Successfully Copied

‘म मरें भने’

म मरें भने, मेरा चिसा भएका पैतालालाई , चिसै माटोमा धस्काइदिनू म बाँच्दा तिनै माटोमा, तिनै पैतालाले संसार डुलेकी थिएँ


ममता घिमिरे
म मरें भने,
मेरा चिसा भएका पैतालालाई , चिसै माटोमा धस्काइदिनू
म बाँच्दा तिनै माटोमा, तिनै पैतालाले संसार डुलेकी थिएँ
अनि मेरा घुँडा र तिघ्रालाई, वर–पिपलमा बिसाइदिनू
तिनै वृक्षमा घुँडा र तिघ्रा च्यापी, सारा दुःख भुलेकी थिएँ
म मरें भने,
मेरो योनिलाई निश्चल गंगामा बगाइदिनू
अर्को जन्ममा म पवित्र भई जन्मन चाहन्छु
अनि मेरो आमाशयलाई, अस्पतालमा बुझाइदिनू
त्यो आमाशय दिँदा, मलाई आमाशय दिने आमालाई सम्झन्छु ।

म मरें भने,
मेरो मुटुलाई, स्वच्छन्द आकाशमा छाडिदिनू
अनि मेरा स्तनलाई, दूधले पखालिदिनू
तिनलाई लुछिँदा, मेरा पत्रपत्र,अपवित्र हुन्थे ।

म मरेंभने,
मेरा हातहरूलाई, पुस्तकालयमा बुझाइदिनू
मेरो जीवन,पुस्तक पढ्न र लेख्नमा बित्यो
अनि मेरो घाँटीलाई, सांगीतिक माहोलमा लगिदिनू
मेरो लवजमा हर परिस्थिति,गुनगुनाउने गीत थियो ।

म मरें भने,
मेरा बन्द ओठलाई, भजन संग्रहालयमा राखिदिनू
म रहँदा मेरा ओठ, दैवको भक्तिमा लिप्त थिए
अनि मेरो नाकलाई, हिमालमा चढाइदिनू
त्यो हावा र सौन्दर्यमा श्वास फेर्थे ।

म मरेंभने,
मेरा गालालाई,झरीमा रुझाइदिनू
म बाँच्दा धेरै पटक, झरीझैं रुन्थे
र मेरा आँखालाई, दृष्टि नभएकालाई दिनू
म मरेपछि पनि, कसैको आँखामा रही बाँच्थे

म मरें भने,
मेरा कानलाई, कमलको फूलमा चढाइदिनू
म अन्तिम पटक,कमलको जीवन सुन्न चाहन्छु
र मेरो दिमागलार्ई ब्रम्हाण्डमा सुस्ताइदिनू
अन्तिम पटक, यो सृष्टि हेर्न चाहन्छु ।

 Image