भनिन्छ पनि संसारमा त्यो व्यक्ति धनी हो जसका धेरै शुभचिन्तक मित्रहरू हुन्छन् तर धेरै हुनुभन्दा पनि गुणात्मक र अप्ठ्यारो पर्दा वास्तवमै सहयोग गर्ने मित्रको पहिचान गर्न सक्नुपर्छ । आफू पनि तिनैमध्ये आफ्ना मित्रलाई दु:ख, आपत् परेका बेलामा सहयोग गर्न तत्पर छु भन्ने संकल्पसहित प्रस्तुत हुन सक्नुपर्छ ।
महिला वा पुरुष जसले आफ्नो जीवन खुसीपूर्वक बिताएका छन्, जीवनका हरेक पक्षमा सफल र सन्तुष्टि मानेका हुन्छन् त्यसको प्रमुख कारण हो–आफ्नो स्वभावमा बाँच्नु र त्यसको अर्को कारण हो अरूका गुणलाई परिस्कृत रूपमा आफूमा लागू गर्दै लानु । महिलालाई बाहिरबाट जति विशेषणले जोडे पनि अस्तित्वले दिएका गुण–सृष्टि, जननी, सहनशीलता, मधुरता, सुन्दरता आदि नै जीवनलाई सफल बनाउन र खुसीपूर्वक जिउन प्रेरणादायक हुन्छन् । यी गुणलाई परिस्कृत गर्दै लान र आफूमा भएका गुणप्रति अहंकार होइन अहोभाव प्रकट गर्न निम्न आयामलाई स्वीकार गर्दै अघि बढ्नु बुद्धिमानी हुन्छ ।
सुमधुर सम्बन्ध : मानिस सामाजिक प्राणी भएकाले घर र समाजमा उसको मानवीय सम्बन्ध प्रथम गुण हो । कतिपय अवस्थामा हाम्रो स्वार्थका निम्ति, सहयोग प्राप्तिको अपेक्षासहित धेरैजनासँग सम्बन्ध विस्तार गर्न रुचाउँछौं । भनिन्छ पनि संसारमा त्यो व्यक्ति धनी हो जसका धेरै शुभचिन्तक मित्रहरू हुन्छन् तर धेरै हुनुभन्दा पनि गुणात्मक र अप्ठ्यारो पर्दा वास्तवमै सहयोग गर्ने मित्रको पहिचान गर्न सक्नुपर्छ । आफू पनि तिनैमध्ये आफ्ना मित्रलाई दु:ख, आपत् परेका बेलामा सहयोग गर्न तत्पर छु भन्ने संकल्पसहित प्रस्तुत हुन सक्नुपर्छ । सम्बन्ध धेरैसँग भन्दा पनि दीर्घकालीन, सुमधुर र समता भावमा कसरी टिकाउन सकिन्छ त्यसमा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ । प्राय:जसो महिला मित्रतामा हुँदा अति विश्वस्त हुने, आवश्यकताभन्दा बढी नजिकिने, आवश्यकताभन्दा बढी आफ्ना व्यक्तिगत कुरा शेयर गर्ने, आफ्नो हैसियतभन्दा बाहिरको फुर्ती लगाउने र जोस्सिएर आवश्यकताभन्दा बढी सक्रियता देखाउँछन् ।
लुगाकपडा–गरगहना साटासाट, घरमा निरन्तर आवतजावत, खाने एकैठाउँ, सरसापट, घुमफिर, छुट्टी सँगै मनाउने आदि कुरा प्राय: बेहोसीमै हुन्छन् । जुन दिन सानो कुरामा मत भिन्नता आउँछ वा सानो कुरामा चित्त बुझ्दैन तब सम्बन्ध विस्फोट हुनपुग्छ । १०–१५ वर्षसम्मको लामो सम्बन्ध र मित्रता क्षणभरमै खरानी हुन्छ । त्यसपछि एक–अर्कामा गुण होइन बैगुन मात्र देख्ने बानीको विकास हुन्छ । हिजोको विश्वास अविश्वासमा परिणत हुन्छ । हिजो भेट्न नपाएर आत्तिने, उसलाई भेट्दा आनन्द आउने मित्र