Successfully Copied

इको–फ्रेन्डली वुडन फ्लोरिङ

पछिल्लो समय घर वा अफिसलाई आकर्षक बनाउन फ्लोरिङमा नयाँ–नयाँ प्रयोग गर्न थालिएको छ । तीमध्ये ‘वुडन फ्लोरिङ’ धेरैले रुचाएका छन् ।

पछिल्लो समय घर वा अफिसलाई आकर्षक बनाउन फ्लोरिङमा नयाँ–नयाँ प्रयोग गर्न थालिएको छ । तीमध्ये ‘वुडन फ्लोरिङ’ धेरैले रुचाएका छन् । बाथरुम, भान्सा, बाल्कोनी र कौसीबाहेक जुनसुकै कोठामा यो राख्न सकिन्छ । यसले जाडोमा कोठालाई नयाँ ‘लुक्स’ दिनुका साथै न्यानो पनि दिन्छ । धेरै प्रकारका ‘प्याट्रन’मा यो उपलब्ध छ । यसमा ‘एन्टी–ब्याक्टेरियल गुणसमेत भएकाले धेरै प्रकारका संक्रमणबाट पनि बचाउँछ । यसमा धूलो जम्दैन र सफा गर्न पनि सजिलो हुन्छ । 
‘बेस्ट डेकोर’का संचालक अरबिन राईका अनुसार ‘वुडन फ्लोरिङ’ जाडोमा न्यानो बनाउनेमात्र होइन यो हरेक मौसमका लागि उपयुक्त छ । त्यसको मुनी फर्म राखिने भएकाले जाडोमा कोठा न्यानो बनाउँछ भने गर्मीमा शीतलता प्रदान गर्छ’ उनले भने । कार्पेटमा धूलो जम्ने, सफा गर्न कठिन हुने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । 
एकपटक ‘वुडन फ्लोलोरिङ’ गरेपछि धेरै समयका लागि ढुक्क हुन सकिन्छ । तर यसको छनोट उपयुक्त हुनुपर्नेमा अरबिनको सुझाव छ ।नेपालमा जर्मन कम्पनीको यो ‘फ्लोरिङ’ धेरैले रुचाएका छन् । चिनियाँ कम्पनीका उत्पादन केही सस्ता भएपनि त्यसमा ग्यारेन्टी नभएको उनले बताए । उनका अनुसार यसो त ‘वुडन फ्लोरिङ’ को आयु त्यसको निर्माण कुन प्रकारको काठबाट भएको हो, काठलाई कसरी राखिएको छ र त्यस ठाउँको तापक्रम कस्तो छ भन्नेमा निर्भर रहन्छ । ‘वार्निस’ धेरै महँगो हुने भएकाले विना ‘पोलिस’ कै पहिले–पहिले राखिने गरिएकोमा पछिल्लो समय यसको चमक बनाइराख्न ‘पियु कोटिंग्स’, ‘ट्रान्सपरेन्ट कोटिङ’, ‘रेजिन वार्निस’को प्रयोग गरिन थालिएको छ । यसो गर्नुका कारण परावैजनी विकिरणको नराम्रो प्रभावबाट बचाउनु र लामो समयसम्म यसको रंग कायम राख्नु हो । 

परिवर्तित ट्रेन्ड 
धेरै पहिले ‘रेड अक्साइड’ सबैले मन पराउँथे । त्यसपछि ‘मोजेक फ्लोरिङ’ को ट्रेन्ड आयो । पछि मार्बलको क्रेज बढ्यो । ग्रेनाइट पनि निकै चलेकै हो । तर, पछिल्लो समय यी सबैको क्रेज घट्दै गएको छ । अझ ‘विट्रिफाइट टाइल्सको चलन बढेपछि ‘सेरामिक टाइल्स’ बाट फ्लोरिङ गर्ने बढे । हाल यो पनि पुरानो भइसकेको छ । हाल ‘वुडन’ वा ‘लेमिनेटेड फ्लोरिङ’ को चलन बढ्दो छ । 
नेपालमा ‘वुडन फ्लोरिङ’ स्वदेशी र विदेशी दुवैखालका पाइन्छन् । ‘पार्केट इन्टेरियर’ कम्पनीका प्रबन्ध निर्देशक रूपनारायण श्रेष्ठका अनुसार बलियो र टिकाउको कारणले नेपाली प्राकृतिक ‘वुडन’ धेरै रुचाउने गरेका छन् । छिटो र सजिलोका लागि भने विदेशी वुडन फ्लोरिङ नै रोज्ने गरेको उनले बताए । ‘सिसौ, टिक, सल्ला, बाज एवं काठका फ्लोरिङ नेपाली बजारमा पाइन्छन्’ उनले भने, ‘नेपाली वुड एकपटक लगाएपछि लामो समयसम्म ढुक्क भइन्छ । यसको प्रमुख विशेषता भनेको हिँड्दा वा सामान राख्दा ट्याक–ट्याक आवाज आउँदैन ।’ मार्बल धेरैले मनपराएपनि पछिल्लो समय काठमा आकर्षण बढ्दै गएको छ । धेरैजसोले मार्बल हटाएर ‘वुडन फ्लोरिङ’ लगाउने गरेको उनले बताए । 

