आधुनिकतातर्फ  परम्परागत पहिरन  

सिर्जना दुवाल श्रेष्ठ

मंसिर २, २०७६

युवीका अनुसार अरु समयमा त हामी इस्टर्न–वेस्टर्न आदि पहिरन लगाइरहेका हुन्छौं तर विवाहमा आफ्नो संस्कृति–परम्पराअनुकूलको पहिरन छोड्न सकिँदैन । युवी आफूलाई लुंगी र पटुकीलाई यथावत् राखी ब्लाउजमा डिजाइनर टच दिएर हल्का मोडिफाइ गर्न केन्द्रित गरिरहेका छन् । अहिलेको पुस्ता आ–आफ्नै जातीय पहिरनको मोहमा परेको उनको अनुभव छ ।

कुनै पनि समाज वा सभ्यताको स्तर कति उच्च छ भन्ने कुरा समाजका मानिसहरूको जीवन शैली, संस्कृति, पहिरन एवं विभिन्न संस्कारमा लगाइने गहनाहरूबाट थाहा पाइन्छ । त्यसैले पनि आधुनिक पहिरनसँगै पारम्परिक पहिरनतर्फ पनि युवापुस्ताको ध्यानाकर्षण भैरहेको छ । अहिले युवायुवतीहरूले विभिन्न चाडपर्व, उत्सव–महोत्सवमा आफ्नै जातीय एवं पारम्परिक पहिरनमा सजिएर सहभागिता जनाउने गरेका छन् । त्यसका अतिरिक्त विभिन्न सौन्दर्य प्रतियोगितामा समेत युवतीहरू पारम्परिक पहिरनमै देखापर्छन् ।

योमरी पुन्ही, न्हुँ दया भिन्तुनाजस्ता नेवारी पर्वहरूमा युवती हुन् वा गृहिणी अहिले हाकुुपटासीमै सजिने चलन राम्रैसँग फस्टाएको छ । सोनाम, ग्याल्पो, तमु ल्होसारमा शेर्पा, गुरुङ तथा तामाङ जातिका युवतीहरू पारम्परिक पहिरन बक्खु वा गुन्यूचोलोमै सजिन चाहन्छन् । राई, लिम्बूले मनाउने उधौली–उभौली होस् वा थारूले मनाउने माघी धेरैजसो युवती आफ्ना पारम्परिक पहिरन नै रुचाउँछन् । नेवार समुदायमा हुने भोज, पूजा आदिमा महिलाहरूले हाकुपटासीलाई प्राथमिकतामा राख्छन् । विभिन्न चाडपर्व तथा जात्रामा हाकुपटासी लगाएका महिला ललितपुर, भक्तपुर, असन–इन्द्रचोक आदितिर प्रशस्तै देखिन्छन् । 

आफूलाई फरक देखाउन पनि अहिले युवतीहरूले पारम्परिक पहिरन रोज्न थालेका हुन् । नेवार समुदायमा पहिले विवाहितहरू हाकुपटासी, चोली तथा सेतो पटुकी लगाउँथे भने अहिले प्रिन्टेट साडी पनि रोजाइमा पर्न थालेको छ । नेवार युवतीहरू भान्टाल र लामो चोली, लामो जामा र चोली लगाउँछन् । अहिले पनि पुराना नेवार बस्ती खोकना, हरिसिद्धि, सानागाउँ, भक्तपुर, धुलिखेल आदिमा हाकुपटासी लगाएका महिला प्रशस्तै देखिन्छन् । नेवार समुदायमा विवाहका बेला दुलहीहरू बनारसी साडी, तासको चोली र ब्रोकेट तथा तासकै सल प्रयोग गर्छन्, जुन समयअनुसार भेल्भेटका लेहेंगा, इम्ब्रोइडरी गरिएका हेबी साडीसम्म पुगेको छ । कतिपय आफ्नो संस्कृति छोड्नु हुँदैन भनेर बनारसी साडीमा चोलोको ठाउँमा डिजाइनर ब्लाउजलाई प्राथमिकतामा राख्छन् । अरु बेला जे लगाए पनि विवाहमा भने आफ्नै संस्कृति–परम्पराको पहिरन लगाउन चाहनेहरू बहुमतमा छन् । 

