Successfully Copied

घरको सुरक्षा र स्याहार

घरबाट नमीठो गन्ध आउने, काठ बिग्रने, कपडामा मोस्चर आउनेजस्ता समस्या देखिने भएकाले घरको विशेष हेरचाह गर्नुपर्छ । तर, जति सफा राख्ने प्रयास गरे पनि फोहोर भइहाल्छ । फोहोरका कारण ब्याक्टेरिया तथा कीटाणु उत्पन्न हुन्छन्, जसकारण विभिन्न रोग फैलने खतरा बढ्छ ।


कतिपयलाई वर्षाको मौसम निकै मनपर्छ । उखरमाउलो गर्मीमा वर्षाले केही राहत प्रदान गर्ने भए पनि यसले केही समस्या पनि लिएर आउँछ । घर वरपर लेउ लाग्ने, पानी जम्ने, झारपात उम्रने, भित्ता उप्किने, ढुसी पर्ने समस्या वर्षायाममा बढी आइलाग्छ । घरबाट नमीठो गन्ध आउने, काठ बिग्रने, कपडामा मोस्चर आउनेजस्ता समस्या देखिने भएकाले घरको विशेष हेरचाह गर्नुपर्छ । तर, जति सफा राख्ने प्रयास गरे पनि फोहोर भइहाल्छ । फोहोरका कारण ब्याक्टेरिया तथा कीटाणु उत्पन्न हुन्छन्, जसकारण विभिन्न रोग फैलने खतरा बढ्छ ।


डिसइन्फेक्ट गर्ने
वर्षामा भान्साकोठा र बाथरुममा पानीका कारण नमी आउँछ, जसकारण कीराहरू देखिन थाल्छन् । भुइँ, भित्ता आदि ठाउँमा नमी देखिने सम्भावना धेरै हुन्छ । यस्ता ठाउँलाई कीटाणुमुक्त बनाउनु जरुरी हुन्छ । बजारमा सजिलै कीटाणुनाशक स्प्रे पाइन्छन् ।


मोस्चर हुनबाट बचाउने
वर्षाको मौसममा भित्ताहरूमा मोस्चर हुन्छ । जसकारण दुर्गन्ध आउने, पेन्ट्स उक्किने हुन्छ । घरभित्र राखिएका सामान, खानेकुरामा पनि मोस्चरले असर गर्छ । बेलाबेला घरका सबै कुना सफा गरिरहनुपर्छ । घरको भित्तामोस्चरबाट जोगाउन पेन्ट गर्ने समयमा वाटरप्रुफ पेन्ट्स प्रयोग गर्नुपर्छ ।

कार्पेटको सफाइ
कार्पेटमा धेरै फोहोर जम्मा भएर बस्छ । वर्षाको समयमा मोस्चर हुने भएकाले ब्याक्टेरिया फैलने सम्भावना पनि बढी हुन्छ । यी कीटाणु कार्पेटमा जम्मा भएर बस्न सक्छन् । त्यसैले स्वास्थ्यलाई प्रतिकूल असर पर्न सक्छ । अतः दैनिक कार्पेटलाई राम्रोसँग सफा गर्नुपर्छ ।


गाढा रङको पर्दा
यो मौसममा उज्यालो रङको पर्दामा चाँडै दाग–धब्बा देखिन्छ । त्यसैले हल्का फेब्रिक र गाढा रङको पर्दा लगाउनुपर्छ ।यस्ता पर्दा हेर्दा राम्रा पनि देखिन्छन् र चाँडै सुक्छन् । वर्षाको समयमा बेडकभर चाँडै फोहोर हुन्छ । त्यसैले हल्का फेब्रिकको बेडकभरप्रयोग गर्नुपर्छ ।फोहोर हुनेबित्तिकै सफा गर्न सजिलो हुन्छ । बालबालिका भएका घरमा चिसो खुट्टा लिएर बेड वा सोफामा जान्छन् । त्यसैले बेड वा सोफाको साइडमा खुट्टा पुछ्नका लागि म्याट राखिदिनुपर्छ र खुट्टा पुछ्ने बानी बसाउनुपर्छ ।


नियमित सरसफाइ
वर्षाको समयमा लगातार पानी परिरहने भएकाले घर ओसिलो बनाइदिन्छ । जसकारण ब्याक्टेरिया, फंगसहरूको संक्रमण हुने खतरा बढ्छ । दिउँसो झ्याल सबै खुल्ला राखिदिनुपर्छ । भुइँमा धेरैबेर भिजेको छाता, जुत्ता चप्पल, सामान आदि छोडिदिनुहुँदैन । दैनिक भुइँमा क्लिनिङ झोलको प्रयोग गरेर पुछ्नुपर्छ । जसले गर्दा ब्याक्टेरिया फैलने सम्भावना हुँदैन । छतको बोर्डरमा गमला राखिएको छ भने हटाउनुपर्छ । पानीले माटो बगाएर घर फोहोर बनाइदिन्छ ।


रुम फ्रेसनरको प्रयोग
वर्षाको समयमा निस्कने दुर्गन्धलाई हटाउन रुम फ्रेसनरको प्रयोग गर्न सकिन्छ । यसले घरलाई तरोताजा राख्न मद्दत गर्छ । धेरैजसो रुम फ्रेसनरले हावामा भएका ब्याक्टेरिया र कीटाणुलाई पनि नष्ट गरिदिन्छ ।

फर्निचरको हेरचाह
–काठको फर्निचरलाई चिसो हुनबाट बचाउन ‘वाटर रेजिस्टेन्ट’ स्प्रे प्रयोग गर्न सकिन्छ ।
–मेटलबाट बनेको फर्निचरको सुरक्षाका लागि ‘रस्ट रेजिस्टेन्ट’ स्प्रे वा रेड अक्साइड र इनामेल पेन्ट लगाउनुपर्छ ।
–फर्निचरलाई मोस्चर हुनबाट बचाउन दैनिक सफा सुक्खा कपडाले पुछ्नुपर्छ ।
–काँचको फर्निचर वा डेकोर आइटमलाई पुछ्नका लागि टिस्युपेपरको प्रयोग गर्न सकिन्छ ।


गलैंचाको हेरचाह
–वर्षाको मौसममा एकदमै आवश्यक छ भने मात्र गलैंचा ओछ्याउनुपर्छ । भरसक यसको प्रयोग गर्नबाट बच्नुपर्छ ।
–यदि गलैंचाको प्रयोग गर्नैपरे दैनिक एन्टिसेप्टिक क्लिनरले सफा गर्नुपर्छ ।
–वर्षाको समयमा उज्यालो रङको मेसिनले बनाइएको गलैंचाको प्रयोग गर्नुपर्छ । जसकारण सजिलै धोएर सुकाउन सकिन्छ ।
–यतिबेला हल्का गलैंचाको प्रयोग गर्दा धुन र सुकाउन सजिलो हुन्छ ।
–घरभित्र पस्दा पानीले भिजेको छ भने कपडा खोलेर खुट्टा सुकाएपछि मात्र अरु कोठातिर जानुपर्छ । नत्र पानी सबैतिर फैलिन्छ र घर फोहोर देखिन्छ । 

 Image