Successfully Copied

संकटमा अडिग नर्स

करिअरका रूपमा नर्स पेसा अपनाउनेको संख्या जति बढ्दो छ, विदेश पलायनको दर पनि उति नै कहालीलाग्दो छ ।


प्रकृति दाहाल र आरती पौडेल
करिअरका रूपमा नर्स पेसा अपनाउनेको संख्या जति बढ्दो छ, विदेश पलायनको दर पनि उति नै कहालीलाग्दो छ । पुरुषहरूलाई पनि नर्स बनाउने नीति अबलम्वन गरिएपछि पुरुषहरू पनि यसतर्फ आकर्षित भएका छन् । पछिल्लो समय भने यो पेसाप्रति विकर्षण पनि उत्तिकै बढ्दै गएको देखिन्छ । सेवा–सुविधा कम हुने, कामको भार बढी हुने कारणले नर्सको विदेश पलायन बढेको छ । यसैबीच स्वदेशमा नै बसेर विभिन्न चुनौतीका बाबजुद पनि यस पेसामा सेवा दिन तल्लीन केही नर्सको अनुभवलाई नारीले समेट्ने प्रयास गरेको छ । 

क्यान्सर वार्डकी धैर्यशील इन्चार्ज
धेरै बिरामीलाई हाँस्दै घर पठाएकी उनी धेरैको पीडा आफ्नो काँधमा राखेर रोएकी पनि छिन् । वीर अस्पतालको क्यान्सर विभाग (अन्कोलोजी वार्ड) भित्र छिर्दा सबैभन्दा व्यस्त तर धैर्यशील देखिन्छिन्–लक्ष्मी जोशी ।
२०७३ सालमा नर्सिङ अफिसरका रूपमा वीर अस्पताल प्रवेश गरेकी लक्ष्मी निरन्तर इन्चार्जको जिम्मेवारीमा छिन् । उनी वार्डका सबै गतिविधि, समन्वय र व्यवस्थापनको केन्द्रमा हुन्छिन् । कहिले औषधि जाँच्छिन्, कहिले स्टाफ सम्हाल्छिन्, कहिले बिरामीसँग धैर्यपूर्वक संवाद गर्छिन् । लाग्छ, वार्ड उनको वरिपरि नै चलिरहेको छ ।
क्यान्सर वार्ड अरूभन्दा धेरै संवेदनशील स्थान हो । यहाँका बिरामीले हरेक दिन रोगसँग कठोर संघर्ष गरिरहेका हुन्छन् । कसैमा सुधारको आशा देखिन्छ, कसैको अवस्था क्षणैक्षण बदलिरहन्छ । यस्तै वातावरणमा काम गर्नु केवल अनुभवको कुरा होइन भावनात्मक सहनशीलताको ठूलो परीक्षा पनि हो । लक्ष्मी भन्छिन्, ‘यहाँ कडा औषधि दिनुपर्छ । काम आफैंमा जोखिम बोकेको हुन्छ । उपचार, स्टाफ व्यवस्थापन र औषधिको व्यवस्था सबैको जिम्मेवारी इन्चार्जकै काँधमा हुन्छ ।’
थोरै स्टाफ, औषधि र बेड अभाव, यी त उनका दैनिक चुनौती हुन् । बिरामी धेरै, बेड सीमित । कहिलेकाहीँ चाहेर पनि भर्ना लिन नसकिएको पीडा उनी मनमा बोकेर हिँड्छिन् । ‘बिरामी फर्काउनुपर्दा मन भारी हुन्छ,’ उनी भन्छिन् । आर्थिक समस्या बोकेर आउने धेरै बिरामी पनि क्यान्सर वार्डमा देखिने वास्तविकता हो । धेरैजना सबै खर्च सकिएपछि अन्तिम आशा लिएर सरकारी अस्पताल आइपुग्छन् । ‘अस्पतालले दिने निःशुल्क औषधिले केही राहत पाएको अनुभूति उनीहरूको अनुहारमा देखिन्छ,’ उनी भन्छिन् ।
