आर्थिक रुपमा पनि सक्षम बन्दै गएका दिदीबहिनीहरुलाई आफ्नो रहर र आवश्यकता पुरा गर्न श्रीमान र सासु/ससुराको आश गरिरहनु पर्दैन । अबका छोरीचेलीले माइत गएर पीडा पोख्नु पर्ने अवस्था छैन । यस्तो जमानामा पनि हामी संस्कृति मौलिकता भनेर त्यही रुन्चे गीतको चाहाना राख्ने ?
हिजो मात्र यसो फेसबुकको भित्तामा आँखा डुलाउँदै गर्दा एउटा समाचारको शिर्षकमा टक्क आँखा अडियो । समाचारको शिर्षक थियो– ‘होटल र पार्टी प्यालेसमा तीज मनाउन नपाइने ।’ समाचारमा लेखिएको थियो – ‘एक सूचना जारी गरी प्रशासनले तीजलाइ भड्किलो हुनबाट रोक्न होटल र पार्टी प्यालेसमा कार्यक्रम र भोज भतेर गर्नेलाई समातेर कारबाही गर्ने जनाएको हो ।’ महिला सामाजिक अभियन्ताकै नेतृत्वमा ज्ञापनपत्र सहित तीजको भड्किलोपना रोक्न जिल्ला प्रशासन र प्रदेश सरकारको ध्यानाकर्षण गराएको रहेछ ।
महिनौ अघि देखि दिनहुँ दर खाने अहिलेको तीजले संस्कृति झल्काउँदैन र मौलिकता जोगाउँदैन भन्ने सामाजिक अभियन्ताको बिचार पढ्दा सोच्न मन लाग्यो कि महिनौं अघि देखि दिनहुँ पार्टी प्यालेसमा दर खाँदै हिंडेका महिलाको संख्या कति छ कुनै तथ्याङ्क छ ? पार्टी प्यालेसमा दर खानु संस्कृतिको खिलाप हो भन्ने कुरामा कति प्रतिशत महिलाले सहमति जनाउँछन् त्यसको जानकारी छ ? कुनै पनि कुराको जरासम्म नपुगी सतही मुल्याङ्कन गर्नु कत्तिको न्यायसंगत हुन्छ ?
हाम्रो चाडपर्व, संस्कृति हाम्रा सम्पत्ति हुन् । आफ्नो संस्कृति, मौलिकता र परम्पराको संरक्षण गर्नु हरेक सचेत नागरिकको कर्तव्य हो । समय परिवर्तनशील छ । हामीले चाहेर भन्दा पनि समयले नै हामीलाई परिवर्तन गराइरहेको हुन्छ । समयसंग आफूलाई हिँडाउन सकेनौँ भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ । यहि परिवर्तित समयको माग हो अहिलेको पार्टी प्यालेसको दर । हामीलाई थाहा भएकै कुरा हो हाम्रा आमाहरुको पालामा आफ्नो कर्मघरमा नाँच्न गाउन त के कुरा पेटभरी खान पनि नपाउने र आफ्नो मनको कुरा भन्न पनि नसक्ने अवस्था थियो । यस्तो अवस्थामा तीज दिदिबहिनीको लागी माइत जाने, आराम गर्ने, मिठो मसिनो खाने, श्रीमानको घरमा भोगेका दुःख पीडाहरुलाई गीतका माध्यमबाट व्यक्त गर्ने एउटा खास पर्व थियो । वर्षभरी भोगेको कठोर बुहार्तनलाई यसरी खुलेर व्यक्त गर्न पाउँदा सायद उहाँहरुको मनले शान्ति प्राप्त गर्दो हो ।
