आरती पौडेल
‘कहिलेकाही सुरेश भट्टराईलाई आमाले गुनासो सुनाउनुहुन्थ्यो–‘मलाई मेरा बाले छोरी भएकै कारण पढाउनुभएन । हाम्रो पालोमा पढ्ने चलन पनि थिएन । बाबु, तैंले पढेर राम्रो गर्नुपर्छ र बहिनीहरूलाई पनि अब्बल बनाउनुपर्छ है ।’
दिमागमा चेतनाको प्रकाश चम्किँदै जाँदा आमाको यो वाक्य उनका लागि दिव्य वाणीझैं बन्यो । सबैभन्दा ठूलो धन पढाइ रहेछ भनेर मनमा सोचिरहन्थे उनी ।
सुरेशको शान्त स्वभाव, पढाइप्रतिको गहिरो रुचि देखेर शिक्षकहरू पनि चकित पर्थे । सानोमा उनी स्कुलका अन्य क्रियाकलापमा भने भाग लिन डराउँथे तर उनलाई शिक्षकले प्रोत्साहन दिइरहन्थे । ‘पढेर मात्र हुँदैन, अन्य क्रियाकलापमा पनि भाग लिनुपर्छ भनेर एक जना गुरुले सम्झाएपछि विस्तारै बोल्न, कार्यक्रममा भाग लिन थालेको थिएँ,’ सुरेश विगत सम्झन्छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउ“पालिकाको साधारण परिवारमा जन्मिएका हुन्, सुरेश । त्यो समयमा पनि गाउँमा छोरीलाई धेरै पढाउनु ह“ुदैन भन्ने मानसिकता हाबी थियो । तर, उनका बुवा आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने सोच रँख्थे । त्यही भएर छोराछोरीलाई पढाउन काठमाडौं ल्याएका थिए ।
ठेक्कापट्टाको काम गर्ने उनले सात जनाको परिवार पाल्नुपथ्र्यो । ‘बुवाले छोराछोरीमा कहिल्यै फरक देख्नुभएन,’ सुरेश भन्छन्, ‘हामी पा“च सन्तानलाई शिक्षा प्रदान गर्नुभयो । सबै शिक्षित छांै, त्यही कुराले खुसी दिएको छ ।’
काठमाडौंको संस्कृत माविमा पढेका उनलाई विज्ञानका कुरामा सानैदेखि रुचि थियो । पछि अमृत साइन्स कलेजमा आईएस्सी गरे । बाल्मीकि विद्यापीठमा बौद्ध दर्शन र गणित लिएर पढेका उनले उत्तरमध्यमा उत्तीर्ण गरे । र, त्रिचन्द्र कलेजबाट भौतिकशास्त्रमा स्नातक गरे । ‘विज्ञान र दर्शनको भेद के होला भन्ने हुन्थ्यो, त्यसले नै खगोलको बारेमा जान्न, पढ्नमा रुचि बढायो,’ खगोल भोतिकशास्त्र (एस्ट्रोफिजिक्स) मा स्नातकोत्तर गरेको उनले सुनाए ।
सन् २००७ तिर उनले खगोल विज्ञानबारे तालिममा सहभागी हुने मौका पाए । सोही तालिमले नै उनलाई नयाँ सोच जन्माउन प्रेरणा दियो । विद्यार्थीलाई सहज होस्, व्यावहारिक शिक्षाको विकास होस् भन्ने सोचले उनीसहितका साथीहरूले खगोल संस्था खोल्ने निर्णय गरे । ‘तालिममा पुगेर हामीले गुरुहरूसँग आफ्ना विचार र योजना राख्यौं । उहाँहरूले सहयोग गर्ने भएपछि मलगायत २३ जना मिलेर नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) स्थापना ग¥यौं ।’
विद्यार्थीलाई खगोल विज्ञानबारे रोचकता बढाउन, ज्ञान दिन के गर्ने भन्ने सोच बनाएर उनीहरूले अन्तरिक्षसम्बन्धी पहिलो कार्यक्रम बाल्मीकि विद्यापीठमा गरेका थिए । तर त्यसबेला खगोलका कुनै पनि उपकरण थिएनन् । भन्छन्, ‘हामीस“ग केही सामग्री थिएनन् । टेलिस्कोपसमेत थिएन । कुनै सामग्री आवश्यक परे कहिले कुन गुरुको घर त कहिले कुन गुरुकोमा सहयोग माग्न जानुपथ्र्यो,’ उनले भने, ‘हामीले पनि सबै कुरा सिक्नु थियो । भावी पुस्तालाई खगोलबारे व्यावहारिक शिक्षामा सहजता ल्याउनु थियो ।’
समयक्रमस“गै कोही साथी विदेश गए । कोही जागिरतिर त कोही घरजममा लागे । सुरुवाती दिनमा साथीहरू छुट्दै गए । यस्तोमा नासो अलपत्र पर्ने हो कि भन्ने डर सुरेशमा थियो ।
