Successfully Copied

भारतीय चलचित्रमा जम्दै नेपाली अभिनेतृ

धेरै नेपाली कलाकारको इच्छा बलिउडमा पुग्ने गरेको पाइन्छ । कतिपय कलाकार बलिउडमा विस्थापित हुँदै गएका छन् भने केही कलाकारहरू संघर्ष गर्दै बलिउडमा स्थापित हुन खोजिरहेका छन् ।

सन् २०१५ मा ‘होस्टल रिटर्न’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी स्वस्तिमा खड्का एक सफल अभिनेतृका रूपमा परिचित छन् । थुप्रै हिट चलचित्र दिएकी उनी अब नेपाली चलचित्रमा मात्रै सीमित रहिनन् । हालसालै उनले दक्षिण भारतीय मलायालम ‘थिरिमली’ मा अभिनय गरेकी छन् । दक्षिण भारतीय चलचित्र क्षेत्रमा यो उनको डेब्यु चलचित्र हो । उनको अभिनय रहेको चलचित्रको आइटम गीत पनि सार्वजनिक भइसकेको छ । उनी अभिनीत उक्त गीत युट्युवको ट्रेन्डिङमा समेत पर्न सफल भयो । उनले  गीतमार्फत प्रशंसा बटुलेकी छन् । दक्षिण भारतीय चलचित्रमा अभिनयको अनुभव सुनाउँदै उनले नेपालीको तुलनामा प्राविधिकहरू निकै अगाडि रहेको बताएकी छन् । उक्त फिल्ममा धेरै सर्टहरू दिन नपरेको उनको अनुभव छ । नेपालमा पछिल्लो समय बलिउड, भोजपुरी र दक्षिण भारतीय चलचित्रहरूको प्रभाव बढ्दो छ । यसले नेपाली कलाकारहरूलाई ती भाषाका चलचित्रहरूमा डेब्यु गर्न सजिलो भएको छ । 

‘नाइँ नभन्नु ल ४’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी नायिका तथा मोडल आँचल शर्मा दक्षिण भारतीय चलचित्रमा आकर्षित भएकी छन् । चलचित्र ‘हिट म्यान’ बाट उनले भारतीय चलत्रिमा पाइला टेक्न लागेकी हुन् । उनी अभिनीत चलचित्र हिन्दी र नेपाली भाषामा समेत प्रदर्शन हुने भएछ । चलचित्रमा उनको भूमिका नखुलाइए पनि उनले नेपाली चलचित्रको सीमारेखा भने नाघेकी छन् । काठमाडौं र पोखरामा सुटिङ हुने उक्त चलचित्रप्रति आफू उत्साहित भएको आँचलले बताइन् । 

नायिका शिल्पा पोखरेल यतिबेला भोजपुरी चलचित्रमा व्यस्त छिन् । उनले एकैसाथ भोजपुरी फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान्की गली’ मा काम गर्ने भएकी छन् । यसअघि उनल ‘प्रेम गीत २’ र ‘जय शम्भु’ मा अभिनय गरिसकेकी छन् । लगातार भोजपुरी चलचित्रमा देखिएकी उनी यसैमा आफ्नो स्थान बनाउन चाहेको बताइन् । उनले नेपाली चलचित्रहरू ‘मङ्गलम्’ र ‘किस्मत २’ मा अभिनय गरिसकेकी छन् ।

चलचित्र ‘कृ’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका अदिति बुढाथोकी पछिल्लो समय  बलिउडमा सक्रिय छन् । उनले छोटो समयमै बलिउडमा उडान भरेकी हुन् । अधिकांश समय मुम्बईमा बिताउने उनी एजेन्सीमार्फत म्युजिक भिडियोमा काम गरिरहेकी छन् । उनले बलिउडमा थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन् । ‘तु मेरा नहीँ, तेरी मैं...’ उनले अभिनय गरेका गीत हुन् । उनी नेपाली चलचित्र, हिन्दी गीत हुँदै चलचित्रमा प्रवेश गरेकी छन् । उनले ‘बाबरी’ मा अभिनय गरेकी छन् । रिलिज हुन बाँकी चलचित्रबारे प्रतिक्रिया उनी पर्खिरहेकी छन् ।

धेरै नेपाली कलाकारको इच्छा बलिउडमा पुग्ने गरेको पाइन्छ । कतिपय कलाकार बलिउडमा विस्थापित हुँदै गएका छन् भने केही कलाकारहरू संघर्ष गर्दै बलिउडमा स्थापित हुन खोजिरहेका छन् । अघिल्लो पुस्तामा मनीषा कोइरालाले बलिउडमा आफूलाई स्थापित गर्न सफल भइन् । आधा दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय  गरेकी सुरबिना कार्की पनि यतिबेला बलिउडमा संघर्ष गरिरहेकी छन् ।

बलिउडमा स्थापित हुने अठोटका साथ प्रवेश गरेकी उनले विज्ञापन र म्युजिक भिडियोका साथै केही सिरियलहरूमा पनि अभिनय गरिसकेकी छन् । बलिउडमा करिअर खोज्दै पुगेकी मोडल हुन्–मुना गौचन । उनी ‘सुपरमोडल २०२१’ को ‘टप सिक्स’ सम्म पुगेर बाहिरिइन् । उनले यसलाई आफ्नो प्लेटफर्मको रूपमा हेरेकी छन् । सुपरमोडलले उनलाई एक मोडलका रूपमा चिनाइदियो । उनले विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरेकी छन् । बलिउडमा नेपाली कलाकारहरूलाई स्थान पाउन निकै चुनौती झेल्नुपर्ने बताइन् । बलिउडमा प्रतिस्पर्धा धेरै हुने भएकाले नेपाली कलाकारहरूले धेरै मेहनत गर्नुपर्ने उनको भनाइ छ । उनलाई भने मेहनतका साथ बलिउडमा नै जम्नु छ ।

तेस्रो लिङ्गी अञ्जली लामा पनि यतिबेला भारतीय फिल्मी बजारमा व्यस्त छन् । उनी २०१७ मा भारतको फेसन सप्ताहमा परलैङ्गिक महिला मोडलका रूपमा सहभागी हुने प्रथम नेपाली हुन्  । उनले ‘ल्याक्मी फेसन विक’ मा मुम्बई  पुगेर पूरा समय मोडलिङमा बिताइरहेकी छन् । उनको लक्ष्य बलिउडमा एक सफल मोडल बन्नु हो ।

 Image