महिला : सम्मान र अवसर

डा. नम्रता पाण्डे

भाद्र ३, २०७८ तीजजस्तो रंगीचंगी पर्व होस् वा वर्षभरि आउने अन्य पर्व र संस्कारमा महिलाको भूमिका, सहभागिता र योगदान बढी छ । यसको अर्थ अरू काममा महिलाले योगदान दिन सक्दैनन् भन्ने किमार्थ होइन । घरमा मात्रै होइन घर बाहिरका कर्ममा महिलाले दिने समय, श्रम र गुणात्मकता आफैंमा अवर्णनीय छ । महिलाहरूलाई रंगीचंगी पहिरन, नाचगान, भोज–भतेरमा संलग्न देखेर एक पक्षीय मूल्यांकन गर्ने सोच र संस्कार अनुचित छ । यी गतिविधिहरूमा महिलाको सहभागिता र योगदानमा कमी आउनासाथ संस्कृतिको जगेर्ना र निरन्तरतामा ह्रास आउन सक्छ । तर, पश्चिमा संस्कृतिको नक्कल र अनुशरण गर्नुबाट महिलाहरू परहेज हुनैपर्छ । किनभने, आफ्नो मौलिकताको महसुस र गर्व गर्न आफ्नै संस्कार र संस्कृति आवश्यक पर्छ । यसको अर्थ, पुराना कुरीति र संस्कारलाई अन्धाधुन्ध निरन्तरता दिँदै जानु पनि होइन । हाम्रा संस्कारसँग जोडिए अव्यावहारिक मान्यतालाई हामीले क्रमशः परिवर्तन गर्दै आफ्नै अनुकूलतामा ढाल्दै पनि जानुपर्छ, नेपाली महिलाले त्यो गरेकै पनि छन् । परिवर्तन जादुझैं आउँदैन तर परिवर्तनका सूत्राधार भने महिला नै बन्नुपर्छ । परम्पराको नाममा कट्टरता देखाउने र त्यसलाई अवलम्बन गर्न बाध्य देखाउने परिवार, समाजलाई व्यावहारिक रूपान्तरणका माध्यमले परिवर्तनको महत्व बुझाउनुपर्छ ।

आर्थिक, सामाजिक स्तरोन्नतिमा सहभागिता

घर, परिवार, समाज र राष्ट्र आज विकासमा पछि पर्नु र अपूर्णता महसुस हुनु भनेको महिला सहभागिताले पूर्णता नपाउनु पनि हो । महिलाहरूको पूर्ण सहभागिता बिना जुनसुकै देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र वातावरणीय विकास नखोजे हुन्छ । महिलाहरूको अभावमा सृष्टिको नियम त सुचारु हुन सक्दैन भने जीवनमा आइपर्ने हरेक पक्षमा उनीहरूको भूमिका र दायित्वलाई नजर अन्दाज गर्न मिल्दैन, सकिन्न । नेपालमा मात्र नभई अधिकांश विकासशील देशमा महिलाको भूमिकालाई कमजोर रूपमा हेर्ने गरिन्छ । यो दुर्भाग्यपूर्ण अवस्था हो । यो अवस्थालाई चिर्न लैङ्गिक विभेदको अन्त्यका लागि घरबाटै सुरुवात गर्नुपर्छ । पुरुषसरह महिलालाई पनि जुन देशमा स्थान दिइएको छ, निश्चित रूपमै त्यहाँ आर्थिक तथा सामाजिक विकास राम्रो भएको छ । जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया जस्ता विकसित देशहरूलाई विकासको दृष्टिकोणले हेर्नुपूर्व त्यहाँका पुरुषसरह नै महिलालाई गरिएको व्यवहार, सम्मान र सहभागितालाई पनि हेर्नुपर्छ । अवश्यमेय ती देशमा महिला पुरुषसमान हुन भन्ने मान्यतालाई सहर्ष स्वीकार गरिएको छ ।

