उनी बसेको सोफाको ठ्याक्कै माथि हँसिलो र गोरो अनुहारको रंगीन तस्बिर भित्तामा झुन्डिरहेको छ । जसलाई हेरेर र सोही तस्बिरसँग कुरा गर्दै कलाकार मदनकृष्ण श्रेष्ठले दिनको सुरुवात गर्छन् । त्यो तस्बिर हो उनकी धर्मपत्नी यशोदा सुवेदी श्रेष्ठको । ‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’ आफ्नो सफलता तथा सिङ्गो जीवनमै नारीको प्रभाव र भूमिकाबारे मदनकृष्णले भने, ‘आज उनी नहुँदा संसार नै रंग उडेजस्तो फुङ्ग लाग्छ, उनी थिइन् संसार थियो, अहिले सबैतिर रित्तो लाग्छ । दिनको एकपटक मन भारी हुन्छ, उनको तस्बिर नजिक गएर कुरा गर्छु । उनी मेरो मनभित्रको मन थिइन् । र त मनैले यतिका सफलता हात पारेको थिएँ । अहिले पनि जे–जति गरिरहेको छु त्यसमा उनकै स्मरण र बलले काम गरिरहेको छ ।’
००७ मा जितपुरफेदीमा जन्मिएका मदनकृष्णका बुवा रामकृष्ण लाल श्रेष्ठ प्रधानपञ्च थिए । जब उनका बुवा खाना खान सुकुलमा पलेटी कसेर बस्थे, मदनकृष्ण पनि छेवैमा खान तम्सिन्थे । ‘बुवाले अउसेनी (खाना पस्किएको थालको वरिपरि शुद्ध पानीको छिटा छर्किने) नहाल्दै मैले खाना मुखमा पुर्याउन खोज्दा नजिकै बसेकी हजुरआमाले नखान ईशारा गर्नुहुन्थ्यो,’ अतीत सम्झिँदै उनले भने, ‘त्यसरी हजुरआमाले मलाई बालकैदेखि अनुशासन सिकाउनु भएको हो । जसको प्रभाव ममा अहिलेसम्म पनि उस्तै छ । म छ महिनाको हुँदा मेरी आमा बित्नुभएकाले हजुरआमा नै मेरा लागि आमा हुनुहुन्थ्यो ।’
आठवर्षकै उमेरमा ०१५ सालमा राजा महेन्द्रको भ्रमणका बखत स्वागत गीत गाएर कला क्षेत्रमा प्रवेश गरेका मदनकृष्णले ०२०–२२ तिर जुद्धदेव पब्लिक स्कुलमा पढ्दा राजा महेन्द्रकै स्वागतमा पुनः गीत गाए । १४ वर्षकै उमेरमा श्री कालिका राष्ट्रिय प्राविको हेडमास्टर भएका उनी उतिबेलै ७५ रुपैंयाँ तलब खान्थे । ‘त्यत्रो पैसा कमाउने भयो भनेर मेरा हजुरबा एकदमै खुसी हुनुभएको थियो×’ मदनले भने, ‘मेरो नातिले जीवनमा केही गर्छ भनेर उतिबेलै मेरा हजुरबाले भन्नुभएको थियो ।’
०२३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि उनले गाएको ‘पसलबाट बिकिसकेको मान्छे म...’ बोलको गीत निकै लोकप्रिय भयो । त्यही वर्षदेखि उनी सञ्चयकोषमा जागिरमा प्रवेश गरे । त्यसपछि उनको जागिर र कलाकारिता जीवन सँगसँगै अघि बढ्न थाल्यो । ०२८ मा उनकै पहलमा ‘मुना सः’ नामक संस्था खुल्यो । श्रीराम श्रेष्ठ, नवीन चित्रकार, मोहनलाल श्रेष्ठ आदि रहेको उक्त संस्थाले विविध सांगीतिक कार्यक्रम, प्रहसनका साथै हास्यव्यंग्य प्रतियोगिता गराउँथ्यो । हरेक कार्यक्रमको अन्त्यमा मदनकृष्णको सांगीतिक प्रस्तुतिले बिट मारिन्थ्यो । ‘मरु गने देय देय गले, गजु मरु...