Successfully Copied

लकडाउनमा मन स्थिर राख्न ध्यान 

लकडाउन बाहिरको संक्रमणबाट बच्ने उपाय हो भने ध्यान बाहिरका नकारात्मक ऊर्जाबाट बचेर भित्रको शान्ति र आनन्दलाई अनुभूति गर्नु हो । सामान्य व्यक्ति प्रतिकूलता र असहज परिस्थितिसाग डराउँछ, आत्तिन्छ  भने ध्यानी व्यक्तिले प्रतिकूलतालाई पनि सहन गरेर धैर्यतापूर्वक अरू उपलब्धिमूलक बनाउनमा समयलाई उपयोग गर्दछ ।

 

कोभिड–१९ को भाइरसले संसारलाई आक्रान्त बनाईरहँदा नेपाल पनि यसबाट अछुतो हुन सकेन । जसको फलस्वरूप नेपालमा हामी पनि लकडाउनमा गएको दुइ साता भैसक्यो, अझै लम्बिने सम्भावना छ । धेरै वर्षको अन्तरालमा चीन, यूरोप, अमेरिका र छिमेकी राष्ट्र भारतलाई समेत आक्रमण गरिसकेपछि हामीले पनि संयमता र सावधानी अपनाउनु अत्यन्त जरूरी देखेर लकडाउनमा जानु परेको अवस्था हो । 

सृष्टिमा यस्ता महामारी केहि दशकको अन्तरालमा आउने गर्छन् भनेर अनुसन्धान र इतिहासले पनि बताएको छ । जब चुनौती, समस्या, दु:ख र असहजता आइपर्छन् त्यस्तो अवस्थामा सबैभन्दा बढी अस्थिर रहने हाम्रो मन हो । हाम्रो शरीर घरभित्र रहेपनि मन भागदौड गरिरहन्छ । हुने–नहुने, सक्ने–नसक्ने, भय, त्रास, आशंका र अनेक किसिमका तनाव सङ्कलन गर्न थाल्छ मनले । त्यसकै कारण त मानिसमा घर बाहिरै रमाउने आदत बन्यो, बहिर्मुखी भयो, अब मानिसहरू लकडाउनमा घरभित्र बस्दा आफैंले आफैंलाई बन्दी बनाएको महसुस गर्न थालेका छन् र घरबाट बाहिर भाग्न चाहन्छन् ।  

बाहिर के भई रहेछ बुझ्न र जान्न चाहन्छन् । बिडम्बना π मानिस सधैँ बाहिरै भागदौड गर्दागर्दै आफैंलाई भुलेको कारण, आफूभित्र रमाउन नजानेको कारण आजको परिस्थितिमा आफैंले आफैंलाई सम्हाल्न असहज भएको अनुभूति हुन्छ । जीवन चलाउन, रोजीरोटी जुटाउन, आफ्नो कर्मयोगलाई निरन्तरता दिन घर बाहिर ननिस्की सुखै छैन तर यो परिस्थिति भनेको हामीले नचाहेर पनि घरभित्रै सुरक्षितरूपमा नबसी अरू विकल्प छैन । घरभित्र रहेर पनि सृजनात्मक र उपलब्धिमूलक समय व्यतित गर्नको लागि ध्यानमा लिन हुनुु, सङ्कटमा ध्यानको अभ्यासलाई आफ्नो साधना बनाउनु जत्तिको उपयुक्त माध्यम अरू छँदैछैन ।

अहिलेको समय हामी कोरोनाको डरसँग बच्नु भन्दा पनि मनको डरबाट कसरी बच्ने त्यो उपाय अपनाउनु परेको छ । मनमा अनेक सोचाई लिएर भय र तनावमा गयौं भने कोरोना ठिक होला हामी भने मानसिक तनावमा नजाउँला भन्न सकिन्न । त्यसैले मनको व्यवस्थापन गरी परिस्थितिलाई साक्षीपूर्वक हेरी शान्तिपूर्ण जीवन बाँच्ने कला अपनाउनु जरूरी छ । सृष्टि चुनौतीलाई आधार मानेर चलेको छ । हामी मानिसले जीवन बाँच्न र आफ्नो संसार चलाउन केहि नियम बनाएका छौं तर अस्तित्वको आफ्नै महानियम छ जसलाई बोध गर्नपनि ध्यानको कला जानेकै हुनुपर्दछ । 

