‘सबै स्वास्नीमानिस राम्री बन्न रुचाउँछन् । त्यसो त राम्रो हुन को चाहँदैन होला ? तर के बिर्सिनु हुँदैन भने यहाँ केही पनि स्थायी छैन–रूप, यौवन र सौन्दर्य मात्र होइन मानिसका सपना, रहर र उद्देश्य सब अस्थायी छन्,’ कवि एलिसा ढुंगानाले पार्लर गएर सिंगारेको केश पछाडि लैजाँदै भनिन्, ‘बदलिरहनु जीवनको सौन्दर्य हो ।’
कवि एलिसाको यही पछिल्लो वाक्यले नै मलाई उनका कविताको संग्रह ‘सौन्दर्यको भग्नावशेष’ दोहोर्याएर पढ्न हौसाएको । साँच्चै बदलिरहनु जीवनको सौन्दर्य हो । र, बदलिरहनुमा पनि जोगाउनु छ आफ्नो ‘सत्’ लाई । त्यही जोगिएको आफ्नोपन नै मानव जीवनको अटल सौन्दर्य हो । अटल सौन्दर्यको यही दर्शनमा रहेर लेखिएका एलिसाका शक्तिशाली कविताले जीवन र जगत्का सत्यलाई सहज रूपमा प्रस्तुत गरेका छन् ।
यस वर्ष प्रकाशित धेरै कविताका पुस्तकमध्ये ‘सौन्दर्यको भग्नावशेष’ अब्बल तीन पुस्तकभित्र पर्छ । पहिलो कवितासंग्रहमा नै उनी जिम्मेवार बनेकी छिन् । रहर मात्रले कविता लेखिरहेकी छैनन् । कविताप्रतिको आम भोक र चासोलाई तुष्टि मिल्ने गरी उनले पुस्तक बाहिर ल्याएकी छिन् । सरल तर निकै गम्भीर कविताले भरिएको यो पुस्तकमा मानिसका सपना र रहर मात्र होइन अवसाद र असन्तुष्टिबीच कसरी अघि बढ्ने भन्ने सजगता पढ्न सकिन्छ ।
आयामेली कवि वैरागी काइँलाले एलिसाको पुस्तकको सुरुमै उद्घोष गरेका छन्, ‘कृतिभित्रका सबै कविता राम्रा छन् । कविताहरू समाज, संस्कृति, मानवता, प्रेमप्रणय, प्रकृति, राष्ट्र, राष्ट्रियता आदि विषयप्रति केन्द्रित छन् । तिनले समृद्ध र सुसंस्कृत समाजको परिकल्पना गरेका छन् । सत्मार्ग पहिल्याउन मार्गनिर्देश गरेका छन् । कृतिको नाम सौन्दर्यको भग्नावशेष राखिए तापनि कविताहरू अटल र अखण्ड सौन्दर्यको पक्षमा छन् ।’
आजका मानिस जीवनको साइकलमा आशा र बाध्यताको पाइडल चालिरहेछन् । सपना देख्ने र पूरा नहुने अवस्थासँग पटक–पटक ठोक्किरहेका छन् । कति सपना त आफ्नै अघि लाचार र निरीह बन्न पुग्छन् । तर पनि आत्तिन र डराएर भाग्ने छुट कसैलाई छैन । जिउनु छ जीवन । भोग्नु छ दु:ख । हिँड्नु छ अक्करेभीरको बाटो र पुग्नु छ आनन्दको गहिरो समुद्रमा ।
जीवन सोचेजस्तो छैन । चाहेजस्तो छैन । यस्तैयस्तै बाध्यतामा कवि एलिसा कवितामार्फत धेरैमा आँट भर्छिन् । उत्साह र भरोसा थप्छिन् ।
परिस्थितिले थिचिएका आफ्ना रहरहरू
चोइटिएका अपेक्षाहरू
गुनासाका पोकाहरू
भारी बन्दैछन् भाग्यको तराजुमा
म आफ्नै शिरमा बोक्न तयार छु
किनकि मेरा भरपर्दा साथी यिनै हुन् ।
तनावको घेरामा
कवि हुनु सहज छैन । त्यसो त पछिल्लो समय हल्लाखल्ला गर्न जान्नेहरूले कविताको ढोङ गरिरहेका छन् । तर कविताको गाम्र्भीयलाई मनन गरेर कविता लेख्नु र पाठकको मन जित्नु सहज छैन । यो कठिन काममा एलिसाले आफ्नो प्रभावकारी उपस्थिति देखाएकी छिन् । जीवनप्रतिको उत्कृष्ट आकांक्षासहित उनले कविका रूपमा आफूलाई जबरजस्त उभ्याएकी छिन् । र ढुक्कले भन्छिन्, ‘मेरा अपूरा सपनाहरूको समाधिमा उभिएर मैले सौन्दर्यको भग्नावशेष तयार पारेकी हुँ ।’
जब ऊ ऐना हेर्छे र टोलाउँछे,
म त्यही दृष्टि हुँ–
जसले सौन्दर्यको भग्नावशेषमा
पहिचानको सम्भावना खोज्छ ।
हराएको सौन्दर्यको टुक्रामा
जीवनको कुनै चिनो भेट्छ
र ऊसँग बाँच्न चाहन्छ ।
सौन्दर्यको भग्नावशेष
पुस्तक तीन खण्डमा बाँडिएको छ–समयको लय, प्रेमको अर्कै परिभाषा र एक मुठी उज्यालो । तीनै खण्डमा ३८ कविता छन् । सबै उस्तै राम्रा र गहन । पठनीय र निकै लामो समयसम्म मन र मस्तिष्कलाई झंकृत पारिरहने ।
अन्तिम खण्डमा एउटा कविता छ–रजस्वलाको सुगन्ध । यो निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । कविताले प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
त्यसपछि मैले बुझें
जून हेरेर सपना देख्नु ठीकै हो,
तर जूनजस्तै शान्त भएर कुनै परिवर्तन आउँदैन
सपना पूरा निदाएर होइन–
उठेर, हिँडेर, बोलेर, बनाएर हुन्छ ।
रजस्वलाको सुगन्ध
सामाजिक विद्रोह र चेतनाले भरिएको यो कविता पढिरहँदा लाग्यो–समाजले रूपान्तरण चाहेको मात्र होइन । समाज बदलिसकेको छ । कवि एलिसाले भनेजस्तै ‘मेरो रगत अब लाज होइन, क्रान्तिको सुगन्ध हो ।’