Successfully Copied

सुदूरपश्चिममा महिलालाई सम्मान गर्ने परिपाटी आएको छ कि ?

महिलाविरुद्ध भेदभाव, कठोर सामाजिक कुरीति, महिनावारी र सुत्केरी महिलालाई छाउपडी गोठमा राख्ने चलन, पौष्टिक खानाको कमी, पुरुषले महिलालाई हेर्ने गलत दृष्टिकोण तथा महिलालाई केवल सन्तान जन्माउने यन्त्र मान्ने मानसिकताले आक्रान्त सुदूरपश्चिममा जन्मदेखि नै महिलाहरू अपहेलित थिए र अहिले पनि यस्ता अपहेलनाका व्यथा–कथा त्यहाँका

म १८ वर्षअघि सुदूरपश्चिमकोडोटी अस्पतालमा छँदा एउटी बिरामी महिलालाई पिठ्युँमा बोकेर ल्याइएको थियो । बिरामीको सात दिनअघि गर्भपतन भएर ‘रगत गएको गयै भएछ ।’

बिरामीको अनुहार एकदमै सेतो थियो, आँखा चिम्म थिए, अर्ध बेहोसजस्तै । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिनारानी श्रीवास्तवले उनको जाँचपछि भनिन्–‘यिनको शरीरमा रगत कम छ । रगत चढाउनुपर्छ तर यहाँ रगत चढाउन सम्भव छैन ।’ एम्बुलेन्स मगाएर उनलाई धनगढी अस्पताल पठाउँदा १५ सय भाडा लाग्दो रहेछ । ‘हामीसँग पैसा छैन । तपाईंहरूले उपचार गराउने भए गर्नुहोस् । नत्र यहीँ मर्ली,’ बिरामीका भाइले भने ।

१५ सयरुपैंयाँ हामी स्वास्थ्यकर्मीहरूले नै उठाएर दिने हो कि भन्दा डाक्टर विनाले भनिन्–‘वास्तवमा यिनको स्थिति एम्बुलेन्समा पठाउन सकिने जस्तो छैन ।’ ती महिलालाई भर्ना गरेर ‘आज राति नै उनको पाठेघर सफा गर्नुपर्छ ।’तर बेलुका अस्पतालमा बत्ती थिएन । राति बिरामी अस्पतालमै सुतिन् ।

बिहानसम्म ती महिला बाँच्छिन् कि बाँच्दिनन् भन्ने धुकचुक थियो । बिहान ६ बजे उठेर हेर्दा ती महिलालाई जीवितै देखेर हामी खुसी भयौं । ९ बजे उनको पाठेघरको उपचार गर्ने तयारी सुरु गरियो । १० बजेतिर डा. श्रीवास्तवसँग ती महिलाको अप्रेसन भयो भनेर सोध्दा उनले अँध्यारो मुख लगाउँदै भनिन्–‘उनकी आमाले उपचार गराउन मानिनन् ।’

म दौडदै अस्पताल पुगें । घाम तापेर नातिनातिनालाई भात ख्वाइरहेकी बज्यैसँग ठूलो स्वरमा सोधें–तपाईंले आफ्नी छोरीको औषधि गर्न किन नमानेको ?’ मुखभरि चाउरी परेकी बूढी बज्यैले हात जोडेर भनिन्–‘म के गरूँ? यसका बैगान (लोग्ने) यहाँ ना थिन् (यहाँ छैनन्) तमले (तिमीले) उनलाई उपचार क्या अर्छाै ? (के गर्छौ) ? उनको पाठेघर निकाल्छ्यौ यिनका पाँच छोरी र एकमात्र सन्तान (छोरा) छन् । यिनको पाठेघर निकाले अरु छोरा हुँदैनन् । अनि यिनका बैगानले के भन्दा हन् (हुन्) ?’ ती बूढी बज्यैको कुराले म रनभुल्लमा परें । उनलाई आफ्नी छोरीको ज्यानभन्दा छोरीको अर्को सन्तान (छोरा) नहोला भन्ने चिन्ता पो थियो?

