शब्द \तस्बीर-मनोज पौडेल
निकै कठिन र जोखिमयात्रामोलेर पैदल हिँड्दै राजकाँडापुगिन्छ । त्यहाँ पुग्दा सबै थकित हुन्छन् । न प्रशस्त घर, न राम्रो बाटो, न प्रशस्त पानी । जम्मा तीन घरको गाउँ छ । तर, संसाँझै पुग्नेले जूनेली रातमा टल्किरहेको हिमशृंखला देख्दासबै दुःख भुल्छन् । कर्णालीको चिसापानीदेखि चार घण्टा पैदल उकालो हिँडेरसुर्खेतको वराहाताल गाउँपालिका वडा नं.–३ राजकाँडा पुगिन्छ । राजकाँडामा रहेको रणबहादुर बूढाको चुरे होमस्टे नं–२ आसपासबाट लहरैदेखिने मनमोहक हिमशृंखलाले सबै आल्हादित हुन्छन् । बिहानै सूर्योदयको किरणसँगै हिमाल खुल्दा सबै रोमाञ्चित बन्छन् । आँखाअघि हिमाल, नजिकै बादल र पहाडको लुकामारीको प्राकृतिकसुन्दरताले सबै लोभिन्छन् ।
उकालोमा हिँड्नुको दुःख, थोपाथोपा पानीका लागि तड्पिनुको पीडा र पहाडी भेगको चिसो सिरेटोले हानेको सबै दुःख बिर्साउने दृश्य थियो,राजकाँडाको । भिरालो र अग्ला–अग्ला पत्थर र चट्टानले गाउँको रौनकता थपेको थियो । भिराला गरामा पहेंलपुर तोरी र हरियो गहुँ बाली लहलहाउँदै गरेको देख्दा थप मोहकता थपिएको छ । बालीनाली, रुखबिरुवा र फलफूलका बोटबिरुवा नजिकबाट देखिने सेताम्य हिमशृंखलाका लहरैले जोकोहीरमाउँथे ।
ती सुन्दर दृश्यको शब्दमा जति वर्णन गरेपनि कमै हुन्छ । केही सुन्दर दृश्यलाई क्यामेरामा कैद गर्न सकिन्छ । तर, प्राकृतिक मनोरम दृश्यसँग रमाउन भने राजकाँडा पुग्नैपर्छ । राजकाँडा जाँदा अग्लो पहाडबाट देखिने कर्णाली पुलको मनमोहक दृश्य पनि उत्तिकै चित्ताकर्षक देखिन्छ । राजकाँडा हुँदै लेकगाउँ, नर्सिङकाँडा, गाइने काँडा, हेर्रे काँडा हुँदै तेलपानी पुग्दास्वर्गीय आनन्दको अनुभव हुन्छ ।