लक्ष्मीको नर्सिङ यात्रा झनै लामो छ । २०५१ सालमा स्थायी नर्सका रूपमा सुरु भएको पेसागत जीवन अहिले ३० वर्ष नाघिसकेको छ । धेरै बिरामीलाई हाँस्दै घर पठाएकी उनी, धेरैको पीडा आफ्नो काँधमा राखेर रोएकी पनि छिन् । नर्स बन्ने रहर सरल थिएन न त समाजको दृष्टि नै उनका लागि सहायक थियो । ‘नर्स के हो भन्ने नै थाहा थिएन, अरूले पढेपछि आफूले पनि पढ्नुपर्ला जस्तो लाग्थ्यो,’ उनी सम्झिन्छिन् ।
त्रिशूलीदेखि भक्तपुर, महाराजगञ्ज शिक्षण अस्पताल हुदै वीर अस्पतालसम्मको लामो यात्रामा उनले परिवार, सन्तान र अनियमित ड्युटी सबैलाई सँगै सम्हालिन् । ‘त्यसबेला मेरो तलब १ हजार ६ सय
थियो,’ उनी हाँस्दै भन्छिन्, ‘तर पेसा छोडौं जस्तो कहिल्यै भएन ।’
तीन दशकको अनुभवले उनमा धेरै परिवर्तन देखाएको छ । अहिलेका बिरामी इन्टरनेटबाट धेरै जानकारी लिएर आउँछन् । ‘डाक्टरले गल्ती गर्छन् कि भनेर डराउँदै सोध्छन् । फेरि बुझेर आउँदा उपचार सजिलो पनि हुन्छ,’ उनी भन्छिन् ।
नयाँ पुस्ताका नर्सहरूबारे उनको अनुभव र सुझाव पनि छ । कामको चाप धेरै, सुविधा कम । त्यसैले कहिलेकाहीँ धैर्य कम देखिनु स्वाभाविक पनि हो । ‘एक–अर्कालाई सम्मान गर्ने संस्कृति विस्तारै हराउँदै गएजस्तो लाग्छ,’ उनी भन्छिन् ।
अहिले धेरै नर्स विदेश जाने योजनामा छन् । यो देख्दा लक्ष्मी चिन्तित हुन्छिन् । दक्ष जनशक्ति जोगाउन सरकारले उपयुक्त नीति नबनाए विदेशी पलायन बढ्छ । पेसालाई व्यवस्थित बनाउनु अत्यावश्यक छ ।
क्यान्सर वार्डको भीडभाड, औषधिको जोखिम, स्टाफ व्यवस्थापनको तनाव र बिरामीको पीडाबीच लक्ष्मी अझै उभिएकी छन्, दृढ, धैर्यशील र संवेदनशील इन्चार्जको भूमिकामा ।
उनका लागि नर्सिङ केवल जागिर होइन । सेवा, सहनशीलता र मानवीयता जोड्ने तीन दशक लामो जीवनयात्रा हो ।

सपना पछ्याउँदै प्रगति
बाग्मती प्रदेशबाट लिइएको लोकसेवा नर्सिङ चौथो तहको परीक्षा दिएपछि उनको नाम निस्कियो ।
सानैदेखि पढाइमा अब्बल थिइन्, प्रगति शर्मा । कुश्मा नगरपालिका–२ खुर्कोटमा जन्मिएकी शान्त स्वभावकी उनी सधैं राम्रो अंक ल्याएर उत्तीर्ण हुन्थिन् । कक्षा ८ सम्म उनले गाउ“मै पढिन् भने ९ र १० भने बाग्लुङ्को एक सामुदायिक स्कुलमा ।
प्रगतिको परिवारले उनको पढाइप्रतिको रुचि देखेर हौसला प्रदान गर्नुका साथै प्रशंसा पनि गर्थे । एसएलसीमा उनले सोचेको भन्दा राम्रो नतिजा ल्याइन् । परिवारको सल्लाहमा विज्ञान विषय पढ्ने र सरकारी सेवामा जागिर खाने सपना बुनेर उनी पोखरा गइन् । पोखरास्थित एक कलेजमा साइन्स विषय लिएर प्लस टु पढ्न थालेको १ महिना जति भएको थियो । प्रगतिले परिवारले निकै कर गरेपछि सिटिइभिटीबाट हुने पिसिएल नर्सिङको प्रवेश परीक्षा पनि दिएकी थिइन् । परिवारको मन राख्न परीक्षा दिएकी उनको कुनै इच्छा र सपना नर्सिङ पढ्ने थिएन । ‘मलाई साइन्समा मास्टर्स गरेर अफिसर हुने रहर थियो । नर्सिङ पढ्ने कुरा त