Successfully Copied

सुलभ सजावट

जाडो याममा झ्यालढोकाको पर्दा परिवर्तन गरेर घरलाई नयाँ लुक्स दिन सकिन्छ । पर्दा परिवर्तन गर्दा पुरानो पर्दाको रंग र त्यसको प्रिन्ट नदोहोरियोस् भन्नेमा जोड दिनुपर्छ ।

सन्दिता तामाङ

संस्थापक एवं कार्यकारी निर्देशक, डेकोर डेब्युट प्रा.लि.

जाडो मौसममा घरलाई न्यानो राख्न वा केही नयाँपन दिनका लागि आन्तरिक सज्जामा फेरबदल गर्न सकिन्छ । घरको पर्दादेखि भित्री सजावटसम्म थोरै परिवर्तन गरेर जाडो याममा घरलाई नयाँ रूप दिन सकिन्छ ।

झ्यालढोकाको पर्दा

जाडो याममा झ्यालढोकाको पर्दा परिवर्तन गरेर घरलाई नयाँ लुक्स दिन सकिन्छ । पर्दा परिवर्तन गर्दा पुरानो पर्दाको रंग र त्यसको प्रिन्ट नदोहोरियोस् भन्नेमा जोड दिनुपर्छ । जाडोमा पर्दा बाक्लो र गाढा रंगको हुन जरुरी छ । यसले कोठा फरक देखिने मात्र होइन, न्यानो पनि राख्छ । यसरी थोरै पैसा खर्च नगरी घरको लुक्स बदल्न सकिन्छ ।

फर्निचर

कोठालाई नयाँपन दिन बेलाबखत फर्निचरको स्थान फेरबदल गर्न सकिन्छ । पलङ, सोफा, दराजलाई सधै राखिएको भन्दा फरक ठाउँमा सजाएर कोठाको स्वरूप बदल्न सकिन्छ ।

वालपेपर

पछिल्लो समय कोठाको आन्तरिक सजावटमा वालपेपरको प्रयोग बढेको छ । विभिन्न रूपरंग वा डिजाइनमा उपलब्ध हुने र सजिलै लगाउन सकिने भएकाले यसलाई धेरै रुचाइएको पनि छ । जाडोमा सोहीअनुरूप सुहाउँदो वालपेपर प्रयोग गरेर कोठाको सज्जा परिवर्तन गर्न सकिन्छ ।

रंगरोगन

कोठाको रंग परिवर्तन गरेर नयाँपन दिन सकिन्छ । इन्टेरियरको महत्वपूर्ण पक्ष भनेको पेन्ट्स हो । विभिन्न पेन्ट्स कम्पनीले टेक्स्चर पेन्ट्स निकालेका छन् । कुनै एउटा वालमा यस्तो पेन्ट्स लगाउन सकिन्छ । रंगको छनोटमा भने विशेष ध्यान दिनुपर्छ । कोठालाई नयाँपन दिनका लागि कुनै एक भित्तालाई रोज्न सकिन्छ । जसलाई हाइलाइट गर्न सकियोस् । हाइलाइटका लागि रंग उज्यालो हुनुपर्छ । यस्तो रंगले ध्यान आफूतिर खिच्छ । त्यस्तै, झ्याल र ढोकाको फ्रेममा पनि आकर्षक रंग गर्न सकिन्छ ।

इन्डोर प्लान्ट

अहिले कोरानाका कारण धेरैलाई समय मिलेको छ । त्यसैले धेरैजसोले घरमा इन्डोर प्लान्ट रोप्ने गरेका छन् । यस्ता प्लान्ट सदाबहार हुन्छन्, जुनसुकै मौसममा पनि कोठामा सजाउन सकिन्छ । रबर प्लान्ट, मनिप्लान्ट आदि बिरुवा राख्न सकिन्छ, जसले घरलाई हरियाली बनाएर प्राकृतिक लुक्स दिन्छ । अन्य रंगको बिरुवा पनि राख्न सकिन्छ ।

सजावटका सामग्री

बजारमा विभिन्न डिजाइनका सजावटका सामग्री पाइन्छन् । आफ्नो रुचि र बजेटअनुरूपका सामग्रीले घरको सजावट गर्न सकिन्छ । पेन्टिङ, फोटो फ्रेम, लाइट, भास आदिले कोठालाई फरक लुक दिन्छन् । थ्रो पिलोज राख्न सकिन्छ । रंगीन कभर भएको किताब अथवा कोठाको साइड टेबलमा सुन्दर सो–पिस, क्यान्डिलले सजाउन सकिन्छ । ठूलो र फराकिलो कोठा भए भित्तामा ठूलो पेन्टिङ लगाउँदा राम्रो हुन्छ । फूलदानीमा नयाँ फूल परिवर्तन गरेर पनि कोठालाई नयाँपन दिन सकिन्छ ।

ऐना

ऐनाले घरको मेकओभर गर्ने बेस्ट आइडिया हुन सक्छ । बैठक कोठाको सामुन्ने वा घरको अतिरिक्त खाली ठाउँमा ठूलो ऐना राखेर घरलाई फरक लुक्स दिन सकिन्छ । अथवा घरमै भएको पुरानो ऐनाको फ्रेममात्र परिवर्तन गर्न पनि सकिन्छ । सुन्दर डिजाइनको फ्रेमसँगै ऐनाको ठाउँ बदलेर कोठालाई नयाँपन दिन सकिन्छ ।

लाइटिङ

घर सजावटमा लाइटिङको भूमिका महत्वपूर्ण हुन्छ । कुनै एउटा बल्बमात्र परिवर्तन गरेर पनि कोठालाई फरक लुक दिन सकिन्छ । अहिले थरीथरी डिजाइनका लाइट उपलब्ध छ, जसको प्रयोगले कोठाको सजावटमा विविधता ल्याउन सकिन्छ ।

द्धजाडोमा घरलाई मोनोक्रोमेटिक लुक दिनुपर्छ । मोनोक्रोमोटिक लुकले घरलाई न्यानो बनाइराख्छ ।

द्धबैठक कोठाको ढोकालाई नयाँ स्वरूप दिनका लागि पेन्टिङ वा फोटोफ्रेमको कोलाज बनाएर राख्न सकिन्छ ।

द्धढुंगा र काठले बनेको डेकोरेटिभ आइटमले बैठक कोठा सजावट गर्न सकिन्छ ।

द्धगाढा रंगको कृत्रिम फूल फूलदानीमा सजाएर घरलाई विन्टर लुक्स दिन सकिन्छ ।

द्धफरक आकार र सेपको स्टोनलाई कलरफुल भाँडामा राखेर मध्यभागको टेबलमा सजाउन सकिन्छ ।

द्धओछ्यानलाई न्यानो बनाउन साटिन, भेल्भेट, ऊनी फेब्रिकयुक्त बेडकभर राख्न सकिन्छ ।

 Image