अस्तित्वले मानिसको सृष्टि गर्‍यो, मानिसले विज्ञानको विकास गर्यो तर आज विज्ञान पनि स्तब्ध भएको छ, टक्क अडिएको छ र अस्तित्वको शरणमा परेको छ । कोरोनाको औषधि पत्ता लागेको छैन, सरसफाई र बाहिरी नकारात्मक भाइरसबाट बच्ने, शारीरिक र सामाजिक दूरी कायम राख्ने अनि खानपान, अध्ययन, घरकै सीमारेखा भित्र शारीरिक व्यायाम मिल्ने कर्म, ध्यान र योगमा समय दिएर आफैंमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु अहिलेको प्रमुख उपलब्धि हो । हाम्रा ऋषिमुनीहरूको अभ्यास र अनुभूति अनि विभिन्न वैज्ञानिक अनुसन्धानले समेत पुष्टि गरिसकेको कुरा हो कि हरेक समस्याको समाधान ध्यानबाट मात्र सम्भव छ किनकी मानसिक स्वास्थ्य र शान्ति पहिलो औषधि हो । 

लकडाउन बाहिरको संक्रमणबाट बच्ने उपाय हो भने ध्यान बाहिरका नकारात्मक ऊर्जाबाट बचेर भित्रको शान्ति र आनन्दलाई अनुभूति गर्नु हो । सामान्य व्यक्ति प्रतिकूलता र असहज परिस्थितिसाग डराउँछ, आत्तिन्छ  भने ध्यानी व्यक्तिले प्रतिकूलतालाई पनि सहन गरेर धैर्यतापूर्वक अरू उपलब्धिमूलक बनाउनमा समयलाई उपयोग गर्दछ । नयाँ आाखाले, नयाँ पनले, नयाँ अनुभूतिले र अहिलेको स्वच्छ प्रकृतिलाई नजिकबाट नियाल्न र त्यसमा रमाउन जानियो भने मनलाई अस्थिर हुने मौका मिल्दैन । घरको सरसफाई, परिवारसँगको समय र भलाकुसारी, करेसाबारी र फूलबारीमा रमाउँदै आफ्नो आत्मबोधमा रमाउन जान्नु पनि स्व–एकात्मकताको अनुभूति हो, ध्यान हो । हामी २४ घण्टामा जेजति कर्महरू गर्दछौं त्यसको थोरै अंश १–२ घण्टामात्र पनि ध्यानमा बिताउँदा विना गुनासो, खुसी र आनन्दित भएर वर्तमानमा रहन सघाउ पुर्‍याउँछ ।

लकडाउन अर्थात् सङ्कटको समयमा आफ्नो आत्मबल बढाउनु, आत्मस्मरणमा रहनु र सृजनात्मक हुनु जरूरी छ । जे पनि कर्म गरिन्छ सजग भएर, होसपूर्ण भएर गर्नु नै ध्यान हो । सजग भएर गरेका सानातिना कामहरु नै पवित्र बन्दछन् । खाना बनाउने काम होस् या कसैसँग बसेर कुराकानी गर्नु, सरसफाई गर्नु होस् या पूजाआजा । के गरिरहेका छौं होइन कि कसरी गरिरहेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । कसरी गरेका छौं भनी होसपूर्ण हुनु नै सजगता हो । कुनैपनि क्रिया गर्नुछ त्यसैले गरिन्छ भने त्यो रोबोट झैँ यान्त्रिक हुन जान्छ । कसरी गरिएको छ अनुभव र आफ्नो भावदशा पनि जान्न सक्नु महत्वपूर्ण अवसर हो । प्रत्येक कर्म यस्ता हुन् कि होशको प्रकाश छर्न सफल होउन् । सबै कर्म र क्रियाकलाप प्रति चंगामा एउटा धागो जोडिए झैं सजगता बनिरहोस् । सजगता नै हाम्रो जीवनको स्रोत बन्न सकोस् यहि नै कर्म गर्ने तरिका हो र ध्यानको उपलब्धि पनि ।

