Successfully Copied

लोकप्रिय बन्दैछ मोड्युलर किचन

अब किचन केवल खाना पकाउने ठाउँ होइन, जीवनशैलीको अभिन्न अंग हो । पछिल्ला केही वर्षमा नेपालमा मोड्युलर किचन यही सोचका साथ लोकप्रिय बन्दै गएको छ ।

नयाँ घर बनाउनेहरू, पुरानो भान्सा परिमार्जन गर्नेहरू र सहरी जीवनशैली अपनाउने धेरै नेपाली अब मोड्युलर किचन रोज्न थालेका छन् । कारण एउटै–सजिलो, सुन्दर र स्मार्ट भान्सा ।
- अर्पना श्रेष्ठ
इन्टेरियर डिजाइनर,  किचन कन्सेप्ट

के हो मोड्युलर किचन ?
मोड्युलर किचन भन्नाले किचनलाई पूर्वनिर्मित मोड्युलहरूमा विभाजन गरेर बनाइने किचन हो, जुन सजिलै जडान र मर्मत सम्भव हुन्छ । यसमा क्याबिनेट, ड्रयर, सिंक, होब, चिम्नी सबै मिलेर एक संरचित स्वरूप दिइन्छ । यी सबै मोड्युलहरू ठाउँ र आवश्यकताअनुसार बनाउन सकिन्छ ।

किन मोड्युलर किचन रोज्दै छन् नेपाली ?
आजको पुस्ताले भान्सालाई जीवनशैलीको सुगमता र सौन्दर्यसँग जोडेको देखिन्छ । सहरी व्यस्तता, समय अभाव, कम ठाउँको सदुपयोग र सजिलो व्यवस्थापन मोड्युलर किचनको प्रमुख आकर्षण हो ।
मोड्युलर किचन विशेषगरी गर्भवती महिला, वृद्धवृद्धा, बालबालिकासहितको परिवार र जागिरे महिलाहरूका लागि सहज हुन्छ । किचनमा समय बचत हुनुका साथै आवश्यक सामग्री सजिलै भेटिने भएकाले पुरुषहरूको समेत किचन सहभागिता बढ्दो छ ।

केमा ध्यान दिनुपर्छ ?
इन्टेरियर डिजाइनरहरूका अनुसार सस्तो र आकर्षक देखिने तर कम टिकाउ सामग्री छान्दा पछि समस्या आउन सक्छ । अनुभवी प्राविधिकबाट मात्र मोड्युलर किचन जडान गराउनुपर्छ । सफ्ट क्लोजर प्रयोग गर्दा क्याबिनेट र ड्रयर सजिलै बन्द हुन्छ तर गलत तरिकाले खोल्दा र बन्द गर्दा चाँडै बिग्रिने जोखिम हुन्छ ।
किचन बनाउँदा ध्यान दिनुपर्ने कुरा भनेको वर्क ट्याङ्गल हो । यसमा तीन वटा मिक्स हुन्छ । कुकिङ, सिंक, फ्रिज । यी कुराको दूरी र स्थान सन्तुलित राख्न जरुरी छ । यदि यी तीन ठाउँ गलत ढाँचामा राखिए भने किचनमा हिँडडुल अत्यधिक हुन पुग्छ र काम गर्दा थकान बढ्छ ।

कस्तो मोड्युलर किचन बनाउने ?
नेपालमा अहिले स्टिल बास्केट, ग्रेनाइट, टायल, मार्बल र बास्टेक स्टिल प्रख्यात छन् । स्टिलमा ‘एसएस ३०४’ ग्रेड सबैभन्दा राम्रो मानिन्छ जुन खिया लाग्दैन र लामो समय टिक्छ । सानो र भाडाको घरका लागि मोड्युलर किचन उपयुक्त हुन्छ किनभने यसलाई सार्न सकिन्छ । भाडामा बस्नेहरूले पनि पाँच÷दश वर्षका लागि किचन सेटअप गर्न सक्ने भएकाले मोड्युलर किचन लोकप्रिय बन्दै गएको छ ।
पहिले किचन सिम्पल र प्लाइको ड्रयरमा सीमित थियो, अहिले ‘ग्लोसी’ प्लेन लेमिनेट र एक्रिलिक प्रयोग भइरहेका छन् । गाढा रङ सानो र अँध्यारो कोठामा उपयुक्त हुँदैन, उज्यालो रङले किचन ठूलो र सफा देखिन्छ ।

नयाँ ट्रेन्ड
अहिले धेरै घरमा लिभिङ, डाइनिङ र किचन एउटै खुला स्पेसमा डिजाइन गरिन्छ । यस्तो अवस्थामा किचनको रङ र डिजाइन घरको सम्पूर्ण इन्टेरियरसँग मेल खानुपर्छ ।
साथै, नयाँ प्रविधि प्रयोग गरेर किचनमा ‘ब्रेकफास्ट टेबल’ जोडिएको छ जसमा उभिएर खाना पकाउन र बसेर तयारी गर्न सकिन्छ । किचनमा काम गर्नेलाई सहकार्य गर्न र सामग्री सजिलै मिलाउन सहज भएको छ ।

मर्मत र हेरचाह
मोड्युलर किचन टिकाउ र सुन्दर बनाइए पनि यदि सही हेरचाह गरिएन भने चाँडै बिग्रिन सक्छ । किचनको सरसफाइ र सामग्रीको सही उपयोग अत्यावश्यक हुन्छ । डिजाइनरहरूका अनुसार एकै प्रकारको किचन कसैको १० वर्षसम्म राम्रो चलेको छ भने कसैको ४ वर्षमै बिग्रिएको उदाहरण छन् ।
मोड्युलर किचन बनाउँदा प्राविधिक सल्लाह, समयमै योजना र सही सामग्री छनोट गर्नु जरुरी हुन्छ । किचनको सौन्दर्य, सुविधा र टिकाउपन मिलेको मोड्युलर किचन अब केवल ‘लक्जरी’ नभई, ‘आवश्यकता’ बन्दै गएको छ ।
पछिल्ला केही वर्षमा नेपालमा मोड्युलर किचन लोकप्रिय बन्दै गएको छ । विशेषगरी नयाँ घर बनाउनेहरू, पुरानो भान्सा परिमार्जन गर्न चाहनेहरू र सहरी जीवनशैलीमा रमाइरहेका नेपालीहरूबीच यसको आकर्षण तीव्र रूपमा बढेको छ ।

 Image