मेरो मानसपटलमा बेलाबेलामा आइरहने विशेष व्यक्तित्वहरूमध्ये एक हुन्–डा. तारानाथ शर्मा । सन् २००७ मा अमेरिकास्थित मिसिगन स्टेट यूनिभर्सिटीको अपार्टमेन्टमा उनीसँग मेरो पहिलो भेट भएको हो । उनको नाम पहिले पुस्तकमा मात्र पढेकी थिएँ । मेरा बुवा नेपाली विषयका शिक्षक र साहित्यप्रति विशेष रुचि राख्ने भएकाले तारानाथका कृतिबारे बेलाबेलामा बुवाबाट सुन्थें । विशिष्ट व्यक्तित्वलाई प्रत्यक्ष भेट्न पाउँदा अत्यन्तै खुसी लागेको थियो । सर ‘भिजिटर स्कलर’ का रूपमा सोही विश्वविद्यालयमा आफ्नी अर्धाङ्गिनी शान्ताका साथमा आएका थिए । एक–डेढ वर्षजति उनीहरूको सामीप्यतामा बिताउने अवसर जुट्यो । सन् २००८ को अन्त्यतिर हामी मिसिगनबाट वासिंगटन डीसीको सेरोफेरोमा सर्यौं । तारानाथ सर मिसिगन स्टेट यूनिभर्सिटीको कार्यावधि सकिएपछि नेपाल फर्किए । जीवनमा कतिपय सम्बन्ध भेटघाट लामो भए पनि छिट्टै ओइलिएर जान्छन्, त कतिले हृदयमा अनन्तकालसम्मै बास पाउँछन् । यो दम्पतीसँगको संगत धेरै लामो हुन नपाए पनि मीठा स्मरणहरूले मनमा जरा गाडेका छन् । ती अनगिन्ती सम्झनाका पोकाहरूअझै पनि कसिला र रसिला छन् । केही साताअघि मैले म्याडम (शान्ता) सँग फोन संवाद गर्दै भनेकी थिएँ, ‘म सरका बारेमा संस्मरण लेख्न चाहन्छु ।’ म्याडमले ‘हुन्छ’ भनिन् । मैले यो जोडीसँग बिताएका अविस्मरणीय पलहरू र वार्तालापका आधारमा यो संस्मरण लेख्ने जमर्को गरेकी छु ।
सन् १९३४ मा इलाममा जन्मिएका तारानाथ नेपालका लोकप्रिय साहित्यकारमध्येका एक थिए । यात्रा लेखक, निबन्धकार रसमीक्षकका रूपमा समेत उनी दरिएका थिए । नेपाली भाषामा उनले सयभन्दा बढी पुस्तक लेखेका छन् । अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयबाट भाषाविज्ञानमा पिएचडी गरेका उनका ‘झर्रो नेपाली’ बेलायततिर बरालिँदा शीर्षकको यात्रा विवरणले सन् १९६९ मा ‘मदन पुरस्कार’ प्राप्त गर्यो । यो पुस्तक उनको बेलायत यात्राको संस्मरण हो । यसलाई नेपाली साहित्यको सबैभन्दा प्रारम्भिक आधुनिक यात्रा विवरण पनि मानिन्छ । यसो त उनले अन्य चर्चित पुरस्कार पनि प्राप्त गरेका थिए । उनी लेखनमा मात्र नभै विभिन्न विधामा उत्तिकै सक्रिय थिए । केही वर्ष ‘द राइजिङ नेपाल’ अंग्रेजी दैनिकको प्रधान सम्पादकका रूपमा काम गरेका थिए । नोबेल एकेडेमी माध्यमिक विद्यालयमा प्रिन्सिपलका रूपमा पनि राम्रो काम गरेका थिए । उनी नियात्राको स्तम्भकारका रूपमा स्थापित थिए ।
