लक्ष्मी खड्का, आर्किटेक्ट
ग्रीष्म ऋतु (गर्मी) मौसम पछि आउने तेस्रो प्रमुख ऋतु हो । नेपालमा वर्षायाम (मनसुन) जेठदेखि असोजसम्म रहन्छ । धेरै गर्मीपछि आउने वर्षायामले शीतलताको आभाष दिन्छ । गर्मीबाट राहत मिल्नुका अलावा चारैतिर हरियाली पनि छाउँछ । किसानहरू र खेतीपातीका लागि त वर्षायाम ठूलो वरदान नै हो । कसैका लागि वरदान साबित भएको वर्षायाम भौतिक संरचनाहरूका लागि भने चुनौतीपूर्ण समय मानिन्छ ।
मुसलधारे वर्षा, बाढी, पहिरो र चट्याङले घरमा क्षति पुग्न सक्छ । धेरै वर्षाका कारण घरका विभिन्न भागमा पानी चुहिने र बाढीपहिरोबाट विभिन्न जटिल समस्याको सामना गर्नुपर्ने पनि हुन्छ । त्यसैले, वर्षा सुरु हुनुअघि नै घरको उचित सुरक्षा र मर्मत–सम्भार गर्नुपर्छ ।
वर्षा सुरु हुनुअघि नै छतको मर्मत गर्नुपर्छ । पानी जम्ने ठाउँ, चिरा परेको ठाउँ र स–साना प्वालहरू भए त्यस्ता प्वालहरूलाई सिमेन्ट वा वाटरप्रुफिङ केमिकलहरूको प्रयोग गरेर टाल्नुपर्छ ।
छतको पानी जाने पाइप (ड्रेन पाइप) मा पातपतिङ्गर वा फोहोर जमेर पानी जम्ने समस्या हुने भएकाले छत र पाइपलाइन सधै सफा राख्दा राम्रोसँग पानी बग्छ ।
पर्खाल र ओस
अविरल वर्षाका कारण पर्खालमा ओस लाग्ने र ढुसी पर्ने सम्भावना हुन्छ । यसबाट बच्न राम्रो गुणस्तरको ‘ड्याम प्रुफ’ पेन्ट वा प्राइमर प्रयोग गर्नुपर्छ । पेन्टले घरलाई सुन्दर बनाउँछ र घरको सुरक्षा कवचको काम पनि गर्छ ।
बाहिरी पर्खालमा कुनै चिरा वा चोइटा परेको भए टालिदिँदा पानी भित्र पस्न पाउँदैन ।
ढोका र झ्यालको सुरक्षा
वर्षाको पानीले काठका ढोका र झ्यालहरू फुल्ने वा बिग्रिने हुन्छन् । यसबाट बचाउन काठका झ्यालढोकामा राम्रो खालको ‘वार्निस’ वा पेन्ट लगाउनुपर्छ ।
आल्मुनियमका झ्यालढोका भएमा
आल्मुनियमका झ्यालढोकाहरूमा खिया लागेको भए खियामुक्त पेन्ट प्रयोग गर्नुपर्छ ।
झ्यालहरूमा ‘वेदर स्ट्रिपिङ’ को प्रयोग गरेर पनि घरभित्र पानी र हावा छिर्नबाट रोक्न सकिन्छ ।
वर्षायाममा बिजुलीको जाँच गर्नुपर्छ ।
घरमा पुरानो वाइरिङ भएको खण्डमा वर्षाअघि नै राम्ररी जाँच गराउनुपर्छ । ओसका कारण बिजुली सर्ट हुने खतरा बढी हुन्छ । घरको अर्थिङ सिस्टम ठीक छ कि छैन भनेर पनि जाँच गराउनुपर्छ ।
यसले मेसिनहरूलाई करेन्टबाट बचाई सुरक्षा प्रदान गर्छ । सकेसम्म हरेक पावर बोर्डका लागि बेग्लै फ्युज प्रयोग गर्नु राम्रो हुन्छ । साथै समय–समयमा विज्ञबाट विद्युतीय सरसामानको जाँच गराउनुपर्छ ।
बाह्य सुरक्षा र सावधानीपछि आन्तरिक सावधानीमा पनि ध्यान दिनुपर्छ ।
पानी पर्दा झ्यालढोकाहरू बन्द भइराख्ने हुनाले घरभित्र ओस लाग्न नदिन ‘ड्युमिडिफायर’ को प्रयोग गर्नु उचित हुन्छ । पानी नपर्दा र घाम लाग्दा कोठाहरूका झ्यालढोका राम्रोसँग खुला राखेर घरभित्र भेन्टिलेट गर्नुपर्छ ।
