आरती पौडेल
बुवा महेशलाई बैंकमा काम गरेको हेर्न चाहन्थे । तर, उनले होटल खोल्ने सोच सुनाउँदा निकै रुष्ट बने । आखिर बुवाकै पथ पछ्याए उनले । बैंकको जागिर छाडे, होटल व्यवसायमा लागे ।
बुवाकै पेसा सम्हालेका महेश तिवारीको ‘भेटघाट’ रेस्टुरेन्टका ५ वटा आउटलेट छन् । देश तथा विदेश बस्ने सबै नेपालीको मन जितेको भेटघाटले १ सय ५० जनालाई प्रत्यक्ष रूपमा रोजगार दिएको छ । अहिले भने महेशका बुवा छोराले व्यवसाय गर्ने निर्णय सही रहेछ भन्ने सोच्छन् ।
सामान्य परिवारमा जन्मिएका महेशका बुवा गोविन्दप्रसाद किराना पसल गर्थे । त्यस समय महेशकी आमालाई सन्तान जन्मिसकेपछि उनीहरूलाई पालनपोषणका लागि किराना पसलले धान्दैन भन्ने भएको थियो । उनले नै श्रीमान्लाई सल्लाह दिइन्, होटल खोल्न ।
यसरी महेशका बुवाले २०४४ वैशाखमा सुरु गरे ‘भेटघाट’ होटल । त्यहाँको सबैभन्दा मन पराइने परिकारमा उनले बनाएको खसीको तास पर्यो । तासको आइडिया बुवाको, होटलको नाम आमाले राखेको महेश बताउँछन् । गोविन्दले आफैले तयार पारेका मसलाको फरक स्वादले चितवनमा भेटघाटले छुट्टै पहिचान बनायो ।
२०४३ मा जन्मिएका महेश पढाइमा सधै राम्रो गर्थे । २०११ सालमा एमबीए सके । त्यसपछि केही समय बैंकमा काम गरे । बैंकमा काम गरिरहँदा उनलाई आफूले चाहेको पेसा यो होइन भन्ने लागेको थियो ।
सानै उमेरदेखि बुवाको पेसालाई नजिकबाट नियालेका महेशले काठमाडौंमा बस्दा बुवाले चलाएको ‘भेटघाट’ रेस्टुरेन्ट काठमाडौंमा पनि खोल्न चाहन्थे । उनी काठमाडौं बसेको ७ वर्ष भएको थियो । त्यतिबेलादेखि नै बजार बुझ्न थालिसकेका थिए । राजधानीका गल्लीमा हिँड्दा उनमा ‘भेटघाट’ लाई ब्रान्ड बनाउने सपना बुनेको उनी सम्झिन्छन् ।
सहरमा देखिने अन्य रेस्टुरेन्ट र बोर्डमा लेखिएको हुन्थ्यो, ‘चितवनको तास यहाँ पाइन्छ ।’ आफ्ना बुवा र आमाले सुरु गरेको ब्रान्डलाई अरुले प्रेरणाका रूपमा अपनाए पनि कतै नदेख्दा उनको मन खिन्न हुन्थ्यो ।
त्यसपछि उनले जागिर छोड्ने निर्णय गरे । ‘जागिर गरेपछि आफूसँग भएको खुबी र आफूले चाहेको कुरा साइडमा राखेर काम गर्नुपर्यो,’ उनले भने, ‘आफ्नो आइडिया र भिजन लिएर अगाडि बढ्ने सोचे बनाएँ ।’ तर यो निर्णयले उनका बुवा र आमा खुसी थिएनन् । छोरालाई टाइसुटमा बैंकको हाकिम बनेको हेर्न चाहेका उनीहरूलाई आफूले गरेजस्तो दु:खी पेसा नअँगाले हुन्थ्यो भन्ने थियो ।
२०६९ असोज १ गते काठमाडौंको अनामनगरमा महेशले भेटघाट रेस्टुरेन्ट खोले । आफ्ना बुवाले चितवनमा दिएको तासको स्वादलाई काठमाडौंमा परिचय गराउन चितवनबाटै बुवाले मोलेर तयार गरेको मासु ल्याउने निर्णय गरे । रेस्टुरेन्ट सुरु गरेकै दिनमा चितवनबाट मासु बसमा ल्याउँदै गर्दा जाममा परेर मासु बिग्रियो । ‘रेस्टुरेन्ट खोलेको दिनमा धैरै मूल्यको मासु बिग्रिएर फाल्न परेको थियो,’ उनी भन्छन् । त्यसपछि उनले अर्को विकल्प सोचे । त्यसपछि बुवाले आफ्नै तरिकाले मसला मिसाएर तयार गरेको मासु उनी हरेक दिन विमानबाट काठमाडौं ल्याउँछन् । ‘हाम्रो भाषामा क्वालिटीको अगाडि कस्ट क्याल्कुलेट हँुदैन,’ उनले भने, ‘बुवाआमाले बिजनेसमा कहिल्यै कम्प्रमाइज गर्नु हँुदैन भनेर सिकाउनुभयो । त्यसैले हाम्रो रेस्टुरेन्टमा पाकेको सबै प्रडक्ट परिवारले खान सक्छन् ।’