जैविक दृष्टिकोणले महिला र पुरुषमा जे–जस्तो भिन्नता छ त्यसभन्दा व्यापक भिन्नता समाजमा गहिरो रूपमा जरा गाडेको गलत संस्कार, परम्परा, मूल्य एवं मान्यताले स्थापित गरेको देखिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा महिलालाई उपेक्षा, घर व्यवहारमा कठोर परिश्रम र आर्थिक कठिनाइ, जोखिमयुक्त प्रतिकूल कार्यमा महिला सहभागिता, मातृत्व सुरक्षा र स्वास्थ्यमा लापरबाही, सामाजिक अन्याय, रूढिवादी विश्वास र नदेखिने घरेलु हिंसाजस्ता व्यवहारले महिलाको स्थिति दयनीय बनेको हो ।

प्रतिभा र दक्षताको कदर

 जुनसुकै विकास अभियानलाई तीव्र गतिमा सञ्चालन गर्न महिला जनशक्तिको प्रभावकारी संलग्नता आवश्यक भैसकेको छ । तर, महिलाका सामाजिक तथा आर्थिक स्तर निर्धारण गर्ने केही प्रमुख सूचकहरूलाई आधार मान्ने हो भने आज पनि महिलाहरूको प्रतिभा र दक्षताको समुचित कदर गरेको पाईन्न । समग्र महिलाको शैक्षिक स्तर, स्वास्थ्य तथा पोषण स्थिति, उनीहरूको श्रमशक्तिमा संलग्न कानुनी समानता एवं सामाजिक मान्यता आदि विश्लेषण गरेर हेर्‍यौं भने भन्न सकिन्छ सहरका र पहुँच भएका महिलाबाहेक अधिकांशले यी क्षेत्रमा समान हिस्सा पाएका छैनन् । समाजको सर्वाङ्गीण विकासका लागि महिला जनशक्तिलाई स्वस्थ, शिक्षित, प्रतिभाशाली तथा दक्ष तुल्याउन आवश्यक छ । दूरदराजका अधिकांश ग्रामीण महिला अशिक्षित वा शिक्षाको अवसरबाट वञ्चित छन् । त्यसैले सबैभन्दा पहिले उनीहरूलाई साक्षर/शिक्षित बनाउन जरुरी भईसक्यो । अर्को कुरा, नेपाली महिलाहरू आर्थिक कमजोरी, परम्परागत विचारधारा र सामाजिक मान्यताका कारण छोराको दाँजोमा छोरीलाई पढाउनेतर्फ आमाबाबुको अभिरुचि कम हुनु, घरधन्दा र खेतीपातीमा छोरीहरूको सहभागिताको अपेक्षा हुनु, सानै उमेरमा विवाह हुनु, छोरा जन्माउनकै लागि लगातार बढी बच्चा जन्माउनुपर्ने बाध्यता र अनभिज्ञता, अज्ञानताले व्यावहारिक कठिनाइ भोग्नुपरेको यथार्थता नकार्न सकिन्न ।

सीप र क्षमताको उजागर

महिलाको अस्तित्व, सीप र क्षमतालाई सहज रूपमा स्वीकार नगरेसम्म उनीहरू विभिन्न अवसर, आर्थिक स्तरोन्नति र रोजगारीमा पछि परिरहन्छन् । त्यसैले आर्थिक, सामाजिक, राजनीतिकसहित हरेक क्षेत्रमा महिलाको दक्षता र क्षमताको कदर गरी समान सहभागिता र निर्णायक भूमिका दिनै पर्छ । महिलाको स्वास्थ्य, शिक्षा, सामाजिक दायित्व, मातृत्व सुरक्षा र निर्णय क्षमताको कदर नगर्ने समाजले तीजमा सजिएर नाच्नु, गाउनु र व्रत बस्नुलाई खिसिट्युरी गर्ने मात्र होइन बहुप्रतिभा र संस्कार जोगाउने अभिभारा पाएका महिला भनेर गर्व गर्दा हुन्छ । घरमा जुन सम्मान आफ्ना आमा, छोरी र दिदीबहिनीले पाऊन् भन्ने लाग्छ, समग्र समाजमा महिलाको कदर त्यसरी नै गरियोस् । महिला सबैका भरोसा र श्रद्धाका पात्र हुन् । त्यसैले त भनिएको छ–यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । महिलाको संस्कार, गुणवत्ता र सहनशीलताको कदर गरौं ।

(लेखिका स्वतन्त्र सामाजिक परामर्शदाता हुन्)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>