चिया नेपाली जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । बिहानको सुरुवात, दिउँसोको विश्राम वा बेलुकाको गफ, सबै ठाउँमा चिया मिसिन्छ । पछिल्लो दुई वर्षमा नेपाली सहरिया परिवारमा ‘घरमै टी कर्नर’ बनाउने चलन उल्लेखनीय रूपमा बढेको छ । यस्तो ठाउँ जहाँ परिवार, साथी वा स्वयंसँग एकान्त समय बिताउन सकियोस् ।
स्वास्थ्यप्रति सचेत बन्दै गइरहेको अहिलेको समयमा चियाको प्रयोग मात्र स्वादका लागि नभई स्वास्थ्यको फाइदाका लागि पनि बढ्दो छ । बजारमा ग्रिन टी, ह्वाइट टी, पर्ल टी, हर्बल टी, लेभेन्डर टीजस्ता विविध प्रकारका चिया सहजै उपलब्ध छन् । परिवर्तनशील जीवनशैलीसँगै घरमा टी कर्नर बनाउने चलन पनि बढ्दो छ ।
इन्टेरियर डिजाइनर सपना भुसालका अनुसार टी कर्नर अब आधुनिक नेपाली घरहरूको अभिन्न अंग बन्दै गएको छ । ‘टी कर्नर बनाउने ठाउँमा पानीको पहुँच हुनु आवश्यक छ,’ उनी भन्छिन्, ‘यदि त्यहाँ सिंकको व्यवस्था छ भने कपहरू सफा गर्न सजिलो हुन्छ ।’
भुसालका अनुसार, टी कर्नरमा बस्नका लागि एउटा स्टुल राखिदिँदा त्यहीँ चिया पकाउँदै गफ गर्न र चिया खाएर कप सफा गरी राख्न पनि सहज हुन्छ । ‘सेरामिक्स डिजाइन भएका कपहरू र डेकोरेटिभ आइटमहरूले टी कर्नरलाई अझ आकर्षक बनाउँछन्,’ उनले थपिन् ।
बजारमा पाइने विभिन्न चियाका प्याकेजिङ पनि सौन्दर्यका हिसाबले उपयोग गर्न सकिने भुसाल बताउँछिन् । ‘प्याकेजमा चियाको नामसँगै त्यसका फाइदा पनि उल्लेख गरिएको हुन्छ,’ उनी भन्छिन्, ‘यी प्याकेजलाई मिलाएर काउन्टरमा सजाउने हो भने पाहुनाले आˆनो स्वादअनुसार चिया छान्न सक्छन् ।’
टी कर्नरको रङ र डिजाइन घरको सम्पूर्ण इन्टेरियरसँग मेल खानुपर्ने हुन्छ । ‘हल्का रङ प्रयोग गर्दा सफा देखिन्छ, साथै काउन्टर टपमा मार्बल वा ग्रेनाइट जस्ता सामग्री प्रयोग गर्दा सफा गर्न सजिलो हुन्छ,’ उनी थप्छिन्, ‘चिया वा पानी पोखिए पनि यस्ता सतह सफा गर्न सहज हुने भएकाले यिनको प्रयोग बढ्दो छ ।’
घरको समग्र सौन्दर्यलाई ध्यानमा राखेर टी कर्नर डिजाइन गर्ने क्रम बढेको देखिन्छ । एक त यसले घरको एस्थेटिक भ्यालु बढाउँछ । तर त्यस्तो डिजाइन हुनु हुँदैन जसले पेन्ट, पोलिस वा अन्य इन्टेरियरमा असर पुर्याओस् ।
टी कर्नरको स्थानबारे भुसाल भन्छिन्, ‘यो किचनमा भन्दा पनि लिभिङ रुमको कुनामा, भर्याङको छेउमा रहेको खाली स्थानमा वा डाइनिङ नजिक बनाउनु उपयुक्त हुन्छ । यसले घरको मुख्य क्षेत्रलाई व्यवस्थित बनाउने मात्र होइन, प्रयोगात्मक सुविधासमेत दिन्छ ।’
स्वास्थ्यलाई प्राथमिकता दिने जीवनशैलीसँगै अब घरको डिजाइनमा टी कर्नर अनिवार्य बन्दै गएको छ । इन्टेरियर डिजाइनरहरूका अनुसार, सानो सोच र केही परिवर्तनले घरको एक कुनालाई स्वाद र सौन्दर्य दुवैको केन्द्र बनाइदिन सक्छ ।
लकडाउनको अभ्यास
यो ट्रेन्डको सुरुवात मुख्यतः कोरोनाकालको लकडाउनका बेला देखिएको हो । सामाजिक दूरी, बन्द चिया पसल र फुर्सदको समयले धेरैलाई आˆनो घरमै सानो चिया कर्नर बनाउने प्रेरणा दिएको हो । लकडाउनमा चिया पसल जान सक्दैन थियौं । त्यसैले भान्साको छेउमा सानो टेबल राखेर ‘टी कर्नर’ बनाउने देखिए । पछि त्यही चियाको ठाउँ हाम्रो घरको ‘ह्याङ आउट जोन’ बन्यो ।
इन्स्टाग्राम र इन्टेरियर डिजाइनको प्रभाव
घरभित्र टी कर्नर बनाउने क्रेजमा सामाजिक सञ्जालको भूमिका पनि उल्लेखनीय छ । इन्टेरियर डिजाइनसम्बन्धी पेजहरूमा चिया मेसिन, काठका स्ट्यान्डहरू र मिनिमलिस्टिक डिजाइनसहितका तस्बिरहरू भेटिन्छन् ।
कम लगानी
घरभित्र टी कर्नर बनाउन ठूलो खर्च चाहिँदैन । एउटा सानो मेच, दुईवटा कप होल्डर, एउटा ट्रे र केही बोटबिरुवा वा चित्रले काम चल्छ । इन्टेरियर डिजाइनर भुसालका अनुसार, सिर्जनशीलता भए दुई हजार रुपैयाँमै राम्रो टी कर्नर बनाउन सकिन्छ । अनि त्यो कुनाले घरको मुड नै बदलिदिन्छ ।
केमा ध्यान दिने ?
