लक्ष्मी खड्का, आर्किटेक्ट
वर्ष दिन कुरेर आउने चाडपर्वले मनमा उमङ्ग पनि भित्र्याउँछन् । व्यस्त जीवनबाट समय निकालेर घरको सरसफाइ, सजावट गर्दै चाडपर्वलाई स्वागत गर्न हामी सबै आतुर छौं।
चाडपर्वमा किन घर सफा गर्ने भन्ने जिज्ञासाहामीमा हुनसक्छ। अहिलेको व्यस्त जीवनमा चाडपर्वले नै हामी सबैलाई नजिक बनाउँछन्, पारिवारिक जमघटले रमाइलो अनुभूति दिलाउँछ, मनमा उमङ्ग प्रदान गर्छ । यसका अलावा धर्म र संस्कृतिअनुसार चाडपर्वमै घरमा भगवान्को आगमन हुन्छ भनिन्छ।
आफन्त, पाहुनाको आगमन हुन्छ र पारिवारिक नातामा प्रेम फैलाउँछ । घरको सफाइ गर्नाले जम्मा भएको फोहोर र नचाहिने कुरा मात्र फालिने नभई घरभित्रको नकारात्मक ऊर्जा पनि नाश हुन्छ । सकारात्मक ऊर्जाको प्रवाह गर्न मद्दत पुर्याउँछ। सर्वप्रथम घरसफा गर्दा कोठाभित्र चाहिने र नचाहिने सामानको लिस्ट तयार गरेर भविष्यमा चाहिने सामानलाई स्टोर स्पेसमा व्यवस्थापन गर्नुपर्छ । नचाहिने सामानलाई फाल्न मिल्ने भए फालेर घटाउँदै जानुपर्छ । सामानको व्यवस्थापनपछिडस्ट क्लिएरन्स अथवा जमेर बसेको धूलो झार्नुपर्छ । धूलो जमेर बस्ने मुख्य ठाउँ भनेकै बत्ती, पंखाको ब्लेड, दराजको माथि, फोटो फ्रेमआदि हुन् । रुटिन क्लिनिङ अथवा सधैं सफा गर्न नसकिने यस्ता ठाउँको सरसफाइले पनि कोठालाई सफा र धूलो मुक्त बनाउँछ।
मपको प्रयोगले घरको फ्लोरिङ सफा गर्नुपर्छ । काठको फ्लोरिङ भएको खण्डमा मपले फ्लोर सफा गरेपछि वाक्स लगाउनाले फ्लोरिङ टलक्क टल्किन्छ । नयाँ फ्लोरिङको लुक दिलाउँछ।यसैगरी कार्पेट पुरानो, च्यातिएको अथवा फोहोर भएको छ भने आवश्यकतानुसार फेरबदल गर्नुपर्छ । नयाँ किन्ने सोचमा हुनुहुन्छ भने चाडपर्वपछि जाडोको सुरुवात हुनाले न्यानो दिलाउने र छिट्टै फोहोर नदेखिने डार्क कलरको छनोट गर्नु उपयुक्त हुन्छ। फ्लोरिङपछि घरकाझ्यालढोकाका सिसा पुछ्नुपर्छ । तातोपानी र विनेगरले पुछ्दा सिसा सफा देखिन्छ । यसैगरी कोठाका पर्दा फोहोर भएमा धुने र पुराना भएकोठालाई सुहाउने कलरछनोट गरी फेर्न सके कोठाको रूपमा परिवर्तन ल्याउन सकिन्छ।
पाहुनाहरूको विशेष जमघट हुने लिभिङ रुम, डाइनिङ रुम र हल स्पेस र बाथरुमको सरसफाइमा भने विशेष ध्यान पुर्याउनुपर्छ । तसर्थ डस्ट क्लियरेन्सपछि लिभिङ रुमको सोफाको खोल धोएर सफा गर्ने र पुरानो भएमा कोठाको रङअनुसार फेर्दा पनि नयाँ लुक दिन सकिन्छ । सकेसम्म अपहोल्स्टरीको छनोट गर्दा उज्यालो र छिट्टै फोहोर नदेखिने रङको छनोट गर्नुपर्छ ।
किचन र डाइनिङ घरका सबैभन्दा मुख्य स्पेस हुन् । चाडपर्व भनैकै मीठो परिकार पाक्ने र खाने समय पनि हो । किचन सबैभन्दा छिटो फोहोर हुने स्पेस हो। भान्सा सफा गर्दा क्रमबद्ध रूपमा फ्रिजको सफा गर्दै ग्यास, ओभन, माइक्रोवेभदेखि बेसिन पनि सफा गर्नुपर्ने हुन्छ । बेकिङ सोडाले सिन्कको कोटिङगरेर स्पोन्जमा डिस सोप र तातोपानीले कोटिङगरेको सिन्क धुनाले किचनसफा हुन्छ। त्यसपछि काइक्रोफाइबर टावेलले पुछ्नुपर्छ । यसो गर्दा सिन्क टलक्क टल्किन्छ। कागतीलाई आधा पारेर, काटेको आधा भागमा नुन छर्केर दाग भएको ठाउँमा रगड्दाहटेर सफा देखिन्छ ।किचेनमा तेलको दागको सफा गर्नुपर्ने हुन्छ । यसका लागि तेलको चिल्लो भागमा बेकिङ सोडा छर्केर साबुन र स्पोन्जले चिल्लो भाग सफा गर्नाले भान्सामा रहेको तेलको दाग हटाउन सकिन्छ।
बेडरुमको बेड स्पेस र बाथरुम सफा राख्नु पनि जरुरी छ । घरको भित्री भाग सफा गरेपछि घर बाहिरको भाग, मूलद्वार रहेको स्पेस, बगैंचा र इन्ट्रान्स सफा गर्दा घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । घरभित्र छिर्ने मान्छेको मन खुसी हुन्छ र सकारात्मक ऊर्जा भित्र्याउँछ।
भनिन्छ, सफा घरमा भगवान्को पनि बास हुन्छ । त्यसैले अहिलेको व्यस्त जीवनमा चाडपर्व आउनुअघि नै घरको सरसफाइको प्लानिङ गरेर एउटा स्थानको सफा गर्दै जानुपर्छ । जसले गर्दा एकैपटक कामको भार पनि पर्दैन र काममा सहजता पनि ल्याउँछ।घर सफा गर्नुअघि सरसफाइमा प्रयोग हुने क्लिनर, माइक्रो फाइबर टावेल, सेनिटाइजर, ब्रस, मप, मास्क, बेकिङ सोडा, विनेगर, डिस वास सोपहरूको जोहो गर्नुपर्छ । यसले सरसफाइलाई सहज मात्र पुर्याउँदैन समय र इनर्जीको पनि बचत गर्छ ।
दैनिक रूपमा गर्न नसकिने सरसफाइमा ध्यान दिनु र अगाडिदेखि नै योजना बनाएर घर चिरिच्याँट्ट बनाउनु चाडपर्वको अर्को विशेषता हो ।