Successfully Copied

सागको स्वर्ण जित्नै  खेलेकी हुँ : सिना मादेन

सिनाको एउटै लक्ष्य बन्यो, सागमा स्वर्ण पदक जित्ने । यसपटक साग गेम नेपालमा हुँदा पनि बुवा काठमाडौं आउन नपाउँदा मन खिसिक्क बनाएकी सिनाले जब स्वर्ण जितिन्,  बुवालाई मात्र सम्झिन् । उनको एउटै वाक्य थियो, मैले बुवाको सपनालाई पूरा गरें । हुन त उनलाई कोचकी छोरी हुँ,

धरान निवासी कोच नवीन मादेन लिम्बूको सपना बलिउड चलचित्र दंगलका अमिर खानसँग ठ्याक्कै मिल्थ्यो । दंगलमा छोरीहरूका बुवा अमिरलाई छोरीहरूलाई कुस्तीमा स्टार बनाउने चाहना थियो भने नवीनलाई तीन छोरीलाई तेक्वान्दोमा । लाहुरे बस्ती धरानमा जन्मिएका नवीनका छोरीहरूलाई बुवाको तेक्वान्दो खेलमा भन्दा नाच्ने, गाउने, राम्री हुने चाहना थियो । दुई दिदी तेक्वान्दो खेल्दा सिना सानै थिइन् ।

तर बुवाबाट आउने प्रशिक्षणको दबाब भने उनलाई पनि उस्तै हुन्थ्यो । बुवासँग तीनै जना छोरीहरू डराउँथे । घरमा सबैका लागि अनुशासनको घेरा थियो । बिहान बहाना गरी ढिला उठ्ने, अटेरी हुँदा धेरै पटक सजायँ खाने उनको दिनचर्या नै थियो । सानोमा उनलाई मैले कस्तो बुवा पाएँछु, अरूका बुवाहरूले छोरीहरूलाई पुलपुलाएको देख्दा आफूलाई दु:ख लाग्ने बताइन् । स्कुलमा नाच्न च्याम्पियन सिनालाई घरमा भने धेरै नाच्ने समय थिएन । 

जब सिना कक्षा ६ मा पुगिन्, उनको तेक्वान्दोको कक्षा घरबाट बाहिर व्यवस्था गरियो तर कोच भने बुवा नै थिए । दुवै दिदी राष्ट्रिय खेलसम्म खेले पनि विवाह पछि खेल्नै छाडे । त्यसपछि सिनाले संकल्प गरेकी थिइन्, म बुवाको सपनालाई पूरा गर्छु । त्यसैले उनको तेक्वान्दोप्रति रुचि बढेको हो । उनलाई जस्तै कोच नवीनलाई जेठी र माइली छोरीलाई पनि साफसम्मको यात्रा गराउने सपना थियो तर तुहियो ।

सिनाको एउटै लक्ष्य बन्यो, सागमा स्वर्ण पदक जित्ने । यसपटक साग गेम नेपालमा हुँदा पनि बुवा काठमाडौं आउन नपाउँदा मन खिसिक्क बनाएकी सिनाले जब स्वर्ण जितिन्,  बुवालाई मात्र सम्झिन् । उनको एउटै वाक्य थियो, मैले बुवाको सपनालाई पूरा गरें । हुन त उनलाई कोचकी छोरी हुँ, जित्नुपर्छ भन्ने प्रेसर पनि थियो । उनले यो साग गेमका लागि धेरै मेहनत गरेकी छिन् । दुई वर्षदेखि पढाइलाई विश्राम दिएर काठमाडौंमा प्रशिक्षण लिएकी हुन् । जितले ऊर्जा र आत्मबल थपेको बताउने सिना मादेनको जीवनमै पहिलो फोटोसुट नारीका लागि गराएकी हुन् । 

सिनासँग कुराकानी 

खेलबाहेक अरू के–केमा रुचि छ ?

पहिले नृत्यमा रुचि थियो तर अब तेक्वान्दो नै हो ।

सागका लागि तयारी कस्तो थियो ?

साग हुनुअघि मलेसिया, इन्डोनेसियामा लगेर त्यहाँका राष्ट्रिय टिमसँग प्रशिक्षण गराइएको थियो । कोचहरूले पनि धेरै मेहनत गरी सिकाउनुभयो । 

सागमा दुईवटा उपलब्धि पाउनुभयो, अबको तयारी केमा हुनेछ ?

अब एसियन गेम आउँदैछ । त्यसमा फोकस भएर लाग्ने सोच छ । 

भनिन्छ जितले घमण्ड आउँछ ? आफूमा कत्तिको लागू भएको छ ?

हार्नु जितको लक्ष्यमा पुग्ने अवसर हो जस्तो लाग्छ, तर जितमा मात्यो र घमण्ड आयो भने उसको अन्त्य पनि सुरु हुन्छ । ममा एक थोपा पनि घमण्ड आएको छैन । म खेल्नुअघि जस्तो सिना मादेन लिम्बू थिएँ, अहिले पनि उस्तै छु । 

तपाईंको लुक्स र फिगर आकर्षक छ, मोडलिङ र चलचित्रतिर कत्तिको रुचि छ ?

खेलसँग सम्बन्धित चलचित्र वा मोडलिङमा अफर आयो भने सोच्नुपर्ला ।

कस्ता चलचित्र हेर्नुहुन्छ ?

लभ स्टोरी चलचित्रहरू मात्र हेर्छु । युट्युबमा कोरियन ड्रामाहरू बढी हेर्छु । 

कत्तिको स्टाइलिस्ट भएजस्तो लाग्छ ?

मलाई राम्री देखिन मनपर्छ । कोरियन स्टाइलका ड्रेसअपहरू गर्न मनपर्छ । मसँग यस्ता ड्रेसहरू पनि धेरै छन् ।

मनपर्ने कलर ?

पिंक ।

मनपर्ने खाना ?

पुलाउ, चाउमिन, म:म ।

मेकअपमा कत्तिको रुचि छ ?

मलाई चिटिक्क भएर बस्न मन लाग्छ । त्यसैले मेकअप आफै सिकेकी छु । मसँग मेकअप किट्सको कलेक्सन पनि राम्रै छ ।

यसरी मेकअप गर्दा बुवाले केही भन्नुहुन्न ?

बुवालाई राम्रो खेले पुग्छ, लुगा, मेकअपमा नो कमेन्ट । 

जाडो मौसम कत्तिको मनपर्छ ?

एकदमै मनपर्छ । जाडोमा काम गर्ने जोस बढ्छ र फ्रेस पनि हुन्छु । 

(तस्बिर : महेश प्रधान, संयोजन : सिर्जना दुवाल श्रेष्ठ, पहिरन : कासा, पाटनढोका (रमिला नेमकूल) मेकअप तथा हेयर स्टाइल : सुजाता परियार, लोकेसन : होटल हिमालयन, कुपन्डोल)

 

 Image