Successfully Copied

इरानी चियाको क्रेज

इरानी चिया प्रालिका सबै आउटलेटबाट महिनामा करिब डेढ लाख कप चिया बिक्री हुन्छ ।

आरती पौडेल
इरानी चियाका १८ आउटलेटले ७० भन्दा धेरैलाई रोजगारी दिएका छन् । ९० प्रतिशत त महिला मात्रै छन् ।

चिसो मौसम बढेसँगै चिया पारखीहरूको घुइँचो चिया पसलतिर झनै बाक्लिँदै गएको छ । कालो चिया र दूध चिया मात्रै होइन, अहिले सहरभर नयाँ–नयाँ चिया पसल र ‘अड्डा’ हरू खुलेका छन् । विविध स्वादका चिया मेन्युमा थपिन थालेका छन् । तर काठमाडौंको तीनकुने, सुविधानगरस्थित एउटा सानो पसलमा भने दैैनिक खाने चियाभन्दा बिल्कुल फरक स्वादको चिया पाक्छ, जसले युवादेखि सबै उमेर समूहका चिया मन पराउनेहरूलाई मोहित पारेको छ । यसको नाम हो–इरानी चिया ।
इरानी चियाको स्वाद किन फरक पर्छ ?
यसमा प्रयोग हुने चियापत्ती, मसला र पकाउने तरिका नै बेग्लै छ । काभ्रे घर भएका ३७ वर्षीय सरोज पौडेल यो स्वाद काठमाडौंमा भित्र्याउने व्यक्ति हुन् । उनले चार वर्षअघि इरानी चिया सुरु गरेका थिए । सरोजले सन् २०१५ मा दक्षिण कोरियामा ‘कुलिनरी आट्र्स’ मा मास्टर्स गरे र त्यहीँको एक रेस्टुराँमा काम गरे ।
सन् २०१८ मा नेपाल फर्किएपछि उनी केही समय शिक्षण पेसामा लागे । दिउँसो ३ बजेसम्म कलेजको काममा उनी व्यस्त हुन्थे । त्यसपछि के गर्ने ? उनी अन्योलमा थिए । सरोज भन्छन्, ‘विदेशमा काम गर्ने बानी परेको थियो । फुर्सदको समय खेर जान नदिन चिया पसल खोल्ने सोच बनाएको थिएँ ।’
कोरिया जानुअघि उनी भारतमा सेफको रूपमा काम गर्थे । त्यहीँ हुँदा उनले साथीहरूसँग इरानी चियाको स्वाद लिएका रहेछन्, जसको प्रभाव उनमा परिरहेको थियो । ‘बजारमा पाइने साधारण चिया भन्दा फरक स्वाद ल्याउने मन थियो । त्यसैले त्यही पुरानो टेस्ट सम्झेर इरानी चिया खोल्ने निधो गरें,’ उनी भन्छन् । भारतमा इरानी चियालाई ‘हैदरबादी दम चिया’ पनि भनिन्छ ।
सरोजले काठमाडौंको नरेफाँटमा साढे दुई लाख रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरे । ‘चले ठीकै छ, नचले अनुभव हुन्छ’ भन्ने सोचमै चिया पसल खोलिएको थियो । सुरुका दिनमा उनी बाटोमा हिँड्ने पैदलयात्रीहरूलाई बोलाएर निःशुल्क चिया चखाइदिँदा कस्तो प्रतिक्रिया आउला भन्ने उत्सुकता पनि थियो ।
सरोजकी श्रीमती बबिता अधिकारी बैंकमा कार्यरत छिन् । बिहान अफिस जानुअघि र फर्किएपछि उनी सरोजलाई पसलमा नियमित सहयोग गर्थिन् ।
त्यसो त सुरुका दिनमा सरोजले नजिकका मान्छेबाट नै नकारात्मक टिप्पणी पनि सुन्नुप¥यो–
‘यति पढेर के गरेको ?’ ‘बैंकमा काम गर्ने श्रीमतीले किन चियाका भाँडा माझ्नुप¥यो ?’
‘चिया बेचेर १२ हजार भाडा तिर्न सकिन्छ र ?’
तर सरोजले हार मानेनन् । बरु ती टिप्पणीले उनलाई अझै दृढ बनायो । पार्ट–टाइम सोचेको चिया पसललाई नै उनले पूर्ण समयको काम बनाए ।
विस्तारै मीठो र फरक स्वादले ग्राहक तान्न थाल्यो ।
‘आर्थिक हिसाबमा सुरु गरेको दिनदेखि नै राम्रो थियो । बिहान ५ बजेदेखि राति ९–१० बजेसम्म खटिन भने निकै कठिन हुन्थ्यो,’ उनी भन्छन् ।
चिया मन पराउनेको भीड बढेपछि आठ महिनामै नरेफाँटमै दोस्रो आउटलेट खोले । सुरुमा नकारात्मक टिप्पणी गर्नेहरूले नै पछि उनको सफलताको प्रशंसा गर्न थाले ।