मसँग आएकी एक विदेशी नर्सलाई मैले ती बज्यैले भनेको कुरा उल्था गरेर सुनाएपछि उनले भनिन्–‘बिरामी महिला त वयस्क भैसकेकी छिन् । हामीले उनीसँगै अनुमति लिएर उपचार गरे हुँदैन ?’ ‘अन्य देशमा भए हुन्थ्यो, यहाँ हुँदैन । उनको साधारण शल्यक्रिया गर्दा तल–माथि भयो भने यिनै गाउँलेले हामीलाई मानिस मारेको आरोप लगाउँछन् । त्यसैले उनकी आमाले हुन्छ नभनी हामीले केही गर्न सक्दैनौं,’ मैले भनेकी थिएँ। त्यसपछि मैले अस्पतालका केही कर्मचारीसँग भनें–तपाईंहरू यी बज्यैलाई सम्झाइदिनुस्, हामीले पाठेघर निकाल्ने होइन, पाठेघर सफा गर्ने मात्र हो । यदि उनको उपचार गरिएन भने उनी रगत बगेर मर्छिन् ।’ अस्पतालका कर्मचारीहरूले ती बज्यैलाई डोटेली भाषामा सम्झाएपछि बल्ल उनले हात जोडेर रुँदै भनिन् । ‘तम जसो ठीक हुन्छ, तही अर’(तिमीहरूलाई जसो ठीक लाग्छ त्यही गर) । वृद्धाका यिनै शब्दलाई स्वीकृतिका रूपमा लिएर डा. बिनाले बिरामी महिलाको पाठेघर सफा गरिदिइन् । एक घन्टाभित्र सबै उपचार भयो । महिला धेरै कमजोर थिइन् तर उनी बाँचेकी थिइन् र हामी ढुक्क भएका थियौं ।

उक्त घटनाले मलाई त्यतिबेला बारम्बार एउटा प्रश्न गर्न विवश तुल्याएको थियो–के सुदूरपश्चिममा महिलाको जीवनभन्दा छोरो हुनु वा नहुनु बढी महत्व राख्छ ?

१८ वर्षअघि डोटीका महिलाहरूसँग कुराकानी गर्दा कहिलेकाहीँ त कस्तो लाग्थ्यो भने यहाँ महिलाहरूको जीवनको मूल्य एउटा भैंसी बराबर पनि छैन । कठोर परिश्रम र कम खानाले गर्दा महिलाहरू बिरामी पर्ने बाध्यता र दुई–तीन वटा सन्तान (छोरा) पाउनुपर्ने कारणले धेरै पटक गर्भवती भएर मृत्युको मुखमा पुग्न सक्ने सम्भावना पनि धेरै थियो । गर्भावस्था र सुत्केरी अवस्थालाई त्यहाँको भाषामा जतकाल (दोस्रो जन्म) भनिन्थ्यो । वास्तवमा सुत्केरी हुनु भनेको त्यहाँ ‘काल’ नै थियो । ‘बाँचे–बाँचियो मरे दैवले लगे’ भनेर चित्त बुझाउने चलन थियो । अहिले पनि त्यस्तो अवस्थामा खासै ठूलो फरक आइसकेको छैन ।

महिलाविरुद्ध भेदभाव, कठोर सामाजिक कुरीति, महिनावारी र सुत्केरी महिलालाई छाउपडी गोठमा राख्ने चलन, पौष्टिक खानाको कमी, पुरुषले महिलालाई हेर्ने गलत दृष्टिकोण तथा महिलालाई केवल सन्तान जन्माउने यन्त्र मान्ने मानसिकताले आक्रान्त सुदूरपश्चिममा जन्मदेखि नै महिलाहरू अपहेलित थिए र अहिले पनि यस्ता अपहेलनाका व्यथा–कथा त्यहाँका लोकगीतमा समेत पाइन्छ ।

डोटी–आछाममा अस्पतालको निकै दुर्दशा थियो भने त्यहाँको सेवा अझ कम थियो । डोटी अस्पतालमा १५ जना पियनथिए तर उनीहरू सबै हाजिर बजाउन मात्र आउँथे । अस्पताल फोहोर थियो । एकजना कर्मचारी भन्दै थिए–‘यीसबै पियन नेताका सिफारिसमा आएका हुन् । यिनीहरूसँग बोल्नै हुँदैन । एउटा पियन त दिउँसै मदिरापान गरी मात्तिएर बसेको हुन्छ । उसलाई काम लगाउने त विचारै नगरौं । अब कसले अस्पताल सफा गर्ने ?

