Successfully Copied

बच्चाको कोठा 

अन्य कोठाको तुलनामा बच्चाको कोठाको सजावट गर्न धेरै गाह्रो हुन्छ । बच्चाको कोठामा कार्टुनका केही चित्र, रेडियम स्टिकर्स, केही एसेसरिज राखेर मात्र पुग्दैन । उनीहरूको कोठालाई नयाँ र चिटिक्क परेको बनाउनु जरुरी हुन्छ । प्रायः कुनै एक थिम बनाएर बच्चाको कोठा सजावट गर्न सकिन्छ । 

अन्य कोठाको तुलनामा बच्चाको कोठाको सजावट गर्न धेरै गाह्रो हुन्छ । बच्चाको कोठामा कार्टुनका केही चित्र, रेडियम स्टिकर्स, केही एसेसरिज राखेर मात्र पुग्दैन । उनीहरूको कोठालाई नयाँ र चिटिक्क परेको बनाउनु जरुरी हुन्छ । प्रायः कुनै एक थिम बनाएर बच्चाको कोठा सजावट गर्न सकिन्छ । 
फोर्ट आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइनका सह–संस्थापक जयजेन्द्र श्रेष्ठ बच्चाको कोठालाई  उनीहरूको व्यक्तित्व झल्काउने गरी सजाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘बच्चाको कोठा सजावट गर्दा उनीहरूको मनोविज्ञानलाई बुझ्नु आवश्यक छ ।’ बच्चाको रुचि र आवश्यकतालाई ध्यानमा राखेर कोठाको डिजाइन गर्नुपर्ने हुन्छ । 
त्यस्तै, बच्चाको कोठा डिजाइन गर्दा उसको उमेरलाई पनि ध्यान दिनुपर्छ । फर्निचर र र्‍याकको डिजाइन उसको उचाइअनुसार बनाउनुपर्छ । जसकारण बच्चालाई आफ्ना सामान निकाल्न र मिलाउन सहज हुन्छ र यी काममा ऊ आत्मनिर्भर बन्छ । बच्चा आफ्नो कोठा सुत्नका लागि मात्र प्रयोग गर्दैन । जयजेन्द्रका अनुसार बच्चाको कोठा सजावट गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ । 

रंगमा भिन्नता नगरौं
प्रायः कोठामा छोरा भन्नेबित्तिकै नीलो र छोरीका लागि गुलाबी रंगको प्रयोग गर्ने चलन छ । अब यो सोचबाट अलग रहेर सोच्न सकिन्छ । त्यसको साटो हल्का रंगको प्रयोग गर्न सकिन्छ अथवा बच्चाको सहायता लिन सकिन्छ । कुनै एउटा भित्तामा चहकिलो रंग गरेर अरु भित्तामा हल्का र सादा रंग लगाउँदा कोठा आकर्षक देखिन्छ । उसको रुचिअनुसारको रंग लगाउँदा बच्चा रमाउँछ । वास्तु विज्ञानअनुसार पनि कोठाको रंग गर्न सकिन्छ । यसले बच्चामा सकारात्मक ऊर्जा पैदा गराउँछ । 

सोचेर फर्निचर छनोट गरौं
धेरैले बच्चाको कोठाका लागि फर्निचरको छनोट गर्दा गाढा रंग प्रयोग गर्छन् । यस्ता फर्निचरले बच्चालाई खुसी बनाउँदैनन् । त्यसैले रंगीन फर्निचरको छनोट गर्नुपर्छ । बजारमा पाइने कार, बार्बी डलजस्ता डिजाइनका बेड छनोट गर्न सकिन्छ । किंग साइजको बेड भन्दा सिंगल वा मिडियम साइजको बेड राख्न सकिन्छ । यसले कोठाको धेरै ठाउँ ओगट्दैन । बच्चाको खेल्ने सामग्री राख्नका लागि स्टोरेज र्‍याक राख्नुपर्छ । बच्चालाई पढ्न–लेख्न सजिलो बनाउनका लागि स्टडी टेबल राख्नुपर्छ । 

कोठाको वातावरण पढ्न योग्य बनाऔं 
बच्चाको व्यक्तित्व विकासका लागि आसपासको वातावरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले बच्चाको कोठाको सजावट शैक्षिक वातावरण भएको बनाउनुपर्छ । त्यसको अर्थ कोठाको भित्तामा चार्ट पेपर, बोर्डस् वा जानकारी दिने खालको नक्सा राख्नु मात्र होइन । बच्चालाई सिर्जनात्मक बनाउने खालका सामग्री राख्नुपर्छ ताकि उनीहरूले खाली समयमा नयाँ सिक्ने मौका पाऊन् । सानो पुस्तकालय बनाइदिनुपर्छ । स्टडी टेबल, पेन्ट आदि राखिदिनुपर्छ जसले बच्चालाई बौद्धिक र इनोभेटिभ बनाउँछ । 