सपनामा पनि सोचेकी थिइन,’ उनी भन्छिन् । प्रवेश परीक्षाको नतिजा आयो । खुसीको कुरा त उनले पूर्ण छात्रवृत्तिमा नाम निकालिन् । तर, साइन्स नै पढ्ने अडान राखेकी उनी परिवारले निकै सम्झाएपछि मात्रै नर्सिङ पढ्ने निधो गरिन् । ‘घरबाट दबाब भयो । नाम निस्किएपछि म पनि यसबारे खोज्न र पढ्न थालें । पछाडि रमाइलो लाग्यो र साइन्स छोडेर नर्सिङ रोजेकी थिएँ,’ उनी भन्छिन् ।्
पोखरा फिस्टेल नर्सिङ क्याम्पसबाट नर्सिङ पढेकी उनले त्यहा“ पनि उकृष्ट नम्बर ल्याएर तीन वर्षको पीसीएल नर्सिङ पास गरिन् । ‘सुरुवाती दिनमा खासै मन नलागे पनि विस्तारै रमाइलो लाग्यो । राम्रो नम्बर ल्याए“ । त्यसले म र मेरो परिवार दुवैलाई खुसी दिएको थियो,’ उनले सुनाइन् ।
उनी तीन वर्षको पढाइ सक्नेबित्तिकै नर्सिङ लाइसेन्सका लागि तयारी गरिन् । प्रगतिले एक पटकमै लाइसेन्स परीक्षा पास गरेर नर्सका लागि योग्य भइन् । र, बनिन् स्टाफ नर्स । पढाइ सकेर काम गर्ने सोच बनाएकी उनी वैवाहिक बन्धनमा बाँधिइन् । केही समयमा आमा बनेकी प्रगति त्यस समय पढाइ र काम दुवै नगर्ने सोच बनाएकी थिइन् । भन्छिन्, ‘फस्ट बेबी भएपछि सुरुमा त बच्चा नै हेरांै काम र सपना पछि पूरा गर्छु भनेर सोचें ।’
सन्तान हुर्किदै गर्दा पढाइलाई पनि निरन्तरता दिइरहेकी थिइन् । उनको सपनाले अर्को सफलता दिलायो, चिकित्सा शिक्षा आयोगद्वारा लिइने ब्याचलर इन नर्सिङ ९बिएनएस० अध्ययनको प्रवेश परीक्षामा पनि पूर्ण छात्रवृत्तिमा नाम निस्कियो ।
केही महिना पढ्दै गर्दा उनले लोकसेवाको आयोगले लिने परीक्षा दिने निधो गरिन् । बाग्मती प्रदेशबाट लिइएको लोकसेवा नर्सिङ चौथो तहको परीक्षा दिएपछि उनको नाम निस्कियो । ‘पढाइ र जागिरमा कुन रोज्ने भन्ने अलमलमा थिएँ । घरपरिवारको सल्लाहले नै मैले जागिरलाई रोज्ने निर्णय
गरें,’ उनी खुसी हुँदै भन्छिन् । त्यसपछि उनले धादिङको नेत्रावती गाउँपालिकामा डेढ वर्ष काम गरिन् ।
त्यसको केही समयपछि उनले पाँचौं तह पब्लिक हेल्थको परीक्षा दिएकी थिइन् । त्यहाँ पनि नाम निस्कियो । ‘लोकसेवाको तयारी गर्दै गर्दा दोस्रो सन्तान पेटमा हुर्कदै थियो । सन्तान जन्मिएको खुसी र पाँचांै तहमा सिफारिस भएको खुसी दुवै एकैपटक पाएँ,’ उनी प्रफल्ल हुन्छिन् । अहिले रम्भा गाउँपालिका पाल्पामा पाँचौं तह पब्लिक हेल्थ नर्स पदमा उनी डेढ वर्षयता कार्यरत छिन् । ‘डेढ वर्षको सन्तान काखमा च्यापेर आफ्नो कामलाई निरन्तरता दिइरहेकी छु,’ उनी भन्छिन् ।
परिश्रम गरेपछि आफ्नो सपना जसरी पनि पूरा गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् उनी । उनी नर्सहरूले गरेको कामको कदर हुनुपर्ने बताउँछिन् । युवाहरू विदेश जानेको लहरमा चल्दै गर्दा प्रगति भने नेपालमा बसेर पढाइलाई निरन्तरता दिने र अधिकृत हुने सपना बुनिरहेकी छिन् ।