थारू जातिको पहिरन ठाउँअनुसार फरक–फरक छ । चितवनतिर सेतो साडी, कालो ब्लाउज लगाइन्छ भने पूर्वतिर अचरा–खडकी लगाइन्छ । विवाहका बेला पनि पिंक कलरको अचरा–खडकी नै प्राथमिकतामा हुन्छ । ब्लाउज भने पिंक, पर्पल, एल्लो आदिमा कडाइ गरिएको हुन्छ । थारू जातिको पहिरनमा ग्रिन, एल्लो, पर्पल, ब्लु, पिंक आदि कलर प्रयोग गरिन्छ । यसैगरी सुदूर पश्चिमका राना थारूहरूको पहिरन आफ्नै मौलिकताले भरिपूर्ण छ । थारू युवतीहरू विवाह, भोज आदि कार्यक्रममा आफ्नै थारू पहिरन नै लगाउँछन् तर अहिले भने त्यही थारू पहिरनमा पनि फेब्रिक, डिजाइन फरक गरी स्टाइललाई मोडिफाइ गर्न थालिएको पाइन्छ । जनजातिका पहिरनमा सकभर आफ्नो जातीय पहिचानको मर्मलाई यथावत् राखी त्यसको फेब्रिक, कलरदेखि लिएर अन्य कुरामा मोडिफाइ गर्ने डिजाइनरहरूको प्रयास र प्रयोग निरन्तर छ । 

मगर जातिका महिलाहरू लुंगी, पछ्यौरी, ब्लाउज तथा पटुकी लगाउँछन् । अहिले मगर समाजमा चौबन्दी स्टाइलको चोलीको ठाउँमा आधुनिक ब्लाउज बढी प्रयोगमा छ । फेसन डिजाइनर युवी थापाकहाँ मगर दुलहीको पहिरन डिजाइन गर्न आउनेहरू प्रशस्तै छन् । युवी दुलहीहरूका लागिसकभर मगर पहिरनमै केही परिमार्जित गरी आकर्षक पहिरन तयार पार्न तल्लीन हुन्छन् । युवीका अनुसार अरु समयमा त हामी इस्टर्न–वेस्टर्न आदि पहिरन लगाइरहेका हुन्छौं तर विवाहमा आफ्नो संस्कृति–परम्पराअनुकूलको पहिरन छोड्न सकिँदैन । युवी आफूलाई लुंगी र पटुकीलाई यथावत् राखी ब्लाउजमा डिजाइनर टच दिएर हल्का मोडिफाइ गर्न केन्द्रित गरिरहेका छन् । अहिलेको पुस्ता आ–आफ्नै जातीय पहिरनको मोहमा परेको उनको अनुभव छ । त्यस्तै फेसन डिजाइनर खुश्बु राना पनि आफूले धेरै मगर दुलहीका पहिरन बनाएको अनुभव सुनाउँछिन् । खुश्बु भन्छिन्–मगर दुलहीहरूले परम्परागत लुंगी, ब्लाउज तथा पछ्यौरीको फेब्रिक र डिजाइनमा केही फरकपन खोजे पनि मौलिकता भने छोड्न चाहँदैनन् । खुश्बुले आफ्नो विवाह समारोहमा डिजाइनर लेहेंगा–चोली लगाए पनि उनी चाडपर्वमा आफ्नै परम्परागत पहिरनमा सजिन रुचाउँछिन् ।