कस्तो फ्लोरिङ छनोट गर्ने ?
छनोट कुन कोठाका लागि गर्ने भन्नेमा भर पर्छ । आफ्नो आवश्यकता के हो ? साना बच्चा वा घरपालुवा जनावर छन् भने त्यही किसिमको लोरिङ गर्नुपर्छ । रूपनारायणका अनुसार केही महँगो भए पनि विदेशी भन्दा स्वदेशी नै राम्रो हुन्छ । उनी भन्छन्, ‘लेमिनेटेड फ्लोरिङ पानी पोखिएमा जोडिएको भागबाट भित्र छिरेर फुलिने, खुम्चिने र तन्किने हुन सक्छ ।’ स्वास्थ्यमैत्री एवं वातावरणमैत्री भएकाले काठको ‘फ्लोरिङ’ उपयुक्त हुने उनको सुझाव छ । 

प्राकृतिक ‘लुक्स’ 
प्राकृतिक, आलिसान लुक्स, पारम्परिक सुन्दरताका लागि ‘वुडन फ्लोरिङ’ उपयोगी हुन्छ । घर वा कोठालाई प्राकृतिक ‘लुक्स’ दिनको लागि यसको छनोट गर्न सकिन्छ । यसले घरलाई प्राकृतिक ‘लुक्स’ दिन्छ । यस्ता ‘फ्लोरिङ’ स्वास्थ्यमैत्री पनि हुन्छन् । 

लगाउन सजिलो 
‘वुडन फ्लोरिङ’को आकर्षक ‘लुक्स’ र गुणस्तरको कारण धेरैले रुचाएका छन् । यसलाई सजिलै लगाउन सकिन्छ । यसको प्रमुख विशेषता भनेको यसमा ‘इन्सुलेटिङ’ क्षमता हुन्छ । यो लामो समयसम्म टिक्छ । यसलाई लगाउन धेरै समय खर्चनुपर्दैन । ‘इन्टरलक’ गरेर लगाउने भएकोले एक–अर्कासँग राम्रोसँग जोडिन्छ । ‘इन्टरलक सिस्टम’ भएकाले यसलाई झिक्न पनि गाह्रो हुँदैन । झिकेर फेरि अर्को लगाउन सकिन्छ । 

सानो कोठाका 
धेरैजसोले कोठा ठूलो र धेरै ठाउँ भएको मन पराउँछन् । त्यसका लागि ‘वुडन फ्लोरिङ’ सबैभन्दा उपयुक्त हुनसक्छ । यसले कोठालाई ठूलो देखाउँछ । सानो कोठा भएको महसुस गराउँदैन । किनभने यसले धेरै उज्यालोलाई तान्छ । 

कसरी हेरचाह गर्ने ?
जाडो महिनामा ‘हार्डवुड लोर’ (काठको) बिग्रने सम्भावना बढी हुन्छ । धेरै पानी र रसायनले सफा गर्नुहुँदैन । स्थायी रूपमा मौसम अनुकूल तापक्रम ‘सेट’ गर्ने ‘थर्मोस्टेट सेटिङ’ गर्नुपर्छ । यसले तापक्रम नियन्त्रण गर्छ । चिसो मौसममा ‘फ्लोर’ ओसिलो भएर बिग्रन सक्छ । त्यसैगरी, यस्तो ‘फ्लोर’मा चिसो वा फोहोर जुत्ता–चप्पल लगाएर हिँड्नु हुँदैन । सूर्यको प्रकाश धेरै समय पर्दा पनि ‘वुडन लोर’ को रंग उड्न सक्छ । त्यसैले यसबाट बच्न पर्दाको प्रयोग गर्नुपर्छ । 
धेरैजसोले ‘वुडन फ्लोर’ सफा गर्ने क्रममा गल्ती गर्दा पनि यो चाँडै बिग्रने हुनसक्छ । सफा गर्दा चिसो कपडाको प्रयोग धेरै गर्नुहुँदैन । यसले चमक चाँडै हराएर जान्छ । ‘फ्लोर’लाई धेरै भिज्न दिनुहुँदैन । ‘डिटर्जेन्ट’ र ‘वाक्स’ धेरै प्रयोग गर्दा पनि ‘फ्लोरिङ’ बिग्रन सक्छ । यसको चमक बनाइराख्न राम्रो कम्पनीको ‘वाक्स’ वा ‘फ्लोर क्लिनर’को प्रयोग गर्नुपर्छ । भुइँमा पानी वा फोहोर पोखिएमा नरम कपडाले पुछिदिनुपर्छ । ‘भ्याकुम क्लिनर’ वा कुचोले नियमित रूपमा सफा गर्न सकिन्छ । 


त्यस्तै, घरपालुवा जनावरको नङले कोतारेर बिगार्न सक्छ । घरपालुवा जनावर राखेको कोठामा यसको विशेष ध्यान दिनुपर्छ । फर्निचर एकठाउँबाट अर्को ठाउँमा सार्दा ‘वुडन फ्लोरिङ’ बिगार्न सक्छ । फर्निचर राखेको ठाउँमा पनि बिगार्न सक्छ । त्यसैले भुइँमा केही ओछ्याएर मात्र फर्निचर राख्नुपर्छ । साना बालबालिका भएका घरमा पनि ‘वुडन फ्लोरिङ’को विशेष हेरचाह गर्नुपर्छ । उनीहरूले कोर्ने, कोतार्ने भएकाले दाग बसेर चाँडै बिग्रन सक्छ । ‘वुडन फ्लोरिङ’ लाई धारिलो चीज र ज्वलनशील पदार्थबाट बचाउनुपर्छ । 

 Image