मैले नेपालमा चितवन, पोखरा र काठमाडौंबाट शिक्षा हासिल गरें । स्कुलको पाठ्यपुस्तकमा पढेको ‘घनघस्याको उकालो काट्दा’ यात्रा संस्मरणको अनुभूति हरेक पटक चितवनबाट काठमाडौं र पोखरा आउजाउका क्रममा गरेकी छु । देशको सुदूर क्षेत्रका प्राकृतिक दृश्य र सामाजिक जनजीवनलाई समेटेर सरल, सहज र सरस भाषामा ‘घनघस्याको उकालो चढ्दा’ गरिएको वर्णनले त्यहाँको संस्कृति, वातावरण एवं परिवेशको राम्रो चित्रण गरेका छन् । प्रकृतिको काखमा विचरण गर्दाको अलौकिक आनन्दानुभूति प्रवाह गर्नसक्ने बहुमुखी प्रतिभाका धनी तारानाथ ‘जीवन एउटा नटुंगिने यात्रा रहेछ’ भन्ने गर्थे । साँच्चै नै उनको जीवन यात्रालाई उनकै कृतिहरूले अनन्तकालसम्म अमर बनाई राख्नेछन् ।
तारानाथ र शान्ताको विवाह सन् १९६९ मा भएको थियो । सरकै विरासत जीवन्त राख्न म्याडमले हरबखत प्रयास गरेकी छन् । उनले आफ्ना व्यक्तिगत चाहनालाई कहिल्यै पहिलो प्राथमिकता राखिनन् । प्रायःजसो सबैकुरा पुगेरै पनि सधैं साधारण जीवन उनले बिताइन् । संवादका क्रममा आफ्नै आमाको झझल्को भेटिने स्वभाव उनमा मैले पाएकी छु । यो नै उनको साधारण जीवनप्रतिको निष्ठा र बफादारिताको नमुना हो जस्तो मलाई लाग्छ । उनका अनुसार, सरले साहित्य र लेखन नै जीवन र जगत् हुन् भन्थे । उनले एउटा लेखककै पुजारी बनेर सारा जीवन बिताइन् । बिहान सधैंजसो म्याडम सरभन्दा पहिले नै उठ्थिन् । सर कहिलेकाहीँ छिटो ब्युझिँदा भने कालो चिया नआइन्जेल बिस्तरामै पढ्न र लेख्न थाल्थे । म्याडमले नदिँदासम्म आफैं खाना झिकेर खान्नथे, त्यसैले म्याडम सरलाई छाडेर लामो समय बाहिर जान सक्दिनथिन् । सर बाहिरबाट हेर्दा निकै फरासिलो स्वभावको, हाँसोठट्टा गरिरहनुपर्ने जस्तो लाग्थे । भित्रबाट भने गम्भीर सोचाइ उनको हुन्थ्यो । हुन त ममा तारानाथजस्तो विशाल अद्भूत क्षमता भएको व्यक्तित्वको जीवनका अक्करे भीरहरू केलाउने सामर्थ्य छैन, तथापि जति यो जोडीलाई बुझें त्यति मात्रै यहाँ पस्केकी छु ।
सन् २००७ मा सर मिसिगन आएपछि उनका केही ‘रेगुलर डाक्टर’ छनोट र अनुगमनका लागि चिकित्सककामा पुर्याउने र लिनजाने सौभाग्य मैले पाएकी थिएँ । त्यसै क्रममा एकदिन लान्सिङ्गस्थित ‘स्पेरो हस्पिटल’मा सरको नियमित स्वास्थ्य परीक्षणका लागि जान मैले उनलाई ‘चेरिलेन अपार्टमेन्ट’को अघि पर्खेकी थिएँ । जहाँ जाँदा पनि सर र म्याडम सँगै जाने गर्थे । त्यसैक्रममा सरले गाडीमा बस्न पछाडिको ढोका खोलेका थिए । मैले सर अगाडि सिटमा बस्नु न, हजुरलाई अलि सजिलो हुन्छ नि भनेकी थिएँ । सरले ‘होइन म पछाडि नै बस्छु, फेरि तपाईंकी म्याडम एक्लै हुन्छिन्’ त्यसताका भनेका थिए । त्यतिबेला लाग्यो, अहो सरले त म्याडमलाई कस्तो माया गर्ने, गाडीमा पनि सँगै बस्नुपर्ने । यो भौतिक शरीर सधै त कहाँ रहन्छ र ? आखिर म्याडमलाई