केही समयअघिको कुरा हो, एकजना आफन्तले छोरीलाई जन्म दिइन् । तिनले यसबारे पारिवारिक आफन्तबाहेक कसैलाई जानकारी दिइनन् । हिजोआज चलनमा रहेजस्तो सामाजिक सञ्जालमा फोटो पनि सार्वजनिक गरिनन् । तिनले गर्भावस्थाका तालतालका फोटोसुट पनि गराएकी थिइनन् । ती महिलाले छोरी जन्मिएकै दिन यो पंक्तिकारलाई भने आफन्त सम्झेर जानकारी भने गराएकी थिइन् । शुभ समाचार सुन्नेबित्तिकै फोन गरेरै बधाई दिएँ । चार–पाँच दिनपछि घरमै पुगेर आमा–शिशुलाई भेटेर बधाई दिएँ ।
उनका साथीहरू पनि सुत्केरी भएको थाहा पाएपछि घरमै भेट्न आएका रहेछन् । कतिपय साथीहरू त ‘भर्चुअल’ संसारमा पनि कस्ती पाखे हो, यो भन्न बाँकी राखेनछन्, सुत्केरी आमालाई । प्रकृतिको नियम सधैभरी चलिरहन्छ,आफ्नै गति र उही रफ्तारमा । हिजोका दिनमा हाम्रा आमा–हजुरआमाहरू पनि आमा बने, तिनीहरूले पनि जिन्दगीका सबै आरोह–अवरोहहरूको सामना गरे । तर, तिनीहरूका हातमा आधुनिक प्रविधि अहिलेजस्तै छरपस्ट थिएनन् । तिनीहरू आफ्ना रहर मारेर अरूका लागि खुसी हुने प्रयास गर्थे । एक किसिमले तिनीहरूका लागि आफ्नो खुसीको कुनै मूल्य थिएन । तर पनि आमा–हजुरआमाहरू सबै भोगाइका साक्षी भने बन्ने गर्थे ।
ती सुत्केरीले गुनासो गरिनन्, ‘सबै मान्छेको स्वभाव, रहनसहन र चालचलन एकैनासको नहुन पनि सक्छ होइन र ? मेरा साथीहरू आधुनिकभन्दा पनि अत्याधुनिक पाराका छन्, म ‘टिपिकल’ गाउँले, त्यो पनि हाम्रा आमा–हजुरआमाका पाराकी छु । सबैलाई सबै कुरा एकनासले मन पर्छ भन्ने पनि छैन!’ तर, जमाना यस्तो आयो कि बच्चा जन्मिएको, बच्चा हुर्केको, विवाह, व्रतबन्ध गरेको, आफन्त बितेको हरेक गतिविधिहरू सामाजिक सञ्जालबाटै थाहा हुन्छ ।
प्रविधिले केही हदसम्म फाइदा पनि गरेको हुनसक्छ । तर, सामाजिक प्राणी मानिएको मान्छे प्रविधिको उन्मादका कारण क्रमशः असामाजिक बन्दै गएका छन् । ती आफन्तले थपिन्–म संयुक्त परिवारमा बस्छु । मेरा जेठाजु, जेठानी, आमाजू, सासू–ससुरा सबैजना मैले आदर–सम्मान गर्ने दर्जाका हुन् । कान्छी बुहारी हुँ म । मैले सबैको इज्जतको ख्याल गर्नुपर्छ, यसलाई म आफ्नो नितान्त व्यक्तिगत दायित्व र जिम्मेवारी ठान्छु । म हरेक विषयमा स्वतन्त्र छु, मैले चाहें भने जस्तो स्वतन्त्रता पनि अपनाउन सक्छु । कोही बाधक बन्दैनन् तर मलाई चाहिने भन्दा बढी स्वतन्त्रता देखाएको मन पर्दैन । म सहरमा, त्यो पनि राजधानीको मुख्य केन्द्रमै बस्छु तर मेरो सोंच अरुलाई नदेखाए पनि हुने कुराहरू दुनिया“सामु सार्वजनिक गर्न मन लाग्दैन । यसको अर्थ यो होइन कि मेरा हरेक कुरा, पारिवारिक हरेक गतिविधिहरू सामाजिक सञ्जालमा पोस्ट गर्नैपर्छ ।’