सुरुवाती दिनमा उनलाई पढाएका गुरु र सँगैका साथीहरूले अरू पेसा अँगाल्न सल्लाह दिन्थे । कसैले त यत्रो लगानीमा होटल खोलेर पैसा डुबाउने भइस् भनेका थिए । देशमै बसेर केही गर्छु भन्ने सोचेका महेशलाई उनीहरूका कुराले केही फरक पारेन ।
‘चितवनमा तास खाएका काठमाडौं बस्नेहरू मात्र आए भने पनि मज्जाले चल्थ्यो भन्ने सोचेको थिएँ,’ उनले भने, ‘चितवनको तास नखाएकाहरूलाई पनि यो फरक स्वाद मीठो लाग्छ भन्ने थियो ।’ जीवनमा सधैं सुख र खुसी मात्र हुँदैन, दु:ख पनि झेल्नुपर्छ भन्ने कुरामा विश्वास राखेका महेशले केही वर्षमा क्यान्सरका कारण आमा गुमाए । भूकम्प, नाकाबन्दी, कोभिड १९ को महामारीमा अरु व्यवसायी मारमा परेका थिए । तर महेशले आत्मबल कमजोर बनाएनन् ।
अहिले ‘भेटघाट’ रेस्टुरेन्टका ५ वटा आउटलेट छन् । विभिन्न देशमा बस्ने नेपालीले समेत फ्रेन्चाइजका लागि प्रस्ताव गरेका छन् ।
महेशका रेस्टुरेन्ट मात्र छैनन् । चितवनमाा फन पार्क पनि सञ्चालनमा ल्याएका छन् । चितवन, हेटौंडा, काठमाडौंमा आफ्नै लगानीमा सञ्चालन गरेका भेटघाटका शाखा छन् । बुवाको जन्मघर पोखरामा पनि रेस्टुरेन्ट खोल्ने सोच बनाएको उनी बताउँछन् । ‘आगामी दिनमा देशभित्र कम्तीमा २५ वटा आउटलेट बनाउने सोच छ,’ उनी भन्छन्, ‘आफैले फार्म हाउस खोलेर खसी उत्पादन गर्ने विचार पनि गरेको छु ।’
यो सफलता हासिल गर्नमा एमबीए पढ्दाका प्रोजेक्ट वर्क, साना व्यवसाय कसरी ठूला भए जस्ता केस स्टडी आदिले प्रभाव परेको उनी बताउँछन् । ‘मेरा बुवाले बनाएको स्वादलाई मैले नेपालमा मात्र नभएर विदेशमा पनि चिनाउनुपर्छ भन्ने सोच पढ्दै गर्दा निकै आउँथ्यो । त्यही कुराले नै अहिले राम्रो बनायो,’ भन्छन्, ‘बुवाआमाकै संघर्षले अहिले दिदी र भाइ डाक्टर हुनुुहुन्छ । बुवाले गरेको पेसालाई निरन्तरता दिएँ, हामी सबै खुसी छौं ।’
२६ वर्षको उमेरमै काठमाडौंमा रेस्टुरेन्ट खोल्ने आँट गरेका महेश विश्वास र हिम्मत गरे हरेक सपना साकार हुन्छन् भन्ने एक बलियो उदाहरण हुन् ।
महेश अब आउने नयाँ पुस्ताले समेत रेस्टुरेन्टमा लगानी गरून् भन्ने चाहन्छन् । भन्छन्, ‘मैले बुवाबाट प्रभावित भएर यो पेसा अंगाले । तेस्रो पुस्ताले पनि यही पेसा अंगालेको हेर्न चाहन्छु । उनीहरूका हजुरबुवा, हजुरआमाले सुरु गरेको पेसालाई नेपालमा मात्र नभएर विदेशमा पनि लैजान सकून् ।’
बढी माया : परिवार
शक्ति : बुवा र श्रीमती
स्नेह : आमा
प्रभावशाली महिला : आमा
आकर्षक महिला : आमा
मन पर्ने लेखक : सुधीर शर्मा
भेट्न मन लागेकी नारी : अहिलेसम्म बाँचेकी भए मदर टेरेसा