घरकी ‘डाक्टर’ पल्पसा
‘नेपालमा नर्सहरूको अवस्था निकै नाजुक छ । तलब कम, कामको चाप भारी । जनशक्ति कम भएकाले धेरै काम सम्हाल्नुपर्छ ।’ काठमाडौं मेडिकल कलेजको क्याथ ल्याब र सिसियुमा दिनभर व्यस्त रहँदा पनि पल्पसा मानन्धरको अनुहारमा सधैं शान्त मुस्कान देखिन्छ । नर्सिङ लाइसेन्स हातमा परेको डेढ वर्ष मात्रै भए पनि उनको कामप्रतिको समर्पण र आत्मविश्वास हेर्दा लाग्छ–यो पेसा तिनैका लागि बनेको हो ।
उनी पहिलो रोजगारीमै चिकित्सा सेवाको अत्यन्त संवेदनशील क्षेत्रमा प्रवेश गरिन् । पल्पसाको परिवार मेडिकल पृष्ठभूमिबाट आएको थिएन । प्लस टु विज्ञान पढ्दा उनी अन्योलमा थिइन्–के पढ्ने, कहाँ लाग्ने भन्ने द्विविधा थियो । सुरुमा भ्रम थियो तर समयसँगै मेडिकल क्षेत्रप्रति रुचि बढ्दै गयो । एमबीबीएस पढ्ने चाहना पनि थियो तर खर्च, परिवारको अवस्था र आफ्नो क्षमता सबैलाई नापजाँच गरेर उनले नर्सिङ रोजिन् ।
उनी भन्छिन्, ‘मेडिकल क्षेत्रमा जाने चाहना प्लस टुपछि बढेको हो । विज्ञानको पढाइले पनि त्यतैतिर डो¥याएको थियो । तर नर्सिङमा गर्न सक्छु भन्ने आत्मविश्वास आयो र यो पेसा रोजें ।’
नर्सिङ पढाइ सजिलो थिएन । बेसिकदेखि सुरु हुने थ्योरी, ल्याब, प्राक्टिकल सबैको कन्टेन्ट धेरै र चुनौतीपूर्ण थियो । पढाइका क्रममा उनले तिलगंगा, प्रसूति तथा अन्य अस्पतालका वार्डमा सेवा दिइन् । तर सबैभन्दा मनमा बस्ने अनुभव कान्ति बाल अस्पतालको रह्यो । उनी भन्छिन्, ‘बालबालिकाहरूसँग काम गर्दा साना हात, कोमल आवाज, कहिले डराएका अनुहार यी सबैले मन पग्लिन्थ्यो ।’
चार वर्षको बिएस्सी नर्सिङपछि जब उनले अस्पतालमै नियमित ड्युटी सुरु गरिन्, तब नर्सिङ पेसा कति कठोर र कति आवश्यक छ भन्ने वास्तविकता स्पष्ट भयो । हप्ताको ४८ घण्टा, दिनको ८ घण्टा नियमित काम । कहिले डब्बल ड्युटी, कहिले आकस्मिक अवस्था, कहिले भावनात्मक तनाव । सबै अनुभव गरिरहँदा पनि उनी कहिल्यै आफूलाई कमजोर हुन दिइनन् ।
उनी भन्छिन्, ‘नेपालमा नर्सहरूको अवस्था निकै नाजुक छ । तलब कम, कामको चाप भारी । जनशक्ति धेरै ठाउ“मा कम छ, धेरै काम सम्हाल्नुपर्छ ।’
अस्पतालमा उनी नर्स हुन् तर घरमा सबैका लागि ‘डाक्टर नानी’ । परिवार–आफन्तमध्ये कसैलाई स्वास्थ्य समस्या प¥यो भने सबैभन्दा पहिला फोन उनलाई नै आउ“छ–‘ल नानी, समस्या प¥यो, हेरिदे है ।’ कहिले सुझाव, कहिले प्रत्यक्ष सहयोग–उनी सधैं उपलब्ध हुन्छिन् ।