एक्लै छाडेर सर पहिले नै ब्रह्मलोक प्रस्थान गरिसके । सरको देहावसानको खबर सुन्नासाथ मलाई हाम्रो त्यही कुराकानीको झझल्को आइरह्यो । समय बित्दै गयो । एकदिन हामीलाई म्याडमले आफ्नो अपार्टमेन्टमा खानाका लागि निम्तो दिइन् । म्याडमले मीठो–मीठो, तर अत्यन्त स्वस्थकर खानेकुरा बनाएर खुवाइन् । बिस्तारै हामी अझै नजिक हुँदै गयौं। सर–म्याडमले हामीलाई अत्यन्तै विश्वास गरी पारिवारिक कुरा खोल्दा झनै यो जोडीसँग निकट भएजस्तो लाग्थ्यो ।
एकदिनको कुरा हो, म सरका कुरा सुनेर अचम्मित भएँ । कुराकानीको सिलसिलामा सरले आफूहरू अमेरिकामा पनि बस्नसक्ने सम्भावना व्यक्त गरेका थिए । मैले केही पनि नसोची प्वाक्क बोलिदिएँ–सर, के हजुर जस्तो मान्छे पनि अमेरिका बस्ने र? सरको जवाफ थियो–म को मान्छे? कस्तो मान्छे? मलाई के सम्झेको नानीले ?’ सरका ती प्रश्नहरू सुनेर र भावमय चेहरा देखीपहिले त मेरो सातो नै गयो । ठूलो गल्ती पो बोलेंछु कि, यति मान्यजन व्यक्तिसँग जस्तो महसुस भयो । म तुरुन्तै मौन भएँ । वातावरणमा एकाएक सन्नाटा छायो । मेरो सामुन्ने रहेका मेरा श्रीमान् दीपेन्द्र सुवेदीसँग आँखाको भावमै हल्का पश्चाताप महसुस पनि गरें, यद्यपि त्यो निस्किसकेको वाक्यलाई सुधार्ने ममा कुनै सामर्थ्य थिएन । म मौन बसिरहें । एकैछिनमा सर मेरो नजिकै आएर अमेरिकामा बस्नुपर्ने स्थितिका बारेमा बताएका थिए । त्यो नितान्त व्यक्तिगत थियो । सायद नेपालमा चलिरहेको द्वन्द्व र राजनीतिक उथलपुथलका कारणले पनिसरले त्यसो भनेजस्तो हामीलाई लाग्यो । देशप्रतिको मायाले ओतप्रोत एक महान् स्रस्टाका जीवनका संघर्ष सुनेर एकछिन त हामी दुवै रनभुल्ल भयौं, जवकि हामी त त्यति अग्रज विद्वान्का अगाडि अञ्जान केटाकेटीजस्तै थियौं । नेपालका यस्ता कुनै पनि देशलाई माया गर्ने सपूत, बौद्धिक व्यक्तित्व, अतुलनीय स्रस्टालाई साधारण जीवन बाँच्नका लागि बिदेसिनुपर्ने सोचाइ राख्न बाध्य नबनोस् । त्यो दिन सरका कुराले हामीलाई पनि जीवनमा ठूलो पाठ सिकाएजस्तो भान भयो । कसैको जीवन पनि बाहिरबाट देखेजस्तो फूलैफूल कहाँ हुन्छ र? वर्षौंदेखि काँडाहरूका बीचमा फूल खोज्दै थिए तारा सर । उनलाई आफ्नी प्रिय अर्धाङ्गिनी र प्राणभन्दा प्यारा दुई छोराको मायाले नै जीवनका सुन्दर सपनाहरू बुन्नका लागि हरबखत प्रेरित गर्थ्यो । अब बल्ल मलाई अलि राहत मिल्यो, तर मनमा भने जीवनका अनिश्चितताहरू सम्झेर ताना खेल्न थाले । सरका कुराले उनीप्रति भएभरको सम्मान एकैपटक ओतप्रोत भएर आयो । त्यो मेरो सरसँगको साक्षात्कार बिर्सिनसक्नु क्षण हो । त्यस्ता उतारचढावका बाबजुद पनि दुई जनाबीचको माया–प्रेम यस्तो थियो कि, कुनै पनि समस्या त के पहाडै पल्टिएपनि त्यसलाई सुल्झाउने क्षमता थियो यो दम्पतीमा । म्याडमलाई बसिन्जेल सधैं सकारात्मक सोच, हँसिलो र ऊर्जाशील नै देख्यौं । कतै खाना खान गयो, सरको प्लेटमा के छ म्याडमले विचार गर्थिन् । सरलाई फाइदा हुने स्वस्थकर खानेकुरा मिलाएर राखिदिन्थिन् ।