आज देख्दा पनि आफूमा नकारात्मक ऊर्जा संचार हुन थाल्छ । मित्रको प्रगतिमा पनि खुसी व्यक्त हुँदैन उल्टो ईष्र्या जागेर आउँछ तब थाहा हुन्छ मित्रता सम्यक् रूपमा भएको होइन रहेछ । मित्रतालाई सुमधुर बनाउने प्रयास भएको रहेनछ । हरेक कुरामा अति भएपछि खति हुन्छ । केही व्यक्तिलाई मात्र अति नजिकको बनाउने प्रयास गर्नुभन्दा पनि कसरी सबैसँग सुमधुर सम्बन्ध कायम राख्न सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ । मध्यमार्गमा हिँड्ने, सबैको प्रिय बन्ने काम गर्ने र कसैप्रति पनि स्वार्थको भाव नराख्ने व्यक्ति नै सबैसँग सुमधुर र दीर्घकालीन रूपमै सम्बन्ध अटुट राख्न सक्षम हुन्छ । एउटा घर र समाजमा एक–अर्काबीच सुमधुर, टिकाउ र आनन्ददायक सम्बन्ध बनाउन महिलाको भूमिका महत्वपूर्ण हुन्छ ।
अलग पहिचान : प्राय:जसो महिला अरूको नक्कल गर्ने, घर, गहना, कपडा, छोराछोरीको स्कुल, गाडी जे पनि भौतिक उपभोगका वस्तु छन् ती अरूको जस्तै होस् भन्ने चाहना राख्छन् । सबैको रुचि र स्वभाव एउटै किसिमको हुँदैन भने ती वस्तुहरू किन उस्तै हुनु जरुरी छ ? सबैको परिस्थिति र हैसियत पनि एकै किसिमको हुनु जरुरी छैन । जीवन प्रतिस्पर्धामा होइन आफ्नो अनुकूलमा, आफ्नो स्वभावमा रमाउँदै बाँच्न सिक्नुपर्छ । अरू जस्तो बन्ने होइन, अरूले जस्तो प्रतिस्पर्धा, ईष्र्या, क्रोध, लोभ, मोह गर्ने होइन त्यसभन्दा फरक पहिचान बनाएर प्रेमल, करुणादायी, सहयोगी, आफूसँग थोरै भए पनि परोपकारका लागि अघि सर्ने, अरूको भावनाको कदर गर्ने, अरूको र मस्तिष्कको पछाडि नलागी आफ्नो ह्दयको सुन्ने र अरूभन्दा प्रतिष्ठित होइन असल बन्न प्रयास गर्ने महिला नै घरकी गृहलक्ष्मी कहलिन्छिन् । अरूका श्रीमान्ले धेरै सम्पत्ति जोडिदिए भनेर आफ्ना श्रीमान्सँग कचकच गर्ने श्रीमतीभन्दा नराम्रो काम गरेर सम्पत्ति नजोड्नोस् है भनेर असल काम गर्न प्रेरणा दिने श्रीमती र अरूका छोराछोरीझैं प्रतिस्पर्धामा आउनू नभनी, असल नागरिक बन भनेर सही मार्ग देखाउने आमा नै अलग पहिचान भएकी आमाका रूपमा चिनिन्छिन् । भौतिक सुख–सुविधा र प्रतिष्ठा मात्र नहेरी आफ्नो जीवनशैली स्वस्थ, मस्त, व्यस्त एवं रचनात्मक बनाउने र योग, ध्यान आदिलाई समय छुट्याएर आनन्दित जीवन जिउने अनि अरूलाई पनि प्रेरणा दिने महिला नै अलग पहिचान भएका र सफल महिला हुन् । जे काम गरे पनि रचनात्मक, सिर्जनात्मक भएर गर्नु, असल मानिसहरूसँग संगत बढाउनु, सधै सक्रिय रहनु र जीवन ऊर्जाको भरपूर प्रयोग गर्नु नै अलग पहिचान बनाउनु हो ।
