी र त्रिशूलीमा धेरै पटक र्याफटिङको मज्जा लिइसकेकी छु । सुरुमा ३–४ सेकेन्ड हो डर लाग्ने त्यसपछि ‘तिमीले यो गर्नैपर्छ’ भन्ने महसुस हुन्छ । साहसिक खेल खेल्ने ‘तड्का’ लागेपछि लतजस्तै हुँदो रहेछ । एकपछि अर्को, अझै गहिराइमा जान मन लाग्छ । यसले आफैलाई थप प्रेरणा मिल्दै जाने र डरलाई जित्ने साहस आउँछ । मलाई सबैभन्दा डर ‘द क्लिफ’ को स्वीङ गर्दा लागेको थियो जुन मलाई विश्वको दोस्रो अग्लो पुलबाट हामफाल्दा पनि लागेको थिएन । अब मलाई स्काई डाइभ गर्न मन लागेको छ ।
‘९५ प्रतिशत स्वदेशी ग्राहक’
विष्णुकान्त घिमिरे, पर्यटन व्यवसायी
नेपालमा पछिल्लो समय फस्टाएको व्यवसाय हो, साहसिक पर्यटन । पछिल्लो समय नेपालीहरूमा समेत घुम्ने ट्रेन्ड बढेको देख्न सकिन्छ । जब उनीहरू घुम्न निस्कन्छन्, अधिकांश साहसिक खेल खेल्नकै लागि निस्कन्छन् । यो खेलले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ । यसैको उदाहरणका रूपमा साहसिक खेलमा गतिविधि बढिरहेको देख्न सकिन्छ साथै उनीहरूको बसाइ लम्ब्याउन पनि सहयोग गरिरहेको छ । कोभिडको कारणले पर्यटन व्यवसायमा ठूलो धक्का लाग्यो । विदेशीहरू नेपाल नआउँदा व्यवसाय नै धरापमा पर्ला भन्ने डर थियो । तर, त्यस्तो भएन । अहिले पनि ९५ प्रतिशत त स्वदेशी ग्राहक नै छन् । नेपालमा सबैभन्दा बढी चलेको बन्जी जम्प हो । त्यसपछि जिपलाइन, प्याराग्लाइडिङ आदि पर्छन् ।
यी सबै खेल सतप्रतिशत सुरक्षित छन् । अहिलेसम्म कुनै अप्रिय घटना सुनिएको छैन । सञ्चालकहरूले करौडौं लगानी गरेका हुन्छन्, त्यसैले उनीहरूले सुरक्षामा लापरबाही गर्दैनन् । बन्जी जम्प सुरु भएको २० वर्ष र जिपलाइन सुरु भएको १३ वर्ष भइसक्यो, अहिलेसम्म कुनै त्यस्तो अप्रिय दुर्घटना भएको छैन । प्याराग्लाइडिङमा कहिलेकाहीँ यस्तो घटना घटेको सुनिन्छ । यसमा धेरैजसो विदेशी पाइलट पर्ने गरेका छन् । उनीहरू ‘प्रि प्लान’ नगरीकनै उडाउने र बढी ‘एक्साइटेड’ हुने भएकाले बढी दुर्घटना हुने गरेको पाइन्छ ।
नेपालमा धेरै नदीनाला भएकाले वाटर स्पोर्टससँग सम्बन्धित खेलहरू प्रवर्द्धन गर्न सकिन्छ । त्यस्तै रोलर कोस्टर पनि निकै सम्भावना बोकेको खेल हो । नेपाल साहसिक पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक हो । साहसिक पर्यटनमा नीतिगत व्यवस्था स्पष्ट छैन । पर्यटन विकास तथा पूर्वाधार निर्माणसहितको दीर्घकालीन योजना कार्यान्वयन गर्न जरुरी छ । यसका लागि ‘मेकानिजम’ र ‘मेनपावर’को अभाव छ ।