जि छमय सिया आतक न कला मरु...’ गीतले उनलाई सुपरहिट बनायो । ०२१ चैतसम्म रेडियोमा बजिरहेको नेवारी समाचार एकाएक बन्द हुँदा टोलटोलमा विरोध जुलुस निस्कियो । गीत–संगीत र प्रहसनका व्यंग्यात्मक कार्यक्रम हुन थाले । कयौं पटक मदनकृष्णलगायत उनका साथीहरूलाई सेना–प्रहरीले समातेर लगे । मदनले भने, ‘यसैमा सबै कुरा भोगेपछि ममा कलाकारिताको रसरंग झनै गाढा हुँदै गयो । रेडियोमा बोल्ने र गीत गाउन पाउने लोभले बाह्र वर्षे सञ्चयकोषको जागिर छोडेर ६० रुपैंयाँ तलब घटाएर कृषि सूचना शाखामा जागिर खान गएँ । रुचिको अगाडि त्यतिबेलाको ६० रुपैंयाँ माया मारें ।×’
०३२ देखि प्रज्ञा प्रतिष्ठानका तत्कालीन प्राज्ञ सत्यमोहन जोशीको पहलमा बर्सेनि आठ दिने गाईजात्रा ‘राष्ट्रिय गाईजात्रा महोत्सव’ सुरु भयो । त्यहीँ उनले हरिवंशजस्ता असल साथी भेटे । सानैदेखि प्रजातान्त्रिक सोच र विचार बोकेका मदनकृष्णलाई एउटै परिवारले मुलुकको नेतृत्व लिइरहँदा परिवारवाद र तानाशाह शासन हावी हुन्छ भन्ने लाग्न थालेकै कारण उनी आफ्ना पेचिला प्रहसनमा प्रजातन्त्रको वकालत गर्थे । ०४६ को ‘वि वान्ट डेमोक्रेसी’ आन्दोलनमा खुलेरै लागे । त्यसपछिका हरेक दिन उनी कुनै न कुनै माध्यमबाट प्रजातन्त्रका लागि लड्दै आएका छन् ।
०३८ तिर राष्ट्र बैंकको ‘सिल्भर जुब्ली’मा वीरेन्द्र–ऐश्वर्याले मदनकृष्ण–हरिवंशको प्रस्तुति निकै रुचाए । त्यहीँताका हो महजोडीको ‘यमलोक’ हेर्न भोलिपल्ट अबेर भयो भने टिकट नपाइएला भनेर मानिसहरू राति त्यही छिंडीमा सुत्थे र भोलिपल्ट सबेरै टिकट काटेर हेर्थे । बीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेता, अभिनेता, समाजका प्रबुद्ध व्यक्तित्वले समेत ‘यमलोक’ नाटक मन पराएका थिए । त्यसपछि त झनै उनीहरूको मह ब्रान्ड जम्दै जान थाल्यो ।
०६२–६३ को आन्दोलनमा हजारौं घाइते भए, जतिबेला उनी काठमाडौं मोडल अस्पतालको अध्यक्ष पदमा थिए । घाइतेका कारण मोडल अस्पतालमा चाप बढ्न थाल्यो, खुट्टा टेक्ने ठाउँ भएन । ‘ब्यान्डेज’ किन्न नसक्ने अवस्था आइलाग्यो । त्यसपछि मदनकृष्णकै विचारमा पब्लिकमा जाने निर्णय भयो । मह जोडीले एकलाख रुपैंयाँ ‘सिड मनी’ राखेर सुरु भएको अभियानमार्फत छोटो समयमै दुई करोड, ५५ लाख रुपैंयाँ उठ्यो जसले पाँच हजार जनाभन्दा बढीको उपचार गर्न पुग्यो । मदनकृष्णले भने, ‘त्यो पहलले कयौं मानिस अंगभंग र मृत्यु हुनबाट बचे । हजारौंको ज्यान जोगियो । हाम्रो मुख हेरेर, हाम्रो ब्रान्डलाई विश्वास गरेर जनताले माया गरे । हामी पब्लिकमा ओर्लिएपछि सबैले पत्याए र त्यतिका मानिसको ज्यान बच्यो । यस्ता काम गर्न सकेकोमा थोरै भएपनि योगदान गर्न सकियो कि भन्ने लाग्छ ।’
