Successfully Copied

‘आइएम परफेक्ट’

‘केटी मान्छे भनेको यस्तो हुनुपर्छ’ भनेर महिलाका रूप र चालढाल हेरेर उसको स्तर मापन गर्छ । यस्तो प्रवृत्तिले नारी शरीरका स्तन र कम्मरका साइजदेखि, कपालको लम्बाइ, दाँतका लहर र स्वरको मधुरता नापेर ‘परफेक्सन’को वर्ग तोक्छ ।


‘तपाईंको त अस्ति भर्खर बच्चा जन्मिएको होइन?’
एउटा सरकारी शैक्षिक संस्थामा काम विशेषले पुग्दा त्यहाँका परिचित पुरुष कर्मचारीले मतिर हेर्दै प्रश्न गरे ।
‘हो । चार महिना पुग्नै लाग्यो,’ मुस्कुराउँदै जवाफ दिएँ ।
‘अनि तपाईं त सुत्केरीजस्तै देखिनुहुन्न त,’ मेरो शरीरलाई तलदेखि माथिसम्म नियाल्दै तिनले थपे ।
उनको कुरा मलाई अलिक अनौठो र अप्ठ्यारो लाग्यो । सोधिहालें, ‘कस्तो देखिनुपर्छ र सुत्केरी?’
आफ्ना हातले आकार मापन गर्दै ती कर्मचारीले हाँसोको फोहोरासहित भने, ‘हाम्रा श्रीमती त भ्यात्त देखिन्छन् बच्चा पाएपछि । बस्ने र खानेभन्दा काम हुन्न । तपाईं त जस्ताको तस्तै हुनुहुन्छ । क्यारी हो यस्तो मेन्टेन गर्ने ? मेरी श्रीमतीलाई पनि सिकाउनुपर्यो ।’
ती कर्मचारीले यति भनी नसक्दै मेरो रिसको पारो चढिसकेको थियो । न मैले उनकी श्रीमतीबारे चासो राखेकी थिएँ, न त उनीसँग नै मेरो कुनै व्यक्तिगत चिनजानी थियो । काम विशेषले एकाध पटक भेटेको मान्छेले मेरो शरीरलाई हेरेर एकैपटक म र आफ्नीश्रीमतीलाई एकसाथ ‘बडी सेमिङ’ गरेको मलाई पटक्कै चित्त बुझेन । त्यस्तो सोचको सिकार भएकाहरूलाई कहिलेकाहीँ त पाइलैपिच्छे सामना गर्नुपरेको छ ।
म बेलाबेला ती कर्मचारीका श्रीमतीबारे सोच्छु र उनको अवस्था कल्पना गर्छु । बच्चा जन्माएर मोटोपन बढेसँगै उनले आफ्नै श्रीमान्बाट कतिधेरै अपमान र अपाच्य मजाक सहन्छिन् होला ?