तर उनले संस्थालाई साथ र सहयोग गर्ने अरु मानिसहरू भेटे, जसले उनलाई थप हौसला दियो । कुनै काम थालनी गरेपछि गन्तव्यमा पुराएरै छोड्छु भन्ने सोच राखेका सुरेश आफूले पनि हरबखत नासोलाई समय दिन्थे ।
‘नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी संयोजक मनीषा द्वाले सहकार्य गरेको दिनबाट अहिलेसम्म साथ र सहयोग दिँदै आउनुभएको छ,’ उनले भने, ‘कुनै पनि काम गर्दैै जाँदा एउटा राम्रो टिम बन्यो भने जसरी पनि अगाडि बढ्न सकिँदो रहेछ ।’
नासोले सुरुवाती दिनमा चेतनामूलक कार्यक्रम गरेर खगोल विज्ञानसम्बन्धी शिक्षा, खगोलीय अवलोकन तथा सञ्चारमाध्यमबाट जानकारी दिने काम गरेको थियो । विभिन्न विद्यालयमा पुगेर खगोलबारे शिक्षा दिने, जूनतारा देखाउने कार्यलाई उनीहरूले प्राथमिकतामा राखेका थिए । नासोले अहिले पनि देशका विभिन्न स्थानमा तारा हेर्ने, खगोलमा रुचि राख्नेहरूका लागि प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्दै आएकोे छ । यसले वञ्चित तथा पिछडिएका बालबालिकालाई खगोल विज्ञानमार्फत प्रेरणदायी र गुणस्तरीय शिक्षा समेत प्रदान गर्दै आइरहेको सुरेश बताउँछन् ।
नासोले विद्याार्थीहरूका लागि खगोल विज्ञान, खगोल भौतिक साथै विश्व ब्रम्हाण्डबारे वैज्ञानिक ज्ञान साझा गर्दै आइरहेको छ । नासोले नेसनल एस्ट्रोनोम ओलम्पियाडजस्ता कार्यक्रम पनि गर्छ । साथै उत्कृष्ट विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत पठाउने गरेको छ ।
सन् २०११ मा स्पेस जेनेरेसन एड्भाइजरी काउन्सिल योङ लिडरसिप अवार्डबाट सम्मानित सुरेशले २०१४ देखि एस्ट्रोनोमिकल सोसाइटीको अध्यक्षको कार्यभार सम्हालिरहेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट २०१७ मा उनले विज्ञान प्रवद्र्धन पुरस्कार पाए । नेपालमा खगोलीय सीप विकास गर्न सन् २०१८ मा आईएयू प्रोजेक्ट ग्रान्टसमेत प्राप्त गरेका थिए । उनी अनलाइन खबरले हरेक वर्ष आयोजना गर्ने ‘चालीसमुनिका चालीस–२०८२’ को सूचीमा पनि परेका छन् ।
त्यसो त उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय खगोल संघ (आईएयूृ) का एसोसिएट सदस्य पनि हुन् । विभिन्न देशका संस्थासँगको सहकार्यमा उनी खगोलशास्त्रीय शिक्षा प्रदान गर्न निरन्तर लागिरहेका छन् ।
विश्वका २४ भन्दा बढी देशमा उनले आफ्नो क्षमता र बौद्धिकता प्रस्तुत गरिसकेका छन् । त्रिचन्द्र बहुमुखी क्याम्पसमा आंशिक उप–प्रध्यापक रहेका उनले अहिले त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रमा विद्यावारिधि गर्दै छन् ।
केही महिनाअघि नासोले इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (आईएयूृ) को राष्ट्रिय सदस्यता प्राप्त गर्दा उनी औधी खुसी भएका थिए । ‘यो नै मेरो लागि सबैभन्दा ठूलो खुसीको क्षण हो, धेरै वर्षअगाडिदेखि गरेको संघर्ष काम लाग्यो भन्ने भएको छ,’ उनी गर्विलो स्वरमा भन्छन् । अन्य देशमा खगोलसम्बन्धी अवसर पाउनु सुरेशका लागि ठूलो कुरा होइन तर उनीसँग आफ्नै देशमा नयाँ–नयाँ अनुसन्धानकर्ता, वैज्ञानिक र खगोलविद् जन्माउने सपना छ । ‘त्यो पूरा हुन्छ भन्नेमा विश्वस्त पनि छु,’ उनी ढुक्क छन् ।