Successfully Copied

नयाँ वर्षको स्वागत घरबाटै

आफ्नो घर, काम गर्ने स्थान मात्र नभई टोल र सहर नै सफा भए मात्र मन सफा हुन्छ, नयाँ ऊर्जा, फुर्ती र जाँगर उत्पन्न हुन्छ ।


नयाँ वर्षको दिन यो काम गर्ने, यसरी मनाउने, यता जाने, साथीभाइहरूसँग जमघट गर्ने भन्ने तय सबैले पहिले नै गरिरहेका हुन्छौं । नयाँ वर्षको स्वागत हामीमध्ये कसैले साथीभाइसँग बाहिर घुमघाम गर्दै त कसैले आफ्ना साथीभाइ र परिवारसँग घरमै बसी रमाइलो गर्ने सोच बनाएका छौं होला ।
घर भन्नु नै जीवनभरिको पुँजी लगाएर बनाएको आफ्नो सपनाको संसार हो । यति दु:ख गरेर निर्माण गरेको आफ्नो घरसँग हामी सबैको एउटा छुट्टै किसिमको आत्मीयता जोडिएको हुन्छ । दिनभरिको कामले थाकेर आउँदा थकाइ मेटाई आनन्द दिने पनि घर, साथै हर्षका हुँदै खुसी र प्रफुल्लित हुँदै खुशी साट्न आउने स्थान पनि हाम्रो लागि घर नै हो । जन्मदेखि मृत्युसम्म जीवनको हरेक हाँसो, आँसु, सुख र दु:खको भारी बिसाउने हाम्रा लागि घर नै हो । तसर्थ हामी पनि नयाँ वर्षको सुरुवात घरबाटै गर्ने पो हो कि ?
जापानीहरू नयाँ वर्षलाई ठूलो चाडका रूपमा लिन्छन् । नयाँ वर्षलाई जापानी भाषामा ‘ओस्योउगाचु’ भन्छन् । जापानीहरूले नयाँ वर्षको स्वागत खुसीका साथ गर्छन् । त्यसैले नयाँ वर्षको स्वागतको तयारी सर्वप्रथम आफ्नो भवन, घरबाटै गर्छन् । भवन भन्नाले यहाँ यिनीहरू आफू बस्ने बासस्थान मात्र नभई आफूले पढ्ने स्कुल, कलेजदेखि लिएर आफूले काम गर्ने कार्यालय सबै नै ओगटेका हुन्छन् । तसर्थ नयाँ वर्षको आगमन हुनु दुई–तीन हप्ताअघिदेखि नै घर–भवनको सरसफाइ गर्न थाल्छन् । घरभित्रका हरेक कुनाकाप्चाको फोहोर निकाली घरभित्र–बाहिर सबैतिर सफा गर्छन् । घरभित्र फोहोर र नचाहिने सामान राख्नु भन्नु नै घरभित्र नकारात्मक ऊर्जा निम्त्याउनु हो । तसर्थ घरबाहिर आँगन, कौसी, बरन्डादेखि लिएर पार्किङ, बगैंचा सबै सर–सफाइ गर्छन् ।
सरसफाइ गर्नुलाई जापानी भाषामा ‘सोजी सुरु’ भनिन्छ । साथै सकिएको खण्डमा घरको भित्ताको मर्मतका साथै वाल पेपरदेखि लिएर भुइँको फ्लोरिङ पनि फेर्नुपर्ने स्थिति रहेमा फेर्ने काम पनि गरिन्छ । यतिमात्र नभई पुराना र बिग्रन लागेका, बिग्रेका फर्निचरहरू मर्मत गरेर अथवा नयाँ किनेर फेरबदल पनि गरिन्छ । नयाँ वर्षको स्वागत घरबाट भनेझैं घरको कुनै पनि कुनाकाप्चामा फोहोर बस्न दिइँदैन ।
घर मात्र नभई नयाँ वर्षको बिदाको अघिल्लो दिन स–साना विद्यार्थीहरूदेखि लिएर वयस्कहरू पनि आ–आफ्नो विद्यालय र कर्मस्थानको सरसफाइमा जुटेका हुन्छन् । स्कुलदेखि कलेज पढ्ने विद्यार्थीहरू पनि आफ्नो डेस्क, बेन्च, जुत्ता राख्ने ठाउँदेखि लिएर आफ्नो कोठासम्म पनि आफैले सफा गर्छन् । अफिसका सानादेखि ठूला कर्मचारीहरू पनि आफ्नो कार्य क्षेत्रभित्र पर्ने स्पेसमा नयाँ वर्षदेखि धेरै जोस, जाँगर र सकारात्मक ऊर्जा ल्याओस् भन्दै फोहोर र नचाहिने सामग्रीलाई केलाउँदै जान्छन् ।
घर कार्यक्षेत्र मात्र नभई टोल, सहर र देशमै सर सफाइलाई मुख्य प्राथमिकता दिइन्छ । सबैजना मिलेर पार्कदेखि लिएर बाटोघाटोमा जम्मा भएका फोहोरको सरसफाइ गर्छन् । नचाहिँदो तरिकाले हुर्केका–बढेका बोटबिरूवा र रुखका हाँगाहरू काटिनाले पनि टोल र सहर सुन्दर र मनमोहक देखिन्छ । घरमा, घरवरिपरि र पूरा सहर नै सफासुग्घर गरी उज्याला बत्तीहरूले झलमल्ल पारिन्छ । यहाँको सुन्दरता देख्दा स्वर्गको एउटा टुक्रा धर्तीमा झरेजस्तै लाग्छ ।
जापानीहरू आफ्नो घर, काम गर्ने स्थान मात्र नभई टोल र सहर नै सफा भए मात्र मन सफा हुन्छ, नयाँ ऊर्जा, फुर्ती र जाँगर उत्पन्न हुन्छ भन्ने ठान्छन् । सायद यही सोचाइका कारण वर्षभरि थुप्रिएका अनावश्यक सामानहरू पन्छाई घर वरिपरि सफा र सुन्दर बनाउनु नै नयाँ वर्षको मुख्य महत्व र विशेषता ठान्दछन् । त्यसपछि नयाँ वर्षको मध्यरातदेखि नयाँवर्षको दिनभरि मन्दिरमा भगवान्को दर्शन गर्न जान्छन् ।
अब आउने नयाँ सालले खुसी, उमङ्ग र नयाँ ऊर्जा ल्याओस् भनी पूर्ण आस्थाका साथ भगवान्सँग प्रार्थना गर्छन् ।
साँच्चै नै बस्ने घर र काम गर्ने स्थानले पनि मानिसको व्यक्तित्व विकासमा निकै असर पार्दछ । वास्तु शास्त्र र फेङ सुईमा पनि घर र आफूले काम गर्ने ठाउँलाई सफासुग्घर गरी अनावश्यक चीजहरूबाट मुक्त गरायांै भने घरमा सुख, शान्ति र समुद्धि ल्याउँछ । नयाँ ऊर्जाको विकास गर्छ भनेर उल्लेख गरिएको छ ।
चाडपर्वका अलावा हामी पनि घरलाई सफासुग्घर गरौं । बिग्रिएका, भत्किएका वा काम नलाग्ने चीजहरूको मर्मत गरी अनावश्यक सामानहरू हटाउँm । घर/भवनभित्र सकारात्मक ऊर्जाको विकास गर्दै मन र मस्तिष्कमा नयाँ जोस र जाँगर उत्पन्न गराउँदै यो नयाँ वर्षको स्वागत गरांै । 

 Image