Successfully Copied

२०७७ साल चैत्र महिनाको राशिफल

नयाँ एवं पुराना मित्रसँग जमघट हुने मौका मिल्न सक्छ । सोचेअनुरूप कार्य सफल हुँदै जानेछन् । पारिवारिक सदस्यले तपाईंको इच्छा बुझी कार्य गर्ने प्रयत्न गर्नेछन् ।

मेष

नयाँ एवं पुराना मित्रसँग जमघट हुने मौका मिल्न सक्छ । सोचेअनुरूप कार्य सफल हुँदै जानेछन् । पारिवारिक सदस्यले तपाईंको इच्छा बुझी कार्य गर्ने प्रयत्न गर्नेछन् । आफ्नो योजनानुसार काम गर्ने अवसर मिल्नेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । एक–अर्काको मनसाय बुझी तदनुरूप कार्य गर्नसके दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकृष्ट हुनसक्छ । जतासुकै जाँदा वा यात्रा गर्दा आफ्ना सरसामानको राम्रो ख्याल गर्नुहोला ।

वृष

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । पारिवारिक घुमघाम हुनसक्छ । योजनानुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । एक–अर्काको मानको ख्याल गर्दै काम गरे दाम्पत्य जीवन सुमधुर रहनेछ । माइतीसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा भएको तनाव हट्न गई मन चंगा रहनेछ । साथै शरीर पनि फुर्तिलो रहनेछ । व्यापारिक क्षेत्रबाट लाभ हुनेछ । कतैबाट लिन बाँकी रकम फिर्ता मिल्नेछ । आफ्नो इच्छानुसार काम गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

मिथुन

आफूअनुकूल काम गर्ने प्रयास हुनेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । विविध कारणले अपूरा भएका कामहरू अगाडि बढ्दै जानेछन् । दिदीबहिनीसित भेटघाट हुनसक्छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । मनमा कुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । महिनाको उत्तरार्द्ध व्यावसायिक क्षेत्रका लागि फाइदाजनक रहनेछ । राम्रै तरिकाले बोल्दा र काम गर्दा पनि अपजस पाइन सक्छ । आफूभन्दा अगाडिको व्यक्तिको मुड बुझेर काम गर्नसके अनावश्यक विवाद टर्नसक्छ ।

कर्कट

व्यक्तिगत काममा सफलता मिल्नेछ । आफ्नो इच्छानुसार समययापन गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ । आर्थिक एवं व्यापारिक क्षेत्र दुवै सुदृढ रहनेछन् । दाम्पत्य जीवनमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । कुनै नयाँ कुराको किनमेल हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा राम्ररी सोचविचार गर्नुपर्नेछ । साथै कतै हिँडडुल गर्दा सामानको राम्रो ख्याल गर्नुहोला । महिनाको उत्तरार्द्धको समय सोचेअनुरूप हुनसक्छ ।

सिंह

पारिवारिक वातावरण सुखमय रहनेछ । कतै घुमघाम गर्न जाने मौका जुर्नसक्छ । परिवारमा कसैलाई सन्तान लाभ हुनसक्छ । दिदीबहिनी एवं साथीसँगीसित भेटघाट गर्ने अवसर मिल्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । सबै कुरा भनेजस्तो हुँदा पनि कहिलेकाहीँ अनावश्यक चिन्ता हुनसक्छ । सकेसम्म आफूलाई धैर्य, शान्त र सकारात्मक राख्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा कहिलेकाहीँ एक–अर्काले गरेको कुनै कुरा चित्त नबुझ्नसक्छ । आफ्नो स्वास्थ्य र खानपानमा सजग रहनुहोला ।

कन्या

काम गर्ने पराक्रम बढ्नेछ । योजनात्मक कार्यहरूले गति लिन थाल्नेछन् । सोचेअनुसार काममा सफलता मिल्दै जानेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । मनमा कुनै नवीन कार्य गर्ने विचार आउनसक्छ । आर्थिक पक्ष सबल रहनुका साथै व्यापारिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । पेट एवं रक्तचापका बिरामीहरूले खानपानको राम्रो ख्याल गर्नुपर्नेछ । व्यक्तिगत खुसीका लागि केही समय छुट्याउन सके शरीर स्वस्थ रहनेछ । कुनै तार्किक बहसमा सहभागी हुने अवसर मिल्नसक्छ ।