तर, सुत्केरी भएपछि सोचेजस्तो शरीर नमोटाएको भनेर मैले पाएको प्रतिक्रिया भने यो एउटा मात्रै होइन । ‘अलिक मोटाउनु प¥यो,’ ‘मोटाइन्छ भनेर खाँदिनस् कि क्या हो?’, ‘सुत्केरीमै हो खाएर टन्न मोटाउने’, जस्ता टिप्पणी थुप्रै पटक सुनेकी छु । उसो त केही महिना यता मेरो तौल बढेसँगै तिनै मान्छेबाट ‘यो भन्दा धेरै नमोटा है, राम्रो देखिन्न’, ‘यो भन्दा धेरै मोटो पनि सुहाउ“दैन अब’ जस्ता प्रतिक्रिया पनि सुन्नुपरेकै छ ।
गर्भावस्थामा पनि सोचेजस्तो तौल नबढेको भन्दै परिवारकै सदस्य, नजिकका आफन्ती र साथी सर्कलबाट पाएका च्वास्स बिझाउने बचन सम्झि“दा आजपनि मन अमिलो हुन्छ ।
मेरो तौललाई लिएर पाएका प्रतिक्रियाको शृंखला यतिमा मात्रै सीमित छैन ।
केही वर्षअघि एउटा गैरसरकारी संस्थामा काम गर्दा मेरो दैनिकी अलिक व्यस्त थियो । बिहान कलेज, दिउँसो अफिस । अक्सर घरबाहिरको खानेकुरा, त्यसमाथि खानामा मेरो सोख । यी सबै कारणले तौल वृद्धि भयो । त्यससँगै मेरो मोटोपनलाई लिएर कार्यालयभित्रै कानेखुसी हुन थालेछ ।
‘करुणा प्रेग्नेन्ट होर ?’, ‘प्रेग्नेन्सीको कति मन्थ रनिङ हो करुणाको ?’ यस्तै–यस्तै । एकजना सहकर्मीबाट यी कुरा थाहा पाएँ । जबकि कानेखुसी गर्नेहरू कसैले पनि मेरो बारेमा मैसँग सोध्ने कष्ट गरेनन् । यो घटनाको लगभग एक वर्षपछि, कोभिड महामारी सुरू भयो । महामारी नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै जीवनशैलीमा परिवर्तन आयो । कार्यालय जानुको सट्टा ‘वर्क फ्रम होम’ गर्न थालियो । सोचें, यही समय हो मैले आफ्नो स्वास्थ्यमा ध्यान दिने ।
घरको खानेकुरा, घरमै व्यायाम र योगाभ्यास । निश्चित सुत्ने–उठ्ने टाइम, अफिसियल वर्किङ आवरबाहेक सीमित समयमा मात्र मोबाइल र ल्यापटप चलाउने अनुशासन । स्क्रिनभन्दा धेरै किताब पढ्ने अभ्यास, घरायसी काममा व्यस्त । यस्तो जीवनशैली अपनाएस“गै मेरो तौल पनि घट्न थाल्यो । शारीरिक र मानसिक दुवै हिसाबले फुर्तिलो महसुस गर्न थालें । तर, मेरो शरीरको आकारलाई हेरेर दिइने प्रतिक्रियाले भने शिथिल बनाउने अवस्था आयो ।
‘कति दुब्लाएकी?’, ‘छ्या छ्या हौ, लिख्रिक्क देखियो तेरो शरीर त’, ‘टन्न खा है टन्न, नत्र लैजाला कोरोनाले’, ‘यो लुगा त तँलाई मोटी छँदै सुहाउँथ्यो’ आदि कति हो कति, मेरो मोटोपन र दुब्लोपनबारे चासो राख्दै शरीर हेरेर अनावश्यक टिप्पणी र उपमा दिन उनीहरूले गरेको हतारले मलाई साह्रै नमज्जा लाग्थ्यो र अझै पनि लागिरहन्छ ।
