जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन

रोजिता बुद्धाचार्यको पेसा के हो भन्ने कुरामा उनी स्वयं यकिन हुन सकेकी छैनन् । यद्यपि जीवनका विभिन्न मोडमा उनले जुन–जुन काम गरिन्, सबैमा दत्तचित्त भएर लागिन् र सोहीअनुसार हात हालेका सबै क्षेत्रमा सफलता पनि हात पार्दै गइन् ।
काठमाडौंको परम्परागत नेवार परिवारमा जन्मिएकी रोजितालाई शैक्षिक योग्यताले खगोलिय वैज्ञानिक बनायो । भौतिक शास्त्र (फिजिक्स) मा अमृत साइन्स क्याम्पसवाट मास्टर्स गरेकी रोजिताले आफ्नो थेसिस भने एस्ट्रोफिजिक्स विषयमा गरिन् । नगरकोटस्थित नेसनल अब्जरभेटरीबाट बिटल जुज भन्ने ताराको अनुसन्धान गरेर तयार पारिएको उनको थेसिसले सहकर्मीहरूबीच सर्वाधिक नम्बर पनि ल्यायो । उनको अनुसन्धान बूढो तारा मानिने बिटल जुज कसरी मर्दै गएको छ भन्ने विषयमा केन्द्रित थियो ।
रोजिता भन्छिन्— तिहारपछि आकाश सफा भएका बेला यो तारा देखिन्छ । काठमाडौंमा भएको एक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा रोजिताले प्रस्तुत गरेको उक्त कार्यपत्रले युरोप, अमेरिका तथा अस्ट्रेलियाका प्रोफेसरहरूलाई प्रभावित तुल्यायो । त्यहाँ विश्वका ५ सय व्यक्तिले आवेदन दिएको छोटो समयको प्रशिक्षणका लागि १४ जना छानिए, जसमा रोजिता नेपालबाट छानिने पहिलो अनुसन्धानकर्ता भइन् । अमेरिकाको बाल्टिमोरस्थित स्पेस टेलिस्कोप साईन्स इस्टिच्युटले नासाका लागि काम गर्छ । उक्त इस्टिच्युटले हब्बल टेलिस्कोपबाट प्राप्त भएका ब्रम्हाण्डका विभिन्न डाटा ८ सयभन्दा बढी वैज्ञानिकलाई उपलब्ध गराउँछ । रोजिताले त्यसमा रहेर केही समय वैज्ञानिकका रूपमा काम गरिन् ।
यो त भयो रोजिताको वैज्ञानिक जीवनको पाटो, अब चर्चा गरौं उनको अभिनयको पाटोको । नेपाल टेलिभिजनमा विज्ञानसम्बन्धी कार्यक्रम चलाउने रोजिताले थिएटर भिजेलले संचालन गरेको पहिलो अभिनय प्रशिक्षण लिने मौका पाइन् । त्यसपछि उनले अभिनय यात्रालाई पनि जारी राखिन् । उनले चारुमती नाटकमा पहिलो पटक अभिनय गरिन् । त्यसपछि एक पछि अर्को गर्दै सुइना कर्णालीका, बुद्ध वाणी, मलिनी आदि विदेशी लेखकका नाटकमा अभिनय गरिन् । कुनै पनि चरित्रमा जिवन्त अभिनय गर्न सक्ने उनको क्षमता देखेर बायोपिकका रूपमा निर्माण भएको साहित्यकार झमककुमारी घिमिरेको जिवन काँडाकी फूलमा रोजिताले झमक घिमिरेको युवा अवस्थाको भूमिका निर्वाह गरेकी छिन् ।
वैज्ञानिक तथा अभिनेत्रीबाहेक उनी साहसी पर्वतारोही पनि हुन् । पहिलो महिला समावेशी टोलीमा प्रख्यात आरोही फूर्वा तेन्जिङ शेर्पालाई सरदार बनाउदैं रोजिता लगायत महिला पत्रकारको टोलीले सन् २०१८ मा विश्वको सर्वोच्च शिखरमा पाइला हाल्यो । रोजिता हालै चीन–पाकिस्तानको सिमामा अवस्थित मुज्ताघ आटाँ (७ हजार ५ सय ९ मिटर अग्लो) हिमाल चढ्ने पहिलो नेपाली समेत भएकी छिन् । त्यसबाहेक उनले रमडुङ (५ हजार ९ सय २५ मिटर), यालुङ री (५ हजार ६ सय ३० मिटर) को पनि सफल आरोहण गरिसकेकी छिन् ।