हरेक वर्ष नारी दिवसका दिन सहरका केही कार्यक्रमस्थल तथा तारे होटलका मञ्चहरू धुमधामका साथ सजाइएका एवं नारी आन्दोलनका कुराहरू उछालिएका देखिन्छन् । ती कार्यक्रममा नारी हक-हित एवं नारी उत्थानका बारेमा ठूल्ठूला भाषण गरिन्छन् र प्रमुख अतिथि बनाइएको कुनै मन्त्री वा नेताले भाषण गर्दा भन्छन्, 'नारी भनेका हाम्रा घरका गहना हुन्, इज्जत हुन् त्यसैले उनीहरूलाई उचित शिक्षा, अवसर र अधिकार दिनुपर्छ ।' यो वषर्ाैंअघिदेखि नेताहरूले कण्ठ पारेर सुनाउँदै आएको सदाबहार भाषण हो जसलाई सदैव एउटै प्रकारले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनियो तर व्यवहारमा कहिल्यै उतारिएन । बुझ्नुपर्ने कुरा के पनि हो भने संविधानको कागजमा अधिकार दिएको भनेर लेखिँदैमा त्यो व्यवहारमा पनि लागू हुन्छ भन्ने हुँदैन ।
ठोकुवा गरेर भन्न सकिन्छ, सहरका सीमित शिक्षित नारीबाहेक देशका ८० प्रतिशत महिलालाई नारी आन्दोलन कसरी संचालन भैरहेको छ भन्ने कुरा थाहा छैन । नारी आन्दोलन पुरुषका विरुद्ध हो वा स्वयं उनीहरूकै मानसिकताविरुद्ध हो स्पष्ट भैसकेको छैन । नारीहरू पुरुषका कारण मात्र हेपिएका छन् कि आफ्नै कमजोरी र सोचका कारण पनि पछि परेका हुन् ? के नारीलाई संरक्षण गर्ने नाममा पुरुषहरूले घरभित्र थुनिराखेका छन् ? के संरक्षणका नाममा पुरुष वर्गले सदियौंदेखि नारीको शोषण गर्दै आएको छ र त्यसलाई संरक्षण भन्ठानेर जानेर वा नजानेर नारीहरू शोषित भैरहेका छन् ? के आरोप लगाएजस्तै केटी मान्छे घरबाट निस्किएर काम गर्न थाली भने छाडा, उत्ताउली र असुरक्षित हुन्छे र केही जान्ने सुन्ने भई भने पुरुषलाई टेर्दिन भन्ने मानसिक रोगले घरका पुरुषहरू ग्रसित छन् ? पुरुष वर्ग नारीको कमाइमा बाँच्नुपर्यो भने आफ्नो स्वाभिमान माथि धक्का लागेको मान्छ र समाजमा आलोचित हुने भ्रम पाल्छ । त्यसैले प्रत्येक पुरुष घरबाट निस्कदा आफ्नी पत्नीलाई, छोरीलाई घरभित्र थुनेर ताल्चा मारी आफूले साँचो बोकी हिँड्न चाहन्छ भनिन्छ । के महिलाहरू पुरुषहरूबाट मात्र असुरक्षित छन् ? के नारीको नजरमा पुरुष एउटा बलात्कारी र अत्याचारी सिवाय केही होइन ? किन एउटा घरमा छोरो मान्छे आधा रातमा नशामा लठ्ठिएर आरामका साथ घर र्फकन सक्छ तर आधारातको त के कुरा साँझ नढल्दै कुनै छोरी-बुहारी घर फर्किनन् भने घरका सदस्यहरू चिटचिट पसिना बगाउन थाल्छन् र केही ढिला र्फकदा उनीहरूले गाली खानुपर्ने हुन्छ । महिलाहरूप्रति यो असमान र दरिद्र मानसिकता किन ? त्यही समयमा र्फकदा पुरुष चरित्रवान् रहने तर नारीको चरित्रमाथि किन प्रश्न तेस्र्याइन्छ ? चाहे जतिसुकै शिक्षित परिवार भए पनि उनीहरू यो जीर्ण सोचबाट अलग हुन सकेका छैनन् । यस घरका पुरुषको मात्र होइन, महिलाको पनि उत्तिकै हात छ । किन हामी छोराछोरीप्रति समान व्यवहार देखाउन सकिरहेका छैनौं ? त्यसैले पहिलो आन्दोलन त हामीले आफ्नै मानसिकताविरुद्ध गर्नु जरुरी छ । हुर्काइमै समानता ल्याउनु जरुरी छ जसबाट दुवै उस्तै हुन् भन्ने भावनाको विकास होस् ।
