Successfully Copied

‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’

खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।


एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग हो । यो लिगकी कार्यकारी निर्देशक (सिइओ) को भूमिकामा छिन्, स्नेभी चापागाईं । उनको यो जिम्मेवारीमा सबैको प्रश्न हुन्छ, खेलकुदमा पनि सिइओ हुन्छ ? काम के गर्नुहुन्छ ? खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।

खेलकुद क्षेत्रमा महिला नेतृत्वका मुख्य चुनौती के–के हुन् ?
महिलाका लागि खेलकुदमा नेतृत्व स्थापित गर्न निकै कठिन छ । लिगको सिइओको भूमिकामा थुप्रै प्रश्न उठ्छन् । क्षमतादेखि काममा प्रश्न उठ्छ । पद यत्तिकै पाएको होला भन्ने आशंका गरिन्छ । फ्रेन्चाइज भित्र्याउन र यसलाई सफल बनाउन सहज छैन । तर महिलाले गर्न सक्छन् भन्ने मान्यताबाट समाज अझै पछि हट्न सकेको छैन ।

खेलकुदमा तपाईंको रुचि कसरी बढ्यो ?
मेरो स्वभाव अलिकति स्पोर्टी र निडर थियो । कसैले खेलकुद क्षेत्रमा आउन सुझाव दिएपछि म यसैमा लागेकी हुँ । सुरुमा यस क्षेत्रमा करिअर बन्न सक्छ भन्ने कुराको थाहा थिएन । परिवारबाट पनि खासै समर्थन थिएन । इभेन्ट म्यानेजरबाट यो क्षेत्रमा प्रवेश गरेर अहिले लिगको सिइओको जिम्मेवारीमा छु । ७ वर्षसम्म यो क्षेत्रमा रमाउनु मैले सफलताका रूपमा लिएकी छु ।


अहिलेसम्म तपाईंले के–कस्ता इभेन्टसञ्चालन गर्नुभयो ?
‘एभरेस्ट प्रिमियम लिग’ नामक ठूलो क्रिकेट इभेन्ट सञ्चालन गरेका थियौं । यो इभेन्ट भैरहवा, चितवन, वीरगञ्जमा आयोजना गरिएको थियो । पछि क्रिकेटको व्यावसायिक प्रतिस्पर्धा बढ्दै गएपछि हामीले महिला भलिबललाई व्यवसायीकरण गर्न लाग्यौं । अहिले एभरेस्ट महिला लिग नेपालमा भित्र्यायौं । पहिलो खेलमा भारत, पाकिस्तान, टर्की जस्ता देशबाट खेलाडील्याएर प्रतियोगिता गराइएको छ । हाल दोस्रो संस्करणको तयारी भैरहेको छ ।

नेपालमा फ्रेन्चाइज खेल सञ्चालन गर्दा कस्ता समस्या आउँछन् ?
सबैभन्दा ठूलो समस्या पूर्वाधारको कमी हो । भलिबल खेलका लागि उपलब्ध कभर्ड हलहरू साना र जीर्ण छन् । यसमा चाहेर पनि पुनः संरचना गर्न सकिएको छैन । नेपालमा फ्रेन्चाइज खेल आयोजना गर्नका लागि पनि मानिसलाई विश्वासमा लिन गाह्रो हुन्छ । अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडी पुर्‍याउन झनै चुनौतीपूर्ण हुन्छ । आवश्यक जनशक्ति अभाव, पर्याप्त स्रोत–साधनको कमी र व्यावसायिक रूपमा खेलकुदलाई अगाडि बढाउन सक्ने वातावरण नहुनु मुख्य समस्या हुन् ।

महिला खेलाडीको वर्तमान अवस्था कस्तो देख्नुभएको छ ?
पुरुषभन्दा महिला खेलाडीलाई कम हौसला र समर्थन छ । महिला र पुरुषलाई समाजले अझै पनि फरक दृष्टिकोणले हेर्छ । उमेरसँगै महिला खेलाडीहरूमा लगानी गर्ने कि नगर्ने भन्ने द्विविधा हुन्छ । महिलाहरूले खेलकुदलाई करिअरका रूपमा देख्दैनन्, जसले गर्दा खेलकुदमा लैंगिक विभेद अझै पनि कायम छ ।

 Image