पल्पसाका लागि नर्सिङ जागिर होइन, सेवा हो । क्याथ ल्याबको गम्भीरता, सिसियुको संवेदनशीलता, आकस्मिक क्षणहरूको तनावबीच पनि उनले बिरामीप्रति माया र अफ्नो पेसाप्रतिको सम्मान कहिल्यै घट्न दिएकी छैनन् । उनका शब्दमा–‘जति गाह्रो भए पनि, कुनै बिरामीको अनुहारमा मुस्कान देखिन्छ, त्यही मेरो सबैभन्दा ठूलो प्रेरणा हो ।’

पेसाप्रति प्रतिबद्ध
इमरजेन्सी चुनौतीपूर्ण हुन्छ, तर यही विभागमा एकैपटक धेरै कुरा सिक्न पाइन्छ ।
विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा कार्यरत नर्स हुन्–रेजिना खनाल । उनी ७ वर्षदेखि नर्सिङ क्षेत्रमा सक्रिय छिन् । पिसिएल नर्सिङ ९स्टाफ नर्स० पास गरेपछि नै उनले यही अस्पतालमा नर्सको यात्रा सुरु गरिन् । काम सुरु गरेको केही समयमै उनले अस्पतालको कार्यशैली, बिरामीप्रतिको दायित्व र नर्सिङ पेसाको वास्तविकता नजिकबाट बुझिन् । ७ वर्षको लामो अनुभवले उनलाई क्लिनिकल सीपमा मात्र दक्ष बनाएन जिम्मेवारी, धैर्य र पेसाप्रतिपैति उनी सफल भइन् ।
७ वर्षको अनुभवपछि उनले सरकारी छात्रवृत्तिमा ब्याचलर इन नर्सिङ अध्ययन गर्ने अवसर पाइन् । छात्रवृत्तिपछि सरकारी सेवा गर्नुपर्ने नियमानुसार उनी पुनः कोशी अस्पतालमा फर्किएकी हुन् ।
यिनले अहिले इमरजेन्सी विभाग रोजेकी छन् । सिक्न सहज र चा“डो हुने भएकाले पनि उनले यो विभाग रोजेकी हुन् । उनी भन्छिन्, इमरजेन्सी चुनौतीपूर्ण हुन्छ, तर यही विभागमा एकैपटक धेरै कुरा सिक्न पाइन्छ । एउटा मात्र विभागमा काम गर्दा त्यही क्षेत्रमै सीमित हुनुपर्छ, तर इमरजेन्सीमा विविध केसस“ग नजिक हुने अवसर हुन्छ । उनले आफ्नो क्षमता विस्तार गर्ने आवश्यक प्लेटफर्मका रूपमा इमरजेन्सी रोजेकी हुन् ।
नर्सिङ पढ्दा धेरैले विदेशमा रोजगार, राम्रो आम्दानी र उज्ज्वल भविष्यको कल्पना गर्छन् । रेजिनाको सोच पनि सुरुमा केही त्यस्तै थियो । यो पेसामा सुनौलो भविष्य देखेकी उनले अहिले फरक अनुभव समेटिकी छन् । ड्युटीको चाप धेरै, लगानी तर प्रतिफल भने अपेक्षाअनुरूप नहुने स्थिति रहेको उनको अनुभव छ । विशेषगरी निजी क्षेत्रमा त यो अझै चुनौतीपूर्ण रहेको बताउँछिन् । सरकारी सेवा केही हदसम्म राम्रो भए पनि निजीमा पेसागत कठिनाइ धेरै छन् । उनले भविष्यमा विदेश जाने योजनालाई खुला राखेकी छन् र अवसर मिले उचित तयारीसहित विदेश जाने सोच रहेको उनले बताइन् ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएको र एउटी नर्सले धेरै बिरामी सम्हाल्नुपर्ने अवस्था उनी दैनिक रूपमा भोगिरहेकी छन् । यस्तो परिस्थितिले कहिलेकाहीँ शारीरिक र मानसिक थकान ल्याए पनि बिरामीप्रतिको मानवीय सेवाले उनलाई अघि बढाउने प्रेरणा मिल्छ । उनी भन्छिन्, ‘नर्सिङमा काम केवल पेसागत दायित्व होइन, यो सेवाभाव पनि हो । कठिनाइ हुँदाहुँदै पनि जब बिरामी निको भएर धन्यवाद दिन्छन्, त्यही नै सबैभन्दा ठूलो सन्तोष हुन्छ हामीलाई ।’