गुरुङ महिलाहरू फेसनेबल पहिरनमा एककदम अगाडि छन् तर परम्परागत चाडपर्व, विवाहजस्ता अवसरमा भने उनीहरू आफ्नो जातीय पहिरनलाई पछ्याउँछन् । गुरुङहरू गुन्यू, टिकिस तथा पटुकी लगाउँछन् । पटुकी लगाएपछि घलेक र पछ्यौरी लगाइन्छ । घलेकमा अहिले विभिन्न फेब्रिक तथा इम्ब्रोइडरी गरिन्छ । धिरु माला, शिरबन्दी, हमेला माला आदि गुरूङ जातिका प्रमुख गहना हुन् । फेसन डिजाइनर रुना मानन्धर गुरुङका अनुसार गुरुङ दुलहीहरू पहिरनमा मोडिफाइ नगरी फेब्रिकमा केही परिवर्तन चाहन्छन् । ब्रोकेट, सिल्कको लुंगी, भेल्भेट वा सिल्कको चौबन्दी, ब्लाउज आदि उनीहरूको रोजाइमा हुन्छ भने घलेकमा भेल्भेट प्रयोग गरी युनिक इम्ब्रोइडरी गर्न चाहनेहरू पनि प्रशस्तै हुन्छन् । अहिलेको पुस्ता आफ्नो धर्म, संस्कृति एवं पहिरनमा निकै कन्सस भएको रुनाको अनुभव छ । 

तामाङ जातिका महिलाहरू श्यामा साडीजस्तै लुंगी लगाउँछन् । चौबन्दी चोली, क्ये, ग्या, केप्य क्ये आदि लगाउने तामाङ महिलाहरू परम्परागत पहिरनलाई लगाउन सजिलो हुने गरी मोडिफाइ गराउन चाहन्छन् । तामाङ जातिका मुख्य ज्वेलरी पाचनी माला, ब्युरु माला तथा स्यल माला हुन् । कतिपय तामाङले बख्खु पनि लगाउँछन् । अहिले तामाङ तथा लिम्बूहरू शिरमा शिरफूल, निधारमा शिरबन्दी, कानमा ढुंग्री र चेप्टेसुन ढाकाको मेख्ली माथि गलामा कन्ठा, नाकमा मुन्द्री, छातीको एकातिर अल्झिएको सिलाम साक्मा, हातमा पाही तथा पाउमा कल्लीसमेत लगाउँछन् ।

त्यसमा पनि लिम्बू महिलाहरू फेसनको मामिलामा बढी सचेत देखिन्छन् । तेर्‍हथुमे ढाका बुटिककी निरु आङबुङका अनुसार अहिले लिम्बू महिलाहरू ढाकाका पहिरनमा साडी, कुर्ता, लेहेंगा आदि पहिरन आफ्नो संस्कृतिअनुसार लगाउन खोज्छन् । लिम्बू पहिरनका लागि ढाकामा अहिले विविध कलर र बुट्टा उपलब्ध हुन थालेका छन् । लिम्बूनीहरू पहिरनमा केही मोडिफाइ गर्न राजी भए पनि गरगहनाका विषयमा भने परम्परालाई नै रोजाइमा राख्छन् ।

शेर्पाहरूको मुख्य पहिरन बख्खु हो । शेर्पिनीहरू सिल्क वा ब्रोकेटका बख्खु लगाउँछन् । बख्खुको रंग भने आ–आफ्नो रुचिअनुसार हुन्छ । बख्खु विवाहलगायत अन्य सम्पूर्ण शुभकार्यमा प्रयोग गरिन्छ । फेसन डिजाइनर आस्तिक शेरचनका अनुसार अहिले हरेक जातिका विवाहजस्ता अवसरमा युनिक र हेबी पहिरन नै खोज्न थालिएको छ । शेरचन दुलहीका लागि परम्परागत पहिरनमा डिजाइनर टच दिएर फरकपन दिने प्रयास गर्छन् । 

अहिलेको पुस्ता मोर्डन र परम्परागत पहिरनको फ्युजन ड्रेसअप रुचाउँछ । त्यसका लागि युनिक जातीय पहिरन बनाउन बुटिकसम्म पुग्नेहरू पनि उत्तिकै हुन्छन् जहाँ उनीहरू आफ्नो इच्छाअनुसार फ्युजन जातीय पहिरन तयार गराउन सक्छन् । पूरै परम्परागत पहिरन त्यति सहज नहुने कारणले पनि यस्ता पहिरनमा समयअनुसार मोडिफाइ गरिनुपर्ने कतिपयको धारणा छ भने परम्परालाई जस्ताको तस्तै लागू गर्नुपर्छ भन्नेहरू पनि कम छैनन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>