अहिले त्यो समय छैन । कहिं, कतै कुनै अपबाद बाहेक परिवारमा छोरी र बुहारीको स्थानमा खास भिन्नता छैन । महिला घरको हर्ताकर्ता छन् । आर्थिक रुपमा पनि सक्षम बन्दै गएका दिदीबहिनीहरुलाई आफ्नो रहर र आवश्यकता पुरा गर्न श्रीमान र सासु/ससुराको आश गरिरहनु पर्दैन । अबका छोरीचेलीले माइत गएर पीडा पोख्नु पर्ने अवस्था छैन । यस्तो जमानामा पनि हामी संस्कृति मौलिकता भनेर त्यही रुन्चे गीतको चाहाना राख्ने ? अहिले तीज पीडा पोख्ने माध्यम नभई व्यस्त समयको बाबजुद केहि समय निकालेर रमाइलो गरी आफूलाई पुनर्ताजगी गराउने पर्वको रुपमा विकसित भएको छ ।
अहिले महिलाहरुमा घरायसी कामको साथसाथै आर्थिक व्यवस्थापनको बोझ पनि थपिएको छ । यही कारणले पनि तीजलाई विशेष पर्वको रुपमा लिएर रमाइलो गर्ने चलन बढेको हो । घर बाहिर पनि काम गर्ने भएको हुँदा महिलाको सामाजिक परिचयको दायरा फराकिलो बन्दै गएको छ । आफ्ना नातागोता मात्र नभई साथीहरुको जमात पनि बढ्न थालेको छ । तीजको अघिल्लो दिन मात्र दर खानु पर्ने हो भने आफू माइत जाने कि, आफ्ना नन्द अमाज्यू, भाञ्जाभाञ्जी लगायत इष्टमित्रहरुलाई बोलाएर खुवाउने कि, साथीसँग मिलेर दर खाने कि कुनै एकलाइ रोज्नुपर्छ । यी सबै सम्बन्धहरुलाइ व्यवस्थापन गर्न खोज्दा समयले सिकाएको हो यो तरिका ।
घरमा पकाएर खाँदा धेरै कुराको व्यवस्थापन गर्नुपर्छ भने पार्टी प्यालेसमा गर्दा एक दिन भए पनि आफूले नपकाई खान पाइने र पकाउने सीप भएका व्यवसायीहरुको व्यवसाय पनि चल्ने । यसमा विकृतिको कुरा कहाँबाट आयो ? हाम्रो संस्कृति र मौलिकतालाई जोगाउने कुरा गर्दै गर्दा अहिलेको दशैलाइ के भन्ने ? दशैँको बेलामा कार्टुनका कार्टुन रक्सी किनेर मासु, रक्सी र जुवातासमा रमाउन हाम्रो हिन्दु संस्कारले दिन्छ ? यसलाई विकृति भनेको त कतै सुनिदैन । अनि जन्मदिन, पास्नी, इङ्गेजमेन्ट, विवाह अदिमा गरिने तडकभडकलाई सामाजिक विकृति मान्ने कि नमान्ने ? सर्वसाधारणसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यहरुमा हो खर्चको सीमा तोक्नु पर्ने । रातो सारी र साधारण चुरा पोतेमा सजिएका महिलाहरुमा तडकभडक देख्नु पुर्वाग्रह भन्दा अरु केहि होइन ।
यस वर्ष मात्र होइन तीजमा विकृति आयो, तडकभडक भयो भन्ने हल्ला आउन थालेको चार पाँच बर्ष नै भैसक्यो । दुइ वर्ष अघिको तीजमा त दर खान असजिलो पार्नको लागी सरकारले घिउ बिक्री नै रोकेको थियो । कति दुःख लाग्दो कुरा महिलाहरुले आफ्नो घर र अफिस व्यवस्थापन गरेर फूर्सदको समयमा वा विदाको दिन पारेर दर खाँदा विकृति देख्ने आँखाले हरेक दिन दोहोरी साँझ र क्यासिनोको तामझाम र खर्चलाइ कसरी हेर्छ ?