सहरी भेगमा अधिकांश महिलाले धेरथोर शिक्षा पाए पनि ग्रामीण भेगमा अझै पनि नारी शिक्षाको विकास अपेक्षाकृत रूपमा हुन सकेको छैन । छोरी मान्छेले पढेर के गर्नु अर्काको घर गरी खाने जात भन्ने कुरा अझै हावी छ । यो तथ्यलाई हेर्दा सहरी भेगमा पनि अधिकांश महिला विवाहपछि पलायन भएको देखिन्छ । निकै राम्रो शिक्षा पाएका र देश विकासमा ठूलो टेवा पुर्याउन सक्ने महिलाहरू पनि लोग्नेकै कमाइमा रमाइरहेका छन् । तपाईंहरू किन काम गर्नुहुन्न भन्ने प्रश्न गर्दा श्रीमान्को कमाइले पुगिरहेकै छ किन काम गर्नुपर्यो भन्ने जवाफ पाइन्छ । विश्लेषण गर्दा नारीहरू पुरुषमै आश्रति हुन चाहन्छन् र पुरुषकै छत्रछायामा रमाउन चाहन्छन् भन्ने देखिन्छ । अधिकांश नारी आफ्नो खुट्टामा उभिन चाहँदैनन् र पुरुषहरूकै मुनि थिचिन चाहन्छन् भन्ने कुराको उदाहरण हो यो । सहरका कतिपय नारी जो घरबाहिर निस्किएर काम गर्न हिँडेका छन् उनीहरूले काम र परिवारको सन्तुलन मिलाउन नसक्दा धेरैको घरबार बिगि्रएको देखिन्छ । यसमा उत्तिकै दोष पुरुषको पनि हुनसक्ला । कमाउन थालें भन्ने अहम् पालेर पुरुषसँगको सहअस्तित्व स्वीकार नगर्नु पनि नारी मुक्तिका लागि आत्मघाती कदम हुनसक्छ । कतिपय प्रतिष्ठित घरानाका मानिसहरू छोरी-बुहारीहरूले काम गर्दा घरको इज्जत र प्रतिष्ठामा आँच आएको महसुुस गर्छन् तर प्रत्येक शिक्षित नारीले काम नगरे पनि आफ्नो परिवारको र आफ्नो व्यक्तित्व विकासका लागि धेरै भूमिका खेल्न सक्छन् । घरकी एउटी नारी शिक्षित हुनु भनेको परिवार नै शिक्षित हुनु हो भन्ने सत्यलाई पनि बिर्सनु हुँदैन । त्यसैले नारी शिक्षा अत्यन्तै आवश्यक छ र यो देशका ग्रामीण भन्दा ग्रामीण भागहरूमा पुग्नुपर्छ जसका लागि सरकारले ठोस कार्यक्रम ल्याई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
नारी आन्दोलनलाई सहरका केही टाठाबाठा एवं एनजिओकर्मीको गरिखाने भाँडो मात्र बन्न दिनुहुँदैन । हाम्रो जस्तो समाजमा नारीका अवरोधहरू पुरुषमात्र होइनन्, उनीहरूका आफ्नै हीनताबोध, ईष्र्या र पुरुष आश्रति मानसिकता पनि हुन् । पुरुषलाई बलात्कारी मात्र देख्दासम्म उसले पनि नारीलाई सम्मानको भावले हेर्न सक्दैन । आजको आवश्यकता सहकार्यको हो । एकआपसमा भएका समस्याको हल सहयात्रा, समभाव एवं सहअस्तित्वबाट मात्र हुनसक्छ । एक-अर्कालाई सम्मानको नजरले हेर्ने संस्कारको विकास भए धेरै समस्या आफै हराएर जानेछन् । आजसम्म पनि घरमा हरेक घरायसी निर्णय गर्दा महिला वर्गको सहभागिता आवश्यक मानिँदैन पुरुष वर्गले गरेको निर्णय नै लालमोहरसरह हुन्छ । जस्तोसुकै निर्णय भए पनि नारीले शिरोधार्य गर्नुपर्ने हुन्छ । हाम्रो समाजमा सधैं पुरुषले नारीलाई विवाह गर्दै आएको छ, नारीले कहिल्यै पुरुषसँग विवाह गर्दिनन् । मागी विवाह हुँदा आज पनि केटी पक्षले केटाको आर्थिक हैसियत हेर्ने र केटाले केटीको सुन्दरता, चालचलन एवं खान्दान हेर्ने प्रचलन छ । यसमा दुवैले शिक्षा, समझदारी र जीवनको दृष्टिकोणलाई मापदण्ड बनाएर सम्बन्ध स्थापित गरे सहयात्रा सुनौलो हुनसक्छ । आजसम्म हामीले केटा हेर्न केटीपक्ष केटाको घर गएको देखे-सुनेका छैनौं । शिक्षित नारीहरूले यहाँ पनि रचनात्मक विद्रोह गर्न सक्नुपर्छ । विवाह गरी पठाउँदा छोरीका बाबुले आफ्नो ज्वाईंलाई 'मारे पाप पाले पुण्य' भनेर आफ्नी छोरी जिम्मा लगाउँछन् । लाग्छ उनलाई अब अन्त कतै पाल्न लगिँदैछ । विवाहपछि नारीले आफ्नो मातृ थर गुमाउँछन् र श्रीमान्को थरमा आफ्नो पहिचान खोज्छन् । हिजोआज विस्तारै दुवैको थर राख्ने प्रचलन प्रारम्भ भएको छ जुन सकारात्मक सुरुवात हो ।