‘म गर्भवती भएको मेरा साथीहरूले थाहा पाएनन् रे, तिनीहरूले ‘बेबी सावर’ मनाउन पाएनन् रे । कत्रो ‘सेलिब्रेट’ गर्ने धोको थियो, तैंले सब गर्न दिइनस् भन्दै गुनासो गरे । तर यो सब कुरा मलाई गर्न मन छैन भने साथीहरूको खुसीका लागि म आफ्नो रहर मार्न त सक्दिन । यो कुरा मेरो र मेरो परिवारको नितान्त पारिवारिक कुरा हो । मलाई थाहा छ, मेरो घरपरिवारलाई थाहा छ अरूलाई हरेक महिनाका गर्र्भावस्थाका फोटा देखाउनु जरुरी छ कि छैन ? यो मामिलामा म पाखे हुन्छु भने मलाई ठीकै छ । मलाई ‘बेबी सावर’का नाममा तमासा देखाउन मन लागेन, मेरो परिवार पनि यसमा सहमत थियो । मभन्दा पहिले मेरा आमाजु, जेठानीहरूले पनि त्यस्तो हर्कत गरेका थिएनन् । मैले चाहेकी भए कोही रोक्दैनथे तर मलाई यस्तो काम गर्न मन लागेन । हामीले यो हर्कत गरेनौं, भगवान्सँग सबैको पुकारा थियो, सहीसलामत आमाको कोखबाट सालनाल अलग होस् । आमा र बच्चाको शरीर स्वस्थ होस्, बस भयो त्यस्तै । मैले शिशु जन्मिएपछि पारिवारिक वृत्तबाहेकका साथीभाइहरूलाई पनि फोन गरेरै खबर गरें र आफू आमा भएको सुनाएँ । छोरीको न्वारन भएको दिन भान्जीले फेसबुकमा फोटो राखेपछि धेरै साथीहरूले थाहा पाएछन् । उनीहरू त एकैछिन अचम्ममा परेछन् ।’
‘तँ कस्ती खालकी मान्छे ? आजकालको मान्छे पनि यस्तो हुन्छ ? तँ आमा बन्न लागेको कुरा यत्रो महिनासम्म फेसबुकमा कतै हालिनस् त । दुई महिनाअघि भेट्दा पनि केही देखिएन त ... यस्ता गुनासाहरू धेरैले गरे । हो मैले यस्तो काम गरिन । गर्भावस्थाका सुरुका पाँच महिना मेरालागि निकै तनावपूर्ण रहे । आफ्नो ज्यान कसरी जोगाउने ? गर्भस्थ शिशु कसरी सुरक्षित हुन्छ ? भन्नेमै ध्यान गयो । आफ्नो मरन्च्यासे अनुहारका तालतालका फोटा खिचेर पोस्ट गर्न मन लागेन । म आफूले फोटाहरू पोस्ट नगरेपनि साथीभाइहरूका गतिविधिहरूसँग अपडेट थिएँ । साथीहरूका हरेक गतिविधिको जानकारी राख्थें । यति हदसम्म त नगरेको भएपनि हुन्थ्यो भन्ने पनि लाग्थ्यो फेरि उनीहरूको जिन्दगीको सबैभन्दा रमाइलो पाटो यही हो भने मैले किन खण्डन गर्ने भन्ने पनि लाग्थ्यो ।’
हो, हामी हरेक मान्छेका स्वभाव र सोचाइ अनि भोगाइ अलग–अलग हुन्छन् । ती आफन्तको र मेरो भोगाइ यो मामिलामा समान छ । मेरा दुई–चार जना पुरुष साथीले निकै गुनासासहितका सन्देश लेखेर मलाई ‘म्यासेन्जर’ मा पठाए । कहिले हाइ हेलो छैन ? के छ, कसो छ भन्दा पनि उत्तर आउँदैन, कसैले नखाएको जागिर तिमीले नि खाएछौ है, साथी । बच्चादेखिका साथीभाइ चिन्नै मुस्किल भयो .... यस्तै यस्तै ।
