जाडो महिनाको आगमनसँगै घरभित्रको वातावरण नै परिवर्तन हुन्छ । झ्याल वा ढोकाबाट छिर्ने थोरै हावाले पनि कोठा एकाएक चिसो बनाइदिन्छ । हिटर र ब्लोअर मात्र समाधान होइनन्, घरलाई समग्र रूपमा तातो, सुरक्षित र ‘कोजी’ बनाउने धेरै स्मार्ट उपाय छन्, जुन व्यावहारिक, किफायती र वातावरणमैत्री पनि छन् । अहिलेको आधुनिक इन्टेरियर ट्रेन्डले पनि यिनै उपायलाई प्राथमिकतासाथ अपनाइरहेको छ ।
जाडोमा घरलाई तातो राख्ने स्मार्ट उपायहरू, जुन नेपाली घर–परिवारका लागि एकदम उपयोगी हुन सक्छन् ।
थर्मल कर्टन
जाडोमा घरभित्र झ्यालबाट चिसो पस्छ । काँचको सतहले तापक्रम छिट्टै घटाउँछ । जसले घरभित्र पनि चिसो महसुस हुन्छ । यही कारण अहिले थर्मल कर्टन निकै लोकप्रिय छन् । झ्यालबाट छिर्ने चिसोलाई ‘ब्लक’ गर्ने सजिलो उपाय भनेको थर्मल कर्टन हो ।
यसमा प्रयोग हुने मोटो र इन्सुलेसनयुक्त फेब्रिकले बाहिरको चिसो भित्र पस्न दिँदैन र तातो हावालाई कोठाभित्र राखेर न्यानो बनाइराख्छ । नेपाली बजारमा पनि यो विभिन्न डिजाइन र रंगमा उपलब्ध छ । यसको प्रयोगले हिटर चलाउँदा ऊर्जा बचत हुन्छ ।
कार्पेट/रग्स
नेपाली घरहरूमा टायल्स वा मार्बल फ्लोरिङ बढ्दै गएको छ । तर यसको प्रयोगले जाडोमा झनै चिसो बनाउँछ । यस्तो चिसो फर्सले कोठाको तापक्रमलाई पनि घटाइदिन्छ । त्यसैले, रग्स लेयरिङ अहिले इन्टेरियर डिजाइनमा ट्रेन्ड बनेको छ । एउटा ठूलो एरिया रग र त्यसैमाथि सानो प्याटर्न रग राखेर बनाइन्छ । जसले गर्दा खुट्टामा चिसो लाग्दैन । कोठाको तापक्रम बढाइदिन्छ । साथै इन्टेरियरलाई लग्जरियस लुक दिन्छ । विशेषगरी ऊन वा फेल्टबाट बनेका नेपाली हस्तनिर्मित रग्स जाडोका लागि धेरै उपयुक्त हुन्छन् ।
ड्राफ्ट स्टपर
ढोका वा झ्यालको सानो फाकाबाट पस्ने चिसो हावा नै घरभित्रको तातोपन घटाउने मुख्य कारण हो । ड्राफ्ट स्टपर एक साधारण तर चमत्कारी उपाय हो । यो ढोकाको तल राखिने सिलिन्डर–आकारको मोटो कपडाको रोल जस्तो हुन्छ । जसले चिसो हावा रोक्न सघाउँछ । हिटर वा ब्लोअर चलाउँदा निस्किएको तातो हावा बाहिर निस्कन दिँदैन । घरभित्रको तापक्रम कायम रहन्छ । नेपाली बजारमा ड्राफ्ट स्टपरहरू सुलभ मूल्यमा पाइन्छन् ।
लेयर्ड बेडिङ
जाडो महिनामा बेडरुम घरकै सबैभन्दा कोजी स्पेस हुनुपर्ने अपेक्षा हुन्छ । त्यसका लागि ‘लेयर्ड बेडिङ’ धेरै प्रभावकारी उपाय हो । लेयरिङमा सामान्यत: बेडसिट, फ्लेनर सिट, क्युल्ट, डुभेट, वुलन थ्रो राखिन्छ । यसले केवल न्यानोपन मात्र दिन्छ भन्ने होइन, कोठा हेर्दा पनि आकर्षक देखिन्छ । फ्लेनल, फ्लिस र कटन पोली ब्लेन्ड फेब्रिक प्रयोग गरेको बेडिङ जाडोको तापमानका लागि उत्तम मानिन्छ ।
न्यानो लाइटिङ
