Successfully Copied

गायनमा जुमेका लिभेक

गायनमा एकल यात्रा गरिरहेका उनले दुई वर्षअघि ‘रंग नेपाल’ ब्यान्डमार्फत गायनलाई अगाडि बढाएका छन् ।


रुपन्देही सैनामैनाका लिभेक परियारलाई गीत गाउनमा सानैदेखि रुचि थियो । विद्यालयका अत्तिरिक्त क्रियाकलापमा गीत गाउँथे । इन्डियन आर्मीका उनका बुवाले पनि गीत गाउने भएकाले उनलाई प्रोत्साहन मिलेको थियो । गीत गाउने रहर पूरा गर्न र यसैमा करियर बनाउन उनी कन्सर्ट, क्लबदेखि इभेन्टमा गीत गाउन पुग्थे । त्यहाँबाट घर फर्कदा कहिले रात त कहिले बिहान हुन्थ्यो । गायनप्रतिको आफ्नो मोह बताउँदै उनी भन्छन्, ‘मैले अरुको बर्थडे वा विवाह जहाँ गीत गाउँदा पनि परिवारको साथ र सहयोग रह्यो ।’ 

गायनमा एकल यात्रा गरिरहेका उनले दुई वर्षअघि ‘रंग नेपाल’ ब्यान्डमार्फत गायनलाई अगाडि बढाएका छन् । चार जना सदस्य रहेका ब्यान्डमा भोकल र गिटारिस्टको भूमिका निभाइरहेका छन् । ब्यान्डको पहिलो गीत ‘मेरो दृष्टि’ एल्बमबाट ‘याद राख्नेछु’ बोलको गीत सार्वजनिक भइसकेको छ । यो एल्बममा ८ वटा गीत समावेश गर्ने ब्रान्डको योजना रहेको उनी बताउँछन् ।

 ब्यान्डमा काम गरेपछि फरक अनुभवसँगै सहज पनि महसुस गरेका छन् । उनी भन्छन्, ‘पहिले आफ्नै तरिकाले आफ्नो निर्णयमा गाउँथे, ब्यान्ड भइसकेपछि भने सबैको सल्लाह र निर्णयमा चल्नुपर्दो रहेछ ।’ उनलाई ब्यान्डलाई नै स्थापित गरेर अगाडि बढ्नु छ । तर लामो समय ब्यान्ड टिक्न नसके एक्लै पनि गायनलाई निरन्तरता दिने र यही क्षेत्रमा अघि बढ्ने उनको योजना छ ।

 Image