तुला

कुनै विशेष काममा सफलता मिल्नेछ । मनमा भएको तनाव हट्न गई शरीर पनि स्वस्थ रहनेछ । काम गर्ने जोश र जाँगर बढ्नेछ । कुनै कुरालाई लिएर परिवारमा बहस भए पनि तपाईंको उचित सल्लाहले कुरो टुंगिनेछ । कुनै तार्किक एवं निर्णायक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रतियोगितात्मक कार्यमा सफलता मिल्नेछ । आफ्नो व्यक्तिगत कार्य सम्पन्न गर्नका लागि फुर्सद निस्कनेछ ।

वृश्चिक

कुनै कुराको लाभ हुनेछ । आर्थिक पक्ष सुदृढ हुनुका साथै कुनै नयाँ कुरा जोरिने सम्भावना छ । आफन्त एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुर्नेछ । सन्तान सुख प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रबाट राम्रो सफलता हात लाग्नेछ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक बहस भए पनि एक–अर्काप्रतिको माया एवं समझदारी कायमै रहनेछ । छोराछोरीको खुसीका निमित्त केही खर्च हुनसक्छ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् ।

धनु

काम गर्ने पराक्रम बढ्नेछ । यो महिना घरायसी कार्यमा केही व्यस्त भइएला । आफ्ना प्रियजनसित भेटघाट हुनेछ । साथीसँगीसित पिकनिक/घुमघाम गर्ने मौका मिल्नसक्छ । छोराछोरीले कुनै कुरामा अटेर गर्नसक्छन्, तिनलाई शान्त र धैर्यपूर्वक नरिसाई तिनकै भाषामा सम्झाउन सके आफूअनुरूप कार्य गर्नेछन् । एक–अर्काले आफ्नो जोडीको मनोदशा बुझी तदनुरूप व्यवहार गर्नसके दाम्पत्य जीवन सोचेझैं सुमधुर रहनेछ ।

मकर

सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । मनमा भएको तनाव हट्न गई काम गर्ने जाँगर बढ्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । घरमा कुनै नयाँ सरसामानको जोहो हुनसक्छ । कुनै कुराको लाभ हुनेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कसैकसैलाई यो महिनामा सम्मान पाउने अवसर मिल्नसक्छ । नयाँ काम गर्ने मौका मिल्नसक्छ । मौसमी परिवर्तनबाट हुने समस्याबाट बच्न आफ्नो एवं समस्त परिवारको स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ ।

कुम्भ

व्यक्तिहरूले तपाईंको भलाद्मीपनको फाइदा उठाउन सक्छन् । जोकोहीसित पनि बोली र व्यवहार गर्दा सजगता अपनाउनुहोला । आफ्नो गोपनीयतामा अडिग रहनुहोला । कुनै कुरामा लगानी गर्नुपूर्व राम्ररी जानकार हुनु जरूरी देखिन्छ । टाउको एवं आँखा दुख्ने समस्या आउनसक्ने भएकाले झिना–मसिना एवं आँखालाई भार पर्ने कार्य नगर्नु नै हितकर हुनेछ । आफ्नो मन प्रसन्न हुने काममा केही समय लगाउन सके तनावबाट मुक्त भइनेछ ।

मीन

व्यक्तिगत काममा सफलता मिल्नेछ । मनोरञ्जनात्मक कार्यमा मन आकृष्ट हुनसक्छ । कसैकसैलाई कुनै कामको सिलसिलामा कतैको यात्रा हुनसक्छ । काम गर्दा केही दौडधूप हुनेछ । स–साना कुरामा निकै खट्नुपर्ने हुनसक्छ । काम गर्दा धैर्य, शान्त एवं सकारात्मक हुनुपर्ने बेला छ । अनपेक्षित रूपमा कतैबाट कुनै कुराको सहयोग पाइनसक्छ । सकारात्मक र प्रसन्न भावका कारण सबै कार्यमा अपेक्षित सफलता मिल्दै जानेछ । रक्तचाप, मुटु एवं पेटका बिरामीहरूले भने खानपान र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

 Image