न्यानो महसुस गराउन फर्निचर वा कपडासँगै लाइटिङ पनि हो । जाडोमा न्यानो तापक्रमको प्रकाश (२७००–३०००के) प्रयोग गर्दा कोठा स्वाभाविक रूपमा तातो देखिन्छ र मनोवैज्ञानिक रूपमा पनि न्यानो महसुस हुन्छ । वार्म लाइटिङका लागि वार्म एलइडी बल्ब, फ्लोर लेम्प, कर्नर लेम्प, फेरी लाइट्स, टेबल लेम्प फेब्रिक सेड्स भएको प्रयोग गर्न सकिन्छ ।
अहिले बजारमा पाइने हिमालयन साल्ट लेम्प्सले पनि कोठामा सफ्ट ग्लो दिने र न्यानोपन बढाउने मान्यता छ ।
प्राकृतिक इन्सुलेसन
काठ र कपडा दुवै प्राकृतिक इन्सुलेटर हुन् । घरलाई दीर्घकालीन रूपमा तातो राख्ने र ऊर्जा खर्च घटाउने दिगो समाधान भनेको प्राकृतिक इन्सुलेसन हो । वातावरणमैत्री, स्वास्थ्यका लागि सुरक्षित र भरपर्दो ताप–नियन्त्रण उपायका रूपमा विश्वभर यसको माग बढ्दो छ ।
प्राकृतिक इन्सुलेसन भन्नाले घरको भित्ता, छाना वा फ्लोरमा पूर्णतया प्राकृतिक स्रोतबाट बनेका सामग्री प्रयोग गरेर तापक्रमलाई सन्तुलित राख्ने प्रविधिलाई जनाउँछ । यसले घरलाई जाडोमा तातो र गर्मीमा चिसो राख्छ । यसमा रसायन कम हुन्छ र वातावरणसँग तालमेल राख्ने क्षमता बढी हुन्छ ।
इन्डोर प्लान्ट
धेरैलाई लाग्ला बिरुवा त चिसो मौसममा झनै मर्न थाल्छ, घरलाई न्यानो कसरी बनाउँछ ? तर इन्डोर प्लान्टस्ले घरलाई न्यानो बनाउने कुरा प्रमाणित भइसकेको छ । हरियालीले कोठालाई जीवन्त, सन्तुलित र न्यानो महसुस गराउँछ । जाडोमा सजिलै टिक्ने बिरुवा स्नेक प्लान्ट, जेड प्लान्ट, रबर प्लान्ट, एरिका प्लाम, स्पाइडर प्लान्ट आदि हुन् । यी बिरुवाले चिसो पनि कायम राख्छन्, जसले चिसो मौसममा कोठा सुख्खा हुन दिँदैन ।
हट वेभरेज कर्नर
जाडोमा चिया, कफी वा तातोपानी एकदमै आवश्यक हुन्छ । आधुनिक इन्टेरियरमा अब मिनी टी कर्नर वा कफी स्टेसन जाडोकै एक ट्रेन्ड बन्न थालेको छ । भान्साको कुनै एक कुनामा इलेक्ट्रिक जग, कफी जार, वुडन ट्रे, क्यान्डिल स्टेन्ड र कपहरू राखेर सजाउन सकिन्छ । यसले भान्सा स्वागतयोग्य र कोजी महसुस हुन्छ ।
हिटरलाई सही ठाउँमा राख्ने
धेरैजसोले हिटर किनेर उपयोग त गर्छन्, तर त्यसलाई सही ठाउँमा कसरी राख्ने भन्ने ज्ञान हुँदैन । हिटरलाई भित्तामा टँसाएर राख्नु हुँदैन । झ्याल वा ढोकाको छेउमा राख्नु हुँदैन । कोठाको बीचको भागमा घुम्ने मोडमा चलाउँदा ऊर्जा बचत हुन्छ र कोठा छिटो न्यानो हुन्छ ।
भेन्टिलेसनको सही समय
जाडोमा झ्याल बन्द, ढोका पूरै बन्द गर्नु सबैभन्दा ठूलो गल्ती हो । किनकि कोठाभित्र जमेको चिसो हावा बाहिर निस्कन पाउँदैन । जसले चिसो लाग्नुको साथै कोठा थप चिसो महसुस हुन्छ । दिउँसोको ११–३ बजेको तातो समयमा झ्यालढोका दश मिनेट खुला राख्नुपर्छ तर रातमा झ्याल पूर्ण बन्द राख्नुपर्छ । यसरी नियन्त्रित भेन्टिलेसनले न्यानोपन कायम राख्न मद्दत गर्छ ।
सुगन्धले दिन्छ मानसिक न्यानोपन
जाडोमा सिनामोन, भेनिला, सेडरवुड, पाइन, सेन्डलवुडको सुगन्धले घरमा अप्रत्याशित रूपमा न्यानोपन थप्छ । वासनादार क्यान्डलले कोठाको वातावरण बदलिदिन्छ ।