टी कर्नर केवल चिया पिउने ठाउँ होइन, व्यस्त जीवनशैलीमा केही मिनेट शान्तिको अनुभूति लिन सकिने ठाउँ पनि हो । यसले घरमा नयाँ ऊर्जा ल्याउन सक्छ । यस्तो ठाउँले केवल सौन्दर्य होइन, आत्मीयता पनि थप्छ ।
घरमा टी कर्नरु बनाउँदा केही महत्वपूर्ण कुरामा ध्यान पुर्याउनु आवश्यक हुन्छ । यहाँ घरमा टी कर्नर बनाउँदा विचार गर्नुपर्ने १० टिप्स प्रस्तुत गरिएको छ ।
१. ठाउँको छनोट
टी कर्नर शान्त र प्रकाशयुक्त र आरामदायी ठाउँमा बनाउनु उपयुक्त हुन्छ । झ्याल भएको, बिहान वा बेलुकीको घाम लाग्ने ठाउँ रोज्दा वातावरण नै सकारात्मक हुन्छ । बालकोनी, बार्दली, भान्साको छेउ वा बस्ने कोठाको कुना रोज्न सकिन्छ ।
२. आवश्यक फर्निचर
टी कर्नरमा ठूला फर्निचरको आवश्यकता हुँदैन । एउटा सानो टेबल (ट्रे राख्न मिल्ने) र आरामदायी कुर्सी वा स्टुलले नै काम चल्छ । पातलो गद्दी र कुसनले वातावरण अझ सौम्य बनाउँछ ।
३. सजावट
टी कर्नर सजाउँदा घरको इन्टेरियरअनुसार मिल्ने रङ, वस्तुहरू प्रयोग गर्नुपर्छ । साना इन्डोर प्लान्ट, पेन्टिङ, चिया–कप सजाउने स्ट्यान्ड वा मनपर्ने सन्देश लेखिएको बोर्ड राख्न सकिन्छ । जस्तैः इट्स टी टाइम, अलवेज टी टाइम, टी कर्नर, चिया घर, टी जोन आदि ।
४. प्रकाशको व्यवस्था
प्राकृतिक प्रकाशले टी कर्नरको सौन्दर्य थप्न मद्दत गर्छ । तर साँझपख पनि उपयोग गर्न सक्ने गरी हल्का उज्यालो दिने लाइट (जस्तैः टेबल ल्याम्प वा वार्म लाइट बल्ब) राख्नु राम्रो हुन्छ ।
५. सामग्रीमा सहजता
टी कर्नर नजिकै तातोपानी, चिया बनाउने मेसिन, थर्मस, ट्रे, कप र चिनी राख्न मिल्ने ठाउँ बनाउनुपर्छ । यस्तो गर्दा प्रयोग सहज हुन्छ । एउटा सानो सेल्फ वा ट्रली राखेर सबै सामग्री सजिलै पहुँचमा राख्न सकिन्छ ।
६. सरसफाइ
चिया पिउने ठाउँ सधैं सफा र आकर्षक हुनुपर्छ । प्रयोगपछि कप सफा राख्ने ठाउँ, नुनपानी वा कपडाले टेबल पुछ्ने बानीले टी कर्नरलाई सधैं स्वागतयोग्य बनाउँछ ।
७. व्यक्तिगत टच
टी कर्नर व्यक्तित्व बोल्ने ठाउँ हो । मनपर्ने किताब, साना मूर्ति, तस्बिर वा संगीत बज्ने सानो स्पिकरले यो कुनालाई व्यक्तिगत र आत्मीय बनाउँछ । आफैले बनाएको डिआईवाई सजावटका रूपमा प्रयोग गर्न सकिन्छ ।
८. उचित व्यवस्था
टी कर्नर खुला ठाउँ (जस्तैः बार्दली, छत) मा छ भने मौसमअनुसार परिवर्तन गर्न सकिने व्यवस्था हुनु आवश्यक छ । वर्षामा छानो, गर्मीमा पंखा वा हावा आउने व्यवस्था मिलाउनुपर्छ ।
९. गोपनीयता र शान्ति
टी कर्नरले ध्यान केन्द्रित गर्न र विश्राम गर्न सघाउ पुर्याउँछ । त्यसैले यो कुना अन्य गतिविधिबाट टाढा र शान्त राख्नु उचित हुन्छ । बालबालिकाहरूको खेल्ने ठाउँ, टिभी नजिक वा भान्सा–बाथरुम नजिक नराखेकै राम्रो हुन्छ । पर्दा वा पार्टिसन प्रयोग गरेर टी कर्नर छुट्याउन सकिन्छ ।
१०. प्रयोगको निरन्तरता
टी कर्नर बनाएपछि त्यसको प्रयोग गर्नुपर्छ । दिनको कुनै विशेष समय–बिहानको चिया, साँझको विश्राम– निर्धारण गरेर त्यसलाई नियमितता दिनुपर्छ । यस्ता नियमित क्रियाकलापले घरमा सकारात्मक ऊर्जा बढाउँछ । परिवारका सदस्यरूसँग टी टाइम सेसन मिलाएर सम्बन्ध मजबुत बनाउन सकिन्छ ।