तर्कद्वारा होइन कर्मद्वारा प्रस्तुत गर्ने : तर्क गरेर जित्ने स्वभाव महिलाको स्वभाव होइन । आफूमा आफ्ना बारेमा कमै मात्र भएको क्षमता, गुणवत्ता पनि छ भनेर प्रस्तुत गर्नु जरुरी छैन । आ–आफ्नो व्याख्या गर्ने, आफ्नो प्रशंसा कम गर्ने, बोलेर भन्दा गरेर देखाउने महिला नै सफलताका भागिदार हुन्छन् । ‘भरिएको गाग्री छचल्किन्न’ भनेझैँ जसमा सकारात्मक सोचका साथ कर्म गर्ने अपार सम्भावना, साहस र क्षमता छ उसले भनेर होइन चुपचाप काम गरेर सकारात्मक नतिजा प्रस्तुत गर्छ । आफूमा भएका सकारात्मक गुणहरू कर्म र नतिजाद्वारा घर, परिवार एवं समाज सेवामा प्रस्तुत गर्न सक्नु नै महिलाको स्वभाव हो । हामी जस्तो संस्कारमा हुर्कन्छौं, जस्तो संस्कारमा छोराछोरीलाई हुर्काउँछौं त्यही संस्कार उनीहरूमा विकास हुने हो । त्यसैले तर्क गरेर होइन आफ्नो गल्ती नै भए पनि गल्ती अनि कमजोरीहरूलाई महसुस गर्दै सच्याउन प्रयास गर्ने संस्कार सिकाउनुपर्छ । वर्तमानमा जिउने प्रयास गर्ने, विगत र भविष्य हाम्रो हातमा छैन त्यसैले त्यसको चिन्ता नगर्ने, अहिले राम्रो गरेपछि अहिले नै आनन्द मिल्छ । जीवनको विकासका लागि, आत्मविकासका लागि आवश्यक काम, गर्नैपर्ने काममा अल्छी नगर्ने, म सक्छु, गर्छु, हुन्छ भन्ने संकल्पका साथ प्रयास गर्ने । समाजसेवा, पुण्यकर्म र परोपकारका काममा पनि आफ्नो धन र समय दुवै दिने । आफ्नो आर्जनको केही हिस्सा अरुको काममा पनि आओस् यसले भित्रैबाट आनन्द मिल्छ । प्रशस्त धन आर्जन गर्नुको अर्थ आफ्नो जीवनशैली भड्किलो बनाउनु होइन, आपत्मा परेका दु:खीलाई दिने कला जान्नु पनि हो । हाम्रो सफलतासँग भन्दा हाम्रा चरित्रको कारण सम्बन्ध जोडिन्छ त्यसैले चरित्रवान व्यक्ति भएर जिउने प्रयास गर्नु तथा आफ्ना सन्तानलाई पनि त्यही संस्कार सिकाउनु महिलाको दायित्व नै हो र यही नै जीवन जिउने कला पनि हो ।
खराबबाट सचेत: आफूलाई संगतमा बस्न मन नलागेका व्यक्ति हुन् वा खराब वातावरण, खराब खानपान होस् वा आचरण सबैसँग बेलैमा सचेत हुनुपर्छ । परिणाम भविष्यमा आउने हुँदा सचेतना वर्तमानमै आउनुपर्छ । मानिसहरूमा अर्काको देखासिकी, लोभ, ईष्र्या, द्वेष आदि संस्कार अझै पनि ज्यँु का त्युँ छन् । कतिपय अवस्थामा हामीलाई थाहै नहुनेगरी र कतिपय अवस्थामा हामीलाई झुक्याएर खराब काम र संगतमा प्रेरित गर्नेहरूको जमात त्यत्तिकै छ । त्यसैले सही र गलत के हो छुट्याएर आफ्नो जीवनशैलीलाई सत्मार्गमा लानुपर्छ । अरूको देखासिकीमा नलागी आफ्नो जीवनका आवश्यकता एवं चाहनाहरू छुट्याउन सक्नुपर्छ । भौतिक विकासमा भन्दा आत्मिक विकासमा खुसी लुकेको हुन्छ भन्ने कुरा बुझ्ने व्यक्ति सधै खराब कुराप्रति सचेत रहन सक्छ ।