अक्सर सोच्छु, अरूको शारीरिक बनोट, तौल, उचाइ, वर्ण, स्वर, रुचि, रोजाइ आदिलाई लिएर प्रतिक्रिया जनाइहाल्न मान्छेलाई के कुराले प्रोत्साहन गर्दो हो ? फेरि यस्ता प्रतिक्रिया पाउनेमा प्रायःजसो पुरुषको तुलनामा महिला बढी हुन्छन् । मेरै साथी सर्कलको कुरा गर्ने हो भनेपनि पुरुष साथीले आफूले बडी सेमिङ ‘खासै फिल नगरेको’ सुनाउँछन् । तर केटी साथीहरू भने सायदै कोही होलान् जसले विभिन्न समयमा अनेक व्यक्तिबाट बडी सेमिङ फिल नगरेका होऊन् ।
केटा र केटीको फोटोमुनि सामाजिक सञ्जालहरूमा गरिने कमेन्टलाई नै तुलना गरेर हेर्ने हो भने पनि शरीरलाई हेरेर गरिने प्रतिक्रिया महिलाका लागि अति अशोभनीय, असभ्य, अनावश्यक र अतिशयोक्तिपूर्ण देखिन्छन् । कति मोटी, कति दुब्ली । जिमसिम जाँदिन क्या हो, नाक कस्तो नमिलेको । आँखा कति साना, कति ठूला । कति ठूलो स्तन, कति सानो स्तन । कस्तो भद्दा पुठो ? छ्या कति नसुहाउँदो फिगर । कति नराम्रो कपाल, कस्तो चुच्चो अनुहार । आँखीभौं पनि उछिट्टिएका, दाँत किन नमिलाएको होला ? यस्ता–यस्ता अनगिन्ती कमेन्टको वर्षा गराउनेको भीड हुन्छ ।
यो कुरालाई पुष्टि गर्न धेरै पर पनि पुग्नु पर्दैन ।
केही समयअघि ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि जितेकी सुन्दरी जेन दीपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय प्लाटफर्ममार्फत ‘बडी पोजेटिभिटी’ बारे सन्देश दिइन् । उनको सहभागिता र आफ्नो शरीरप्रतिको सकारात्मकतालाई संसारभर प्रशंसा गरियो । तर सामाजिक सञ्जालहरूमा उपलब्ध तिनै सुन्दरीका विभिन्न फोटो र फुटेजमा आएका प्रतिक्रिया भने हेर्न, पढ्न पनि असहज लाग्ने खालका छन् । विभिन्न जनावरस“ग तुलना गर्दै यौन आशय झल्किने भावले लेखिएका कमेन्टले देखाउँछन् कि–महिलाको शरीर सस्तो प्रतिक्रिया जनाउनका लागि हो, महिला ‘वस्तु’ बाहेक केही होइनन् अनि बजारमा सजाएर राखिने ‘सामान’ र महिलाको हैसियत समान हो ?
चाहे प्रत्यक्ष भेटघाटमा होस् वा सामाजिक सञ्जालको कमेन्ट सेक्सन र मेसेज बक्समा नै किन नहोस् ? अरूको शरीरलाई लिएर प्रतिक्रिया जनाउनुअघि कसैले सोच्दैन कि–मैले यस्तो प्रतिक्रिया जनाइरह“दा उसलाई कति नराम्रो महसुस होला, उसको मानसिक स्वास्थ्यमा कस्तो असर पर्ला ? किन कि मेरो शरीर हेरेर दिइएका कतिपय प्रतिक्रियाले अनेकौं पटक मेरो बलियो आत्मसम्मान डगमगाएको छ ।
विशेषगरी, किशोरावस्थाको समयमा मेरो शरीर हेरेर गरिने टिप्पणी र दिइने प्रतिक्रियाले मेरो आत्मविश्वासलाई मात्र खलबल्याएन कि रोजाइलाई समेत थुप्रै पटक निमोठेको छ । आफूलाई मन परेको लुगा लगाउनुअघि, मन लागेको खानेकुरा खानुअघि, मन परेका मान्छेसँग संवाद सुरू गर्नुअघि बारम्बार सोच्न, हिम्मत जुटाउन र आफैंलाई आफू हुनुप्रति विश्वास दिलाउन रोकिदिएको छ ।
