Successfully Copied

नारीमैत्री नवराज 

मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।

म पुरुष हुँ

तर म मेरै जीवन अस्तित्वमा

आमाको भूमिका कसरी बिर्सन सक्छु

कसरी बिर्सन सक्छु पत्नीको प्रेम

र कसरी च्यात्न सक्छु

आशीर्वादको हत्केलामा हुर्किएकी

आफ्नै छोरीको सपना ?

र अब त मातृत्वका प्रतीकहरूले

पुरुषत्वको प्राकृतिक चुनौतीलाई

विकल्पमा राख्न थालिसके ।

अग्नि महाकाव्य

मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् । धादिङ ज्यामरुङका नवराजको बाल्यकाल दुईवटी आफ्नी र एउटी बुवाकी गरेर तीनवटी हजुरआमा, दुईवटी आमा एवं बहिनीहरूको संगत र सेरोफेरोमा बित्यो । ‘त्यसैले नारीका मर्म, भावना र ममतालाई मैले नजिकबाट महसुस गर्ने मौका पाएँ’ आफ्नो रमाइलो बालापन स्मरण गर्दै लम्साल भन्छन्, ‘मेरो मामाघर र फुपूको घर एकै ठाउँमा थियो जुन हाम्रो घरबाट टाढा पर्थ्यो । मामा र फुपूको घर जान भनेर म हजुरआमाको पछि लागें । बीच बाटोमा ठूलो असिना–पानी पर्‍यो । पानीले निथ्रुक्कै रुझेको मलाई आफ्नो रुझेको मजेत्रो ओढाएर न्यानो खोकिलामा च्याप्नुभएको थियो । त्यो सानो त्याग थिएन ।’ नारीलाई त्याग, समर्पण र परिआएको खण्डमा बलिदान दिन सक्ने शक्तिशाली मानवका रूपमा उनी व्याख्या गर्छन् । नारी–पुरुषको जीवन शक्ति भएको र यसको अभावमा पुरुष मूर्दा हुने तथा प्रत्येक पुरुषको गतिमा नारीको उपस्थिति रहने उनी बताउँछन् । उनका बुवा पण्डित टंकप्रसाद लम्सालमा केही दम्भ थियो । सोही कारण घरधन्दामा नवराजकी आमा नै जोतिनुपर्थ्यो रसबै घर व्यवस्थापनकोकाम आमाले नै गर्नुपर्थ्यो । उनी भन्छन्, ‘हाम्रो घरमा तल्लो र उपल्लो गरी दुईवटा चुल्हा थिए । लिपपोत नगरी, ननुहाई, लुगा नफुकाली पकाएको खाना बुवाले खानुहुन्नथ्यो’ उनी भन्छन्, ‘एकदिनको झम्के साँझमा आमा हतारिएर मेलाबाट आउनुभयो, हामी आधा दर्जन बढी केटाकेटी भोकले रन्थनिइरहेका थियौं । बच्चाको भोकको अगाडि आमाले सबैकुरा बिर्सनुभयो । तल्लो चुल्होमा भात बसाएर दूध दुहुन जानुभयो, उहाँलाई लाग्यो दूध दोहेर आउँदासम्म भात छड्किन्छ, दूध उमालेर बच्चालाई दूध–भात दिन्छु । भात छड्किदै गर्दा बुवाको आगमन भयो । क्रोधले उहाँले कसौंडी टिपेर फाल्दा अधकल्चो भात भुइँ, भित्ता र लिस्नोमा लतपतियो । उतिबेलाको विद्रोहमा मैले केही नबोलेर साथ नदिएकोमा आमाले धेरै पछिसम्म गुनासो गर्नुहुन्थ्यो ।’ तर जब माहौल बुझ्दै गए नवराजले बुवाका लागि तमाखु भरेर ठिक्क पार्ने, पूजाका भाँडा माझ्ने, सरसफाइ गर्ने काममा आमालाई सघाउन थाले । त्यसपछि आमालाई केही सहज भएको उनी बताउँछन् ।

संस्कृत पढेर पुरेत बन्ने सपना बोकेर धादिङबाट ०४० मा काठमाडौं झरेका नवराजले दरबार हाइस्कुल संस्कृत माविबाट एसएलसी, त्रिविविबाट नेपालीभाषामा स्नातकोत्तर तथा नेपाल संस्कृति विश्वविद्यालयबाट ‘रस सिद्धान्त’ मा विद्यावारिधिसम्मको पढाइ पूरा गरेका छन् । ‘गाउँ फर्केर पुरेत्याइँ गर्ने रहर, सहर बसाइका क्रममा फेरियो । कवितामा रस पस्दै गयो । सँगै भानुभक्त मेमोरियल स्कुलमा पढाउन थाले । ०४१ मा संस्कृत छात्रवासको मुखपत्र ‘अरुणोदय’ पत्रिकामा छापिएको उनको कविता निकै हिट भयो । त्यसले उनमा लेखन–साहित्यप्रति अझ ऊर्जा थपियो ।’ हालसम्म लम्सालका आठ वटा पुस्तक प्रकाशित छन् । तीमध्ये तीन वटा महाकाव्य, तीन वटा कविता संग्रह र दुईवटा गीति संग्रह छन् । प्रकाशित पुस्तकमध्ये ०७८ को मदन पुरस्कार जित्न सफल ‘अग्नि’ आफूलाई निकै मन परेको उनी बताउँछन् । लम्सालका हरेक पुस्तकमा नारी पात्रलाई सबल, सक्षम, बहादुर र सशक्त रूपमा प्रस्तुत गरिएको छ । ‘कर्ण’ महाकाव्यमा कुन्तीको सन्दर्भ प्रबल छ । ‘अग्नि’मा जुनीमाया विश्वकर्मालाई ‘आजकी योद्धा’ का रूपमा उतारिएको छ । कविता र साहित्यबाहेक रेडियोका श्रोताले नवराजको आवाजलाई अझैंसम्म खोज्छन् । १० वर्ष बीबीसी र करिब २८ वर्ष रेडियो नेपालमा सेवा गरिसकेका उनको स्वरमा छुट्टै जादु छ । 