फ्रेन्चाइज विस्तार
धेरै माग आएपछि सरोजले फ्रेन्चाइज दिन थाले । फ्रेन्चाइज लिनेहरू र त्यहाँ काम गर्ने कर्मचारीलाई तालिम सरोज र बबिताले नै दिन्छन् । ‘क्वालिटी नै सबैभन्दा ठूलो कुरा हो,’ सरोज भन्छन्, ‘सबै आउटलेटमा एउटै स्वाद रहेर जाओस् भनेर हामी आफै खटेर तालिम दिन्छौं ।’
सुविधानगर र कोटेश्वरमा उनको आफ्नै लगानीको आउटलेट छ । अन्य १६ ठाउँमा फ्रेन्चाइज चल्छ । अहिले काठमाडौंका १८ ठाउँमा इरानी चिया उपलब्ध छ ।
सर्वसाधारणले पिइरहेको इरानी चिया ९० रुपैयाँ पर्छ । सबै आउटलेटमा जडीबुटीस्थित सेन्ट्रल किचनबाट नै दूध र मसला पठाइन्छ । ५–६ घन्टा पकाइने दूध अत्यन्तै बाक्लो हुन्छ । ‘१३० लिटर दूध पकाउँदा करिब ७० लिटर मात्र हुन्छ,’ सरोज भन्छन् । यही बाक्लोपनले चियामा अलग मिठास ल्याउँछ, चिनी धेरै प्रयोग गर्नु पर्दैन ।
इरानी चिया बनाउने तरिका पनि फरक छ–दूध धेरै बेर पकाइने, चियापत्ती अलग भा“डामा उमालिने अनि दुवैलाई मिसाएर दममा पकाइने ।
‘हैदराबादी दम चिया र इरानी चिया एउटै हो । हामीले १९५०–६० को दशकको पुरानो शैली नै पछ्याएका छौं,’ सरोज व्याख्या गर्छन् ।
रोजगारी र महिला सशक्तीकरण
इरानी चियाका १८ आउटलेटले ७० भन्दा धेरैलाई रोजगारी दिएका छन् । सरोजको स्पष्ट नीति छ–सबै आउटलेटमा सकेसम्म महिला कर्मचारी राख्ने ।
‘काठमाडौं पढ्न, जागिर खोज्न वा विदेश जाने तयारी गर्दै आएका युवतीहरूले खाली समयमा सीप सिकून् र पैसा कमाउन सकून् भन्ने उद्देश्यले नै हाम्रो आउटलेटमा ९० प्रतिशत महिला छन्,’ उनी भन्छन् ।
अन्य स्वाद र मेन्यु
यहाँ इरानी चियासँगै मसला चिया, कडक चिया, हाँडी चिया, प्रिमियम चिया, रेगुलर चिया, रोजमेरी चिया लगायत १२ प्रकारका चिया पाइन्छन् ।
मसला चियाका लागि चाहिने १५ थरिका सामग्री सरोज आफै मिसाएर मसला तयार गर्छन् । यसको मूल्य ४० रुपैयाँ छ । चियाबाहेक इरानी लस्सीलगायतका पेय पदार्थ पनि अर्डरअनुसार बनाइन्छ ।
खाजा किन नराखेको ? भन्ने प्रश्नमा सरोज भन्छन्, ‘हामी चियामा नै केन्द्रित छौं । धेरै परिकार राख्यो भने स्टाफ व्यस्त हुन्छन्, हतारमा क्वालिटी घट्छ ।’
इरानी चिया प्रालिका सबै आउटलेटबाट महिनामा करिब डेढ लाख कप चिया बिक्री हुन्छ । छोटै लगानीबाट सुरु भएको व्यवसाय सबैको रोजाइमा परेको देखेर सरोज खुसी छन् । ‘आफूसँगको क्षमता चिन्न सकियो भने नेपालमै बस्न पनि राम्रो कमाइ हुन्छ,’ उनी भन्छन् । आगामी दिनमा काठमाडौं बाहिरका सहरहरूमा पनि इरानी चिया विस्तार गर्ने लक्ष्यसहित सरोज निरन्तर मेहनत गरिरहेका छन् ।

 Image