यस्तै अर्को समाचारको शिर्षक थियो– ‘चुरा पोतेमै नेपालको २ अर्व २८ करोड रुपैँया स्वाह ।’ भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७५/०७६ मा मात्रै नेपालमा २ अर्व २८ करोड ८८ लाख रुपैँया बराबरको चुरा, पोते , मेहेन्दी, टीका लगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयात गरिएको रहेछ । यस्तो तथ्याङ्क थाहा पाउनु र सकेसम्म बैदेशिक आयात कम गर्ने कोशिश गर्नु देशको लागी राम्रो हो । तर, देशका सामान्य देखि तारे होटलहरुमा दिनहुँ खपत हुने सामान्यदेखि ब्रान्डेड भनिएका वाइन र वियर कति रुपैँयाको आयत हुँदो रहेछ त्यसको तथ्याङ्क छ ? घरपरिवारको वास्ता नगरी हरेक साँझ बार, डिस्को, दोहोरी, जुवातासमा कति खर्च हुन्छ केहि लेखाजोखा छ ?
निराहार ब्रत बसेको तीजको दिनमा समेत हाम्रा आमा र दिदिबहिनीहरु आफ्नो परिवारलाई आफैले खाना खुवाएर नाचगानमा निस्किन्छन् । आफ्नो परिवारमा आमा, श्रीमती, दिदिबहिनीले गर्ने माया र जिम्मेवारीको कदर गर्न सिक्नुहोस् । सबै महिला हजुर हाम्रै परिवारका महिला सदस्य जस्तै हुन् । पुरुष सिर्फ एउटा व्यक्ति हो भने महिला सम्पूर्ण परिवार हो । मेरो आशय महिला र पुरुषबीच अनावश्यक तुलना गर्नु होइन । आमा बिना बाबुले मात्र सम्हालेको घर हेर्नुस् अनि बाबु बिना आमाले सम्हालेको घर हेर्नुस् । अब मेरो बिचार सहि हो कि होइन आफ्नो छातिमा हात राखेर भन्नुस् ।
प्रशासनको काम भनेको देशले दोस्रो दर्जाको जस्तो व्यवहार गर्दै आएका दिदिबहिनीहरुले तीजमा कहाँ, कति दर खाए भनेर अल्झिने होइन । आफ्नो देशका सुन फल्ने जमीन पटपट फुटाएर विषादीयुक्त दैनिक उपभोग्य बस्तुहरु उपभोग गर्न बाध्य पार्ने सरकारलाई तीजको अवसरमा पार्टी प्यालेसमा २ /४ दिन रमाइलो गरेर आफूलाई थप उर्जाशील बनाउन खोजेका दिदिबहिनीहरुलाई समातेर कारबाही गर्ने अधिकार छैन । मेरो आशय विकृति छँदै छैनन् भन्न खोजेको होइन । विकृति हरेक चाडपर्व र सामाजिक कार्यहरुमा छ । सबै क्षेत्रमा रहेका विकृतिहरुको सहि पहिचान गरेर कारबाही गर्न सक्नु सरकारको दायित्व हो ।
आदरणीय दिदिबहिनीहरु आफ्नो घर र अफिस राम्रोसंग व्यवस्थापन गरी चिटिक्क परी पार्टी प्यालेस जाउँ, दर खाउँ, नाचगान गरौँ । यसरी रमाइलो गरौँ की जसको कारण सकारात्मक सोचका साथ हरेक कार्य सम्पन्न गर्न सक्ने उर्जा अर्को तीजसम्लाइ पुगोस् । तर याद गरौं रमाइलो गर्दै गर्दा आफ्नो आर्थिक हैसियत नविर्सौ. । यसलाइ गहना प्रदर्शन गर्ने पर्वको रुपमा विकसति नगरौं । घाँटीभन्दा ठूलो हाड अड्क्यो भने के हुन्छ हामीलाइ थाहा भएकै कुरा हो ।यस्ता कुराहरुमा सचेत रही आउने पिंढीलाई सही संस्कार सिकाउनु सचेत दिदिबहिनीको कर्तव्य हो । आउँदै गरेको २०७६ सालको तीजको सबैलाइ शुभकामना ।