कार्यशालामा सक्रिय महिला कलाकार

सिर्जना दुवाल श्रेष्ठ

फाल्गुन ६, २०७६

कार्यशालामा जाने र मूर्ति बनाउने महिला कलाकार भेट्न मुस्किल छ । यस्तोमा अनमारी तामाङ अपवाद बनेकी छिन् । उनी मुलुकका विभिन्न स्थानमा सञ्चालन हुने मूर्ति कार्यशालामा पुग्छिन् । त्रिभुवन विश्वविद्यालयबाट ललितकलामा स्नातकोत्तर गरिरहेकी उनी एक्ली महिला हुन् । सानैदेखि चित्रकलामा रुचि राख्ने अनमारीले ए लेबलमा पेन्टिङ लिएर पढिन् । स्नातक पढ्ने बेला उनलाई मूर्तिकलाका बारेमा कौतूहलता जाग्यो र त्यही विषय लिएर पढिन् । महिलाले एक्लै मूर्तिकलामा काम गर्न सक्दैनन् भन्ने सोचले सहयोग गर्न खोज्नेलाई उनले नकारिन् र जस्तोसुकै कठिन काम पनि महिलाले गर्न सक्छन् भनेर विद्रोह गरिन् । 

अहिलेसम्म उनले एक दर्जन ढुंगा र एक दर्जन काठका मूर्ति बनाएकी छिन् । देशमा भएका आठवटा मूर्तिकला कार्यशालामा सहभागी भइसकेकी छिन् । अहिले उनलाई मूर्ति बनाउने प्रस्ताव गर्नेहरू बढेका छन् । उनी भन्छिन्, ‘सुरुमा त तिमी केटीमान्छे कसरी बनाउँछ्यौ भनेर सोध्थे । केटा मूर्तिकारहरू खोज्थे । तर अहिले मेरो काम देखेर मलाई नै खोज्न आउनेहरू पनि छन् ।’ कला क्षेत्रमा आउने हो भने मानसिक रूपमा पूर्ण तयार भएर आउनुपर्नेमा उनको जोड छ । 

काठमाडौं बूढानीलकण्ठमा जन्मे–हुर्केकी अनमारी परिवारकी एक्ली छोरी हुन् । उनी आफ्नो इच्छामा कहिल्यै परिवारबाट रोक नलागेको बताउँछिन् । भन्छिन्,–‘भावना र अनुभूति देखाउने माध्यम हो–मूर्तिकला । यसको माध्यमबाट मलाई महिला सशक्तीकरण र साहस देखाउन मन लाग्छ । महिला हिंसा र भेदभावको विरोध गर्न मन लाग्छ । महिला सशक्तीकरणका लागि महिला हिंसा र लैंगिक दूरी घटाउने मूर्ति धेरैभन्दा धेरै बनाउने इच्छा छ ।’ त्यही अवधारणाअनुसार उनले महिला पात्रहरूलाई लिएर योनिको थिममा मूर्तिहरू बनाएकी छिन् । अहिले भने उनी लाटोकोसेरो थिममा काम गरिरहेकी छिन् । उनले लाटोकोसेरोको थिम लिनुमा वातावरणीय कारण छ । उनको पुर्खाको गाउँ भुजुङ खोलामा केही दशकअघिसम्म पनि थुप्रै लाटोकोसेरा पाइन्थे । अहिले लोप भइसकेको छन् । 

‘यसरी बस्तीहरूबाट चराहरू हराउँदै जानु गम्भीर विषय हो । त्यसले म यो थिममा काम गर्दैछु’– उनले भनिन् । यसअघि पनि उनले चरा र जोमेट्रिक सेपमा काम गरिसकेकी छिन् । गत वर्षको उनको जोमेट्रिक सेपको मूर्तिले मूर्तिकला विधाबाट राष्ट्रिय कला पुरस्कारमा अवार्ड पाएकी थिन् । 

अनमारी माटो, काठ र ढुङ्गाका मूर्तिहरू बनाउँछिन् । त्यसमध्ये उनलाई ढुङ्गामा काम गर्न सजिलो र रमाइलो लाग्छ । उनलाई सबैभन्दा मनपर्ने काम फिल्ड वर्कमा मूर्तिहरू बनाउनु हो । केही समयअघि मुलुकका चर्चित मूर्तिकारले मूढामा बुद्ध र मावली झल्काउने मूर्ति बनाएका थिए । १७ जनाको समूहमा उनी एक्ली महिला थिइन् । त्यस्तै कीर्तिपुरको कालु पाण्डे युद्धपार्कमा मूर्तिकला कार्यशाला भएको थियो । त्यहाँ पनि अनमारी एक्ली महिला मूर्तिकार थिइन् । युद्धपार्कमा के बनाउने भनेर सुरुमा उनी अल्मलिएकी थिइन् । युद्धपार्कमा शान्तिको खोजी गर्नुपर्छ भनेर शान्तिको दियो बलेको मूर्ति बनाइन् ।

अनमारी अमूर्त चित्रमा गहिरो रूचि छ । ‘मूर्त चित्र मान्छेले तत्काल हेरेर थाहा पाउँछन् । मन परे हेर्छन्, नत्र वास्ता गर्दैनन् । तर अमूर्त मूर्ति जोकोहीले हेर्छन् । आफूअनुरूपको कल्पना र व्याख्या गर्छन्’– उनी भन्छिन्– ‘मेरा मूर्ति मान्छेले धेरैबेर हेरून् र आफ्नो कल्पनाअनुसार अर्थ लगाऊन् ।’

अनमारी इन्टरनेसनल एकेडेमी अफ सेरामिक्सका लागि ४ महिना इन्टर्नसीपमा जाँदैछिन् । त्यसपछि नेपाल फर्केर आफ्नै स्टुडियो खोलेर मूर्तिको काम गर्ने योजनामा छिन् ।  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>