वर्षाका कारण झ्यालढोकाका काठ फुलेका छन् भने त्यसमा मैन रगड्दा काठ फुल्न रोकिन्छ ।
काठका फर्निचर, बुक र्याक, सो–केस, टेलिभिजन र्याक आदि झ्याल नजिक राखिएका भए पानीका कारण बिग्रन सक्छन् । तसर्थ त्यस्ता सामानको ठाउँ परिवर्तन गर्नु उचित हुन्छ ।
घरको कुनै कोठामा पानी चुहिन्छ भने त्यसलाई रोक्न प्लास्टर अफ पेरिस वा ह्वाइट सिमेन्टले बन्द गर्नु उपयुक्त हुन्छ ।
वर्षायाममा जाडो मौसममा जस्तै हरेक स्पेसमा कार्पेट ओछ्याउनु आवश्यक हुँदैन, आवश्यकता भएको स्पेसमा मात्र कार्पेटको प्रयोग गर्नुपर्छ, नत्र भुइँको फ्लोरिङ र कार्पेट ओसिलो हुने सम्भावना धेरै हुन्छ ।
मनसुनका लागि हल्का र धुन–सुकाउन सजिलो हुने कार्पेटको चयन गर्नुपर्छ । सकेसम्म उज्यालो कलरको र मेसिनमेड कार्पेटको छनौट गर्नु उपयुक्त हुन्छ । धेरै ओस लाग्ने ठाउँमा कोठाको कार्पेटको तल अखबार ओछ्याउनुपर्छ । अखबारले वर्षाका कारण आउने ओसलाई सोस्न सहयोग पुर्याउँछ ।
सोफाका कभरहरू पनि हल्का किसिमको छनौट गर्नुपर्छ । यसो गर्नाले पानीले ओसिलो भएको खण्डमा धुन र सुकाउन सजिलो हुन्छ । सोफाको कभरको कलर भने रुमको इन्टेरियरसँग म्याच गरेर राख्नुपर्छ ।
ओछ्यानको तन्ना (बेडसिट) र सिरानीका खोल समय–समयमा धोएर सफा गर्नुपर्ने हुनाले हल्का र चाँडै सुक्ने खालका प्रयोग गर्नुपर्छ ।
काठका फर्निचरहरू ओसबाट जोगाउन वाटर रेजिस्टेन्ट स्प्रे प्रयोग गर्नुपर्छ भने मेटलबाट बनेका फर्निचरको सुरक्षाका लागि इनामेल पेन्ट अथवा रस्ट रेजिस्टेन्ट रेड अक्साइड लगाउनुपर्छ ।
फर्निचरहरूलाई ओसबाट जोगाउन नियमित रूपमा सुख्खा कपडाले पुछेर सफा गर्नुपर्छ ।
काठका दराजसँगै फलामका फर्निचरमा पनि ओसका कारण दुर्गन्ध आउँछ । मौसम सफा भएको दिन झ्यालसँगै दराजका ढोका पनि खोलेर खुल्ला छोड्नुपर्छ । साथै कपूरको टुक्रा वा ओडोनिल राख्दा पनि ओस लाग्दैन र कपडाहरू कीराबाट सुरक्षित हुन्छन् ।
रुमलाई फ्रेस राख्न कहिलेकाहीँ रुम फ्रेस्नर स्प्रे पनि गर्नुपर्छ । घरको मुख्य प्रवेशद्वारमा प्रयोग गर्ने डोर म्याट पानी सोस्ने खालको हुनुपर्छ ।
साथै घरबाहिर र भित्र प्रयोग गरिने जुत्ता–चप्पल अलग्गै हुनु अनिवार्य हुन्छ ।
घरको आन्तरिक भाग जस्तै बाह्य भागको पनि उचित सम्हार र सावधानी अपनाउनु जरुरी हुन्छ । घर वरिपरि पानी जम्न नदिन खाडलहरू पुर्नुपर्छ ।
वर्षाअघि ढलको जाँच गर्नुपर्छ । ढल बग्न अवरुद्ध भएमा तुरुन्तै सफा गर्दा घरभित्र पानी पस्न पाउँदैन ।
वर्षायामको सुरुवातअघि नै घरको इन्सपेक्सन नियमित रूपमा निरीक्षण र परीक्षण गरी सानातिना मर्मतसंहार समयमै गर्दा ठूलो क्षति हुनबाट बच्न सकिन्छ ।
ऋतुहरूको परिवर्तनसँगै हरेक समय, परिस्थिति र चुनौतीलाई हामीले आत्मसात् गर्दै जानुपर्छ । पूर्वतयारी र सतर्कता अपनाएर वर्षायाममा घरको सुरक्षा गर्ने होइन त ?