अस्पतालमा जताततै कागजका टुक्रा र फोहोर थियो कसैले पनि अस्पतालमा कुचो लगाएको देखिएन । अहिले डोटी र सुदूरपश्चिमका अस्पताल केही सफा भएकि ?

१८ वर्षअघि डोटीमा विश्व बैंकले अस्पतालका लागि एउटा भवन बनाएका थियो । त्यसको शौचालय बिग्रिसकेको थियो । धारामा पानी थिएन । अस्पतालमा शौचालयको राम्रो व्यवस्था नभएकाले पस्नेबित्तिकै, फोहोर र पिसाब मिसिएको अनौठो गन्ध आउँथ्यो । अहिले पक्कै त्यसमा सुधार आयो होला ।

१८ वर्षअघि सुदूरपश्चिमकैएक स्वास्थ्य शिविरमा एउटी १४ वर्षीया किशोरीलाई ल्याइएको थियो । उनी कुपोषणको अति सिकार थिइन् । आमाले पिठ्युँमा बोकेर ल्याएकी ती बालिका आठ वर्षकी बालिकाजस्तै देखिन्थिन् । उनको महिनावारी पनि सुरु भएको थिएन । उनकी आमासँग सोध्दा उनले भनिन्–‘के भएको हो थाहा छैन । भूत लागेको भनेर धेरै पन्छायौं । थुप्रै कुखुरा चढायौं । झाँक्रीले वनदेवी लागेको भनेकाले पूजा पनि गर्‍यौं तर केही फाइदा भएन । यहाँ डाक्टर आएको थाहा पाएर केही हुन्छ कि भनेर आएका हौं ।

तीन कक्षामा अध्ययनरत ती किशोरी बिहान उठेर गाईगोठको धन्दा सकी अलिकता भात खाएर एक–डेढ घन्टाको बाटो स्कुल पढ्न जाने र फेरि स्कुलबाट फर्केर आएपछि घरधन्दा गर्ने, घाँस काट्ने, पानी ल्याउने काम गर्दागर्दै पोषण नपुगेर बिरामी भएकी थिइन् । आमाको अवस्था त राम्रै थियो । कपाल पनि सलक्क पारेर कोरेकी थिइन् । यिनका बाबु खोइ त भन्ने प्रश्न गर्दा ती आमाले भनिन्–छोरीलाई अस्पताल लगे । अब ऊ त्यहीँ मर्छे भन्ने दु:खले दिपायल बजारमा बसेर रक्सी खाइरहेको छ ।’

गरिबीको कारणले होइन कि बढी कामको बोझका कारण किशोरीलाई कुपोषण भएको थियो। छोरीले घरको सबै काम गर्नुपर्छ भन्ने मान्यता राखेर ती असहाय किशोरीलाई उनको शरीरले सक्नेभन्दा बढी काममा लगाइएकाले उनी कुपोषित भएकी थिइन् । उनलाई चार–पाँच दिन अस्पतालमा राखेर दिनमा पाँच–सात पटक खाना दिने र हामी बसुन्जेलसम्म (८–१० दिन) मा उनको शारीरिक अवस्थामा सुधार ल्याउने र त्यसपछि आमाबुवालाई उनको खानपिनका बारेमा राम्रोसँग सम्झाउने हाम्रो विचार थियो ।

हामीले ती किशोरीलाई अस्पतालमा भर्ना गर्‍यौं । आमालाई चम्चाले थोरै–थोरै दाल ख्वाउनु भनेर सिकायौं । बेलुका सबै काम सकेपछि केही जुनार ती किशोरीलाई दिने विचार गरी हामी अस्पतालमा गयौं ।तर त्यहाँ त ती महिला दिउँसै आफ्नी छोरी बोकेर गइन् भने नर्सहरूले ‘यहाँ प्राय : मानिसहरू यस्तै गर्छन् ।’ सम्भवत: ती किशोरी मरी होलिन्, कसले वास्ता गर्ने र ?