सेवामा कटिबद्ध पुजा
रुचिका लागि भन्दा करिअर सुरक्षित हुने सोचले नर्सिङ रोजेकी हुँ।’ मोरङ सहकारी अस्पताल, विराटनगरको गाइनोकोलोजी विभागमा पूजा थापा बिहान–बेलुका निरन्तर खटिरहेकी छन् । बाहिरबाट साधारण देखिने उनको दैनिकीभित्र १२ वर्षको कडा परिश्रम, धैर्य, आँसु, तनाव र मानवीय संवेदनाले बुनेको गहिरो यात्रा छ ।
पूजाको नर्स बन्ने सपना थिएन । बुवा दन्त चिकित्सक भए पनि आफू मेडिकल लाइनमा लाग्ने सोच उनको थिएन । तर पढाइका बीचमा एउटा व्यावहारिक सोचले उनलाई नर्सिङतिर तान्यो–नर्स पढे रोजगारी सजिलो, विदेश जाने बाटो खुल्ने र भविष्य पनि सुरक्षित हुने । उनी भन्छिन्, ‘रुचिका लागि भन्दा करिअर सुरक्षित हुने सोचले नर्सिङ रोजेकी हुँ ।’
सुरुको समय सम्झँदा उनी भन्छिन्, ‘उमेरले साना, अनुभवी सहकर्मीबीच काम गर्दा डर लाग्थ्यो । नबुझिए कस्तो होला, गल्ती भयो भने के होला भन्ने तनाव हुन्थ्यो ।’ रगत देखेर बेहोस हुने साथीहरू धेरै भेटिन् तर आफूले पेसालाई आत्मसात् गर्दै अघि बढिन् । उनको करियर १२ वर्षअघि नोबेल मेडिकल कलेज, विराटनगरबाट सुरु भयो । त्यतिबेला न उपकरण व्यवस्थित थिए, न अहिले जति सुविधा । धेरै काम हातैले गर्नुपथ्र्यो ।
उनी भन्छिन्, ‘त्यतिबेला प्राक्टिकल धेरै हुन्थ्यो । अहिले उपकरणले धेरै काम सजिलो बनाइदिएको छ ।’
ब्याचलरमा भर्ना हुन दुई वर्षको अनुभव अनिवार्य भएकाले उनले त्यही अस्पतालमा निरन्तर खटिइन् । सुरुका तीन महिना त भोलिन्टियरकै रूपमा–दिनको १ सय रुपैयाँ, महिनाको तीन हजार ।
उनी भन्छिन्, ‘तलबभन्दा सिकाइ ठूलो थियो, तर आर्थिक हिसाबले निकै कठिन थियो ।’
नोबेलको सर्जरी विभागमा काम गर्दा उनले गम्भीर घाउदेखि संवेदनशील केससम्म धेरै देखिन् । बिरामी, डाक्टर र परिवारबीच नर्स नै पुल बन्नुपर्छ । गुनासा सुन्ने धेरैजसो दायित्व पनि नर्समै आउँछ । ‘ड्युटी सकेर घर गइन्छ, तर तनाव सकिँदैन । मन अस्पतालमै बाँधिन्छ– बिरामीलाई के भयो होला ? मैले ठीकसँग गर्न सकें कि सकिन ?’ उनी सोचमग्न बन्छिन् ।
तर बिरामी ठीक भएर अस्पताल छोड्दा भने उनको मनमा अपूर्व खुसी भरिन्छ ।
पूजाले नर्सिङ पेसामा आएको ठूलो परिवर्तन पनि नजिकबाट देखेकी छन् । ‘पहिले नर्सहरूले सिक्न र गर्नुपर्ने भनी काम गर्थे । अहिले धेरै विदेश जाने सोचमै पढ्छन् । महँगी बढिरहेको छ तर तलब त्यही छ । काम र तलबको अनुपात मिल्दैन,’ उनले तीतो यथार्थ सुनाइन्, ‘त्यसैले धेरै युवती कम तलबमा किन काम गर्ने भन्दै घरमै बस्छन् वा
विदेशतिर लाग्छन् ।’ नर्सहरूको सेवा–सुविधा समयमै सुधार गर्न नसकि“दा दक्ष जनशक्ति बिदेसिने वातावरण बढेको पूजाको चिन्ता हो ।

 Image