प्रायजसो मानिसको प्रश्न हुने गर्दछ ध्यान कसरी गर्ने ? ध्यान गर्ने कुरा होइन । सबै भावदशा र मनका वृत्तिहरुबाट खाली भएको अवस्था ध्यानस्थ अवस्था हो । ध्यान कसरी गर्ने भन्ने प्रश्नको अलावा दिनमा कम्तिमा १ घण्टा केहि नगरी कसरी बस्ने भन्ने जान्न खोज्यो भने सार्थक हुनेछ । हामी मानिस कर्मयोगी हौँ २४ घण्टा समय केहि न केहि नगरी हामी बस्नै सक्दैनौं र बस्न हुँदैन पनि । तर, २४ घण्टा मध्य १–२ घण्टा आफ्नो लागि छुट्टयाएर केहि नगरी बस्नु ध्यानमा उपलब्ध हुनु हो । केहि नगर्नु, विश्रामपूर्ण बस्नु र हाम्रो आन्तरिक ऊर्जालाई प्रष्फुटन हुन दिनु ध्यान हो । बाह्य ऊर्जाले व्यस्त बनाउँछ भने आन्तरिक ऊर्जाले मस्त बनाउँछ । बाहिरका कर्मले बाहिरी आनन्द प्रदान गर्छन् भने भित्री जागरणले भित्रबाट आनन्दित बनाउँछ । मानिस यस्तो प्राणी छ कि उसलाई बाहिरी संसारमै संघर्ष गर्न र रमाउन मन लाग्छ । आफ्नो भित्रको संसारमा प्रवेश गर्न सकिन्छ भन्ने हेक्का नै छैन  । आफ्नो नाभि केन्द्रलाई हेरेका छौं हामीले यसको संवेदना कस्तो छ ? यसले कतातिर इंगित गरेको हुन्छ ।

आफ्नो तेस्रो नेत्रलाई हेर्ने कोशिस गरेका छौं हामीले ? बाहिर जे छ सपना छ, भित्र जे अनुभूति हुन्छ त्यही असली अनुभूति हो । शुरुशुरुमा भित्र हेर्ने कला गार्‍हो हुन्छ । अन्धकार, त्यहाँ पनि विचार चलिरहे जस्तो हुन्छ तर विस्तारै विस्तारै विचार पनि शून्य भएर एक गहन शान्तीको अवस्था सृजना हुन्छ । यहि नै आन्तरिक स्वभाव हो । अन्तर्मुखी हुने कला हतारमा सम्भव छैन । यसको कुनै छोटो मार्ग पनि छैन । बरु यसलाई जति धैर्य भएर हेर्ने प्रयास गर्‍यो त्यतिनै छिट्टो अन्तर हृदयमा डुब्ने कला प्राप्त हुन्छ । बाहिर बत्ती जलाएर मात्र प्रकाशको अनुभूति गर्न सकिन्छ भने भित्रको प्रकाश विनास्रोत अनुभूति हुन्छ । त्यहि स्रोतविनाको प्रकाश हाम्रो स्वभाव हो । द्रष्टा र दृश्य बिलिन भएर बाँकी रहेको प्रकाश आफ्नो स्वभाव हो ।

ध्यान के हो थाहै नपाउने र नबुझ्नेहरुले दैनिक २० मिनेट मात्र भएपनि आफूलाई मौन चुपचाप रहेर, आँखा चिम्लेर बस्ने बानी बसाल्दै गयो भने बिस्तारै ध्यानमा प्रवेश गर्न सक्दछ । ध्यान केवल साधन मात्र नभई आफैमा साध्य अवस्था हो । ध्यान मार्ग पनि गन्तव्य हो । ध्यान घटित हुनु परम लक्ष्य हो, जीवनको सम्भावनालाई उजागर गरेर आफ्नो गरिमामा प्रतिष्ठित हुनु हो । छोटकरीमा, ध्यानको उपलब्धि ध्यान नै हो । ध्यानले हाम्रो व्यक्तित्व सन्तुलित बनाउनुका साथै जीवनमा सम्यकता ल्याउँछ । आत्मविश्वास, ऊर्जा र उमंगमा अभिवृद्धि पनि ध्यानका सहज परिणाम भएको हुनाले सही ध्यानले व्यक्ति अझ बढि सरल, सहज, व्यवहारमा कुशल र कर्तव्य परायण हुन्छ । जस्तोसुकै परिस्थिति र प्रतिकूलताप्रति पनि सकारात्मक र सचेत भएर बाँच्ने कला प्राप्त गर्दछ ।

 

( लेखक, ध्यान, योग प्रशिक्षक एवं स्वतन्त्र सामाजिक परामर्शदाता)     

 

 Image