    

ती किशोरीको कुपोषणको अवस्था, यहाँका अरु महिलारूको स्वास्थ्यसम्बन्धी समस्या, सुत्केरी अवस्थामा असुरक्षित गर्भपतनबाट हुने मृत्युको कारणले तथा सुत्केरी हुँदा गोठमा बस्नुपर्ने र त्यहाँ हुने स्वास्थ्य समस्याहरू आदि देखेर सुनेर मलाई लागेको थियो त्यहाँ सुरक्षित मातृत्वको कार्यक्रमको केही अर्थ छैन । जबनारीत्व नै सुरक्षित छैन भने सुरक्षित मातृत्वको के कुरा ? अहिले यसमा कुनै परिवर्तन आएको छ कि ?

अनमी इन्दिरा खनाल डोटीको एउटास्वास्थ्य चौकीमा कार्यरत थिइन् । उक्त स्वास्थ्य चौकीमा डेढ वर्ष काम गरेकी इन्दिराले भन्दै थिइन्–‘यहाँ काम गर्न एकदम गार्‍हो छ । एक्ली स्वास्नीमानिसलाई देख्यो कि मानिसहरू जाइलागूँलाझैं गर्छन् । यहाँ बस्दा–बस्दा म थकित भैसकेकी छु । घरका मानिसहरूले पनि फर्क भनिसकेका छन् । स्वास्थ्य चौकीमा समयमा औषधिआउँदैन । त्यस्तो अवस्थामा हामीले केही गर्न सक्दैनौं । सानैमा विवाह गरिदिने चलनका कारण यहाँका धेरै महिला गर्भावस्थामा अनेकौं समस्यामा पर्छन् ।

केही समयअघि डोडे गाविसमा भूतेली नामकी एक महिलालाई ४ दिनसम्म सुत्केरी व्यथा लाग्दा गाउँको एउटा औषधि पसलेले पिसाब छिटो लाग्ने सुई दिएछ । पिसाब थैली पिसाबले भरियो । जसले गर्दा गर्भस्थ शिशुको टाउको अड्कियो । गाउँकी बूढी बज्यैले बच्चा झिक्ने प्रयास त गरिछन् तर अवस्था थप बिग्रिएपछि मलाई बोलाए, बच्चाको टाउको च्यापिएर एकबित्ता लामो नीलडाम परेको थियो । बच्चा मरिसकेको थियो । विवाह भएको १३ वर्षपछि जन्मिएको बच्चा मरेको सुनेर आमा बेहोश भएकी थिइन् ।’

स्वास्थ्य सेवाको अभावका कारण डोटी र सुदूरपश्चिममा अहिले यसरी बच्चा मर्दैनन् कि भन्ने आशा गर्न सकिन्छ ? १८ वर्षअघि त्यहाँ गर्भनिरोधका साधनको अभाव थियो । कतिपय महिलाले गर्भनिरोधक कुनै साधन प्रयोग गरेपछि अनेक किसिमका प्रतिकूल असर देखिन्थे । शिविरमा धेरै महिला बाँझोपनको समस्या लिएर आएका थिए । छोराछोरी नभएका केही महिला पनि शिविरमा आएका थिए, जसलाई सन्तान नभएका कारण दोस्रो विवाह गर्ने धम्की दिइएको थियो ।

कतिपय त्यस्ता जोडीहरूमध्ये पुरुषको जाँच गर्दा उनीहरूको वीर्यमा शुक्रकीट कमभएको वा शुक्रकीट नै नभएका कारणले नै सन्तान नभएको कुरा थाहा भएको थियो । तीन वटा विवाह गरेका एक पुरुषले आफ्नी तीनवटै श्रीमतीलाई जाँच गराउन ल्याएका थिए । उनको वीर्य जाँच गर्दा त्यसमा शुक्रकीट नै फेला परेन । उनी सम्भवत: चौथो विवाह गर्ने सुरमा थिए । जाँच गर्ने डाक्टरले उनलाई र उनका तीनवटै श्रीमतीलाई राखेर ‘लोग्नेका कारणले सन्तान नभएको हो । अब तपाईंले जति वटी विवाह गरे पनि तपार्इंबाट बच्चा हुँदैनन्’ भनेपछिती पुरुषको अनुहार अँध्यारो भएको थियो ।