मेरा ती साथीहरूसँग कुनै गुनासो छैन मलाई । म दिनभर अफिसमा हुन्छु, काममा व्यस्त हुन्छु । सामाजिक सञ्जालमा ‘हाइ–हेलो’ भनेर बस्ने फुर्सद हुँदैन । घरमा जान्छु, छोराछोरी साना छन् । घरभित्र पुग्नासाथ छोराछोरीको हातमा मोबाइल पुग्छ । बच्चाले मोबाइल चलाउँछन्, तिनीहरूलाई कसको, के म्यासेज आयो वा आएन मतलब हुँदैन । तर ‘इन्टरनेट’ चलाएपछि‘अनलाइन’ देखाइहाल्छ । मेरा फुर्सदिला साथीहरूलाई त्यही गुनासो हुन्छ, जतिबेला पनि ‘अनलाइन’मा देखिन्छे तर हामीलाई कुनै जवाफ दिन्न । माफ गर्नुहोस्, साथीहरू तपार्इंहरु के छ, कसो छ–भनेर मलाई प्रश्न पठाउँदा म भान्सामा नुन कति, तेल कति, स्वाद कस्तो भन्ने ध्याउन्नमा व्यस्त हुन्छु । मेरो भान्साको धन्दा सकिसकेर हातमा मोबाइल पर्दा रातको कम्तीमा दश बजिसकेको हुन्छ । त्यसपछि ‘च्याट’ गरेर बस्ने फुर्सद कहाँ पाउनु र ? यस्ता कुरामा साथीहरू ‘इगो’ बनाउँछन् । एकजना साथीले त मलाई फोन गरेरै गाली गरे । कति ठूली पल्टेकी हो आजकाल भनेर । म होइन साथी समय नै ठूलो पल्टियो के गर्नु ?
म ठूली पल्टन लायक त कहाँ हो र साथी ? परिस्थिति, बाध्यता र विवशताले कुनै दिन सामाजिक सञ्जाल नहेरी हप्तौं बित्छ । उता सामाजिक सञ्जालमा सिंगो ब्रह्माण्डको नयाँ संरचनाकै लगभग निर्माण भइसकेको हुन्छ यो अवधिमा । दुई महिनाअघि मेरी हजुरआमा बित्नुभयो । अकल्पनीय खबर सुनेको दिनदेखि हातखुट्टाले मात्र होइन दिमागले पनि काम गर्न छाड्यो । केही सोच्नै सकिएन । आफन्त, दाजुभाइ, दिदीबहिनीहरूलाई फोन गरेर जानकारी गराइयो । मेरा धेरै साथीले मेरी हजुरआमा बितेको थाहा पाएनछन् । उनीहरूको गुनासो उही र उस्तै खालको ।
अहिले आफ्ना आमाबुवा गुमाएको शोकको लाइव गर्छन् साथीहरू । किरियापुत्रीहरू टिकटकको लाइवमा बस्दा रहेछन् । छोराछोरीले फेसबुकमा नराखेसम्म बाआमाको शव पनि उठ्दैन । यो हर्कत गर्न मेरो दिमागले दिएन । यसकै लागि मेरा साथीहरूले मलाई धेरै आरोप लगाउँछन् । यो मेरो वा मेरा एकजना आफन्तको समस्या होइन, यो आममहिलाहरूको साझा समस्या हो जस्तो लाग्छ । सबै काम भ्याएपछि बल्ल हामी सामाजिक सञ्जालतिर नजर लगाउँछौं । कहाँ के–कस्तो भइरहेकँे छ हेर्न थाल्छौं । सामाजिक सञ्जालमा अपडेट नहुँदैमा सबै कुराबाट पिछडिएको अनुभूति हाम्रै साथीहरूबाट हुन्छ ।
