कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघमा) पहिलो पटक महिला अध्यक्ष भइन्, सुनैना घिमिरे पाण्डे । क्यानले स्थापनको ३२ वर्षपछि पहिलो अध्यक्ष महिला पाएको हो । जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक पाण्डेले दश वर्ष क्यानमा उपाध्यक्षको जिम्मेवारी निभाइसकेकी छन् । अध्यक्षको भूमिकाले भने थप जिम्मेवारी र उत्तरदायित्व महसुस भएको सुनाइन् ।
क्यान महासंघमा पहिलो महिला अध्यक्ष, त्यसमा पनि निर्विरोध निर्वाचित हुनुलाई कसरी लिनुभएको छ ?
क्यान आइटी क्षेत्रको पुरानो छाता संगठन हो । महासंघमा लामो समयदेखि आबद्ध छु । उपाध्यक्षको दश वर्षको जिम्मेवारीपछि अध्यक्षको जिम्मेवारीमा पुग्न सफल भएँ । निर्विरोध निर्वाचित हुनुमा कामको परिणाम हो जस्तो लाग्छ । क्यान परिवार, शुभचिन्तकको माया र विश्वासले अध्यक्ष बन्न सफल भएकी हुँ । जिम्मेवारीको हिसाबले महिला र पुरुष अध्यक्षको फरक पाएकी छैन । तर म अध्यक्ष हुँदा महिलाहरूलाई भने उत्साह र जाँगर थपिएको छ । नेतृत्वमा पुग्न सफल हुन सकिन्छ भन्ने सन्देश भने गएको छ ।
आइटी क्षेत्रमा महिलाहरूको उपस्थिति कस्तो छ ?
२००९ को अन्त्यतिर म क्यानमा प्रवेश गरें । त्यतिबेला महिला प्रतिनिधित्वका लागि म महासंघमा आइपुगेकी थिएँ । क्यानको छाता संगठनका रूपमा ‘वुमन इन आइटी’ कमिटीको निर्माण गर्दा ७ जना महिला पाउन मुस्किल थियो । चार महिना लगाएर यो कमिटी गठन भएको थियो । तर अहिले अवस्था त्यस्तो छैन । आइटी क्षेत्रमा महिलाहरूको उपस्थिति बढेको छ ।
यो क्षेत्रमा रोजगारीको अवस्था कस्तो छ ?
पछिल्लो समय आइटी क्षेत्र विकसित हुँदै गएको छ । आइटी पढ्नेले मात्र होइन अन्य क्षेत्रले पनि यसमा करिअर बनाउन सक्ने अवस्था छ । यो क्षेत्र विषयगत रूपमा विस्तार हुँदै गएको छ । जस्तैः डेटा, क्वालिटी कन्टोलदेखि डिभाइससम्मका सेक्टरविकसित भएका छन् । नेपालको सन्दर्भमा रोजगारीको कुरा गर्दा अन्य क्षेत्र भन्दा छिटो आम्दानी गर्न सकिने क्षेत्र रहेको छ । अहिलेका युवाहरूले विदेशी कम्पनीका कामहरू यहीँ बसेर गरिरहेका छन् । अहिले ६६ हजार फ्रिलान्सर छन्, जसले महिनामा १ लाखदेखि ६ लाखसम्म कमाइरहेका छन् ।
आइटी क्षेत्रमा सुधारका पक्षहरू के देख्नुहुन्छ ?
यो क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ । हुर्कदै गएको व्यवसायलाई कर फ्रि गरेर व्यवसायले आम्दानी दिनथालेपछि मात्रै कर लगाउने प्रणाली लागू गर्नुपर्छ । यसका साथै क्वालिटी वर्क फोर्स क्वालिटी वर्क फोर्स तयारी गर्नुपर्छ । देशमै रोजगारी छ भनेर सकारात्मक वातावरण फैलाउन आवश्यक छ ।
आइटीमा कार्यरत प्राय व्यक्तिशालीन देखिन्छन् नि ?
यहाँ सोचले काम गर्नुपर्ने भएकाले कम बोल्ने स्वभाव हुन्छ । बोलीले भन्दा पनि ज्ञानले काम गर्नुपर्ने भएकाले शालीनता बढी भएको हो कि ?