माओवादीको अनिश्चित कालीन बन्द ताका चरोमुसो बाहिर ननिस्किएका बेला मह जोडी वसन्तपुरको खुला स्थानमा छाती थापेर ‘बन्द केका लागि ? बन्द सधैंका लागि बन्द गरौं’ भन्ने चर्को नारा लगाएर बोलेको केही घण्टामै माओवादीले बन्द फिर्ता लियो । ‘पाँच दिन बन्द हुँदा दैनिक खाद्यान्न, औषधि सकिइसकेको थियो । पानी किनेर खान पर्ने ठाउँमा पिउने पानी थिएन । हामीले वसन्तपुरमा बोलेर बन्द फिर्ता भयो,’ उनले भने, ‘त्यसपछि सयौंले फोनमार्फत धन्यवाद दिए । कतिले बच्चाको औषधि सकिएको, पकाउने चामल नभएको गुनासो रुँदै गरेका थिए ।’
जीवन सफल बनाउन असल श्रीमती र साथी चाहिन्छ भन्ने उनी यशोदाजस्ती असल र कर्मठ श्रीमती अनि हरिवंशजस्तो मन मिल्ने साथी पाएर आफ्नो जीवन सफल भएको बताए ।
नाटक, चलचित्र, टेलिचलचित्र तथा विज्ञापन गरी हजारौंमा अभिनय गरेका मदनकृष्णको स्वरमा सयौं गीत ‘रेकर्ड’ भइसकेका छन् । मह जोडी आज अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । करिब साढे सात दशकसम्म आफूलाई अत्यन्त सक्रिय राखेका मदनकृष्णको पछिल्लो चलचित्र महापुरुष चर्चामा छ र दर्शकले असाध्यै मन पराइरहेका छन् । जीवनको उपलब्धिबारे मदनकृष्णले भने, ‘जीवनमा उपलब्धि नै उपलब्धि छ । यही क्षेत्रमा लागेर संसार देखियो, अनुभव गर्न पाइयो, संसारभरिका नेपालीको माया र सम्मान प्राप्त भयो । संसारभर कलामार्फत नेपाल चिनाउने मौका मिल्यो । परिवार र पहिचान कमाइयो ।’ उनका अनुसार भगवान्को संरचनामा नर र नारी दुई अभिन्न अङ्ग छन् । एकले अर्कालाई माया, सम्मान, जतन गर्यो भने संसार प्रेममय हुन्छ, राम्ररी अगाडि बढ्छ । नेपाली नारीलाई धर्मले विभेद गरेको छ त्यो धर्म नभएर अधर्म हो भन्ने उनको बुझाइ छ । यो उमेरसम्म एकदिन चुप लागेर नबसेको बताउने उनी अबको बाँकी समय समाजका लागि केही गर्ने र जीवनको उत्तरार्धमा खुलेको स्वरलाई अझैं मूर्तरूप दिन दुई–चार वटा गीत ‘रेकर्ड’ गर्ने योजनामा छन् ।
हजुरआमा : ममताकी खानी, अनुशासनको गुरुआमा ।
आमा : भगवान्पछिको भगवान् ।
श्रीमती : मेरो प्राण ।
छोरी : निःस्वार्थ मायाको जड ।
बुहारी : घरकी लक्ष्मी ।
नातिनी : मेरो जिम्मेवारी ।
महिला सहकर्मी : ऊर्जाका स्रोत ।
जीवनमा प्रभाव पार्न सफल महिला : युवाकालमा म्याडम क्युरी, हेलेन किलर.. अहिले राम्रा काम गरेका सबै महिला ।