सबै महिला कहाँ सामाजिक सञ्जालमा अभ्यस्त हुन सक्छन् र ? घरायसी काममा आमाहरू व्यस्त हुन्छन्, छोराछोरीले मोबाइल चलाउँछन् । कोही कसैले केही सन्देश पठाएका हुन्छन्, वा केही कुरा गरेका हुन्छन् । कसैले पोटाहरू पोस्ट गरेका हुन्छन्, फोटोमा कमेन्ट गरिदिएनन् भन्ने गुनासाहरू हुन्छन् । प्रश्नको समयमा जवाफ आउँदैन । यही कुरालाई ठूलो ‘इस्यु’ बनाउँछन् एकथरी । साना बच्चाबच्ची हुने, घर गृहस्थीमा अभ्यस्त हुनेहरूलाई त यस्ता कुराहरू थाहा हुनुपर्ने हो पक्कै पनि तर पनि सामाजिक सञ्जालको नाममा हामी निकै असामाजिक बन्दै गएका हुन्छौं । चिन्न सक्यो, उपयोग गर्न सक्यो भने सामाजिक सञ्जालमा सबै छ तर त्यसमै मात्र लत बसाल्यो भने त्यो कुलत बन्न सक्छ । हामी यस्ता कुरामा सचेत बन्दैनौं तर कसले फेसबुकमा के राख्यो कसले के राखेन ? राखेन भने पनि किन राखेन ? त्यसको सातपुस्ता केलाउन थाल्छौं। अनावश्यक कुरामा हाम्रो दिमाग अघि बढ्छ ।
हरेक वस्तुको उपयोग सही तरिकाले गर्न सक्नुपर्छ र गर्नुपर्छ । सामाजिक सञ्जालमा अपडेट नहुँदैमा कोही प्राणी असामाजिक त हुँदैन नि होइन र ? यही सामाजिक सञ्जालको पासोमा परेर धेरै महिलाको बिचल्ली भएको देखिन्छ । सर्वस्व यही हो भनेर सारा पारिवारिक, व्यक्तिगत विवरण छरपस्ट पार्ने बानीले धेरैलाई घात गरेको छ । सोझा महिलाहरू यो असामाजिक सञ्जालको चंगुलमा फसेका हुन्छन् । प्रविधि उपयोग गर्न सक्यो भने वरदान हो तर प्रयोग गर्न सकेन भने यही अभिशाप बन्न सक्छ । महिलाहरूलाई तथानाम गाली गर्ने, महिलाहरूको अस्मिता सकाउने माध्यमका रूपमा पछिल्लो समय सामाजिक सञ्जाल देखिएको छ । आफूलाई सेलिब्रेटी ठान्ने महिलाहरू, समाजका गन्नेमान्ने, चिनिएका महिलाहरूमाथि सामाजिक सञ्जालमा उठाइएका प्रश्न, उनीहरूको व्यक्तिगत जीवनमाथि गरिएका टिप्पणीका कारण अधिकांश नाम चिनिएका पात्रहरू नै डिप्रेसनसम्म पुग्ने गरेको स्वयं उनीहरू नै बताउँछन् ।
हामी आफ्ना दिदीबहिनी, छोरीचेलीहरूमाथि जस्तो टिप्पणी गर्न सक्छौं अर्काका छोरी, बहिनीहरूमाथि पनि कम्तीमा त्यत्तिको टिप्पणी गर्न सक्ने हकर्त राखौं न । अर्काका छोरी, दिदीबहिनीहरूमाथि तथानाम गाली गरेर महान् त पक्कै भइँदैन । सामाजिक सञ्जालका नाममा असामाजिक गतिविधिहरूको बोलवाला देखिएको छ । यस्ता कुकर्महरू समाजकै लागि घातक हुन् । यस्ता कर्मले कसैको भलो गर्दैनन् । सानो टिप्पणी र आलोचनाका कारण कुनै महिलाको घरपरिवार भाँडिनु भएन, कुनै महिलाको पारिवारिक जीवन ध्वस्त हुनु भएन । कसैको परिवार टुट्नु भएन । कुनै महिलाले त्यही टिप्पणी र आलोचना सहन नसकेर मृत्युवरण गर्नु भएन । कम्तीमा मान्छे बन्न सिकौं, मानवीय हिसाबले आफ्ना सामाजिक गतिविधिहरूलाई चलायमान बनाऔं । असामाजिक सञ्जालको पासोमा महिलालाई फसाउने काम नगरौं ।