Successfully Copied

पुरुष अहम् र महिला अस्तित्व

विद्रोहमा उत्रिन नसक्नु, तर्क र परिभाषाले जित्न नखोज्नुको अर्थ अन्याय सहनु र कमजोर हुनुको परिचय किमार्थ होइन ।



महिलामा स्वभावतः विद्रोह नगरी प्रेम भावले सबै परिस्थितिलाई सम्हाल्ने गुण हुन्छ । उनीहरू आफ्नो सानो संसारमा परिवारसँग हाँसीखुसी र सहज जीवनशैलीमा रमाइरहेका हुन्छन् । शान्त र सौम्य बनी आफ्नो दिनचर्यामा उनीहरू व्यस्त रहेका हुन्छन् ।पुरुषको तुलनामा परिवार र समाजमा महिलाको भूमिका धेरै हुन्छ । महिलाबिना पुरुष अधूरो र एक्ला हुन्छन् । पुरूषलाई खुसी बनाउने महिला नै हुन् । तरपनि दुवैको सहयोग र सहकार्यबिना विकसित समाज निर्माण हुन सक्दैन ।
हाम्रो समाजमा भन्ने गरिन्छ–हरेक श्रीमान् आफ्नी श्रीमतीको कब्जामा हुन्छन्, डराउँछन् आदि–आदि । कार्यालय वा कर्म क्षेत्रमा दिनभर सिंहझैं गर्जेर आफ्नो महत्वाकांक्षा प्रस्तुत गर्ने पुरूष साँझ घरभित्र पस्नासाथ दिनभर २–३ पटक पढेको पत्रिका पल्टाएर श्रीमतीले ल्याउने चियाको पर्खाइमा किन हुन्छन् ? किनभने, उनलाई थाहा छ–अरूलाई बोलेर जितेजस्तो, बोलेरै प्रभाव पारेजस्तो होइन श्रीमतीको अगाडि । किनभने उनको व्यवस्थापन, घर चलाउने शैली र यथार्थतालाई नबोलेरै प्रमाणित गरिदिएकी हुन्छिन् । श्रीमतीको अगाडि के बोलेर जित्ने र प्रभाव पार्ने प्रयास गर्नु र ? एक–अर्कामा मौनता, प्रेम, सद्भाव र सम्मान भए पुग्छ घरभित्र । यो मनोवैज्ञानिक तथ्य पनि हो ।
एउटा कथा छ–महान् दार्शनिक सुकरातकी श्रीमती धेरै क्रोधी, अधीर, अस्थिर र कडा थिइन् । उनले रिसको झोंकमा सुकरातको शरीरमा तातोपानी खन्याइदिएकी थिइन् र सुकरात कुरूप भएका थिए । यो कहानी सुनेका एक युवक सुकरातकहाँ आए र सोधेछन्–‘मलाई घरबाट विवाह गर्ने जोडबल भएको छ तर मैले विवाहित पुरूष धेरै श्रीमती पीडित भएको देखेको छु । त्यसैले म विवाह गर्न चाहन्न । तपाईं के भन्नुहुन्छ ?’ सुकरातले भनेछन्, ‘तिमीले विवाह गर्नुपर्छ ।’ ती युवकले थपेछन्, ‘तपाईंले जीवनमा श्रीमतीबाट दुःख पाएर पनि मलाई विवाह गर्ने सल्लाह दिँदै हुनुहुन्छ ?’ सुकरातले भनेछन्, ‘समाजले मेरी श्रीमतीलाई कसरी मूल्यांकन ग¥यो मेरो सरोकारको विषय होइन । उनको सहयोगले चारतिर बहकिने मेरो मनलाई मैले एकाग्र बनाउन सकें र एउटा साहित्यकारका रूपमा परिचित हुन पाएँ । त्यसैले तिमीले पनि मेरै जस्ती श्रीमती पायौ भने साहित्यकार बन्छौ । त्यो भन्दा अलग स्वभावकी श्रीमती पायौ भने अझ प्रख्यात व्यक्ति बन्नेछौ । विवाहबाट हार मान्ने होइन श्रीमतीको साथ र सहयोगले जीवनमा कति सकारात्मक परिवर्तन आउँछ वा आयो त्यो महसुस गर्ने हो ।’
भगवान् बुद्ध ज्ञानी पुरुष बन्नमा यशोधराको सहयोग होस् वा मोहम्मद ईश्वरका अगम वक्ता बन्नुको पछाडि श्रीमतीकै विशेष योगदान रहेको थियो । हरेक पुरूष आफ्नी श्रीमतीप्रति ऋणी छन् तर सिधै स्वीकार गर्दैनन् । उनीहरूको अहंको कारण आध्यात्मिक प्रसंग र जिज्ञासा उठ्छ, महिलाहरू निर्वाणमा उपलब्ध हुन्छन्÷हुँदैनन् अथवा निर्वाण प्राप्त महिलाको प्रसंग अध्यात्ममा किन आउँदैन ? वास्तविकता यो हो कि महिलाको मातृत्व नै निर्वाण तहको अवस्था हो । महिलाको ममता, प्रेम, स्नेह, भक्ति र श्रद्धा नै अध्यात्मको गुण हो । भनिन्छ समाजबाट तथाकथित प्रशंसा प्राप्त गर्नुभन्दा घरपरिवारमा मूर्ख बन्नु र गाली खानु महत्वपूर्ण हुन्छ । आफ्नी आमा, श्रीमती र छोरीको स्वामित्वमा रहनु भनेको कमजोरी र दबाबमा रहनु होइन । त्यो त आफ्ना परिवारको प्रेम र भरोसा प्राप्त गर्नु हो । धर्म र शास्त्रमा महिलालाई होच्याएर तल्लो श्रेणीमा राखेर व्याख्या गरेको पाइन्छ । तर देवी, लक्ष्मी, सरस्वतीको दर्जा पनि महिलालाई नै दिइएको हो । समग्रमा महिला अस्तित्वगत रूपमा सृष्टिकर्ता हुन्। कोही भन्दा उच्च, निच र अलग दर्जाका होइनन् महिला । विद्रोहमा उत्रिन नसक्नु, तर्क र परिभाषाले जित्न नखोज्नुको अर्थ अन्याय सहनु र कमजोर हुनुको परिचय किमार्थ होइन ।

 Image