सन्तान नभएर शिविरमा जँचाउन आएका कतिपय महिलालाई हामीले तपाईंका श्रीमान् नभएकाले सन्तान नभएकोकारण पत्ता लगाउन सकिँदैन भन्दा उनीहरू भन्थे–‘श्रीमान्लाई केही भएको छैन । उनलाई त सन्चै छ ।’ यसको अर्थ महिलाहरूले आफ्नै कारणले सन्तान नभएको भन्ने कुरा मात्र बुझेका थिए वा तिनलाई त्यस्तै बुझाइएको थियो । अब सायद बाँझोपनको समस्या पुरुषको कारणले पनि हुन्छ भन्ने कुरा बुझेका होलान् त्यहाँका जनताले ?

एउटी नर्सले भनेकी थिइन्–‘हाम्रो गाउँकी ७५ वर्षीया बूढीआमाको पाठेघर खसेको धेरै वर्ष भैसकेको छ । उनलाई मैले भनेकी थिएँ–डोटी अस्पतालमा महिलाहरूका लागि स्वास्थ्य शिविर बसेको छ । त्यो शिविर विशेषगरी पाठेघर झरेका महिलाहरूका लागि हो जानुहोस् । उनले भनिन्–कहाँ जाउँm उपचार गराउन ? हामीलाई कामबाटै फुर्सद छैन ।’ सम्भवत: ती महिला अहिले जिवित छैनन्, तर डोटीमा अझै पनि महिलाहरूको स्थिति यस्तै छ कि?

१८ वर्षअघि डोटीमा महिलाहरूलाई हेप्ने प्रवृत्ति निकै उच्च थियो । लोग्ने मानिसहरू काम नगर्ने, अल्छी मानेर बस्ने र गफ गर्ने प्रवृत्तिका थिए । सम्भवत: अहिले डोटीका पुरुषहरू काम गर्न थाले कि ?

स्त्रीरोगसँग सम्बन्धित १३ सय महिलामध्ये झन्डै २४ प्रतिशतको पाठेघर झरेको थियो । तीमध्ये कतिपय महिला त वर्षौंदेखि यो रोगबाट पीडित थिए । यद्यपि उनीहरूलाई यसको उपचार हुन्छ भन्ने जानकारी थिएन ।

त्यतिबेला सुत्केरी व्यथा लागेकी महिलालाई स्वास्थ्य चौकीमा लाने चलन थिएन । सुत्केरी महिलालेगाईको गोठमाछुनु हुँदैन भन्ने धारणा थियो । आमा र बच्चालाई ज्वरो आयो वा अन्य समस्या पर्‍यो भने पनि छुने चलन थिएन । चिसो मौसममा गोठमा बस्दा आमा र शिशुलाई संक्रमण हुनेसम्भावना उच्च हुन्छ र उनीहरू निमोनिया लागेर मर्ने गरेका थिए । त्यस्तै रक्तस्राव हुँदा पनि छुनु हुँदैन भनेर बढी रगत भै मर्ने महिलाहरूपनि थुप्रै थिए ।

त्यतिबेला बच्चा भएपछि साल अड्किएकी एक महिलालाई ४ दिनपछि मात्र अस्पतालमा ल्याइएको थियो । ‘छोरीको जन्म भएको सुनेर अस्पताल ल्याउन ढिला गरिएको हो कि,’ एउटी नर्सले भनिन् । स्वास्थ्य शिविरमा आएका एक डाक्टरले केही बेर प्रयास गरेपछि साल निस्कियो । सालनाल निस्किएपछि ती महिला बेस्सरी रोइन् । ‘हरे फेरि छोरी जन्मिई । यसको सास गए पनि हुन्थ्यो । मेरा घरमा चार छोरी र एक छोरा छन् । छोरो होला भनेको त छोरी राँड भई । मरे पनि हुन्थ्यो नि ।’ महिलाको कुरा सुनेर उनीमाथि रिस उठ्नुको साटो उनले त्यस्तो खराब इच्छा राख्नुको विवशताको निर्माण धर्म, संस्कृति र परम्पराले गरेको हो भन्ने लागेर उल्टै सहानुभूति जाग्थ्यो । अहिले छोरी जन्मिनेबित्तिकै मरे हुन्थ्यो भन्ने भावना कम भएको छ कि ? वा छोरीलाई जन्मिदै दिँदैनन् ?

