नेपाली नारी : विगत र वर्तमान
विधवा विवाहलाई कानुनले मान्यता दिएको छ । समाजले पनि विधवा विवाहलाई स्वीकृति दिइसकेको छ ।

'भो अब अति भो महिला हिंसा अन्त्य गरौं' भन्ने नाराका साथ संसारभरका करोडौं महिला हिंसाविरुद्ध सडकमा उत्रिरहेका छन्। महिला हिंसाविरुद्ध १६ दिने अभियान हरेक वर्ष संसारभर सचेतनामूलक कार्यक्रम तथा छलफल गरी मनाइन्छ। यद्यपि यस्ता कार्यक्रमहरूले सांसारिक जन्जिरमा बाँधिएका महिलाहरूलाई छुन सकेका छैनन्। यस्ता कार्यक्रम देशका कुना-कन्दरासम्म पुग्न सकेका छैनन्। त्यसैले पनि महिला हिंसाका घटना निरन्तर घटिरहेका छन्। आन्दोलन, अभियान वा धर्ना चलिरहेकै बेला घटनाहरू पनि थपिँदैछन्। यस्तो किन भैरहेको छ त ? महिला हिंसा अन्त्यका लागि प्रभावकारी कदम के हुन सक्छ ? तत्काल के गर्नुपर्ने हो ? दीर्घकालीन रूपमा के-कस्ता योजना तथा कार्यक्रम बनाउनुपर्ने हो ? कस्तो ऐन-कानुन बनाउनुपर्ने हो ? हाम्रो देशमा पनि यो विषयमा गम्भीर छलफल चलाउनुपर्ने अवस्था आइसकेको छ।
महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकै बेला १२ जना महिलाको हत्या भयो जुन निकै डरलाग्दो अवस्था हो। परिवारका सदस्यहरूबाटै मारिएका, समाजकै मानिसहरूबाट हत्या गरिएको हुँदा महिलाहरूले असुरक्षा महसुस गरिरहेका छन्। २०६९ वैशाखदेखि मंसिरसम्म ८८ जना महिलाको हत्या भएको तथ्यांक ओरेक नेपालद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख छ। देश छुवाछूत मुक्त, धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको अवस्थामा जातीय एवं वर्गीय विभेदकै कारण आफूलाई जन्म दिने अभिभावकबाटै महिलाहरूको हत्या भैरहेको छ। महिलाहरूको हक-अधिकारको कुरा उठिरहेका बेला महिलाहरू बोल्न थालेकै कारण परिवारबाट हिंसाको सिकार भैरहेका छन्।
पोथी बासे त्यसलाई मारेर तत्काल घरको धुरी कटाउने चलन अहिले पनि नेपाली समाजमा छ। यो चलनले महिलालाई पोथीसँग दाँजेर हेर्ने गरेको पाइन्छ। महिलाले दुई-चार कुरा बढी गरे पोथी बासेको सुहाएन भन्नेहरूको जमात पनि ठूलै छ। कवयित्री तथा राजनीतिज्ञ कुन्ता शर्माले केही वर्ष पहिले समाजलाई व्यंग्य गरेर रचेको 'पोथी बास्न हुँदैन' कविता निकै चर्चामा थियो। पोथी बासे अनिष्ट हुन्छ भन्नेहरू महिलालाई सधैं नम्र, आज्ञाकारी, विरोध नगर्ने, कम बोल्ने, घरभित्रको काममा व्यस्त देख्न चाहन्छन्। उनीहरू महिलालाई दोस्रो दर्जाको मानी सोहीअनुरूप व्यवहार गर्छन्। परिवर्तनको लहडमा महिलाहरू पनि फड्को मारेर अघि बढ्न खोज्दा समाजलाई नपचेकै कारण पनि महिला हिंसा र हत्याका घटनाहरू बढिरहेका छन्। महिलालाई अधीनमा मात्र राख्न खोज्ने परिवार र समाजले पुरुषलाई बन्धनमुक्त बनाएका कारण पनि पुरुषहरूको मनपरीतन्त्र बढ्दै गएको हो। छोरीको इज्जत सियोको टुप्पामा अडिएको छ भन्न्ोहरूले छोराका लागि भने मर्दका दसवटी भन्ने उखान र व्यावहारिक अभ्यास सुरुवात गरेका हुन्। महिलाहरू आजसम्म पनि पछाडि पारिनुमा पुरुषप्रधान सामाजिक संस्कार र चलन पनि उत्तिकै जिम्मेवार छ। नेपालको लैङ्गकि विभेदको इतिहास खोतल्दा नेपाली समाजमा अन्धविश्वास र कुसंस्कारसहितको परम्परागत ढाँचा र व्यवस्थाको लामो समयसम्म गरिएको अभ्यास नै प्रमुख देखिन्छ।
