Successfully Copied

मनकारी सेलिब्रेटी

नेपाली सेलिब्रेटीहरूले पनि हातेमालो गरिरहेका छन् ।

कोरोनाको अनियन्त्रित संक्रमणले विश्वलाई नै नराम्ररी सताइरहेको छ । यो विश्वव्याधिले धेरैको ज्यान लिइरहेको छ । धेरैलाई अस्पतालमा थुपारिदिएको छ । खतरा मोलेरै स्वास्थ्यकर्मीहरूले संक्रमितको उपचार गर्दैछन् । यद्यपि पर्याप्त स्वास्थ्य सुविधा र पहुँचबाट धेरैजसो वञ्चित छन् । अक्सिजन नपाएर छटपटाइरहेका छन् । उपचार अभावमा अस्पताल परिसरमै लम्पसार परिरहेका संक्रमित र कुरुवाहरूका दयनीय तस्बिर सार्वजनिक भइरहेका छन् ।

यही जटिल पृष्ठभूमिमा कतिपयले भने स्वतस्फूर्त सहयोगको हात बढाएका छन् । आफ्नो गच्छेले भ्याएसम्म उनीहरू उपचारमा सहयोग गरिरहेका छन् । यिनै सहयोगी मनहरूसँग नेपाली सेलिब्रेटीहरूले पनि हातेमालो गरिरहेका छन् ।

तीमध्येका एक हुन्–गायक रामकृष्ण ढकाल । उनले बढ्दो कोरोना रोकथाम र संक्रमितको उपचारका लागि १८ लाख रुपैंयाँ जुटाइदिएका छन् । उनी सांगीतिक कार्यक्रमका लागि अमेरिका गएका थिए । कोरोना संक्रमण बढ्दै गएपछि उनी नेपाल फर्कन पाएनन्, उतै रोकिए । अमेरिकामा रहेका नेपालभाषीहरूलाई अपिल गरी उनले सहयोग जुटाएका हुन् । रामकृष्णले ती सहयोगी मनहरूप्रति कृतज्ञता ज्ञापन गर्दै भनेका छन्, ‘मनकारी दाजुभाइहरूले सहयोग गरी जुटाइदिनुभएको १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालयन बैंकको खातामा जम्मा गरिनेछ ।’ उनले सहयोग गर्ने व्यक्ति र संस्थाको नाम आफ्नो फेसबुकमा सार्वजनिक गर्दै आभार प्रकट गरेका छन् ।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा अभिनेता पल शाहले सहयोगी हात बढाएका छन् । जतिबेला कोरोना संक्रमणको कारण अक्सिजनको चरम अभाव हुन थाल्यो, उनी आफै अक्सिजन लिएर ठाउँ–ठाउँमा पुगे । उनले दिनरात नभनी सिलिन्डर उपलब्ध गराए ।

‘हाम्रो टिम नेपाल’ सँगको सहकार्यमा उनले अक्सिजन सिलिन्डर संकलन र वितरण गर्ने अभियान नै चलाए । ठाउँ–ठाउँमा रहेका अक्सिजन सिलिन्डर संकलन र खरिद गर्दै पलले अस्पतालसम्मै पुगेर संक्रमितलाई उपलब्ध गराए । त्यसो त गत वर्ष लकडाउन भएपछि चलचित्र प्राविधिकका लागि पलले पाँच लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए । त्यसअघि बाढी–पहिरोका बखत उनले विभिन्न जिल्लामा पुगेर प्रभावित व्यक्तिहरूलाई लत्ताकपडा एवं खाद्यान्न बाँडेका थिए ।

यता अर्का अभिनेताद्वय दिलीप रायमाझी र रमित ढुंगाना पनि राहत वितरण अभियानमा लागेका छन् । उनीहरूले ‘इन्ट्राच नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिका’ को अग्रसरतामा मोरङ जिल्लाको पथरी शनिश्चरेस्थित शरणार्थी शिविरमा राहत वितरण गरेका हुन् । त्यहाँ खाद्यान्नलगायत मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

अभिनेता नाजिर हुसेनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरे । कोरोना संक्रमित बढ्दै जाँदा र उपचार असहज हुँदै गएको अवस्थामा अक्सिजन जोहो गर्नका लागि नाजिरले उक्त सहयोग गरेका हुन् ।

त्यसैगरी, अभिनेता पुष्पा खड्काले पनि कोरोना संक्रमितको उपचारका लागि सहयोग गरेका छन् । उनले सुदूर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेकाहरूका लागि ५० थान अक्सिजनको सिलिन्डर सहयोग गरे । उनले कैलालीस्थित ‘मैनादेवी फाउन्डेसन’ सँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन् । ‘धेरै ठाउँमा अक्सिजनको अभाव छ । संक्रमितले उपचार पाइरहेका छैनन् । आर्थिक अभावले गर्दा उपचार नपाएको भनी मलाई म्यासेज आइरहेका छन्’ खड्काले भने ।

अभिनेतृ श्वेता खड्काले पनि कोरोना संक्रमितको उपचारमा सहयोग पुगोस् भनी एक लाख ३० हजार रुपैयाँ सहयोग गरेकी छन् । उनले कोरोनाको दोस्रो लहरपछि हाम्रो टिम नेपाललाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । श्वेताले भनेकी छन्, ‘मेरो क्षमता, गच्छे, सीपले जे भ्याउँछ, त्यही प्रयोग गर्दै मनबाटै सामाजिक सेवामा होमिने छु । मेरो जिन्दगी रहेसम्म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।’ अभिनेतृ मनिषा कोइरला, करिश्मा मानन्धरले पनि यो बेलामा सहयोग पुर्‍याएका छन् ।

त्यसो त विश्व चर्चित सेलिब्रेटीहरू कुनै न कुनै रूपमा सामाजिक सेवामा जोडिएका हुन्छन् । उनीहरूले आफ्नो कमाइको ठूलो हिस्सा सामाजिक सेवामा खर्चने गरेका छन् । स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सेलिब्रेटीहरूले आफ्नो कमाइ खर्च गर्छन् । नेपाली सेलिब्रेटीहरूले पनि यस्तै उदाहरणीय काम गरेका छन् । चाहे विनाशकारी भूकम्पको बेला होस् वा भारतले गरेको अघोषित नाकाबन्दीमा, कतिपय सेलिब्रेटीले आ–आफ्नो तर्फबाट कुनै न कुनै रूपमा पीडितलाई साथ र सहयोग गरेकै छन् ।

 Image