मेरै केही केटी साथीहरूलाई उनीहरूको तौल, उचाइ र शरीरको रंग नै प्रेम सम्बन्ध बिस्तार गर्न, बनिसकेको सम्बन्धलाई निरन्तरता दिइरहन वा विवाह बन्धनमा बाँधिन बाधा बनेका छन् । आफ्नो पढाइ र करिअरमा सफल हुँदाहुँदै पनि शरीरको बनोटअघि दक्षता फिका हुँदा उनीहरूको आत्मसम्मानमा चोट पुगेका र आफैंदेखि निराश भएर जिउनुपरेका उदाहरणहरू बग्रेल्ती छन् । परिवारकै सदस्य, छरछिमेकी, आफन्त, नजिकका साथी आदिबाटै बारम्बार आफ्नो शरीरलाई लिएर नानाभाँती कुरा सुन्नुपरेको तीतो अनुभव उनीहरू सुनाउँछन् ।
यसको व्यापकताको कुरा गर्दा हिन्दुस्तान टाइम्समा केही वर्षअघि प्रकाशित एउटा समाचारले भन्छ कि, भारतमा अवस्थित फोर्टिस हेल्थ केयरले गरेको सर्वेक्षणमा ९० प्रतिशत महिलाले बडी सेमिङलाई अक्सर हुने व्यवहारको रूपमा लिन्छन् । भारतका विभिन्न सहरमा बसोबास गर्ने १५ देखि ६५ वर्ष उमेर समूहका १२ सय ४४ जना महिलामा गरिएको उक्त सर्वेक्षणअनुसार ७६ प्रतिशत महिलालाई लाग्छ, सुन्दरतालाई प्रस्तुत गर्ने मिडियाको शैलीले बडी सेमिङलाई प्रोत्साहन गर्छ ।
सोही सर्वेक्षणको अर्को तथ्यांकले के देखाउँछ भन्दा, १९ प्रतिशत महिला आफ्नो स्वरूपलाई लिएर लज्जा महसुस गर्छन् भने ६७ प्रतिशत महिलालाई अरूले गरेको बडी सेमिङका कारण रिस उठ्छ ।
नेपालमा पनि यस्ता सर्वेक्षणले देखाउने तथ्यांक यो भन्दा फरक हुँदैन होला भनेर अनुमान गर्न हाम्रा हरदिनका भोगाइहरू पर्याप्त छन् । अघि चर्चा गरिएका विभिन्न उदाहरणहरूले देखाउँछन् कि बडी सेमिङले दिने मानसिक चोट कति गहिरो हुन्छ र त्यसले कसरी चिन्ता, लाज, डर, घृणा, निराशा मौलाउ“दै लैजान्छ ।
‘केटी मान्छे भनेको यस्तो हुनुपर्छ’ भनेर खासगरी स्त्रीद्वेषी पुरुषवादी हेराइले सदियौंदेखि बनाएका मिथ्या मानकले मात्र महिलाका रूप र चालढाल हेरेर उसको स्तर मापन गर्छ । यस्तो प्रवृत्तिले नारी शरीरका स्तन र कम्मरका साइजदेखि, कपालको लम्बाइ, दाँतका लहर र स्वरको मधुरता नापेर ‘परफेक्सन’को वर्ग तोक्छ । त्यो जमातले महिलालाई बजारका ‘बिकाउ वस्तु’ वा आफ्ना इन्द्रियहरूको ‘भोग्य साधन’ भन्दा माथिको मूल्य कहिल्यै दिँदैन । उनीहरूका लागि महिलाका योग्यता, दक्षता, बौद्धिकता, सीप र क्षमता सबै फिका हुन् ।
समाजले तोकिदिएको ‘सुन्दरता’को परिभाषा भित्र नपर्ने कोही महिलाले ठूलै बौद्धिक उपलब्धि हासिल गरे पनि, राम्रो करिअर बनाए पनि, ‘रूप अलि राम्रो भएको भए, अलि अग्ली भएकी भए, अलि दुब्ली वा मोटी भएकी भए परफेक्ट हुन्थी’ भनेर प्रतिक्रिया जनाउनेको यहाँ कमी छैन ।
बाहिरी आवरण हेरेर महिलाको आत्मसम्मानपूर्ण सौन्दर्य र सामथ्र्यको नजरअन्दाज गर्नेहरूको भीडले कहिले बुझ्ला–‘सबैजना जे छन्, जस्तो छन्, आ–आफ्नै शैलीले सधैं परफेक्ट छन् ।’

 Image