तत्कालीन लक्ष्मीनगर गाविस, डोटीकी कलावती नेपालको विवाह सानै उमेरमा भएको थियो । विवाह भएको एक वर्ष नपुग्दै उनी गर्भवती भइन् । पहिले छोरी जन्मिइन् । छोरी भएकीले छोरा पाउन उनीमाथि घरपरिवारबाट बेस्सरी दबाब आयो । अज्ञानताएवं गर्भनिरोधक साधन प्रयोग गर्ने चलन नभएकाले उनी छोरी आठ महिनाकी नपुग्दै फेरि गर्भवती भइन् । कडा काम, कम खाना र कमजोर शरीर भएकाले उनलाई रक्तअल्पता भयो । बच्चा सानै थियो र जन्मिएको केही समयपछि मर्‍यो ।

सुत्केरी कलावतीलाई गोठमा राखियो । उनले सबै काम आफैं गर्नुपथ्र्यो, खाना पकाउनेदेखि सफा गर्नेसम्म । सुत्केरी भएको भोलिपल्टै उनको अवस्था नाजुक हुँदै गएपछि छिमेकीहरूजम्मा भएर अस्पताल पुर्‍याउने सल्लाह गरे । डोटी अस्पतालमा डाक्टर नभएकाले धनगढी लाने निर्णय भयो । उनलाई बोकाएर धनगढी जाने

बसमा हालियो ।

यतिबेलासम्म पाँच दिन भैसकेको थियो । आठ–दस घन्टा बसमा सफर गर्दा उनको अवस्था थप नाजुक भयो । अस्पतालमा पुग्नेबितिकै उनको उपचार सुरु त भयो तर डाक्टरहरूले उनलाई जाँचेर पाठेघर सफा गनुपर्ने र रगत अत्यन्त कम भएकाले तुरुन्त रगत चढाउनुपर्ने कुरा बताए । अस्पताल पुगेर पनि रगत जुटाउने प्रयास गर्दागर्दै निकै ढिला भैसकेको थियो फलस्वरुप उनको मृत्यु भयो । उनको मृत्युको कारण विश्लेषण गर्ने हो भने डाक्टर नभएर, औषधि नभएर उनको मृत्यु भएको देखिन सक्छ । वास्तवमा उनको मृत्युको कारण थियो–महिलाको जीवनको महत्व नहुनु, उनलाई छोरा पाउन विवश गराइनु र कम पोषण अनि कामको बोझ बढीहुनु ।

सुदूरपश्चिम र डोटी विशेष स्वास्थ्य शिविर संचालनका क्रममा त्यहाँका महिलाहरूको दु:खलाई नजिकबाट नियाल्ने मौका पाएपछि मेरो मनमा एउटा प्रश्न बारम्बार उठिरहेको थियो । जहाँ महिलाहरूको अस्तित्व नै सङ्कटमा छ त्यहाँ स्वास्थ्यसम्बन्धी प्याकेज कार्यक्रमहरू कति प्रभावकारी हुन सक्लान्? महिलाको स्वास्थ्य रक्षाका लागि भौतिक पूर्वाधारहरू त आवश्यक छन् नै, तर महिलालाई मानवको दर्जामा उकासेर उनीहरूको नारीत्वलाई सम्मान गर्ने परिपाटी बसाल्नु अझ बढी आवश्यक छ । अहिले सुदूरपश्चिममा महिलालाई सम्मान गर्ने परिपाटीको विकास भैसकेको छ कि छैन ?

 Image