नेपाली समाजको विकासक्रमलाई हेर्दा पनि राज्य एकीकरणपछि जब शासन व्यवस्थामा पुरुषहरूको संलग्नता बढ्यो तब सबै नीति-नियम पुरुषहरूकै पक्षमा बनाउन थालियो। धर्मसंस्कारका व्याख्याकारहरू पनि पुरुष नै भएका कारण उनीहरूले पनि पुरुषलाई नै माथि राखेर धर्मको व्याख्या गरे। शाहकाल, राणाकाल, बहुदलीय प्रजातन्त्रदेखि लोकतन्त्रसम्म आइपुग्दा पनि महिलाहरूको अवस्थामा समय अनुकुलको परिवर्तन आउन नसक्नुको कारण पनि राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरण प्रक्रियामा महिलाहरूको प्रश्नलाई संवेदनशील्ा भएर नहेरिएकैले गर्दा हो। देशलाई धर्मनिरपेक्ष एवं छुवाछूत मुक्त राष्ट्रको घोषणासँगै महिलाहरूलाई ३३ प्रतिशत आरक्षणको व्यवस्था पनि गरिएको छ। कुसंस्कार र अन्धविश्वास हटाउन कानुनहरू पनि बनेका छन्। यद्यपि महिला हिंसाका घटनाहरूमा कमी आएको छैन। यसरी कानुनहरू कागजमा मात्र सीमित रहेका कारण अझैसम्म पनि नेपाली समाज नयाँ बाटोमा हिँड्न नसक्नु नै हो। कुसंस्कार र अन्धविश्वासले ओतप्रोत मानसिकताकै कारण थुप्रै शिवा हासमी र विन्दु ठाकुरहरूको त्रासदीपूर्ण हत्या भएको छ। स्वदेश फर्किएका सीताहरूको आफ्नै भूमिमा सरकारी कर्मचारी र सुरक्षाकर्मीहरूबाटै यौनदुव्र्यवहार र लुटपाट भएको छ। घाँस-दाउरा गर्न गएका चेलीहरूको सामूहिक बलात्कार भएको छ। हत्याका आरोपीमध्ये धेरैले सजाय पाउन सकेका छैनन्। महिलाहरू हत्यारालाई कडा कारबाही र पीडितलाई न्यायपूर्ण क्षतिपूर्तिको मागसहित धर्ना र आन्दोलनमा उत्रिरहेका बेला महिला हिंसा र हत्याका घटना अझ बढिरहनुले कानुनी राज्यको उपहास पनि गरेको छ।
महिला हिंसा अन्त्य गर्न लैङ्गकि सचेतनामुखी शिक्षा एवं कार्यक्रमहरूमा जोड दिनुपर्छ भने राज्यका सबै निकायका कर्मचारी तथा सेना प्रहरीभित्र पनि लैङ्गकि चेतना भर्ने कार्यक्रमहरू लागू गरिनुपर्छ। समाजमा महिला र पुरुषहरूले समान अधिकार उपभोग गर्न सक्ने वातावरणको निर्माण हुनुपर्छ। यौनदुव्र्यवहार, बलात्कार र हत्याजस्ता जघन्य अपराधमा अपराधीहरूलाई कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्छ र यस्ता घटनालाई प्रहरी प्रशासनले पहिलो प्राथमिकतामा राखेर हेर्नुपर्छ। अनेकौं समस्यालाई छिचोलेर भए पनि संघर्ष गरी आफ्नो क्षमता प्रदर्शन गरेर विश्व समुदायलाई नै चकित पार्ने नेपाली छोरीहरू आफ्नै देशभित्र दोस्रो नागरिकसरह बाँच्नुपर्ने अवस्थाको अन्त्य हुनु जरुरी छ। करिब डेढ शताब्दीअघि योगमायाले योगवाणीमार्फत महिला हिंसा, निरंकुश शासन प्रणाली तथा कुसंस्कारका विरुद्ध सामाजिक आन्दोलन उठाएकी थिइन्। डेढ शताब्दीपछि पनि महिलाहरूले हिंसाबाट उन्मुक्ति पाउन र समान अधिकारकै लागि आन्दोलन गरिरहनुपरेको छ। बढ्दो महिला हिंसाका घटनाहरूले के पनि देखाउँछन् भने अबको नयाँ पुस्तालाई सही मार्ग देखाउन शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी छ। जबसम्म नेपाली समाजमा लैङ्गकि समतामूलक सोचको विकास हुन सक्दैन तबसम्म महिला हिंसाका घटनामा कुनै कमी आउने छैन।
- सीता सन्ध्या राई शाही