कहिले अरू साथीभाइ एवं आफन्तसँग हाम्रो विभिन्न ठाउँमा भेट हुन्थ्यो । हाम्रो अपार्टमेन्टमा पनि डिनरका लागि आमन्त्रण गर्यौं । एक वर्षका चाडबाड सँगै मनायौं । मैले स्वास्थ्यसम्बन्धी कुरा गर्दा सर निकै चाख लिएर सुन्थे । मलाई ‘लेख्ने इच्छा छ भने लेख्नुपर्छ, म हेरिदिउँला नि’ भन्थे । एक पटकको कुरा हो, मिसिगन स्टेट यूनिभर्सिटीमा अन्तर्राष्ट्रिय कविता वाचन कार्यक्रम थियो । मलाई पनि कविता वाचन गर्न रहर लाग्यो । मैले नेपाली कवितालाई अंग्रेजीमा उल्था गरी पहिले कविता बुझाएपछि मात्र नेपालीमा छन्द मिलाएर वाचन गर्नुपर्ने थियो । सरले मलाई अंग्रेजीमा छोटो मीठो तरिकाले वाचन गर्ने सल्लाह र हौसला दिएका थिए । मैले पनि आत्मविश्वासकासाथ नेपाली कविता अंग्रेजीमा उल्था गरेपछि शिखरिणी छन्दमा कविता वाचन गरें र त्यतिबेला सबै दर्शकले मेरो प्रस्तुति मनपराएका थिए । शान्ता म्याडम मिलेसम्म तारानाथ सरका हरेक कार्यक्रममा जान्थिन् । कस्तो लुगा लगाएर, कुन ठाउँमा जाने सबै म्याडमले नै ट्याकटुक मिलाउँथिन् । सरका लागि त साँच्चै भन्नुपर्दा सधैं म्याडम छायाँ नै बनेर रहिन्। सायद आफ्नो व्यक्तिगत जीवनवृत्तिका लागि केही गर्न भ्याइनन् होला, तर सरलाई बाँचुन्जेल उनको ऊर्जाशक्तिमा कुनै कमी हुन दिइनन् । त्यसैले पनि म्याडम सबैका लागि एक सम्मानित र उदाहरणीय नारी हुन् । त्यसो त सरले पनि म्याडमलाई यति माया र सम्मान गर्थे कि हामीलाई त लोभै लाग्थ्यो । श्रीमान्–श्रीमतीले एक–अर्कालाई राम्ररी बुझ्नु, दुवैको भावना र आनीबानीलाई कदर गर्नु नै सम्बन्धको कसी रहेछ भन्ने लाग्यो ।
अर्को पटक सरको मिसिगन स्टेट यूनिभर्सिटी क्लिनिकमा आँखा जाँच गर्न जाने क्रममा उनले मलाई क्लिनिकको बाहिर धेरैबेर कुराएका थिए । मलाई त सरलाई सहयोग गर्न पाएकोमा जति कुरे पनि कुनै कठिन महसुस कएको थिएन, तर सरले निस्केपछि ‘आज त अलि बढी नै भयो, नानीलाई धेरै दुःख दिएँ, सरी है’ भनेको अझै मेरो सम्झनामा छ । कवि शिरोमणि लेखनाथ पौड्यालको नैतिक दृष्टान्त कविताको उही पंक्ति याद आयो ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र।’ अर्को एकदिन म अन्य समयमा झैं सरलाई पर्खेर बसेकी थिएँ । कहिलेकाहीँ सर ठट्टा पनि गर्थे । सरको अपार्टमेन्ट माथिल्लो तलामा थियो । तल बिस्तारै झर्दा समय लाग्थ्यो । सरले भनेका थिए, ‘हेर्नु अब माथिबाट तल सिंढी झर्न पनि समय लाग्ने बेला आयो । नानीको उमेरमा सिंढी फड्किएर दौडिँदा पनि केही हुन्थेन । अहिले त्यही सिंढीका बार नसमाती तलमाथि गर्न पनि धौ–धौ पर्छ । सबै कुरा समय नै रहेछ । जे–जे गर्नु छ समयमै गर्नुपर्छ है ।’ सरले घुमाई–घुमाई हामीलाई शिक्षा दिन्थे । त्यसताका यो जोडीको माया, प्रेम देखेर, म्याडमले सरको हेरविचार गरेको देख्दा एक पुरुषको सफलतामा एक महिलाको कति ठूलो देन र तपस्या हुँदोरहेछ भन्ने पनि मैले महसुस गरें ।
सरसँग मौका मिलेसम्म केही सिक्ने रहर हुँदाहुँदै पनि आफ्नो त्यतिबेलाको संघर्ष र प्राथमिकता अरु नै थियो । मलाई जागिरमा स्थापित हुनु थियो भने मेरा श्रीमान्को जतिसक्दो छिटो पिएचडी सक्ने लक्ष्य थियो । त्यतिबेला सरबाट धेरै सिक्न सक्ने मौका गुमाएँ, अहिले सम्झिदा पछुतो पनि लाग्छ । मेरा श्रीमान्को विद्यावारिधिको दीक्षान्त समारोहमा सर–म्याडम पनि सहभागी भएका थिए । त्यतिबेला अरु दुईजना नेपालीले पनि मिसिगन स्टेटबाट विद्यावारिधि गरेका थिए । त्यो दिन सर अत्यन्त खुसी देखिएका थिए । यसरी नेपाली विद्यार्थीले अमेरिकाको डिग्री लिँदा बढो रमाइलो लाग्छ भन्थे । सन् २०१९ मा, मेरा बुवाको स्मृति ग्रन्थमा सरको शुभकामना राख्ने र उनकै उपस्थितिमा पुस्तक विमोचन गर्ने मेरो ठूलो रहर थियो, तर त्यही समयमा सर नराम्रोसँग बिरामी भएका थिए । ‘डिमेन्सिया’ले सोच्नका लागि गाह्रो हुन्थ्यो । लेख्नका लागि हात काँप्थे । मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्याले पनि अलि धेरै गालेको थियो । सर बिरामी पर्नु अघिसम्म बेला–बेलामा म्यासेन्जरमा सन्चो/बिसन्चो सोध्ने गर्थें । छोराछोरीलाई आशीर्वाद दिन्थें । काठमाडौं फर्किने दिन जसरी पनि हामी हजुरलाई भेट्न घरमा आउँछौं भनेका थियौं, अब सरलाई भेट्नु यत्तिकै भयो । सर नभए पनि सरकै छायाँ शान्ता म्याडमलाई भेट्न हामी छोराछोरी लिएर एकदिन हाम्रो वाचा पक्कै पूरा गर्नेछौं ।
जन्मपछि मृत्यु प्राकृतिक सत्य नै हो । अन्ततः नेपाली साहित्य आकाशमा उल्लेखनीय योगदान पुर्याएर ८७ वर्षको उमेरमा सरस्वती नगरस्थित, काठमाडौंको आफ्नै घरमा तारानाथ सरको भौतिक शरीर शून्यतामा बिलायो । उनी पूर्वीय आकाशमा भाषाविज्ञको तारा भएर अनन्तसम्म चम्किरहने छन् । नेपाली शिक्षा र साहित्यमा एक दूरगामी प्रवाह दिने उनको परिवारप्रति हार्दिक समवेदनाका साथै आदरणीय सरप्रति हार्दिक श्रद्धाञ्जलि एवं दिवंगत आत्माको चिरशान्तिको कामना ।
(तस्बीरहरू : परिवारको सामाजिक सञ्जाल)