बच्चाको व्यक्तित्वलाई ध्यान दिऊँ 
आफ्नो बच्चाको व्यक्तित्वअनुसार कोठाको रंग चयन गर्नुपर्छ । बच्चा ऊर्जावान् छ भने उसका लागि आँखालाई शीतल दिने किसिमको रंगको छनोट गर्नुपर्छ । उसलाई आनन्द दिने खालको सेड्सले कोठा रंगाइदिनुपर्छ । बच्चाको स्वभाव शान्त किसिमको भए ऊर्जा दिने खालको रंगको छनोट गर्नुपर्छ । भित्तामा बच्चाको विशेष तस्बिर ठूलो बनाएर राख्न सकिन्छ । 

बच्चाको रुचिलाई ध्यान दिऊँ
कोठाको सजावट गर्दा आफ्नो बच्चाको रुचिलाई ध्यान दिनुपर्छ । उसलाई चित्र कोर्न मनपर्छ भने कोठालाई पेन्टिङले सजाउनुपर्छ । त्यस्तै, उसलाई विज्ञानमा रुचि भए विभिन्न विज्ञानप्रति प्रेरित गर्ने किसिमका सामग्री राख्न सकिन्छ । 

सिर्जनात्मक क्षमतालाई बढाऊँ 
टेन्ट, स्पेससीप जस्ता सामग्री राखेर बच्चालाई आफ्नो कोठालाई सजाउन सकिन्छ । बच्चाहरू यसमा निकै रमाउँछन् र उनीहरूको सिर्जनात्मक क्षमता बढेर जान्छ । कोठाको एक साइडको भित्ता भने खाली छोडिदिनुपर्छ । जहाँ बच्चाले आफ्नो रुचिअनुसार क्रियाकलाप गरेर आफ्नो सिर्जनात्मक क्षमता बढाउन सक्छन् । 

प्रकृतिसँग नजिक बनाऊँ
कोठाको झ्याल ठूलो डिजाइनको गर्नुपर्छ । ताकि कोठाबाट बच्चाको कोठाबाट बाहिरको दृश्य राम्रोसँग देखियोस् । ठूलो झ्याल बनाउँदा कोठामा सूर्यको किरण पर्याप्त पुग्छ र हावा ओहोरदोहोर पनि हुन्छ । तर यस्तो झ्याल डिजाइन गर्दा भने सुरक्षित हुनुपर्छ । साथै बच्चाको कोठामा इन्डोर प्लान्ट राख्न सकिन्छ । यसले हरियाली देखाउँछ । बच्चाको मुड ठीक राख्छ । यस्ता बिरुवाले सकारात्मक ऊर्जा दिन्छ । बिरुवाको हेरचाहको जिम्मा भने बच्चालाई नै दिनुपर्छ । 

- झ्यालमा कटनको हल्का रंगको पर्दाको छनोट गर्नुपर्छ । सिल्कको पर्दा लगाउनबाट बच्नुपर्छ । एम्ब्रोडइरी गरेको पर्दाले कोठा भद्दा देखाउँछ । 
- उज्यालो रंगको पर्दाले बच्चालाई शान्त स्वभावको बनाउँछ । 
- बेड धेरै अग्लो हुनुहुँदैन । स्टोरेज भएको बेड अझ राम्रो हुन्छ । त्यहाँ खेल्ने वा अन्य आवश्यक सामान राख्न सकिन्छ । यसले ठाउँ व्यवस्थापन हुन्छ । 
- कोठाको डिजाइन गर्दा उनीहरूको चाहनालाई बुझ्नु जरुरी हुन्छ । आफ्नो चाहनानुसार गर्दा बच्चा त्यो कोठामा खुसी महसुस गर्दैन ।
- कोठाको लाइट सहज र आरामदायक हुनुपर्छ जसले बच्चालाई राम्रोसँग निद्रा लगाउँछ । 
- धेरै एसेसरिजहरूले बच्चाको कोठा सजाउनु हुँदैन । यसले कोठाको लुक्स बिगारिदिन्छ ।
- कोठामा धेरै महँगा सामान नराख्ने । साथै कोठामा भएका फर्निचरहरू धारिला हुनुहुँदैन । बच्चालाई खेल्दा वा यताउति हिँड्दा चोट लाग्न सक्छ । 
- स्वीच बच्चाको पहुँच नजिकै राख्नुपर्छ । तर, इलेक्ट्रिक सामानहरू बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । बच्चाको कोठामा आइरन, हिटर एवं टिभी आदि पनि राख्नु हुँदैन । 

 Image