आफ्नो सफलतामा श्रीमती संगीता र छोरी आरतीको पनि उत्तिकै हात रहेको उनको भनाइ छ । श्रीमतीको आगमनपछि उनलाई थप ऊर्जा र प्रेरणा मिलेको छ । उतिबेला पनि आफूले महिलाको खुसी र अधिकारका लागि वकालत गरेको उनको तर्क छ । करिब ३५ वर्षअघिको गाउँले परिवेशमा महिला–पुरुषलाई फरक व्यवहार गरिन्थ्यो । अझ विवाहिताले त घर सम्हाल्ने, श्रीमान् र बालबच्चाको खुसीमै आफ्नो खुसी देख्नुपर्छ भन्ने थियो । तर नवराजले कक्षा–८ पढ्दै गरेकी नानीलाई बिहे गरी घर भित्र्याएपनि पढ्न पठाए, त्यतिबेला फरियाले कुर्कुच्चा छोपेर मझेरी पोत्नुपर्नेलाई फ्रक लाएर पिडौंला देखाउँदै स्कुल पठाएको छ–छोरो बिग्रियो भन्नेहरू थुप्रै थिए । तर, उनले यी सब कुराको बेवास्ता गर्दै श्रीमतीलाई एसएलसी पास गराएरै छाडे । श्रीमतीलाई काममा सघाउने सम्भवतः उनी गाउँकै पहिलो श्रीमान् हुन् । यसो गर्दा जोइटिंग्रे भयो भनेर सबैबाट उनले अपहेलना पनि सहनुपर्थ्यो । यता छोरीको केसमा पनि उनी पछिल्लो समय अडिग भएर उनको पक्षमा उभिए । छोरीबारे उनी भन्छन्, ‘साँझ ५ बजे ताल्चा मारी कोठामा थुनेर राति १२ बजे फर्केर भात पकाई खुवाएर हुर्काएकी छोरी हुन् मेरी आरती । त्यतिबेला संगीता धादिङको गाउँमा संघर्ष गर्दै छोरो आयुषलाई हुर्काउँदै थिइन् । छोरीलाई मैले भेदभावरहित वातावरणमा हुर्काएँ । काठमाडौं बसाइमा मेरो घरमा जातजाति, धर्म, संस्कृति, वर्ण वा लिङ्गका आधारमा कुनै भेदभाव थिएन । मेरी छोरीमा सबै मानवजाति बराबर हुन् भन्ने चेतता उतिबेलादेखि नै पलाएको हो । तसर्थ छोरीले अन्तरजातीय विवाह गरेर आफूले चाहेको जीवन रोजिन्, यसमा मलाई गर्व छ । पाँच वर्षकी नातिनीलाई हामीले हुर्काइरहेका छौं । पानी नचल्ने जातसँग गएकीलाई स्वीकार गर्‍यो भनेर आज मेरा आफन्तले मलाई बाहेक गरेका छन् । विवाह, व्रतबन्ध, पूजाआजामा पनि मलाई भित्री मनले नआइदिए हुन्थ्यो जस्तो गर्छन् । मेरी पाँच वर्षीया नातिनी आज सबैभन्दा कठिन शिवताण्डव स्तोत्र कण्ठस्थ भन्न सक्छिन् । भोलि इतिहास बोल्नेछ नारीको कथा ।’ सानैदेखि आफू फरक सोच र क्रान्तिकारी बताउने लम्साल पाँच दशक पार गरिसक्दाको यो उमेरमा आफूले गरेको क्रान्तिलाई सानो मान्दैनन् । जातजाति, धर्मसंस्कृति, वर्णभेदभन्दा मान्छे माथि भनेर आफूले लेखेको कुरा वास्तविक जीवनमा पनि लागू गर्न सकेकोमा उनलाई जीवनप्रति गर्व छ । उनले भने, ‘अभिभावकले थोरै विष पिइदिँदा सन्तानको भविष्यमा अमृत फल्दोरहेछ । आज म छोरीको खुसी देखेर साँच्चिकै खुसी छु । मैले विवेक गुमाएको भए आज छोरीको अपार खुसी र यति क्षमतावान् नातिनी पाउँदिनथें भन्ने लाग्छ ।’ 

हजुरआमा    ः बालसखा

आमा    ः दुःखको साथी

श्रीमती    ः आँसुको अक्षर

छोरी    ः मेरो सपना

नातिनी (आयरा)    ः मेरो विश्वास

दिदीबहिनी    ः घरका शृंगार

महिला सहकर्मी    ः सकारात्मक ऊर्जा

प्रभावशाली महिला पात्र    ः बीपीकी आमा दिव्या  कोइराला 

 

 Image