यसरी हरेक पक्ष केलाउँदा नारी विकासमा अवरोध देखा पर्नुमा शिक्षाको कमी, नारीहरूको स्थिरतावादी सोच, लघुताभाष, पुरुषको कमाइमा रमाउने प्रवृति, आत्मनिर्भर हुन सक्दो प्रयास नगर्नु, पुरुषकै सुरक्षा खोज्नु जस्ता अनेकौं कारण पाइन्छन् । शक्तिशालीले निर्धोलाई हेप्नु त शक्तिको सिद्धान्त नै हो । समान शक्तिको विकास भए मात्र शक्ति सन्तुलन हुन्छ । सहरका कतिपय महिला अंग्रेजीमा भाषण फलाकेर गाउँका महिलाहरूको नाममा विदेशीबाट पैसा असुलेर महिला आन्दोलनलाई गरिखाने भाँडो बनाइरहेका छन् । केही जाने-बुझेकाहरू काठमाडौंमा बसेर हुम्ला र जुम्लाका महिलाहरूको पीडा अनुभव गरेको ढोङ रचिरहेका छन् । गाउँकी एउटी महिलाले आफ्नो तौलभन्दा दोब्बर भारी बोकेको देख्दा जिब्रो काढ्ने सहरकी महिला आफैले त्यो भारी नबोकी त्यसको पीडानुभूति सुनाइरहेका छन् । जुन सत्य-तथ्यभन्दा टाढा छ । नारी आन्दोलन प्रत्येक घरबाट सुरु हुनुपर्छ, एउटी छोरीले आफ्ना आमाबाबु र दाजुभाइविरुद्ध, पत्नीले पतिविरुद्ध, बुहारीले सासू-ससुराविरुद्ध अनि आफ्नै सोचविरुद्ध पनि आन्दोलन गर्नुपर्छ । जबसम्म एउटी नारीले समाजका संकीर्ण सोचविरुद्ध विजय प्राप्त गर्न सक्दिनन् तबसम्म नारी आन्दोलन र मुक्तिको सम्भावना छैन । स्वीस लेखिका अस्टि्रड अन्नाले भनेजस्तै 'गाउँमा महिला जागरणको बिगुल फुक्ने काममा तगारो बनेर उभिएका सर्वसत्तावादी पुरुष, सामाजिक रुढिवादका सिकार महिला र महिला केही होइनन् भन्ने भावना विस्तार गरिरहेको समाजलाई परिवर्तन गर्नु अहिलेको जरुरी विषय हो । सहरका गोष्ठीमा हुने हल्लाले महिला अधिकारवादीहरूमा अरू महिलाको ठेक्का लिएको भ्रममात्र विकसित हुन्छ, व्यवहारमा केही परिवर्तन आउँदैन र काठमाडौं बाहिरका नेपालीको परिवर्तनको चाहना एवं काठमाडौंमा हुने निर्णयहरू आपसमा मेल खाँदैनन् ।'
अबको नारी आन्दोलन आफ्नै घरका पुरुष तथा आफ्नै दरिद्र सोचविरुद्ध केन्दि्रत हुनुपर्छ । जबसम्म यो मनोवैज्ञानिक युद्ध जितिँदैन तबसम्म नारी आन्दोलन सफल हुँदैन । त्यसका लागि पुरुषहरूलाई चिढ्याएर होइन विश्वासमा लिएर अघि बढ्नुपर्छ र आवश्यक परे प्रत्येक घरमा असहयोग आन्दोलन गर्नुपर्छ जुन बढी प्रभावकारी, रचनात्मक एवं हिंसारहित हुन सक्छ तर यसका लागि पनि नारीहरू शिक्षित तथा आत्मनिर्भर हुनु जरुरी छ । जस्तोसुकै विषम परिस्थिति भए पनि नारीहरूबाट चाँडोभन्दा चाँडो आफ्नै घरको दैलो र चुल्होबाट आन्दोलनको शंखघोष हुनुपर्छ । यसो हुन सके एकदिन अवश्य पनि समाजका संकीर्ण सोचहरू पराजित हुनेछन्, महिलाहरू आत्मनिर्भर हुनेछन् भने समतामूलक समाज निर्माण हुनेछ ।